default_image

3 years ago

June 26, 2021

सफलताको उचाइमा उदीयमान जेमिसन

114 views

0 Bookmark

विश्व क्रिकेट इतिहासकै पहिलो टेस्ट च्याम्पियनसिपको उपाधि जित्दै न्युजिल्यान्डले दुई दशक लामो आइसिसीको उपाधि खडेरी तोड्यो । अधिकांश अनुभवी खेलाडीले करिअरको सबैभन्दा ठूलो सफलता हासिल गर्दा खेलका नायक भने युवा तीव्र गतिका बलर काइल जेमिसन बने । विश्व क्रिकेटको पावरहाउस भारतका विश्वस्तरीय ब्याट्सम्यान जेमिसनसामु निरिह बने र न्युजिल्यान्ड क्रिकेट इतिहासमा नयाँ अध्याय लेख्न सफल भयो ।

पहिलो दिन वर्षाको कारण टस पनि हुन नसक्दा दोस्रो दिन भारतले टस हार्दा ओपनर रोहित शर्मा र सुभमन गिलले कठिन पिच र उत्कृष्ट बलिङ आक्रामण सामू ६२ रनको साझेदारीमा राम्रो सुरुवात दिएका थिए । जेमिसनले २१ औं ओभरको पहिलो बलमा रोहितलाई स्लिपमा टिम साउथीबाट उत्कृष्ट क्याच गराउँदै पहिलो सफलता दिलाए ।

त्यसपछि भारतीय ब्याट्सम्यान न्युजिल्यान्डको बलिङ सामू धेरै समय क्रिजमा विताउन सकेनन् । ६८ औं ओभरमा जेमिसनले भारतीय ब्याटिङको मेरुदण्ड मानिएका कप्तान विराट कोहलीलाई ४४ रनमा एलबिडब्लू आउट गर्दै ठूलो सफलता दिलाए । तल्लोक्रमका प्रमुख ब्याट्सम्यान तथा विकेटकिपर ऋषभ पन्तलाई ४ रनमा आउट गराए । अन्त्यमा इशान्त शर्मा र जस्प्रित बुमराहलाई पनि लगातार आउट गरे ।

चौथो दिन पनि वर्षाको कारण एक बल हुन सकेन । पाँचौं दिन न्युजिल्यान्ड पहिलो इनिङमा २ सय ४९ रनमा अल आउट हुँदै ३२ रनको अग्रता लिएको थियो । पाँचौं दिन अन्तिम ३० ओभर ब्याटिङ गर्दै भारत ६४–२ को अवस्थामा थियो । कोेहली १२ र पुजारा ८ रनमा अविजित थिए । न्युजिल्यान्डलाई अन्तिम दिन जित निकाल्न भारतलाई अल आउट गर्दै लक्ष्य पूरा गर्नुपर्ने हुन्थ्यो । तर कोहली, रहाणे र पुजारा जस्ता ब्याट्सम्यान क्रिजमा हुँदा नतिजा आउन सहज थिएन ।

जेमिसनले छैटौं दिन सुरुमै कोहलीलाई १३ र पुजारालाई १५ रनमा क्याच आउट गर्दै भारतलाई संकटमा पुर्याएका थिए । यी दुई ब्याट्सम्यान आउट हुनु भारतको हारको टनिङ प्वाइन्ट बन्यो । त्यसपछि भारत समालिन सकेन । १ सय ७० रनमा अल आउट हुँदै १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो ।

खेलमा ५३ ओभर बाँकी हुँदा न्युजिल्यान्डलाई उपाधि जित्न कुनै मुश्किल थिएन । न्युजिल्यान्डले ४५.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पूरा गर्यो । केन विलियम्सन ४२ र रस टेलर ४७ रनमा अविजित हुँदै उपाधि पक्का गराए । यी दुई महान खेलाडीले आफ्नो आइसिसीको उपाधि भोक पनि अन्त्य गरे ।

जेमिसन ‘प्लेयर अफ द म्याच’ चुनिए । जेमिसनले अन्तर्राष्ट्रिय क्रिकेटमा पाईला टेकेको डेढ वर्ष मात्र भएको छ । डेढ वर्षमै स्टार खेलाडी बनि सकेका छन् । अष्ट्रेलिया र इंग्ल्यान्ड जस्ता देशलाई पछि पार्दै शीर्ष दुईमा रहेर फाइनल खेल्न उनको प्रदर्शन महत्वपूर्ण थियो । जेमिसनले हाल ८ टेस्टमा ४६ विकेट लिई सकेका छन् । उनको खुबी स्वींग, बाउन्स र अनुसाशित लाइन र लेन्थ पकड्ने क्षमता हो ।

उनको उचाई ६.८ ईन्च छ । उचाईले पनि उनलाई अन्य बलरलाई भन्दा धेरै फाइदा हुन्छ । उनको बल पढ्न विपक्षीलाई कठिन पर्दछ । फाइनल खेलमा जेमिसन न्युजिल्यान्डका सर्वाधिक कान्छा खेलाडी थिए । २६ वर्षिय जेमिसनले उपाधि पछि यो विशाल क्षण भएको बताएका थिए । यो एक विशाल क्षण हो ।

