4 years ago
February 2, 2021
भुपेन्द्र जिसी, काठमाडौं
नेपाली लेगस्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अक्सनमा सामेल हुँदैछन् । दिल्ली क्यापिटल्सले तीन वर्षे सम्झौता पछि सन्दीपलाई फुकुवा गरेपछि सन्दीप अक्सनमा सहभागी हुनुपरेको हो ।
अक्सनमा सन्दीप महँगो मूल्य र नियमित खेल खेल्न पाउने टोलीमा जान खोज्ने छन् । अक्सन फेब्रुअरी १८ मा चेन्नईमा हुने छ । हरेक फ्रेन्चाइज टोलीले आफूलाई आवश्यक पर्ने खेलाडीलाई अनुबन्ध गर्न खोज्नेछन् । कुनैपनि टोली बलियो बनाउन अक्सनमा खेलाडी किन्दा निकै ध्यान दिनुपर्ने हुन्छ ।
अक्सनमा कुनैपनि एक खेलाडी धेरै टोलीलाई आवश्यक छ भने त्यसमाथि महँगो मूल्य लाग्ने गर्दछ । एकमात्र टोलीलाई आवश्यक भएमा जतिसुकै उत्कृष्ट खेलाडी भएपनि न्युनतम मूल्यमा चित्त बुझाउनुपर्छ । कुनैपनि खेलाडीमा उत्कृष्ट क्षमता हुँदैमा अक्सनमा बिक्छ भन्ने हुँदैन । किनभने उक्त खेलाडीको भूमिका फ्रेन्चाइज टोलीलाई त्यतिनै आवश्यक हुनुपर्छ ।
सन्दीपले दिल्लीबाट तीन सिजन विताउँदै कुल ९ खेलमा १३ विकेट लिएका थिए । सन् २०२० मा पुरै समय बेन्चमा बसेपनि २०१८ मा ३ खेलमा ५ र २०१९ मा ६ खेलमा ८ विकेट लिएका थिए । सन्दीप न्युनतम मूल्य ३२ लाख रुपैयाँमा अनुबन्ध भएका थिए ।
दिल्लीसँग अनुभवी स्पिनर अमित मिश्रा, रविचन्द्रन आश्विन र अक्षर पटेल हुँदा सन्दीपलाई फुकुवा गरेको थियो । आइपिएल २०२१ को लागि सबै टोलीले खलाडी रिटेन र रिलिज गरि सकेका छन् । सबै टोलीमा रहेका खेलाडी र फ्रेन्चाइज टोलीको आवश्यकता हेर्दा भने सन्दीप विक्न सक्ने सम्भावा न्यून देखिन्छ । आइपिएल २०२१ अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले अक्सनमा नकिन्न सक्ने प्रमुख तीन आधार यस प्रकार छन् ।
स्पिनर कम आवश्यक
आइपिएलमा एक टोलीले १८ देखि २५ सम्म खेलाडी राख्न पाउछन् । जसमा एकै टोलीमा ८ भन्दा बढी विदेशी खेलाडी राख्न पाइदैन । त्यसैले अक्सनमा उत्कृष्ट खेलाडीमात्र नभएर टोली सन्तुलनमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । आफूलाई आवश्यक नपर्ने खेलाडी किन्दैनन् । आइपिएलमा सबै टोलीमा प्रमुख स्पिनर छन् । दिल्लीलाई छोड्ने हो भने सनराइजर्स हैदराबाद र चेन्नई सुपर किंग्सले अक्सनमा एक एक विदेशी खेलाडी किन्न पाउने छन् ।
हैदराबादमा अफगानिस्तानका लेगस्पिनर राशिद खान प्रमुख स्पिनर हुँदा उनको विकल्पमा मोहम्मद नाबी र शहबाज नदीम छन् । चेन्नईमा इमरान ताहिर गतवर्ष पुरै बेन्चमा बसेका थिए । यसपटक पनि ताहिरलाई चेन्नईले टोलीमै राखेको छ । मिचेल सान्टनार र रविन्द्र जडेजा लगायतका स्पिनर चेन्नईमा हुँदा रुचि देखाउने छैन ।
यस सिजनमा सर्वाधिक विदेशी खेलाडी अनुबन्ध गर्न पाउने भनेको किंग्स इलाभेन पन्जाब छ । पन्जाबले ५ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छ । तर पन्जाबले आफ्ना प्रमुख स्पिनर मुजिब उर रहमानलाई फुकुवा गरेको हुँदा स्पिनर खेल्ने सम्भावना देखिदैन । पन्जाबसँग रवि बिश्रोई र मुरुगन आश्विन छन् ।
