default_image

3 years ago

July 14, 2022

समस्या होइन, भविष्य बन्न सक्छ ई-स्पोर्ट्स

317 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पछिल्लो समय विश्व बजारमा जस्तै ई-स्पोर्ट्सको लोकप्रियता नेपालमा पनि बढ्दो छ । विशेषगरी टिनएज र युवा पुस्तामाझ यसको प्रभाव अत्याधिक छ । व्यावसायिक रुपमा नै जरो गाड्न सुरु गरिसकेको ई-स्पोर्ट्सबारे सबै पक्षमा उचित जानकारी नहुँदा यसले केहि समस्या पनि निम्त्याएको छ ।

ई- स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्ययममा खेलिने खेलकुदमा लाखौं खेल छन् । तर कमै खेल मात्र विश्वव्यापी चर्चा र प्रतिस्पर्धमा होमिएको छ । नेपाली परिवेश हेर्ने हो भने विगतमा काउन्टर स्ट्राइक स्थानीय साइबर क्याफेमा प्रचलित थिए । बिस्तारै डोटाले घर घरमा खेल्ने गेमरहरुलाई एकतृत बनायो । स्मार्टफोनको आगमनसँगै पब्जी र फ्री-फायरले बजार लिएको छ । अहिले घर-घरमा इन्टरनेटको पहुँच बढेसँगै विभिन्न खेलहरुमार्फत ई-स्पोर्ट्स होमिनेको संख्या बढेको छ ।

विश्व बजारमा ई-स्पोर्ट्सले एसियाली खेलकुदमा स्थान पाइसकेको छ । सन् २०१८ मा इन्डोनेसियामा डेमो गेमको रुपमा स्थान पाएको ई-स्पोर्ट्समा ६ खेलमा प्रतिस्पर्धा भएको थियो । एरिना अफ भलोर, क्लास रोयल, हर्थस्टोन, लिग अफ लेजेन्ड्स, प्रो इभोलुसन सकर र स्टारक्राफ्ट टु मा प्रतिस्पर्धा भएको थियो । त्यसका लागि छनोट चरण पनि आयोजना भएको थियो । नेपाली टोलीले भने दक्षिण एसियाली छनोट नै पार गर्न सकेको थिएन ।

नेपालले त्यसबेला लिग अफ लेजेन्ड्समा सहभागिता जनाउन दक्षिण एसियाली छनोट खेलेपनि सफल हुन सकेको थिएन । नेपाल ओलम्पिक कमिटिले नेपाल ई-स्पोर्ट्स संघ (नेसा) सँग सहकार्य गर्दै नेपाली टोलीलाई त्यसतर्फ पठाएको थियो । नेपालबाट सौरभ रंजित, सौरभ मास्के, एलेन भट्टराई, एलेन बान्तवा, सुमित महर्जन र सिद्धिरत्न शाक्यको टोलीले नेपालको प्रतिनिधित्व गरेको थियो । भिएतनामको हो चि मिन सहरमा भएको छनोटमा नेपाल सबै खेलमा पराजित हुँदै पुछारमा रहयो । पाकिस्तानले अपराजित रहँदै एसियाली खेलकुदमा स्थान पक्का गर्न सफल रहयो ।

सन् २०२२ मा हुने भनिएको हान्झोउ एसियाली खेलकुद सन् २०२३ को लागि स्थगित भएको छ । यसपटक ८ खेललाई एसियाली खेलकुदमा समावेश गरिएको छ । यसपटक ८ खेललाई पदक पाउने र २ खेललाई डेमो इभेन्टको रुपमा समावेश गरिएको छ । पदक पाउने इभेन्टमा पब्जी मोबाइल, डोटा टु, हर्थस्टोन, लिग अफ लेजेन्ड्स, ड्रिम थ्री किंगडम २, फिफा, स्ट्रिट फाइटर ५ र एरिना अफ भलोर रहेका छन् । एएएसएफ रोबोट मास्टर्स र एइएसएफ भीआर स्पोर्ट्स भने डेमो इभेन्टका रुपमा रहने छन् ।

