default_image

2 years ago

August 24, 2022

भलिबल प्रेमले प्रशिक्षणमा जमेका कुमार राई

482 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

खेलमा गम्भीर र खेल बाहिर सधैं मुस्कानका साथ प्रस्तुत हुने मिहिनेती न्यु डायमण्डका मुख्य प्रशिक्षक कुमार राईलाई नेपाली भलिबलमा नचिन्ने सायदै कोहि होलान् । छोटो कदका भएपनि भलिबलमा प्रशिक्षण कर्मका कारण चर्चित नाम । सामान्य जीवन शैली र बानी व्यवहारले समर्थकमाझ पनि परिचित छन् राई ।

प्रशिक्षक राईको योगदान विना नेपाली महिला भलिबल यो अवस्थामा सायदै आइपुग्ने थियो । महिला भलिबल विकास र परिवर्तनमा उनको योगदान अतुलनीय छ । विगत एक दशकयता नेपाली महिला भलिबलमा सफलताका विभिन्न अध्याय लेखेको न्यू डायमण्डका मुख्य प्रशिक्षक राईले आफ्नो प्रशिक्षणमा नेपाली महिला भलिबललाई तीन दर्जन भन्दा बढी खेलाडी दिएका छन् । राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी नै आधा दर्जन पुगिसकेका छन् ।

न्यु डायमन्डका पर्याय नै बनेका राई सुरुमा अर्कै स्कुलमा पढाउँथे । भलिबलकै कारण उनको स्कुल फेरियो तर खेल प्रतिको लगाव कहिल्यै फेरिएन । पुरानो स्कुलले भलिबल निरन्तरता दिन आनाकानी गरेपछि २०६२ सालमा न्यु डायमन्ड एकेडेमीको स्थापना भएको थियो ।

एकेडेमी स्थापना हुनेबेला महिला भलिबल तुरुन्त गर्न सक्ने अवस्था थिएन । महिला खेलाडीको संख्या निकै कम थियो । त्यो वर्ष पुरुष भलिबलको टोली निर्माण गर्ने प्रयास गरे । तर नियमित प्रशिक्षणका बाबजुद राम्रो नतिजा आएन । पुरुष खेलाडीमा खेलप्रति लगाव कम हुने र अनुशासनको समस्या राईले देखे । उनल अर्को वर्ष एथ्लेटिक्समा प्रयास गरे । भलिबलमै मन बसेको राई त्यहाँ पनि सफल हुन सकेनन् । त्यसपछि राईले २०६४ साल जेठ ५ मा महिला भलिबल सुरु गरे । त्यसपछि उनले पछि फर्केर हेर्नु परेको छैन ।

डेढ दशकमा न्यु डायमण्डले नेपाली महिला भलिबलमा सफलता र चर्चाको शिखर चुमेको छ । पहिलो ब्याचमा रेश्मा भण्डारी, रमिला तण्डुकार, रञ्जना खड्का, मुना थापा, ममता थापा, निशा खड्का, मिना मुक्ता, प्रतिभा माली र पनामिका राई थिए । पनामिका प्रशिक्षक राईकै छोरी हुन् । प्रतिभा र पनामिका त्यो बेला सानो हुँदा बल समाएर हिड्थें । अहिले प्रतिभा नेपाली महिला भलिबलकै उत्कृष्ट स्पाइकर हुन्, सम्भवत नेपाली इतिहासकै पनि ।

नेपाली महिला भलिबलमा थुप्रै क्लबहरु संचालनमा आएर बन्द भए । आर्थिक अवस्थाकै कारण क्लबलाई निरन्तरता दिन मुश्किल छ । नेपालमा क्लबलाई ठूला प्रायोजन पाउन कठिन हुँदा राई क्लब चलाउनुलाई फलामको चिउरा चपाउनुसँग दाँज्छन् ।

