default_image

3 years ago

September 23, 2021

घरेलु क्रिकेटका सफल कप्तान शरद

83 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कुनैपनि टोली सफल हुन त्यस टिमको कप्तानी गुण सर्वोत्कृष्ट हुनुपर्छ । असल कप्तान विना कागजी रुपमा बलियो भएर पनि टोली सफल हुन सक्दैन । कुनैपनि खेलाडीको कप्तानी गुण चिन्ने र पहिचान गर्ने अवसर घरेलु क्रिकेट र उमेर समूह हो ।

नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तानको नाम लिँदा निर्विकल्प शरद भेषावकरको नाम अग्रस्थानमा आउछ । घरेलु क्रिकेटमा शरदले कप्तानी गरेको अधिकांश टोलीले फाइनल यात्रा तय गरेका छन् । नेपालमा भएका प्रतियोगितामा शरदले कप्तानी गरेको टोली फाइनल पुग्नेबारे धेरै सोच्न पर्दैन ।

एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण शनिबार काठमाडौंमा सुरु हुँदैछ । शरद लगातार चौथो फाइनल खेल्दै दोस्रो उपाधि जित्ने दाउमा हुनेछन् । शरदको कप्तानीमा पछिल्ला दुवै सिजन उपविजेतामा समिति भैरहवा ग्ल्याडियटर्स यसपटक च्याम्पियन बन्न चाहन्छ । भैरहवा ग्ल्याडियटर्स कागजी रुपमा उपाधि दाबेदार टोली पनि हो ।

शरद इपिएलको तीनै संस्करणको फाइनल खेल्ने एक्लो कप्तान हुन् । शरदको कप्तानीमा पञ्चकन्या तेजले सन् २०१६ को पहिलो संस्करणमा उपाधि जितेको थियो । फाइनलमा पञ्चकन्याले ज्ञानेन्द्र मल्ल कप्तान रहेको कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै च्याम्पियन बनेको थियो ।

दोस्रो संस्करणदेखि इपिएल फ्रेन्चाइज टोलीको नाम शहरको आधारमा राखियो । शरदको कप्तानीमा उच्च प्रदर्शनका साथ भैरहवा फाइनल खेलेको थियो । तर फाइनलमा भैरहवा पारस कप्तान रहेको विराटनगर वारियर्ससँग एक रनले पराजित हुन पुग्यो । २०१८ मा भैरहवा लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भैरहवा ज्ञानेन्द्रको कप्तानीमा उत्रिएको ललितपुर प्याट्रियटर्ससँग १४ रनले पराजित भएको थियो ।

इपिएलमात्र होईन अन्य फ्रेन्चाइज लिग र घरेलु क्रिकेटमा पनि शरदको नेतृत्वमा नतिजा अब्बल छ । सन् २०१८ मा भएको पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा शरदको कप्तानीमा रहेको पोखरा पल्टनले सानदार प्रदर्शनका साथ उपाधि जितेको थियो । पारस खड्का कप्तान रहेको चितवन टाइगर्सलाई फाइनलमा ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । दोेस्रो संस्करणको पिपिएलमा भने पोखरा फाइनल पुग्न सकेन ।

धनगढी प्रिमियर लिग (डिपिएल) मा शरदले खेलेका दुवै संस्करणमा टोलीलाई फाइनलमा पुर्याएका छन् । सन् २०१७ को डिपिएल फाइनलमा शरदको कप्तानीमा रहेको विराटनगर किंग्स धनगढी टिम चौराहसँग पराजित भएको थियो । दोस्रो संस्करण अर्थात २०१८ को डिपिएल शरदले व्यक्तिगत कारण अमेरिकामा रहेकाले खेल्न पाएनन् ।

Sharad

तेस्रो संस्करणको डिपिएलमा शरदको नेतृत्वमा महेन्द्रनगर युनाइटेड फाइनल खेलेको थियो । महेन्द्रनगरले सबैलाई आश्चर्य पार्दै फाइनल खेलेको थियो । सुरुवाती दुई खेलमा पराजित भएको महेन्द्रनगरको त्यसपछिका दुवै खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । सुरुवाती चार खेलमा २ अंक भएपछि धेरैले शरदको टोली लिगबाटै बाहिरिने लख काटेका थिए । तर अन्तिम खेलमा जितका साथ प्लेअफ हुँदै टोलीले फाइनल खेलेको थियो । फाइनलमा महेन्द्रनगर सिवाइसी अत्तरियासँग पराजित भएको थियो ।