नेपालले एसियाली खेलकुदमा खेल्नका लागि क्षेत्रीय छनोटमा ६ खेलमा सहभागिता जनाउँदैछ । यसपटक पदक नै रहेको खेलहरु एरिना अफ भलोर, डोटा-२, ड्रिम थ्री किंगडम २, फिफा, हर्थस्टोन र पब्जीमा नेपालले छनोट खेल्ने भएको हो ।

नेसाले गत साता मात्र १४ औं ई-स्पोर्ट्स विश्व च्याम्पियनसिपका लागि नेपालबाट छनोट गर्न प्रतियोगिता आयोजना गरेको थियो । यसबाट डोटा-२, सीएसगो, मोबाइल लेजेन्ड्स, पब्जी मोबाइल र टेकनका लागि खेलाडी पनि छनोट भएका छन् । बालीमा यसै वर्ष हुने मुख्य प्रतियोगिताका लागि अब क्षेत्रीय छनोट हुनेछ ।

नेपाल ई-स्पोर्ट्स संघका अध्यक्ष सुरज डंगोलका अनुसार एसियाली खेलकुदमा नेपालको सहभागितापछि ई-स्पोर्ट्स प्रतिस्पर्धात्मक रुपमा खेल्नेको संख्या पनि बढ्दो रहेको बताए । ‘पछिल्लो समय सहभागिताको संख्या एकदम उत्साहजनक छ । विशेषगरी पब्जी खेलमा हामीले राम्रो संख्या पाएका छौं । यसपटक ६ सय भन्दा बढी टिमले प्रतिस्पर्धा गरेका थिए,’ उनले भने ।

ई-स्पोर्ट्स मनोरन्जनको लागि पछिल्लो समय निकै चर्चामा रहेको माध्यम हो । स्मार्टफोनदेखि गेमिंग गिएरसम्म जोडेर नेपालमा पनि ई-स्पोर्ट्समा होमिनेको संख्या बढ्दो छ । विश्व बजारमा मनोरन्जनकै लागि ई-स्पोर्ट्समा खर्च गर्ने ट्रेन्ड पनि चल्दै आएको छ । व्यावसायिक रुपमा करिअर नै बनाउनेको संख्या पनि धेरै छ । नेपालमा भने अझैपनि सिमित खेलाडीले मात्र यसलाई व्यावसायिक रुपमा अघि बढाएका छन् ।

नेपालमा व्यावसायिक रुपमा नै ई-स्पोर्ट्स टिम खडा गर्ने पहिलो टोली द रियल सोल्जर्स (डीआरएस) हो । एसियाली तथा क्षेत्रीय प्रतियोगितामा निकै प्रतियोगिता जितेको यस टोलीले १२ महिना नै खेलाडीलाई करार सम्झौतामा राखेर तलब दिँदै आएको छ । यसबाहेक प्रतियोगिताबाट आएको पुरस्कार रकममा पनि अधिकांश हिस्सा खेलाडीले नै पाउने गरेका छन् । गत वर्ष पुरस्कार मात्र १ करोड माथि जितेको टोलीले आफ्ना खेलाडीलाई काठमाडौंमा १२ महिना नै सुविधासम्पन्न आवास व्यवस्था समेत गरेको छ ।

डीआरएसका सीइओ भिक्टर पौडेलले ई-स्पोर्ट्स निकै सम्भावना बोकेको खेल रहेको बताए । ‘हामीले ई-स्पोर्ट्समा भविष्य देखेर नै लगानी गरेका हौं । गत वर्ष हामीले अनुबन्ध गरेका खेलाडी अहिले विदेशी टोलीका लागि खेल्नुहुन्छ । वहाँहरुले विदेशी टोलीबाट एकदम राम्रो सुविधासहित खेलमा ध्यान दिन सक्नुहुन्छ । यसले पनि नेपालमा प्रतिभाको कमी छैन भने प्रष्ट पारेको छ,’ पौडेलले भने ।