‘बाहिर नाम आइसकेको छ । बन्द गर्न अप्ठ्यारो । त्यसैले बन्द गर्नेतिर नगएर जसरी पनि चलाउने भन्ने थियो । नाम नकमाएको भए बन्द भइसक्थ्यो होला । तर बन्द भएपछि धेरै प्रश्न उठ्छन् । तिनीहरुको उत्तर दिनुभन्दा जसोतसो चलाउन सहज भयो’, राईले भने ।

‘क्लब चलाउन धेरै गाह्रो छ । फलामको चिउरा चपाउनु भन्थे । फलामको चिउरा चपाएर त हेरिएको छैन, तर चिउरा कमलो र फलाम गाह्रो हुन्छ । मेरो विचारमा यो पनि त्यस्तै हो’, उनले भने ।

प्रतिभा माली, रेश्मा भण्डारी, रमिला तण्डुकार, कृपा अधिकारी, सलिना श्रेठ, झरना श्रेष्ठ, ललिता नाथ लगायतका थुप्रै खेलाडी राईले तयार पारेका स्टार खेलाडी हुन् । घरेलु भलिबलमा न्यु डायमन्डबाट खेल्दै आएका वाल्मिका आचार्य, रिमा कुँवर, प्रगति नाथ, एन्जिला प्रधान लगायत खेलाडी पनि आउने दिनमा उच्च स्तरमा खेल्ने देखिन्छ ।

१२/१३ वर्षको बच्चादेखि तयार पारेको खेलाडी राम्रो खेल्ने भएपछि विभागीय टोलीले टपक्क टिपेर लैजान्छन् । न्यु डायमण्डबाट सिकेर रेश्मा भण्डारी, रन्जना खड्का, मनिषा तामाङ र रस्मिता दुरा एपिएफ पुगे । कृपा अधिकारी नेपाली सेनाको सह-सेनानीमा नाम निकालेपछि उता गएकी थिइन् । आफूले तयार पारेको खेलाडी विभागीय क्लबले लैजाँदा छोरी विवाह गरेर गएजस्तै पिडा हुने बताउँछन् ।

‘अब यो त छोरीलाई एकदमै राम्रोसँग हुर्कायो बढायो, विवाह गरेर हिन्देपछि १-२ दिन त निकै तनाव नै हुन्छ । निद्रा नै लाग्दैन । त्यस्तै हुन्छ । तैपनि यो प्रकृतिको नियम नै हो । एकदिन हामी पनि छाडेर जानुपर्छ । यस्तै धेरै क्षण नमज्जाले भोगियो’, उनले भने ।

को हुन् कुमार राई ?

प्रशिक्षक राईको जन्म संखुवासभाको तत्कालिन पाङ्मा गाविसमा बुबा मानबहादुर र आमा भक्तीमाया राईको काइलो सन्तानको रुपमा २०२७ साल माघ २६ गते भएको हो । उनको परिवारमा पाँच दाजुभाइ र दुई छोरी गरि कुल सात सन्तान थिए ।

जंगलकै छेउमा रहेको मालमासे भन्ने ठाउँमा उनको जन्म भयो । सानैमा उनलाई राई भाषा पढाउन सरस्वती निम्म माध्यमिक विद्यालय माल्टामा लगे । त्यहाँ उनले कक्षा ७ सम्म पढेका थिए । संखुवासभाको माल्टामा बुबा ब्रिटिश लाहुरेबाट पेन्सन पकाइसकेपछि त्यहाँ बसोबास गरेका थिए ।

मोजाको बलबाट सुरुवात

‘म जन्मेदेखिनै मोजाको भकुन्डो खेल्थें । दुई पटक उठाउने र अर्को पटक डोरी कटाउने थियो । मैले खेलेको मोजाको बलले नै हो । म त्यसबेला नै खेलमा विशेष थिएँ । मलाई हत्तपत्त जित्न गाह्रो पर्दथ्यो’, बाल्यकाल सम्झँदै राईले मुस्कान छाडे ।

‘ब्रिटिस र सिंगापुरे लाउरेले मिकासा भलिबल लिएर गाउँलेलाई दिन्थे । मलाई चाहिँ सिंगापुरे दाइले मिकासा बल र नेट दिनुभएको थियो । मैले त्यो नेट र बललाई आफूलाई भन्दा बढी माया गरेर जहिले शिरानीमा राखेर सुत्ने गर्दथें,’ राईले सम्झिए ।

