default_image

4 years ago

February 7, 2021

साथीको जुत्ता र भान्जाको साथमा राष्ट्रिय टोलीको यात्रा

326 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

कर्णाली प्रदेशको जाजरकोट आर्थिक देखि भौगलिक लगायत अधिकांश पक्षमा पिछडिएको जिल्ला हो । सामान्य जीविका निर्वाह गर्न नै धौधौ पर्ने जाजरकोटमा खेल प्राथमिकता त पर जावोस्, खेल्ने नै कम भेटिन्छन् । कहिलेकाहीं फुर्सदमा बालबालिकाले खेल्नेबाहेक खेलकुद, अझ क्रिकेट शून्यप्राय छ ।

स्थान बिकट हुँदा खेलका कार्यक्रम कम होलान्, तर प्रतिभा र रुचिलाई भने यसले रोक्न सक्दैन । त्यसका उदाहरण १६ वर्षीय क्रिकेटर अनुज चनारा हुन् । नेपाल क्रिकेट संघ (क्यान) ले ओमान भ्रमणको लागि बिहिबार ३२ सदस्य खेलाडीको नाम सार्वजनिक गयो । जसमा कर्णाली प्रदेशका एकमात्र प्रतिनिधिका रुपमा तीब्र गतिका बलर अनुज पहिलोपटक बन्द प्रशिक्षणमा परे ।

प्रधानमन्त्री कपअघि अनुजलाई नेपाली क्रिकेटमा चिन्ने सायदै कोहि थिए । दुई साता लामो प्रतियोगितामा उनले गरेको प्रर्दशन राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म पुग्न पर्याप्त रहयो । छोटो समयमै उनले ठूलो फड्को मारेका छन् । प्रदर्शन देखाउन दुई साता लागेपनि त्यसका लागि आधार खडा गर्न उनले गरेको संघर्ष र मिहिनेत भने सामान्य परिस्थितिभन्दा फरक छ ।

बिहीबार राष्ट्रिय टोलीमा सार्वजनिक भएपछि भान्जा नरेन्द्र विकले फोन गरेर अनुजलाई यसबारे जानकारी दिए । सुरुमा विश्वास नै गर्न सकेनन् । किनभने उनले राष्ट्रिय टोलीबारे सोचेकै थिएनन् ।

‘मैले क्रिकेट सुरु गरेको दुई वर्ष पनि भएको छैन । कोरोना महामारीले गर्दा ८-९ महिना अभ्यास पनि गर्न पाइएन । नेपाली टोलीको क्याम्पमा पर्छु भन्ने भनेर सोचेको पनि थिइनँ’, उनले भने ,’ कोरोनापछि प्रधानमन्त्री कप भयो । प्रर्दशन पनि राम्रो भयो । तर म नेपाली टोलीको क्याम्पमा परे । यी सबै कल्पना बाहिरका छन् ।’

बन्द प्रशिक्षणमा परेपनि उनले अहिले नै नेपाली टोलीमा पर्छु भन्ने सोचेका छैनन् । प्रशिक्षणबाट धेरै भन्दा धेरै कुरा सिकेर फर्किने सोच राखेका छन् । ‘मैले जति हुन सक्छ राम्रो कुरा सिक्ने प्रयास गर्ने छु । प्रशिक्षक डेभ ह्वाटमोरसँग सिक्ने मौका मिलेको छ । यस्तो मौका फेरि नआउन पनि सक्छ । सिनियर दाईहरुबाट पनि धेरै सिक्ने प्रयास गर्ने छु । यो मेरा लागि ठूलो अवसर हो,’ उनले थपे ।

यसअघि कर्णाली प्रतियोगिताकै सर्वाधिक कमजोर टोलीमा पर्थ्यो । तर यस पटक कर्णालीले त्यो गलत साबित गरिदियो । विभागीय टोलीलाई नै कडा प्रतिस्पर्धा दिएको थियो । प्रधानमन्त्री कप क्रिकेटमा पहिलो जित निकाल्ने क्रममा गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

‘हामीले प्रतियोगिताअघि त्यस्तो योजना त खासै केहि गरेका थिएनौं । पहिलो प्रदेशको छनोट हुन्थ्यो र सिधै खेल खेल्न आउथ्यौं । आफ्नै टोलीका खेलाडीलाई चिनिदैन थियो । गतवर्ष म एमएम कप खेल्दा दुई चार जनालाई मात्र चिनेको थिए । कर्णालीको त्यो अवस्था थियो,’ उनले सुनाए ।