‘मलाई थाहा थियो आज पहिलो घण्टा निकै महत्वपूर्ण र ठूलो छ । हामीले सहि क्षेत्रमा बल राखेका थियो । जुन सहज पक्कै थिएन’, उनले उपाधि जितेपछि भने, ‘विराट विश्वस्तरीय खेलाडी हुन् । रोयल च्यालेन्जर्स बेंगलोरमा रहँदा उनको बारे अनुभव राम्रो थियो । टेस्टमा उनलाई दुई पटक आउट गर्नु महान काम थियो ।’

भारत सन् २०२० को जनवरी फेब्रुअरीमा पाँच टि२० आई, दुई टेस्ट र तीन ओडिआई सिरिजको लागि न्युजिल्यान्ड भ्रमणमा गएको थियो । न्युजिल्यान्डले पाँच टि२० आई सिरिजमा क्लिन स्विपको हार बेहोरेको थियो । न्युजिल्यान्ड जित नजिक पुगेर सबै खेलमा पराजित भएको थियो । विशेषत कमजोर अन्त्य थियो । पाँच मध्य दुई खेल भारतले सुपर ओभरमा जितेको थियो । पहिलो ओडिआई खेल न्युजिल्यान्डले ३ सय ४८ रनको विजयी लक्ष्य ११ बल अगाडिनै ६ विकेटको क्षतिमा पूरा गर्दै सनसनी मच्चाएको थियो ।

पहिलो खेलबाट उच्च मनोबलमा रहेको न्युजिल्यान्डले दोस्रो खेलमा मिचेल सान्टनरको स्थानमा काईल जेमिसनलाई ओडिआईमा डेब्यू दिने निर्णय लियो । घरेलु क्रिकेटमा सानदार प्रदर्शन गरिरहेका जेमिसनले न्युजिल्यान्डको टोलीमा पनि सोहि लयलाई निरन्तरता दिए । दशौं नम्बरमा ब्याटिङ गर्दै जेमिसनले २४ बलमा १ चौका र २ छक्का सहित २५ रन जोड्नुको साथ २ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

ओडिआईमा राम्रो प्रभाव छाडेपछि न्युजिल्यान्डले उनलाई भारतविरुद्ध पहिलो टेस्टमा डेब्यू दिएको थियो । जेमिसनले डेब्यू खेलमा झन ठूलो प्रभाव छाडे । पहिलो इनिङमै जेमिसनले पुजारा, कोहली, हनुमा विहारी र ईशान्त शर्मा विकेट लिए । जेमिसनले तल्लोक्रममा ४५ बलमा १ चौका र ४ छक्का सहित ४४ रनको इनिङ खेले । ९ रनको लक्ष्य न्युजिल्यान्डले १.४ ओभरमै पूरा गर्दै १० विकेटको सानदार जित निकालेको थियो ।

दोस्रो खेलमा जेमिसनले आफ्नो करिअरको पहिलो पाँच विकेट लिए । जसमा पुजारा, पृथ्वी शा, पन्त, रविन्द्र जडेजा र उमेश यादवको विकेट सामेल थियो । ब्याटिङतर्फ ६३ बलमा ७ चौका सहित ४९ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । त्यसपछि जेमिसनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

जेमिसनको बाल्यकाल

जेमिसनको जन्म सन् १९९४ डिसेम्बर ३० मा अकल्यान्डमा भएको हो । उनको पूरा नाम काईल एलेक्स जेमिसन हो । जेमिसन स्कुल क्रिकेट हुँदै हुर्किएका हुन् । जेमिसन गल्फमा पनि रुचि राख्थे । जेमिसन सुरुमा ब्याटिङ अलराउन्डर थिए ।

सन् २०१२ जेमिसनको बलिङ प्रशिक्षक डेली हडली र रिचर्ड हेडलीसँग भेट भयो । रिचर्डले उनको शरीरिको उचाई देखेपछि बलिङ अलराउन्डर बनाउनतर्फ लागे । रिचर्ड न्युजिल्यान्डका सर्वाधिक सफल टेस्ट बलर हुन् । सन् २०१४ मा जेमिसनले यू–१९ विश्वकप खेले । विश्वकपको पहिलो खेलमा श्रीलंकाविरुद्ध ४ विकेट लिनुको साथै २९ रन जोडेका थिए । त्यसपछिका खेलमा उनको प्रदर्शन राम्रो हुन सकेन ।

जेमिसनले न्युजिल्यान्डको सर्वाधिक ठूलो घरेलु टि२० प्रतियोगिता सुपर साम्श २०१६/१७ मा सिजनमा क्यान्टरबरीमा अनुबन्ध भएका थिए । २०१९ को सिजनमा जनवरी १ मा जेमिसनले अकल्याण्डविरुद्ध ४ ओभरमा ७ रन खर्चेर ६ विकेट लिदै न्युजिल्यान्डबाट टि२० क्रिकेटमा सर्वोत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बने ।

