default_image

3 years ago

October 22, 2021

भारतले टि२० विश्वकप जित्न नसक्ने पाँच कारण

140 views

0 Bookmark

एजेन्सी – भारत वर्तमान समयमा विश्वको एक शक्तिशाली क्रिकेट टोली हो । क्रिकेटको पावर हाउस भारतले अन्तर्राष्ट्रिय तीनै शीली (टेस्ट, ओडिआई र टि२० आई) मा आफ्नो दबदबा राख्दै आएको छ । घरेलु भूमिमा मात्र होईन विदेशमा पनि भारतको प्रदर्शन त्यतिनै उत्कृष्ट सानदार छ । तर ठूला उपाधि भने जित्न सकेको छैन ।

कुनैपनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदारको नाम लिँदा भारत अग्रस्थानमा आउछ । भारतले पछिल्लो समय सन् २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । पहिलो संस्करण अर्थात २००७ को टि२० विश्वकप भारतले जितेको थियो । भारतले २०११ मा एकदिवसिय विश्वकप च्याम्पियन बनेको थियो । भारतले यी तीनै उपाधि विकेटकिपर महेन्द्रसिंह धोनीको कप्तानीमा जितेको थियो ।

ओमान र युएईमा जारी आइसिसी टि२० विश्वकप २०२१ मा भारत कागजी रुपमा भारत सबैभन्दा बलियो टोली हो । टि२० क्रिकेटमा जुन सुकै टोलीले अर्कोलाई हराउन सक्छन् । कप्तान विराट कोहली उपाधिका साथ टि२० कप्तानी छोड्न चाहन्छन् । भारतमा विश्वका स्टार खेलाडीको बाहुल्यता छ । कागजी रुपमा भारतलाई उपाधि कठिन देखिदैन । लिगमा सानदार प्रदर्शन गर्ने भारत नकआउट खेलमा चुक्दै आएको छ ।

दबाबका खेलहरुमा भारत अप्रत्याशित नतिजा बेहोर्दै आएको छ । । भारतका यस्ता केहि कमजोरीहरु छन् जसले टि२० विश्वकप उपाधि सपना निराश बनाउन सक्छ । भारतले टि२० विश्वकप जित्ने सपनामा बाधक बन्न सक्ने पाँच कमजोरी ।

५. ब्याटिङमा शीर्षक्रममा बढी निर्भर

भारतको ब्याटिङ मजबुत मात्र छैन गहिराई पनि त्यतिनै छ । रोहित शर्मा, विराट कोहली, लोकेश राहुल, ईशान किशन, सूर्यकुमार यादव, ऋषभ पन्त, रविन्द्र जडेजा र हार्दिक पान्ड्या जस्ता स्टार ब्याटर टोलीमा छन् । यी सबै ठूला इनिङ, सट र आक्रामक ब्याटिङको क्षमता राख्छन् । तर भारतको नतिजा शीर्षक्रमका ब्याटर विराट, रोहित र राहुलमा बढी निर्भर रहँदै आएको छ । भारतको अधिकाम्स जितमा यी तीन खेलाडीको प्रदर्शन उच्च हुँदै आएको छ । शीर्षक्रम नचलेको खण्डमा तल्लोक्रम र मध्यक्रमले कमै मात्रमा जिताएका छन् ।

भारतले गत मार्चमा इंग्ल्यान्डसँग पाँच टि२० आई खेल ३–२ ले जितेको थियो । पहिलो खेलमा भारतले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २४ रन बनाएको थियो । रोहितलाई विश्राम दिएको थियो । राहुल १ र कोहली शून्यमा आउट भएका थिए । उक्त खेलमा भारत ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदा ओपनर ईशान किशनले ५६ र विराट कोहलीले ७३ रनको इनिङ खेलेका थिए । तेस्रो खेलमा भारत ८ विकेटले पराजित भयो । रोहित १५ र राहुल शून्यमा आउट भएका थिए । विराटले ७७ रनको इनिङ खेलेका थिए ।

भारतले २०२० डिसेम्बरमा अष्ट्रेलियासँग टि२० सिरिज २-१ ले जितेको थियो । तेस्रो खेलमा भारत १२ रनले पराजित हुन पुग्यो । कोहलीले ८५ रनको इनिङ खेलेपनि अन्य ब्याटर चल्न नसक्दा पराजित भएको थियो । अधिकाम्स खेलमा भारत रोहित, राहुल र कोहलीमा निर्भर छ । सधैं एकै खेलाडी चल्छन् भन्ने हुँदैन । यी खेलाडीको दिन नभएको समयमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले एक्लै सर्वोत्कृष्ट प्रदर्शन जिताएका उदाहरण कमछन् ।