‘यसपटक हाम्रो बन्द प्रशिक्षण पनि सुरु भयो । कोच पउल फरेरालाई पायौं । फरेराले राम्रो पक्ष सिकाउनु भयो । विभागीय टोलीभन्दा हामी पनि कम छैनौं । हामी पनि खेल्न सक्छौं र हराउन सक्छौं भनेर मनोबल बढाउनुको साथैं मानसिकता एकदमै परिवर्तन गर्नु भएको थियो,’ उनले थपे ।

‘पहिला हामी प्रतियोगिता खेल्न जाने, सहभागिता जनाउने र आउने मानसिकता बाहेक अरु केहि हुँदैन थियो । अहिलेसम्म कर्णालीले राम्रो प्रर्दशन पनि गरेको थिएन । तर यस पटक हामी राम्रो प्रर्दशन गर्ने सोच लिएर गएका थियौं । गर्न सक्छौं भन्ने आत्मविश्वास पनि थियो । यस सफलताको श्रेय प्रशिक्षक फरेरालाई जान्छ,’ उनले प्रशिक्षक फरेराको प्रभावबारे सुनाए ।

‘मैले प्रतियोगिता खेल्न आउनु अघि यति विकेट लिन्छु । यस्तो उस्तो गर्छु केहि सोचेको थिइनँ। कोचले पहिला विकेटको लागि नजाउ । आफ्नो लेन्थ र लाइनमा ध्यान देउ भन्नु भएको थियो । ब्याट्सम्यानले जानी जानी विकेट दिँदैन र तिमीले जानी जानी लिन सक्दैनौं, आफ्नो लाइन लेन्थमा ध्यान देउ । ब्याट्सम्यानले एउटा न एउटा गल्ती गर्छ र विकेट आउछ भन्नु भएको थियो । त्यहि अनुसार बलिङ गरे र सफल पनि भए,’ अनुजले थपे ।

अनुजले त्रिभुवन आर्मी क्लबविरुद्ध मुलपानीमा डेब्यू गरेका थिए । उनले सुनाए,’ मेरो पहिलो विकेट रोहित कुमार पौडेलको थियो । नेपाली क्रिकेट टोलीको खेलाडीको विकेट लिँदा यति खुसी थिए । गण्डकी र प्रदेश एकविरुद्ध पनि राम्रो विकेट लिए ।’

कर्णालीले अन्तिम खेल नेपाल एपिएफ क्लबसँग टियुमा खेलेको थियो । उक्त खेलमा एपिएफ ४९.५ ओभरमा २ सय १८ रनमा अल आउट भयो । कर्णाली ४४ ओभर खेल्दै १ सय ४७ रनमा अल आउट भएको थियो । एपिएफलाई सस्तैमा आउट गर्न अनुजले ६.५ ओभरमा १ मेडन सहित ३० रन खर्चेर ३ विकेट लिए ।

अनुजको नवौं ओभरको दोस्रो बलमा शरद भेषावकर कभरमा सट खेल्नेक्रममा हिमान्शु शाहीबाट ८ रनमा क्याच आउट हुन पुगे । अनुजलाई बलिङ गर्ने क्रममा ब्याट्सम्यान शरद हुन् भन्ने थाहा रहेनछ । विकेट लिइसके पछि मात्र थाहा पाए ।

‘आउट गरेको बेला मलाई शरद दाइ ब्याटिङमा भन्ने थाहा थिएन । तर आउट गरेपछि मात्र थाहा पाए । त्यसपछि यति खुसी भएकी जीवनकै सबैभन्दा ठूलो खुसी त्यहि थियो । शरद दाई भनेको नेपाली क्रिकेटमा टप अडरको राम्रो ब्याट्सम्यान हुनुन्छ,’ उनले उत्साहित हुँदै सुनाए ।

अनुजको आर्थिक अवस्था यतिसम्म कमजोर छ की उनी प्रधानमन्त्री कप खेल्न आउँदा जुत्ता किन्ने पैसा नै थिएन । साथीको मागेर लाएर आएका थिए । अहिले बन्द प्रशिक्षणका लागि लगाउने जुत्ता उनीसँग छैन ।