गतवर्ष विभागीय टोली नेपाल एपिएफ क्लबबाट पनि शरदले प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रातियोगिता र काठमडौं मेयर्स कप दुवैमा कप्तानी गर्दै फाइनल यात्रा गरेका थिए । गत माघमा भएको पिएममा एपिएफ फाइनलमा आर्मीसँग पराजित हुन पुगेको थियो । काठमाडौं मेयर्स कपको फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसँग पराजित भएको थियो ।

शरद युवा प्रतिभा छिट्टै पहिचान गर्दै त्यसै अनुसारको भूमिका दिने गर्दछन् । शरदको कप्तानीमा खेल्न खेलाडी पनि निकै उत्साहित र खुसी देखिन्छन् । अलराउन्डर कुशल मल्ल, ब्याट्सम्यान आसिफ शेख, रोहित कुमार पौडेल, तीव्र गातिका बलर अभिनाष बोहरा लगायतका थुप्रै युवा स्टार शरदकै कप्तानी उत्कृष्ट प्रदर्शनका साथ नेपाली टोलीमा स्थान बनाएका थिए ।

युवा स्टार ब्याट्सम्यान रोहित कुमार पौडेल २०१७ को इपिएलमा शरदको कप्तानीमा उत्कृष्ट प्रदर्शनका साथ नेपाली टोलीमा परेका थिए । यसै साता ओमान भ्रमणबाट उत्कृष्ट प्रदर्शनका साथ फर्किका रोहित शरदको कप्तानीमा खेल्दा स्वतन्त्रता मिल्ने बताउँछन् । ‘शरद दाइले फ्रि (स्वतन्त्र) भएर खेल्न दिनुहुन्छ । आफ्नो खेल खेल्न भन्नुहुन्छ । खेलाडीलाई साथ र सहयोग गर्नुहुन्छ’, रोहितले हाम्रो खेलकुदसँग कुरा गर्दै भने ।

‘खेलाडीलाई दबाबमा प्रदर्शन गर्न भन्यो भने गाह्रो हुन्छ । त्यसैले आफ्नो अनुसार खेल्न दियो भने राम्रो प्रदर्शन गर्ने सम्भावना बढी हुन्छ । खराब प्रदर्शन भएको समयमा मानसिक रुपमा तयार हुन बताउनुहुन्छ’, उनले भने ।

नेपाली क्रिकेटका वर्तमान समयका स्टार ओपनर आसिफ शेखको करिअरको सुरुवात पनि शरदकै कप्तानीमा भएको हो । नेपाली ओपनिङ समस्यामा दीर्घकालिन समस्या समाधान र भविष्यका ब्याटिङका खम्बाको रुपमा हेरिएका आसिफले शीर्ष स्तरको क्रिकेटमा शरदकै कप्तानीमा खेल्दै सुरुवात गरेका थिए । आफ्नो पहिलो प्रतियोगितामा नै आसिफ नेपाली फ्रेन्चाइज लिगमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका थिए । उनले २०१६ को फाइनमा पञ्चकन्या तेजबाट फाइनलमा कलर्स एक्स फ्याक्टर्सविरुद्ध शतक प्रहार गर्दै इतिहास रचेका थिए ।

आसिफ पिपिएलमा पोखरा पल्टन र घरेलु क्रिकेटमा एपिएफ दुवैमा शरदको कप्तानीमा खेल्दै उच्च प्रदर्शन गर्दै आएका छन् । आसिफ २०१७ देखि इपिएलमा भने विराटनगरबाट खेल्दै आएका छन् । गत वर्ष एपिएफबाट उच्च प्रदर्शन गरेपछि राष्ट्रिय टोलीमा स्थान बनाएका उनले लगातार प्रभावशाली प्रदर्शन गरेका छन् ।

‘शरद दाइले खेलाडीमाथि विश्वास गर्नुहुन्छ । कप्तानले खेलाडीलाई हेर्ने भनेको खराब सयममा हो । खेलाडीको करिअरमा उतारचढावत रहन्छ नै । कप्तान चिन्ने भनेको खराब समय चलेको बेला नै हो । खेलाडीको खराब समय चलेको समयमा कप्तानले लिने निर्णयले निकै प्रभाव पार्दछ । वहाँको कप्तानीमा खेल्दा रनको कुनै दबाब हुँदैन’, आसिफले शरदसँग खेलाडीको अनुभव साटे ।

प्यूठानबाट पहिलो पटक ट्यालेन्ट हन्टमार्फत छनोट हुँदै भैरहवामा रहेका चाइनाम्यान तुलबहादुर थापा करिअरको पहिलो फ्रेन्चाइज प्रतियोगितामा शरदको कप्तानीमा खेल्न पाउँदा अझ बढी खुसी र उत्साहित छन् । तुलबहादुर पनि शरदको कप्तानीमा आफ्नो प्रतिभा बाहिर देखाउन चाहन्छन् ।