न्युजुले सार्वजनिक गरेको तथ्यांक अनुसार विश्वभर सन् २०१६ मा ई-स्पोर्ट्समा संलग्न हुनेको संख्या झन्डै २८ करोड थियो । सन् २०१७ मा यो संख्या १९.३ प्रतिशत वृद्धि भएर ३३ करोड ५० लाख पुग्यो । सन् २०१८ मा ३९.५ करोड संख्या रहेको ई-स्पोर्ट्समा सन् २०२१ मा आउँदा झन्डै ४८ करोड सहभागी छन् । सन् २०२२ मा यो संख्या ५३ करोड पुग्ने अनुमान रहेको छ । यसमा ई-स्पोर्ट्स आक्कल झुक्कल हेर्ने र नियमित हेर्ने संख्यामा खासै अन्तर छैन ।

न्युजुकै प्रक्षेपणलाई मान्ने हो भने ई-स्पोर्ट्सले सन् २०२२ मा विश्वभर १.३८ बिलियन डलर आर्जन गर्ने आँकलन रहेको छ । यसमा एक तिहाइ बजार भने चीनमा रहेको छ । सन् २०२० मा ९ सय ९६ मिलियन डलर आर्जन गरेको ई-स्पोर्ट्सले सन् २०२१ मा १.१३ बिलियन डलर आर्जन गरेको थियो ।

ई-स्पोर्ट्सको एक तिहाइ बजार रहेको चीनले पछिल्लो समय भने नयाँ कदम चालेको छ । बालबालिकामा सानो उमेरदेखि नै ई-स्पोर्ट्सको लत लाग्दा समग्र विकासमा असर पर्ने भएपछि सरकारले नियम नै बनाएको छ । हप्तामा तीन घण्टा मात्र अनलाइन खेल खेल्न पाउने नियम सन् २०२१ देखि लागु भइसकेको छ । यसअघि बालबालिकाले रातभर खेल खेल्न नपाउने नियम लगाएको चीनले नियम परिमार्जन गर्दै साताको ३ घण्टामा ल्याएको हो ।

नेपालमा पनि पछिल्लो समय अनलाइन खेलले बालबालिकामा असर गरेको चर्चा सुनिएको छ । कतिपय अवस्थामा पैसा खर्च गर्ने कार्यले पनि अभिभावक आजित भएका छन् । तर यसका लागि अभिभावक आफैंले पनि समय छुट्याएर दिनु उचित हुन्छ । मनोरन्जनका लागि केहि समय छुट्टयाउने हो भने यसले नकारात्मक असर पर्न दिंदैन ।

विश्व ई-स्पोर्ट्समा मुख्यत पाँच पक्षहरु सक्रिय छन् । खेलाडी/टिम, ब्रान्ड/प्रायोजक, मिडिया, इभेन्ट आयोजक र खेल बनाउने कम्पनि ई-स्पोर्ट्सका मुख्य साझेदार हुन् । यिनैको वरपर ई-स्पोर्ट्सको वर्तमान र भविष्य जोडिएको छ । नेपालमा प्रायोजकको कमी हुँदा खेल प्रतियोगिता खासै आयोजना हुन सकेको छैन । कतिपय विद्यालयहरुले स्थानीय रुपमा केहि प्रतियोगिता आयोजना गरेका छन् । तर व्यावसायिक रुपमा भने मौलाउन सकेको अवस्था छैन ।

नेपालमा ई-स्पोर्ट्सको प्रवर्द्धन र नियमन गर्न नेपाल ई-स्पोर्ट्स संघ (नेसा) सन् २०१६ मा स्थापना भएको थियो । यसले सन् २०१६ मा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स महासंघ (आईएसईएफ) को मान्यता पनि पाइसकेको छ । नेपालमा भने राष्ट्रिय खेलकुद परिषदले नयाँ संघ दर्ता गर्ने प्रक्रिया बन्द गरेको हुनाले नेसा दर्ता हुन सकेको छैन । तर नेपाल ओलम्पिक कमिटीसँग सहकार्य गरेर नेसाली अन्तर्राष्ट्रिय अधिकारिक प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै आएको छ । यसका लागि नेसाले हरेक पटक खुला छनोट पनि आयोजना गर्ने गरेको छ ।

पछिल्लो समय काठमाडौं महानगरपालिकाले ई-स्पोर्ट्स प्रतियोगिताको आयोजनाका लागि नगर बजेटमा १ करोड रुपैयाँ बिनियोजन गरे । यसलाई कतिपय व्यक्ति तथा संचारमाध्यमले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर बजेट निकासा भएको आरोप पनि लगाए । तर मेयर बालेन साहले आफ्नो चुनावी घोषणापत्रमा नै ई-स्पोर्ट्सको लागि बजेट छुट्याइने जनाएका थिए ।