‘प्रधानमन्त्री कप खेल्न आउँदा त्यो पनि एकेडेमीमा सँगै प्रशिक्षण गर्ने बाबुरामको मागेर ल्याएर आएका थिए । किन्ने हो भने ४/५ हजार रुपैयाँ भन्दा कममा आउदैन । घरबाट जुत्ता किन्न नै पैसा दिन सम्भव छैन । अहिले बन्द प्रशिक्षणमा आउँदा साथीको खेल परेकोले त्यो मागेर पनि ल्याउन पाइन,’ उनले भने, ‘अहिले त सामान्य खालको रबरको झन्डै एक वर्षअघि किनेको लगाएर आएको छु । यसैले काम चलाउन बाहेक मसँग अर्को विकल्प छैन ।’

अनुजको जन्म जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर ५ मा बुबा अजविर र आमा मनसरीको कोखबाट दोस्रो सन्तानको रुपमा २०६२ भदौ १४ गते भएको हो । उनका बाबा, मम्मी, भाई बहिनी भारतमै बस्छन् । उनी घरको माइलो छोरा हुन् ।

जेठो दाई जाजरकोटमै छन्, भाइ र बहिनी हिमाचलमै पढ्छन् । कमजोर आर्थिक अवस्थाको कारण बाबा मम्मीसँगै उनी सानो उमेरमै भारततर्फ लागे । भारतको हिमाचल प्रदेशको किन्नौर गाउँमा बाबा मम्मी मजदुरी गर्छन् । परिवारलाई विहान बेलुका खाननै ठूलो संघर्ष गर्नुपर्छ । त्यसैले क्रिकेटमा घरबाट उनलाई साथ र समर्थन थिएन । अनुजले गोभरमेन्ट सिनियर सेकेन्डरी स्कुल किल्बामा पढ्दै गर्दा छोडेका थिए ।

कक्षा ४ मा पढ्दा देखि भारत गएका उनी त्यसपछि टेनिस बलले क्रिकेट खेल्न थाले । बाबु आमानै दुवै जना भारत जान परेपछि अनुजलाई पनि लिएर गएका थिए । क्रिकेट खेल्दा खेल्दै गर्दा उनमा झन् क्रिकेटप्रति रुची र मोह बढ्दै गयो । त्यसपछि पढाइमा ध्यान दिन छाडे । उनको तनमन सबै क्रिकेटमा हुन्थ्यो । क्रिकेट नशानै बनेको थियो ।

लगातार क्रिकेट खेल्दै आएका उनी सुरुमा बलर भने थिएनन् । अनुज सुरुमा विकेटकिपर ब्याट्सम्यान थिए । तर उनले पढ्ने कक्षामा कुनैपनि बलर भएन । त्यसैले उनी बलर हुनुपर्यो । एकपछि अर्को खेलमा बलिङ गर्दा उनी निखारिंदै गए र राम्रो बलर बने । ५ फिट ८ इन्च अग्ला अनुजलाई बलिङमा सहज पनि भयो । यसरीनै उनको दिनहरु बित्दै गए ।

कक्षा ९ मा पढ्दै गर्दा उनलाई नेपाल आउन मन लाग्यो । तर क्रिकेट खेल्नकै लागि घरबाट बाहिर भने उनलाई सहयोग थिएन । अनुजका बाबु आमाले राम्रोसँग क्रिकेट बुझ्दैनन्, खेल्न दिन नै सहयोग गर्न सम्भव पनि भएन । त्यसपछि उनले चितवन बस्दै आएका भान्जा नरेन्द्र विकलाई फोन गरे । उनी नरेन्द्रसँग सम्पर्क भएपछि घरमा कसैलाई नभनी क्रिकेट खेल्न नेपाल आए । उनले आफू नेपाल आएको बाबु,आमा साथीभाई कसैलाई पनि भनेनन् ।

‘म सुरुमा नेपाल आउँदा कसैलाई पनि भनेको थिएन । भागेर आएको थिएँ । घरबाट खेल्न मात्र त्यस्तो साथ पाउन्न थिएँ । क्रिकेट खेलेर कसले के नै गर्यो र? भन्ने जवाफ पाउँथे । तर मलाई पढ्न पटक्कै मन थिएन । क्रिकेट खेल्न मात्र मन लाग्थ्यो’, अनुज विगत सम्झदै भन्छन् ।