मोजाको बलबाट सुरुवात गरेका उनी त्यसपछि भलिबलबाट टाढा भएका छैनन् । उमेरले ५२ वर्ष पुगेपनि मैदानमा जोश र जाँगर अहिले पनि उत्तिकै छ ।

‘त्यो बेलामा खेलेर कता टिममा परिएला, नेपालको टोलीबाट खेलिएला भन्ने थिएन । धेरै काम गर्नुपर्ने भएकाले एकछिन खेल्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो खेल खासमा रमाइलो मात्र थियो । मैले यहाँ भलिबल खेलाउन थालेको राष्ट्रिय खेलाडी जन्माउँला र नाम कमाउँला भनेर पनि थिएन’, उनले भने ।

‘मेरो बच्चादेखि भित्रि मनदेखि खेल्ने इच्छा । हन्हन् ज्वरो आएको छ भनि त्यो बल देखेपछि ज्वरो कहाँ गयो कहाँ । पेट दुखेको थियो भने भलिबल देखेपछि आफैं हराउने । भलिबलमा त्यस्तो किसिमको माया थियो । मेरो औषधी, रमाइलो, फिलिम, पिक्निक जे भनेपनि भलिबल थियो । यो अचम्म किसिमको नशा थियो’, उनले भने ।

हलो जोत्न छोडेर काठमाडौं

राई २०४५ सालमा घरबाट पढ्न भनेर काठमाडौं छिरे । गाउँमा जुरुक्कै उठ्दा बितिक्कै गोरु जोत्न पर्दथ्यो । खासमा उदेश्य त्यो गोरु जोत्न नपरोस् भनेर काठमाडौं आएका थिए रे ।

‘त्यहाँ बसेपछि गोरु जोत्न पर्यो । खन्नु पर्यो । त्यो गर्न भन्दा त काठमाडौं हिँड्न ठिक । गाउँमा माथिबाट बाँझो जोतेर तल झर्यो । फेरि डल्ला फोर्ने काम । त्यो त सकियो । फेरि छर्ने रोप्ने काम । रोप्ने काम सक्यो झार गोड्ने हुन्छ । यस्तो कहिले नसकिने काम के गर्नु भनेर काठमाडौं आइयो’, राईले हाँस्दै बाल्यकाल सुनाए । त्यो समय देशमा पञ्चायती व्यवस्था विरुद्ध राई केहि समय काठमाडौंमा विरोध प्रदर्शनमा पनि सहभागी भए ।

२०४८ सालदेखि शिक्षकको रुपमा काम गर्न थालेका राई भलिबलको प्रशिक्षण भने २०५७ साल तिरबाट गर्न थालेको बताउँछन् । राईले भारतको चेन्नईमा पुगेर लेभल २ सम्मको कोर्स गरेका छन् । न्यु डायमण्डमा अहिले पनि शिक्षक र प्रशिक्षक दुवै भूमिका निर्वाह गर्दै आएका छन् ।

राई आफूले परिकल्पना गरेजस्तो खेलाडी अझै पाउन नसकेको बताउँछन् । ‘मेरो कल्पनामा भएको खेलाडी निस्केको नै छैन । म निकाल्ने प्रयासमा छु । कम्तिमा पनि ९० डिग्रीमा स्पाईक हान्ने खेलाडी चाहियो । कभर्ड हलमा खेल्दा त्यो बल ड्रप भएर माथि बिजुलीको बत्ति छुने होस् । सो बल हान्दा पनि फलानोले हानेको हेर्ने भनेर मानिस हेर्न जम्मा हुन् । त्यस्तो किसिमको खेलाडी उत्पादन गर्ने इच्छा छ’, उनले आफ्नो सपना साटे ।

‘कहिँ नभएको जात्रा हाडी गाउँमा’