‘शरद दाइ घरेलु क्रिकेटमा प्रमाणित सफल कप्तान हुनुहुन्छ । एकदमै कुल माइन्डको हुनुन्छ । मलाई वहाँ धेरै राम्रो लाग्छ । मेरो प्रतिभा हेरेर यहाँसम्म ल्याउनु भयो । शरददाइको कप्तानीमा खेल्न पाउँदा एकदमै खुसी छु । म शरद र पारस दाईको कप्तानीमा खेल्न चाहन्थें । पारस दाइले छोडेपनि यो अवसर पाउँदा भाग्यमानी ठान्दछु’, उनले भने ।

शरदको कप्तानीमा रहेको भैरहवा लगातार दुई संस्करण उपविजेता बनेपछि अब एक कदम अघि पुग्न चाहन्छ । त्यसका लागि टोलीले प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक पुबुदु दसानायकेलाई भित्र्याएको छ । पुबुदुले पनि शरदसँग काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

‘पक्कैपनि शरदलाई टोलीको कप्तानको रुपमा पाउँदा म एकदमै खुसी छु । शरद एक अनुभवी खेलाडी हुन् । उनले भैरहवाबाट राम्रो गर्दै आएका छन् । उनीसँग आगामी दिनमा सँगै काम गर्दै राम्रो नतिजा निकाल्नेछौं,’ उनले नेपाल आएपछि भनेका थिए ।

शरदको नेतृत्वमा रहेको भैरहवा यसपटक कागजी रुपमा प्रतियोगिताको सर्वाधिक बलियो टोली रहेको छ । विदेशी खेलाडीबाहेक स्वदेशी खेलाडीमा पनि तीव्र प्रतिस्पर्धा रहेको छ । बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिम इकबालको आगमनले टोलीको ब्याटिङ लाइनअप थप मजबुत बन्नेछ ।

भैरहवाको पूर्ण टोली :

शरद भेषावकर (कप्तान), रोहित कुमार पौडेल, आरिफ शेख, कुशल मल्ल, अभिनाश बोहरा, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता, हिमान्शु दत्त, तुल बहादुर थापा, मौसम ढकाल, तमिम इकबाल (बंगलादेश), उपुल थरंगा (श्रीलंका), धाम्मिका प्रसाद (श्रीलंका) र शार्विन मुनिआन्दी (मलेसिया)

July 2, 2024

क्रिकेटर सन्दीप गृहजिल्ला नगदसहित सम्मानित

सुशिल पन्त क्षेत्री, चितवनक्रिकेटर सन्दीप लामिछाने गृह जिल्ला चितवनमा समानित भएका छन् । सन्दीपलाई मंगलबार विभिन्न संस्थाले नगदसहित सम्मान गरेका हुन् । चितवन क्रिकेट संघ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले उनलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ । सेन्ट्रल टावरमा आयोजित एक कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो । नेपाली क्रिकेटमा पुर्‍याएको योगदान […]

July 1, 2024

टि ट्वान्टी आईबाट जडेजाले पनि लिए सन्न्यास

एजेन्सी – भारतीय क्रिकेट टोलीका अल राउन्डर रविन्द्र जडेजाले टि ट्वान्टी आई क्रिकेटबाट सन्न्यास लिएका छन्। भारतले शनिबार दक्षिण अफ्रिकालाई ७ रनले हराउँदैटि ट्वान्टीबाट विश्वकपको उपाधि जितेको थियो। त्यसपछि स्टार ब्याटर विराट कोहली र त्यसपछि कप्तान रोहित शर्माले टि ट्वान्टी आईबाट सन्न्यासको‌ घोषणा गरेका थिए। त्यसपछि जडेजाले पनि टि ट्वान्टी आईबाट सन्न्यास लिएको‌ घोषणा गरेका […]

June 30, 2024

टि ट्वान्टीबाट कप्तान रोहितको पनि सन्न्यास

एजेन्सी – टि ट्वान्टी विश्वकप उपाधि जितेपछि भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टि‌ ट्वान्टी आईबाट सन्न्यासको घोषणा गरका छन्। त्यसअघि पूर्व कप्तान विराट कोहलीले पनि टि ट्वान्टीबाट सन्न्यासको घोषणा गरेका थिए ।’यो मेरो अन्तिम खेल हो , फाइनल पछिको पत्रकार सम्मेलनमा रोहितले भने,’ जति बेलादेखि मैले यो फर्मेट खेल्न थाले रमाइलो लाग्थ्यो। मैले हरेक […]

Success

Thank you for your time.