‘हरिद्वारमा आएपछि मात्र मैले मम्मीलाई फोन गरेर नेपाल गएको बताएको थिए । मम्मी अचम्म पर्नुभयो । कसैलाई केहि नभनी किन गइस् भन्नुभयो । पछि चितवन आएर सबैसँग कुरा गरे । म गतवर्ष कक्षा ९ मा पढ्दै गर्दा मंसिरतिर नेपाल आएको थिए,’ उनले सुनाए ।

चितवन आउनुअघि अनुज कहिल्यै एकेडेमी पुगेका थिएनन् । कमजोर आर्थिक अवस्था र घरको साथ नहुँदा हिमाचल प्रदेशमा त्यो सम्भव पनि थिएन । चितवन क्रिकेट एकेडेमीमा आएपछि भने उनको नयाँ यात्रा सुरु भयो । आर्थिक पक्ष कमजोर रहेका अनुजलाई यहाँसम्म ल्याउन नरेन्द्रको ठूलो भूमिका रहयो । नरेन्द्रकै साथ, सहयोग र हौसलाले अनुजले छोटो समयमै यो यात्रा तय गर्न सफल रहे ।

‘एकेडेमी नेपाल आएरै सिकेको हुँ । भान्जा (नरेन्द्र) ले घरको आर्थिक अवस्थालाई लिएर चिन्ता नगर्नुस् । आफ्नो खेलमा ध्यान दिनुहोस् । हजुरलाई जे आइपर्छ सबै म हेर्छु भनेपछि म ढुक्क भएँ । घरबाट पठाइदिने पैसाले चितवनमा कस्सिएर क्रिकेट सिक्न सम्भव थिएन । २-३ महिनामा ५ हजार पठाइदिनुहुन्थ्यो । त्यो त कोठा भाडा र एकेडेमी फि तिर्न राम्रोसँग पुग्दैन थियो,’ अनुजले सुनाए ।

‘एक महिना जति एकेडेमीमा सिकेपछि इनरुवामा हुने प्रतियोगिताको लागि कर्णाली प्रदेशको छनोट खुलेको थाहा पाए । अनि सुर्खेतमा ट्रायल दिन गएँ । खै दाईहरुले के देखेर छनोट पनि गरिहाल्नु भयो । इनरुवाको प्रतियोगिता सकिएपछि कोरोना आयो र म जाजरकोट गएँ । त्यसले ७/८ महिना अभ्यास गर्न पाइन,’ अनुजले सुनाए ।

‘कोरोना केहि साम्य भएपछि एकेडेमी फर्किएँ । एक महिना जति अभ्यास गरेपछि प्रधानमन्त्री कप छनोट भयो । प्रर्दशन पनि राम्रो भयो । अहिले यहाँ आइपुगेको छु,’ उनले भने, ‘कर्णालीको टोलीमा परेपछि फोन गरेर मम्मी र बाबालाई जानकारी गराए ।’

‘उहाँहरु क्रिकेट त्यति बुझ्नु हुन्न । कसले के गरेको छ र तिम्रो छोराले गर्ला भनेर कुरा काट्छन् । मम्मीले पनि क्रिकेट खेलेकोमा खासै राम्रो मान्नुहुने थिएन । जे मन लाग्छ त्यहि गर भन्नुहुन्छ । म राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा परेको छु भन्दा पनि खासै खुसी हुनुभएन । किनभने त्यसको महत्व उहाँलाई थाहा नै छैन । यदि बुझ्ने हुनुहुन्थ्यो भने पक्कै खुसी हुनुन्थ्यो ।’

नरेन्द्रकी पत्नी विपना, नरेन्द्र र अनुज

अनुज हाल चितवनको भरतपुरमा बस्छन् । त्यहाँबाट क्याम्पाचौरमा रहेको एकेडेमीमा हिँडेर आउने जाने गर्छन् । क्याम्पाचौरसम्म बसमा आउने जाने बस भाडा नहुँदा उनी हिडेर नै आउने जाने गर्छन् । खाजा खाने पैसा जुटाउन पनि कठिन छ । कहिलेकाहिँ खाना नखाई दिनभर अभ्यास गर्छन् ।