२०१८/१९ को सुपर स्माश जेमिसनले १० खेलमा २२ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीमा शीर्ष स्थानमा रहे । २०१८ मा एक मैत्रीपूर्ण खेलमा न्युजिल्यान्ड ११ बाट हामिल्टनमा इंग्ल्यान्डको भ्रमण टोलीविरुद्ध आठौं नम्बरमा ब्याटिङ गर्दै जेमिसनले १ सय १८ बलमा १६ चौका र २ छक्का सहित १ सय १ रनको शतकीय इनिङ खेल्द रिटायर्ड हर्ट भएका थिए ।

उक्त उत्कृष्ट प्रदर्शन पछि त्यसै वर्ष डिसेम्बरमा अष्ट्रेलियाविरुद्ध टेस्ट सिरिजको लागि जेमिसन न्युजिल्यान्डको टोलीमा परेका थिए । तर डेब्यू भने गर्न पाएनन् । २०२० जनवरीमा उनी भारतविरुद्ध सिरिजलाई टोलीमा परे । भारतविरुद्ध ओडिआई र टेस्ट सिरिजमा उत्कृष्ट प्रर्दशनका साथ विश्व क्रिकेटमा तहल्का पिट्न थालेका थिए ।

नोभेम्बरमा वेस्टइन्डिजविरुद्ध जेमिसनले टि२० आईमा डेब्यू गरेका थिए । जनवरी २०२१ मा पाकिस्तानविरुद्ध दोस्रो टेस्ट खेलमा पहिलो इनिङमा पाँच र दोस्रोमा ६ गरि कुल ११ विकेट लिँदै आफ्नो करिअरको सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए ।

आइपिएलमा २४ करोडको मूल्य

पछिल्लो एक वर्षमा जेमिसनको प्रदर्शन सर्वोत्कृष्ट रहँदै आएको थियो । इन्डियन प्रिमियर लिग (आइपिएल) मा जेमिसनलाई किन्न पन्जाब किंग्स, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंगलोरबीच होडबाजी चलेको थियो । बेंगलोरले १५ करोड भारु (२४ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको थियो ।

गत अप्रिल ९ मा मुम्बई इन्डियन्स विरुद्ध डेब्यू गर्दै ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिएका थिए । कोरोना कारण आइपिएल स्थगित हुँदा जेमिसन ७ खेलमा ९ विकेट लिएका थिए । आइपिएलको समयमा विराटले जेमिसनलाई नेटमा ड्यूक्स बलले बलिङ गर्न आग्रह गरेपनि सिधैं अस्वीकार गरेका थिए । कारण यहि बलले टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने तय थियो र जेमिसन कोहलीलाई यसको फाइदा दिन चाहन्नथे ।

स्टार खेलाडीको उदय र नयाँ उचाईको सम्भावना

जेमिसनको बलमा स्विंग, बाउन्स र कन्ट्रोल छ । अनुशासन र शरीरिको उचाई पनि छ । ८ टेस्ट खेलमा ४६ विकेट लिनुको साथै २ सय ५६ रन बनाई सकेका छन् । जेमिसनले सुरुवातमा जुन प्रदर्शन गरेका छन् त्यसले न्युजिल्यान्डलाई ठूलो आशा र सम्भावना राखेको छ । जेमिसन आगमी दिनमा अन्तर्राष्ट्रिय खेल खेल्दै जाँदा झन धेरै निखारीदै जार्दै विश्व क्रिकेटमै झन् ठूलो प्रभाव जमाउने छन् ।

सन् २००० पछि न्युजिल्यान्डले पहिलो पटक आइसिसीको उपाधि जित्न उनको योगदान महत्वपूर्ण छ । २००० भारतलाई ४ विकेटले हराउँदै आइसिसी नक आउट (च्याम्पियन्स ट्रफी) पहिलो पटक जितेको थियो । जेमिसनले विश्व क्रिकेटकै एक महान खेलाडीको संज्ञा दिएका छन् । जेमिसनले आफ्नो उत्कृष्ट प्रदर्शनले न्युजिल्यान्डलाई थप उचाईमा लैजानेमा कुनै शंका छैन । त्यसको लागि जेमिसन चोटबाट भने बच्नुपर्ने हुन्छ । तीव्र गतिका बलरलाई चोटको सर्वाधिक बढी डर हुन्छ ।

(एजेन्सीको सहयोगमा भूपेन्द्र जिसीको प्रस्तुति)

December 12, 2024

जनकपुरविरुद्ध काठमाडौंको खराब ब्याटिङ

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गर्दा झिनो योगफलमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं निर्धारित १९.३ ओभरमा अल आउट हुदै १ सय १ रनको झिनो योगफल तयार गर्यो । काठमाडौंका लागि जेहार्ड एरास्मसले सर्वाधिक २० रन बनाए । उनले २२ बलमा २ […]

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर जनकपुर बोल्ट्स ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेइङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव […]

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

Success

Thank you for your time.