कुमार घरेलु महिला भलिबलमा सर्वाधिक सफल प्रशिक्षक हुन् । तर हालसम्म सिनियर टोली सम्हाल्ने अवसर पाएका छैनन् । कुमार यो अवस्थालाई कहिँ नभएको जात्रा हाडी गाउँमा भएको जस्तो बताउँछन् ।

‘राष्ट्रिय टोली सम्हाल्छु भन्ने त नेपालको निति नियमले दिएन भन्दा अप्ठारो छ । नेपालमा नियम पनि अचम्मैको छ । कहिँ नभएको जात्रा हाडी गाउँमा भनेजस्तो छ’, राईले भने ।

त्यसैमा उनले थपे, ‘अन्तर्राष्ट्रिय कोर्स गरेका हामीलाई पनि अवसर दिए हुने हो । विभिन्न नियम लगाएर सरकारी जागिर खाएकोले मात्रै भलिबल सिकाउने र खेलाडी उत्पादन गर्ने भन्ने त हुँदैन नि । अवसर त सबैलाई हुनपर्ने हो । अलिकती दुःख त लाग्छ । चित्त बुझाउनै पर्यो । राम्रो गर्दै गए कुनै न कुनै दिन विदेशमा गएर प्रशिक्षण गराउन पाइन्छ कि ।’

ढोरपाटन लिग, शेरबहादुर स्मृति कप र नेपालगञ्जमा हुने प्रधानमन्त्री कप न्यु डायमण्डले जित्न नसकेका घरेलु उपाधि हुन् । भावी लक्ष्य यी प्रतियोगिता जित्ने रहेको उनी बताउँछन् । राई नेपाली टोलीले दक्षिण एसिया र एसिया खेल्न जाँदा प्रभावकारी खेलेर विजयी होस् भन्ने चाहन्छन् ।

कृपाको एसइई टप उत्कृष्ट र प्रतिभा घाइते हुनु करिअरकै दुखद क्षण

राई करिअरको उत्कृष्ट क्षणमा कृपा अधिकारीले एसईईमा विद्यालय टप गरेको र नेपाली सेनाको साहयक सेनानी पदमा राम्रो गरेको बताउँछन् । आफू शिक्षक हुँदा पढाई सधैं पहिलो प्राथमिकता राख्ने हुँदा भलिबलसँगै कृपाले करिअरको सबैभन्दा बढी खुसी प्रदान गरेको बताउँछन् ।

त्यस्तै प्रतिभा माली घाइते हुनुलाई उनले करिअरकै दु:खद क्षण मान्छन् । २०७६ साल माघमा पाँचौ आरबीबी–एनभीए राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपको फाइनलमा एपीएफविरुद्ध खेल्दा घुँडामा चोट लागेको थियो । उनको खेलकुदमा निकै खतराजनक मानिने एसिएल च्यातिएको थियो । उनी झण्डै डेढ वर्ष मैदान बाहिर रहनुपर्यो । अहिले पनि प्रतिभा पूर्ण रुपमा फिट हुन संघर्षरत छिन् र नियमित फिजियोमा व्यस्त छिन् । कुमार प्रतिभाको चोट करिअरकै सबैभन्दा दुःखद क्षण मान्छन् ।

‘मलाई अहिले सम्मकै सबैभन्दा दुःख लागेको क्षण भनेको प्रतिभाको घुडामा चोट लाग्दा हो । मेरो सपना प्रतिभालाई धेरै… राम्रो खेलाडी बनाउने थियो । किनभने उनको समय पनि थियो । मलाई अहिले पनि त्यो सम्झँदा धेरै दुःख लाग्छ’, उनले भने । राई ७९ वर्ष हुँदासम्म भलिबल खेलाउने लक्ष्य राखेका छन् ।