‘राजु खड्का सरले पनि धेरै कुरा सिकाउनु र सहयोग गर्नुभयो । अन्य दाईरुले पनि धेरै सहयोग गर्नु भयो । हिडेर आधा घण्टामा एकेडेमी पुगिन्छ । पैसा भएको दिन गाडि चढेर जान्थे, नत्र धेरैजसो हिडेर नै जान्छु,’ उनले सुनाए ।

‘एकेडेमीमा सिक्न आउँदा अरुलाई देखेपछि केहि गर्छु भन्ने आत्मविश्वास जाग्थ्यो । व्यक्तिगत रुपमा समान सुविधा नपाएपनि अरु भन्दा छिटो राम्रो गरेर देखाउँछु भन्ने सोचेर अघि बढें । मिहिनेत गरिरहे एक न एक दिन त मेरो दिन आउला भन्ने सोचिरहें । तर यति चाडैं यो स्थानमा आइपुगिन्छ भन्ने सोचेको थिइनँ,’ उनले सुनाए ।

उनले गतवर्ष कर्णालीबाट नेपाल पुलिस क्लबविरुद्ध पहिलो खेल खेलेका थिए । तर डेब्यू भने राम्रो हुन सकेन । ६ ओभर बलिङ गर्दै ४९ रन खर्चे । ‘त्यो खेलपछि म केहि हैन रहेछु भन्ने लाग्यो । क्रिकेट खेलौं की छोडौं भन्ने सोचमा समेत पुगे । साह्रै दुखी भएँ । दोस्रो खेलमा दाईहरुले मौका दिएपछि भने मनोबल बढ्यो । प्रर्दशन पनि राम्रो भयो । त्यसपछि लगातार राम्रो प्रदर्शन गर्न सफल रहेको छु,’ उनले भने ।

संघर्षपूर्ण यात्रा गरिरहेका अनुजले राष्ट्रिय टोलीबाट खेल्ने सपना देखेका छन् । ‘मेरो एउटै उद्देश्य र सपना भनेको नेपाली क्रिकेट टोलीको जर्सी लगाउने हो । त्यसको लागि अहिले राम्रो अवसर आएको छ । अहिले मैले धेरै भन्दा धेरै  सिक्नुछ । यो अवसरलाई भविष्यका लागि राम्रो पथ बनाउन मैले सक्दो मिहिनेत गर्नेछु,’ उनले भने ।

राष्ट्रिय टोलीमा तीब्र गतिका बलरको रुपमा स्थान बनाउन सहज अवस्था छैन । त्यो अनुजले पनि राम्रोसँग बुझेका छन् । अहिलेको अवसरलाई सिक्ने आधारको रुपमा लिएका उनले आफ्नो यात्रालाई भने निरन्तरता दिनुपर्छ ।

अनुजको आर्थिक अवस्था क्रिकेटमा लागिरहन पर्याप्त छैन । प्रशिक्षणका लागि खासै खर्च नलाग्ने हुँदा भान्जाको साथ-सहयोगले उनी अघि बढेका छन् । तर अर्को स्तरमा पुगेपछि क्रिकेटमै लाग्ने खर्च उठाउन सक्ने अवस्थामा उनी अहिले छैनन् । बन्द प्रशिक्षणमा परेपछि सम्बन्धित निकायबाट सहयोग पाउनेमा उनी आशावादी छन् । उमेर समूह क्रिकेट खेल्न नै उमेर पुग्ने हुनाले पनि क्यान आफैंले उनलाई सहयोग गर्ने आशा गर्न सकिन्छ ।

January 24, 2025

बर्खा स्मृति क्रिकेटमा भद्रपुरको जित

हिमाल खरेल, बिर्तामोड झापाको बुद्धशान्तिमा जारी दोस्रो झापा जिल्ला अन्तरपालिका टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका विजयी हुँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले […]

January 24, 2025

जय नेपाल कप – ढाका र लखनउको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप टि ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ढाका विश्वविद्यालय र लखनउ विश्वविद्यालय विजयी भएका छन् । शुक्रवारको पहिलो खेलमा बंगलादेशको ढाकाले नेपालको पुर्वाञ्चल विश्व विद्यालयलाई १ सय ५२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ढाकाले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको पुर्वाञ्चल १९.३ ओभरमा ८३ रनमा समेटियो । […]

January 24, 2025

महिला पिएम कप – बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको दिनको दोस्रो खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको हो । सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रनमा समेटियो । बागमतीका लागि यशोदा बिष्टले […]

Success

Thank you for your time.