काठमाडौं महानगरपालिकाले यसअघि पनि फुटबलका ए डिभिजन क्लबलाई मोटो रकम उपलब्ध गराउँदै आएको छ । यसबाहेक क्रिकेटतर्फ पुरुषको मेयर्स कप राष्ट्रिय प्रतियोगिताका लागि पनि महानगरले बजेट प्रदान गरेको छ । यसबाहेक अन्य वडा स्तरीय खेल र नगर स्तरीय खेलकुदका कार्यक्रमका लागि पनि बजेट बिनियोजन हुँदै आएको छ ।

स्थानीय निकायबाट नै यसरी खेलकुदका लागि बजेट निकासा हुनु खेल विकासका लागि निकै राम्रो कदम हो । अझ ई-स्पोर्ट्स जस्तो प्राथमिकतामा नपरेको तर सम्भावना बोकेको खेलमा महानगरले चासो दिँदा अन्य कर्पोरेट तथा प्राइभेट कम्पनिलाई पनि प्रायोजन गर्न प्रोत्साहन हुन्छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले इन्टरएक्टिभ विश्वकप आयोजना गर्दै आएको छ । विश्वभर फुटबलका हरेक ठुला प्रतियोगिताले आ-आफ्नो अनलाइन लिग नै स्थापना गरेका छन् । कतिपय क्लबहरुले फिफा खेल्नका लागि नै खेलाडी अनुबन्ध पनि गरेका छन् । वेल्सका फरवार्ड ग्यारेथ बेलले त आफ्नो ई-स्पोर्ट्स टिम नै निर्माण गरेका छन् । यसबाहेक एफ१, टेनिस, बक्सिङ लगायत खेलहरुले पनि ई-स्पोर्ट्समा लगानी गर्न सुरु गरिसकेका छन् ।

छोटो समयमा नै विश्व बजारमा बाक्लो उपस्थिति बनाएको ई-स्पोर्ट्स नेपालका लागि वरदान सावित हुन सक्छ । अहिलेको अवस्थामा नै विभिन्न खेलमा अन्तर्राष्ट्रिय प्रभाव जमाएका खेलाडीलाई राम्रो अवसर दिने हो भने अझ धेरै सम्भावनाका ढोका खुल्ने देखिन्छ । एकातर्फ व्यावसायिक प्रतियोगिताबाट आर्थिक आयआर्जन त छँदै छ, सँगसँगै आधिकारिक प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने अवसर पनि हुन्छ । ई-स्पोर्ट्स आउने पिढीका लागि करिअर विकल्प नै पनि बन्न सक्छ ।

ई-स्पोर्ट्समा खेलाडी मात्र नभएर प्रशिक्षक, एनालिस्ट, मिडिया लगायत अन्य विभिन्न पाटो पनि छ । बालबालिकामा खेलको लत लागेर समस्याका रुपमा रहेको ई-स्पोर्ट्सलाई राम्रो वातावरण दिने हो भने यसले राम्रो भविष्य देखाउन सक्छ । यसका लागि सम्बन्धित निकायसँगै अभिभावकहरुको पनि उत्तिकै भूमिका रहन्छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

मधेशविरुद्ध पुलिसको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध बलियो योगफल तयार गरेको छ । दाङको लमहिमा रहेको देउखुरी क्रिकेट रंगशालामा जारी खेलमा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रनको बनाएको छ । पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ […]

March 15, 2025

आर्मीविरुद्ध कोशीको मध्यम योगफल

काठमाडौं (हाम्रो खेलकुद) – कोशी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध मध्यम योगफल तयार गरेको छ । रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशालामा जारी खेलमा कोशीले टस जितेर पहिले ब्याटिङ गर्दै ४९.३ ओभरमा २ सय ३० रन बनाएको छ। कोशीका लागि सुभान गहतराजले ५७ बलमा ७ चौकासहित सर्वाधिक ५१ रन जोडे […]

Success

Thank you for your time.