विराट, रोहित र लोकेश बाहेक विश्वकप टोलीमा रहेका अन्य भारतीय खेलाडीले टि२० आईमा १ हजार पनि रन बनाएका छैनन् । विराटले ९० खेलमा ३ हजार १ सय ५९ रन, रोहित शर्माले १ सय ११ खेलमा २ हजार ८ सय ६४ रन तथा लोकेश राहुलले ४९ खेलमा १ हजार ५ सय ५७ रन बनाएका छन् ।

पन्तले ३३ खेलमा ५ सय १२ रन, हार्दिकले ४९ खेलमा ४ सय ८४, ईशान किशनले ३ खेलमा ८०, सूर्यकुमार यादवले ४ खेलमा १ सय ३९ रन बनाएका छन् । तथ्याङ्कमा पनि शीर्षक्रमका र अन्यको अन्तर धेरै छ । पछिल्लो समय ईशान किशन र सूर्यकुमार यादवको आगमनले ब्याटिङक्रम स्पष्ट छैन । लगातार परिवर्तन ब्याटिङक्रमले प्रदर्शनमा असर पर्छ । शीर्षक्रमका ब्याटरमा बढी निर्भरको भारतको समस्या बन्दै आएको छ । जुन विश्वकपमा घातक बन्न सक्छ ।

४.खेलाडीमाथि कप्तानको कम विश्वास

कोहली विश्वका एक उत्कृष्ट ब्याटर हुन् । कोहलीले कप्तानीमा भारतले विश्व क्रिकेटमा उच्च प्रदर्शन गर्दै आएको छ । तर खेलाडीमाथिको अविश्वास कोहलीको कप्तानीको कमजोरी मानिन्छ । जसले गर्दा खेलाडीलाई मनोबलमा अतिरिक्त दबाब पर्ने गर्दछ । एक खेलमा नराम्रो प्रदर्शन गरेमा अर्को खेलमा मौका नपाउने हो की भन्ने खेलाडीमा दबाब पर्छ ।

कोहलीले टि२० विश्वकपपछि कप्तानी छाड्नेछन् । भारत र आइपिएलमा उपाधि जित्न नसक्दा लगातार दबाबले टि२० कप्तानी छाड्न लागेका हुन् । ऋषभ पन्त भारतका वर्तमान समयका उत्कृष्ट विकेटकिपर हुन् । तर २०२० मा केहि सिरिजमा पन्त भारतीय टोली बाहिर राखेका थिए । भारतका प्रमुख स्पिनर युजभेन्द्र चहल टि२० विश्वकपमै छैनन् । पछिल्लो समय मध्यक्रममा प्रयोग गर्दै आएका युवा ब्याटर श्रेयस ऐर र सन्जु स्यामसन टोलीमा छैनन् ।

यी केहि उदाहरण मात्रै हुन् । खेलाडीले टोलीमा आफूलाई सुरक्षित मान्दैनन् । जसको कारण खुलेर खेल्न पाउदैनन् । खुलेर खेल्न नपाउँदा उत्कृष्ट प्रदर्शन आउँदैन । अर्कोतर्फ टोली भन्दापनि आफ्नो प्रदर्शनमा खेलाडीहरु ध्यान दिनसक्छन् । कोहलीले छिट्टै विश्वास राख्छन् र गुमाउँछन् । धोनी र रोहित शर्माले जस्तो खेलाडीमाथि धैर्यता र विश्वास कायम गर्न कोहली सक्दैनन् । त्यसैले उपाधि पनि जित्न सकि रहेका छैनन् । कोहलीको जुन कमजोरी भारतलाई निराश बनाउन सक्छ ।

३. हार्दिक पान्ड्याको कमजोर लय

अलराउन्डर हार्दिक पान्ड्या विश्वका एक उत्कृष्ट अलराउन्डर हुन् । तर यस समय उनको लय राम्रो छैन । विश्वकपको मुखमै प्रमुख खेलाडी हार्दिक खराब लयबाट गुज्रिएका छन् । पछिल्लो समय हार्दिकको भारतीय टोली र आइपिएल दुबैमा प्रदर्शन कमजोर छ । पछिल्ला ५ टि२० आई इनिङमा क्रमश : १९, १७, ११, ३९ र १० रन छ ।

