4 years ago
February 6, 2021
भुपेन्द्र जिसी, काठमाडौं
कुनै समय नेपालको पूर्वी भेग क्रिकेटका लागि उर्वर भुमि मानिन्थ्यो । राष्ट्रिय टोलीमा पूर्वकै खेलाडीको वर्चस्व थियो भने राष्ट्रिय क्रिकेटको उपाधि पूर्वतिरै रहन्थ्यो । २०५८ साल देखि २०६१ सम्म लगातार चार पटक राष्ट्रिय प्रतियोगिता जित्दै विराटनगरले इतिहास नै रचेको थियो ।
घरेलु प्रतियोगितामा वर्चस्व जमाएको त्यस समयमा राष्ट्रिय टोलीमा अधिकांश खेलाडी पूर्वकै थिए । एसीसी ट्रफी २००२ का दौरान तत्कालिन विराटनगर क्षेत्रबाट ७ खेलाडी नेपाली राष्ट्रिय क्रिकेट टोलीमा रहेका थिए । मञ्जित श्रेष्ठ, लाक्पा लामा, राजकुमार प्रधान, महबुब आलम, मनोज कटवाल, पारस लुनिया र दीपेन्द्र चौधरीले एकै पटक नेपाली क्रिकेट टोलीबाट खेल्दा प्रदेश एकको नेपाली क्रिकेटमा पहिचान फरक थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार ओमानमा हुने आइसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि ३२ सदस्य टोली घोषणा गर्यो । तर प्रदेश एकबाट प्रधानमन्त्री कप खेलेका कुनै पनि खेलाडी अट्न सकेनन् । प्रधानमन्त्री कपमा सहभागी १० टोलीमध्य प्रदेश एक मात्र त्यस्तो टोली रहयो जसबाट कुनैपनि खेलाडी बन्द प्रशिक्षणमा अट्न सकेनन् ।
यसअघि शून्यप्राय देखिने कर्णाली, गण्डकी र सुदूरपश्चिमबाट एक-एक खेलाडी अट्दा प्रदेश एकको प्रतिनिधित्व भने शून्य हुन पुग्यो । बागमतीबाट चार, लुम्बिनी र प्रदेश दुईबाट २–२ खेलाडी परेका थिए । अन्य खेलाडी विभागबाट खेल्दै आएका छन् ।
घोषणा टोलीमा गण्डकी प्रदेशका १५ वर्षिय युवा ब्याट्सम्यान अर्जुन कुमाल पहिलो पटक अट्दा अनुभवी ब्याट्सम्यान सुबास खकुरेल र स्पिनर वसन्त रेग्मी बन्द प्रशिक्षणमै अटेनन् । छनोट समितिले राष्ट्रिय टोलीमा प्रतिस्पर्धा गर्न अव नाम र अनुभव मात्र नभएर प्रर्दशन पनि हुनुपर्ने सन्देश दिएको छ । पहिलो पटक जिल्ला र प्रदेश छनोट गर्दै प्रादेशिक टोली बनेका हुँदा प्रतियोगितामा युवा खेलाडीको बाहुल्यता साथैं प्रर्दशन पनि उच्च र अब्बल थियो ।
वर्तमान समयमा महिला क्रिकेटमा आधा भन्दा बढी हिस्सा प्रदेश एक को छ । नेपालबाट खेलिसकेका आक्रामक ब्याट्सम्यान सिद्धान्त लोहनी कप्तान रहेको प्रदेश एक अन्तिम खेलमा कर्णालीलाई हराउँदै जित विहिन हुनबाट बचेको थियो ।
त्यसो त प्रधानमन्त्री कप खेल्नु अघिनै प्रदेश एक खेलाडी छनोटमा विवादमा फसकेको थियो । निष्पक्ष खेलाडी छनोट नगरेको भन्दै केहि खेलाडीले असन्तुष्ट जनाएका थिए । प्रदेश एकका कुनैपनि खेलाडीले प्रतियोगितामा कुल एक सय रन कटाउन सकेनन् । सर्वाधिक रन बनाउने खेलाडीमा सिद्धान्त लोहनी शीर्षस्थानमा रहे । उनले ४ खेलमा ९९ रन बनाए ।
प्रतियोगितामा सिद्धान्त लोहनी र विवेक मेहताले मात्र अर्धशतक प्रहार गर्न सके । कुल प्रतियोगितामा ७ भन्दा माथि कुनैपनि बलरले विकेट लिन सकेनन् । प्रर्दशन अनुसार बन्द प्रशिक्षणमा नपर्नु स्वभाविक थियो । विराटनगरले वर्चस्व जमाउँदा राष्ट्रिय टोलीमा समेत रहेका लाक्पा लामा टोलीका प्रशिक्षक थिए । खेलाडी बेलाका सहकर्मी राजकुमार प्रधान र लामाबीच खेलाडी छनोटमा उचित समन्वय हुन नसक्दा प्रदेश १ को छनोट विवादित बन्यो । नतिजा त्यसले टोलीको प्रदर्शनमा नै असर गर्यो ।