कुमार गडफादर’ – प्रतिभा

नेपाली महिला भलिबलकी स्टार स्पाइकर प्रतिभा माली न्यु डायमन्डमा राईकै प्रशिक्षणमै बाल्यकाल देखिनै सिकेर हुर्केकी हुन् । उनी राईलाई गडफादर मान्छिन् । ‘म त वहाँलाई गड फादर भन्ने गरेको छु । सानै देखि सँगै हुर्कियौं । आफ्नै छोरीलाई जस्तो माया गरेर खेलाउनु भयो । वहाँसँग सिक्न धेरै सजिलो भयो’, प्रतिभाले भनिन् ।

ललिता नाथले ७/८ वर्षदेखि न्यु डायमण्डको कप्तानी गर्दै आएकी छिन् । ‘कुमार सर आफ्नो बुबा जस्तै लाग्छ । आफ्नै बच्चाहरुलाई जसरी सिकाउनु हुन्छ । एकदमै सहयोगी हुनुन्छ’, उनले भनिन् ।

रेश्मा भण्डारी न्यु डायमन्डमा सिकेर एपिएफ पुगेकी हुन् । ‘स्कुल स्तरबाट अन्तर्राष्ट्रिय खेलाडी सरले नै निकाल्नु भएको छ । सरले जति मिहिनेत अन्य कुनैपनि स्कुलले गरे जस्तो देखिँदैन’, उनले भनिन् ।

कुमार राईको नेपाली महिला भलिबलमा योगदान उदाहरणीय र अतुलनीय छ । खेलाडी उत्पादन र तयार आफैंमा सबैभन्दा कठिन कार्य हो । जुन काम जोकोही प्रशिक्षकले गर्न सक्दैन । यो खुबी निकै कममा हुन्छ ।

राईले भलिबलमा पुर्याएको योगदानलाई सबैले सम्मान गर्नुपर्छ । भलिबल संघ र नेपाल सरकारले उनले पुर्याएको योगदानलाई सम्मान गर्न हिच्किचाउनु हुन्न । प्रशिक्षणबाट खेलाडी उत्पादन तथा तिनै खेलाडीबाट निर्मित टोलीबाट निरन्तर नतिजा दिनु चानचुने कुरा होइन ।

नेपाली महिला भलिबलमा राईले दिएको योगदान सबैको लागि एउटा प्रेरणाको स्रोत बनेको छ । आउने दिनमा राईले खेलाडी उत्पादन त गर्ने नै छन् । सँगसँगै प्रशिक्षकको भूमिकामा उनको दायरा न्यु डायमन्डबाट फराकिलो हुनुपर्छ, हुन पाउनुपर्छ । यसले नेपाली भलिबललाई नै फाइदा पुर्याउँछ ।

पूरा भिडियो :

January 15, 2025

मोन्टिको आगमनपछि सुध्रिएको नेपालको ब्याटिङ

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले । मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा […]

January 15, 2025

बिच भलिबलमा पुनम र कामनाको जोडीको जित

सुकुटे/सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- राष्ट्रिय महिला भलिबल टोलीका पुनम चन्द र कामना विष्टको जोडी समूह विजेताका रुपमा राष्ट्रिय बिच भलिबल प्रतियोगिताको अन्तिम १६ मा पुगेको छ।‌ सिन्धुपाल्चोकको चौतारा सागाँ चोकगढी नगरपालिकाको‌ सुकुटेस्थित भोटेकोशी बिच रिसोर्टमा जारी सातौं महिला राष्ट्रिय बिचको समूह ‘ज’ नेपाल पुलिस क्लबका पुनम र कामनाको जोडीले कोशी प्रदेशका रेजिना लिम्बु र कविता राईको […]

January 15, 2025

आयोजकलाई फर्साटिकर कप उपाधि

सुमन अधिकारी,बुटवल आयोजक फर्साटिकर फुटबल क्लबले शुद्धोधन गाउँपालिका १२ औँ फर्साटिकर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । फाइनलमा नवलपुरको अभिषेक चर्च व्वाइज फुटबल क्लबलाई बुधवार ट्राइबेकरमा पराजित गर्दै फर्साटिकरले उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरी सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । फर्साटिकरले २-० को अग्रता जोगाउन नसकेपछि उपाधिका लागि टाइब्रेकर […]

Success

Thank you for your time.