यस सिजनको आइपिएलमा मुम्बई इन्डियन्सबाट पनि हार्दिकको कमजोर प्रदर्शन रह्यो । उनले आइपिएल यस सिजनमा १२ खेलमा १ सय २७ रन मात्र बनाउन सकेका थिए । हार्दिक बलिङका लागि पूर्णरुपमा फिट देखिएका छैनन् । जसको कारण जुनमा भएको टेष्ट च्याम्पियनसिप फाइनलमा टोलीमै थिएनन् । हार्दिकको खराब लय भारतलाई टि२० विश्वकपमा टाउको दुखाईको विषय बन्नसक्छ ।

२. प्रमुख स्पिनर चहल टोलीमा नहुनु

पछिल्लो चार वर्षमा प्रमुख स्पिनरको रुपमा रहेका युजभेन्द्र चहल भारतीय विश्वकप टोलीमा छैनन् । चहल वर्तमान भारतीय टोलीका प्रमुख स्पिनर हुन् । भारतबाट टि२० आईमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चहल शीर्षस्थानमा छन् । चहलले ४९ टि२० आईमा ६३ विकेट लिएका छन् । उत्कृष्ट प्रदर्शन ६–२५ छ ।

भारतको प्रमुख स्पिनरमा राहुल चाहर, रविचन्द्रन आश्विन र बरुण चक्रवर्ती छन् । चक्रवर्तीले भारतबाट ३ मात्र टि२० आई खेल खेलेका छन् । चाहरले ५ मात्र टि२० आई खेलेका छन् । रविचन्द्रन आश्विन २०१७ पछि सिमित ओभरको खेलनै खेलेका छैनन् । चहल नहुँदा भारतीय स्पिन आक्रामक केहि कमजोर देखिन्छ । त्यसैले भारतको विश्वकप जित्ने सपना अधुरै बन्नसक्छ ।

१. नकआउट र दबाबमा भारतीय खेलाडीको कमजोर प्रदर्शन

भारतीय खेलाडीले लिग र सिरिजमा राम्रो प्रदर्शन गरेपनि नकआउट खेलमा त्यसलाई निरनतरता दिन सकेका छैनन् । दबाबको खेलहरुमा भारतीय खेलाडी सम्हाल्लिएर प्रदर्शन गर्न नसक्नु भारतको ठूलो कमजोरी हो । जसको कारण भारत अन्तिम समयमा चुक्दै आएको छ । गत जुनमा भएको टेस्ट च्याम्पियनसिपमा भारत न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । उक्त फाइनलमा भारतीय बलर र ब्याटर दुबैको प्रदर्शन कमजोर रह्यो ।

२०१९ को एकदिवसिय विश्वकप सेमिफाइनलमा भारत न्युजिल्यान्डसँग १८ रनले पराजित हुँदै बाहिरिएको थियो । उक्त खेलमा विराट कोहली, रोहित शर्मा र लोकेश राहुल १–१ रनमा आउट भएका थिए । २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारत पाकिस्तानसँग १ सय ८० रनले पराजित भएको थियो । उक्त खेलमा रोहित शर्मा शून्य, विराट कोहली ५, धोनी ४ र केदार जाधब ९ रनमा आउट भएका थिए ।

ब्याटरमात्र होईन दबाबको खेलमा भारतीय बलरले पनि कमजोर प्रदर्शन गर्दै आएका छन् । वेस्टइन्डिजविरुद्ध २०१६ को टि२० विश्वकप सेमिफाइनल, च्याम्पियन्स ट्रर्फी फाइनल २०१७ मा पाकिस्तानविरुद्ध र टेस्ट च्याम्पियनसिप २०२१ को फाइनलमा न्युजिल्यान्डविरुद्ध पछिल्लो समयका उदाहरण हुन् । जुन समस्या यस विश्वकपमा पनि नदोहोरिएला भन्न सकिदैन ।

December 18, 2024

विनोदको अर्धशतक प्रेरित सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]

December 18, 2024

फाइनलमा प्रवेशका लागि सुदूरपश्चिमलाई मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]

December 18, 2024

पहिलो क्वालिफायरमा जनकपुरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]

Success

Thank you for your time.