एक महिना अघि दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला प्रतियोगिता नेपाल एपिएफ क्लबलाई हराउँदै प्रदेश एकले उपाधि जितेको थियो । नेपाली महिला क्रिकेटमा कप्तान रुविना क्षेत्री बेलबासे, ब्याटर रोमा थापा, काजल श्रेष्ठ, अप्सरी बेगम, सबनम राई, संगिता राई लगायतका खेलाडी थिए । महिला क्रिकेटमा आधा हिंस्सा हुँदा पुरुषमा शून्य हुनु चाहिँ प्रदेश एकलाई सोच्नै पर्ने विषय बनेको छ । खेलाडी पनि त्यतिनै जिम्मेवार हुन आवश्यक छ ।
युवा खेलाडी विकासमा उचित ध्यान नपुग्दा यो अवस्था आएको प्रशिक्षक लामा बताउँछन् । ‘हामीले खेल्दा उमेर समूह र सिनियर टोली दुवैमा एउटा राम्रो समय थियो । हामी यू१९ र सिनियरमा एकै पटक पाँच जना खेलाडी खेलेका थियौं । त्यसपछि आउने युवा खेलाडी थिएन । युवा खेलाडी विकासमा ध्यान दिइएन । त्यसैले यो अवस्थामा आएका हौं’, अन्तिम खेलपछि प्रशिक्षक लामाले भनेका थिए ।
यता नेपाल पुलिका प्रशिक्षक, पूर्व खेलाडी तथा प्रदेश एक क्रिकेट संघका सचिव मनोज कटवाल प्रतियोगिता शून्य हुँदा यो अवस्था आएको बताउँछन् । ‘पहिला हामी खेल्दा प्लेइङ ११ मा सात आठ जना हाम्रो क्षेत्रका हुन्थ्यौं । तर क्यान निलम्बनमा परेपछि क्रिकेट गतिविधि शून्य जस्तै थियो । कोरोना भाइरसले झनै शून्य बनायो । प्रदेशमा गर्ने प्रतियोगिता पनि छैन । टि२० मा हुन थाल्यो । लामो शैलीका क्रिकेट नहुँदा पनि खेलाडीमा असर पर्यो, नियमति अभ्यास गर्न नपाएपछि हामी शुन्यता आयौं,’ कटवालले भने ।
खेलाडी विवादको विषयमा कटवालले नयाँ खेलाडीलाई मौका दिएको हुँदा त्यस्तो आवाज उठेको बताए । ‘हामी ग्रासरुट क्रिकेटलाई विकास गर्नुपर्छ भन्ने योजनामा जादैछौं । ग्रास रुटको लागि पाँच वर्षको कार्यक्रम लिएर आउँदै छौं । विद्यालय क्रिकेट गराउने प्रयासमा छौं । महिला क्रिकेटमा पनि हाम्रो झापाको मेचिनगरमा बढी निर्भर छ । हाम्रो चिन्ताको विषय अन्य जिल्लामा प्रभाव भएको भन्ने छ’, कटवालले भने ।
‘हाम्रो प्रदेशमा क्रिकेट सदस्य भएका पाँच जिल्ला छन् । ती जिल्लाहरुमा विद्यालय स्कुल अघि बढाउने र हरेक जिल्लामा एउटा एकेडेमी सञ्चालनमा ल्याउने योजनामा रहेका छौं । अहिले पनि केहि आशा बोकेका खेलाडी छन् । हामी ग्रास रुटलाई विकाश गरेर आगमी पाँच वर्षमा नयाँ खेलाडी निकाल्न खोजि रहेका छौं,’ कटवालले थपे ।
प्रतियोगितापछि कप्तान सिद्धान्त लोहनी, प्रशिक्षक लाक्पा लामा र खेलाडी मिनाश थापाको भनाइ यसप्रकार थियो :
बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीमा प्रदेश र विभागीय टोलीका खेलाडीहरु
प्रदेश एक : शून्य
प्रदेश २ : विवेक यादव र हरिशंकर शाह
बागमती प्रदेश : पृथु बास्कोटा, रामनरेश गिरी, पारस खड्का र ज्ञानेन्द्र मल्ल
गण्डकी प्रदेश : अर्जुन कुमाल
लुम्बिनी प्रदेश : कृष्ण कार्की र सौरभ खनाल
कर्णाली प्रदेश : अनुज चनारा
सुदूरपश्चिम : खडक बहादुर बोहरा
विभागीय टोलीबाट :
नेपाल पुलिस क्लब : सुनिल धमला, कुशल भुर्तेल, ललित नारायण राजवंशी, पवन सरार्फ, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी
नेपाल एपिएफ क्लब : कमलसिंह ऐरी, सन्दीप जोरा, शरद भेषावकर, अभिनास बोहरा र आसिफ शेख
त्रिभुवन आर्मी क्लब : विक्रम सोब, राजेश पुलामी मगर, रोहित कुमार पौडेल, सुशन भारी, साहब आलम, सोमपाल कामी, कुशल मल्ल, करण केसी र विनोद भण्डारी
करण, सोमपाल र कुशल यस पटक प्रधानमन्त्री कप खेलेका थिएनन् । टि१० लिगको कारण आर्मीका यी तीन खेलाडीले खलेका थिएनन् । लेगस्पिनर सन्दीप लामिछानेले हालसम्म प्रधानमन्त्री कप खेलेका छैनन् ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेईङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]