बेंगलोरमा युजभेन्द्र चहल र एडम जाम्पा रहँदा कोलकातामा वरुण चक्रबर्ती, सुनिल नारायण र कुलदीप यादव छन् । राजस्थान रोयल्समा रियान पराग, मयंक मारकान्डे, महिपाल लोमर र राहुल टेवाटिया जस्ता स्पिनर छन् । मारकन्डे यस सिजनमा पुरै बेन्चमा बसेका थिए । मुम्बईमा राहुल चहर छन् । सबै फ्रेन्चाइज टोलीले प्रमुख स्पिनर राखेका छन् । टोलीको आवश्यक कम हुँदा सन्दीप विक्ने सम्भावना न्यून देखिन्छ ।
अक्सनमा सन्दीप भन्दा राम्रो विकल्प
यसपटक अक्सनमा स्पिनरमाथि मुम्बई इन्डियन्सले रुचि देखाउन सक्छ । मुम्बईसँग प्रमुख स्पिनर राहुल चहर छन् । उनको विकल्पमा एक स्पिनर राख्न सक्छ । तर अक्सनमा सन्दीपले टेष्ट टोलीका विश्व चर्चित खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बंगलादेशका अलराउन्डर सकीब अल हसन पहिलो रोजाईमा पर्ने अनुमान गरिएको छ ।
गतवर्ष एक वर्षको प्रतिबन्धको कारण नखेलेका सकीब यो बर्ष अक्सनमा उपलब्ध हुने छन् । सकीबसँगै, मुजिब उर रहमान, मोईन अली र क्रिस ग्रिन लगायतका विश्वचर्चित खेलाडी अक्सनमा रहने छन् । मोइन, सकीब र ग्रिनले राम्रो ब्याटिङ पनि गर्ने हुँदा पहिलो रोजाई पर्ने छन् ।
सन्दीपको ब्याटिङ र फिल्डिङ तुलनात्मक रुपमा कमजोर देखिन्छ ।
विश्व क्रिकेटमा युवा स्पिनरको उत्कृष्ट प्रर्दशन त्यतिनै छ । अफगानिस्तानका १५ वर्षे काइस अहमद र अष्ट्रेलिया १९ वर्षिय लेग स्पिनर तनविर सांघामाथि पनि फ्रेन्चाइज टोलीको आर्कषण छ । तनविरले बिग ब्यास लिगमा उत्कृष्ट प्रर्दशन गरेका छन् । अहमदले अफगानिस्तान र फ्रेन्चाइज लिगमा निरन्तर राम्रो प्रर्दशन गर्दै आएका छन् ।
यसपटक फ्रेन्चाइज टोलीलाई स्पिनरको आवश्यक कम छ । त्यसमा पनि सन्दीप भन्दा उत्कृष्ट खेलाडी उपलब्ध हुँदा विक्ने सम्भावना कम देखिन्छ ।
सन्दीपको कमजोरीबारे खेलाडी जानकार
सन्दीपले विश्वका धेरै चर्चित लिग खेलिसकेका छन् । जसको कारण उनको कमजोरीबारे विश्वका ब्याट्सम्यानलाई राम्रोसँग थाहा छ । अर्कोतर्फ सन्दीप अन्तर्राष्ट्रिय स्तरमा लगातार खेलिरहेको हुनाले उनलाई खेल्न पनि ब्याट्सम्यानहरुलाई सहज हुन थालिसकेको छ ।
पछिल्लो सन्दीपले आफ्नो बलिङमा खासै परिवर्तन गरेका छैनन् । एकै एक्शन, शैली स्पिन भेराइटी धेरै नहुँदा उनको बलमा खेल्न विपक्षी ब्याट्सम्यानलाई पछिल्लो समय त्यति कठिन पनि देखिदैन । पछिल्लो समय सन्दीपको प्रर्दशन पनि त्यतिराम्रो छैन ।
यस सिजनको बिग ब्यास लिगमा सन्दीपले ८ खेलमा ८ मात्र विकेट लिए । पछिल्लो समय सन्दीपले लगातार फ्रेन्चाइज लिग खल्दै आएका छन् । तर सबै फ्रेन्चाइज लिगमा प्रर्दशन औसत छ । तीन वर्ष लगातार फ्रेन्चाइज लिग खेल्दा म्याच विनिङ प्रर्दशन कमै खेलमा गरेका छन् । फ्रेन्चाइज टोली विदेशी कोटामा सकेसम्म म्याच विनर खेलाडी अनुबन्ध गर्न खोज्ने छन् ।
त्यसैले सन्दीपमाथि कम रुचि देखाउन सक्छन् । अक्सनमा पछिल्लो समयको प्रर्दशन र लयलाई ध्यान दिँदै अनुबन्ध गर्ने गरिन्छ । सन्दीपले विग ब्यास लिगमा अपेक्षा भन्दा कमजोर प्रर्दशन गरे । त्यसको असर अक्सनमा पर्न सक्छ ।
यो पनि:
March 23, 2025
एजेन्सी – मुम्बई इण्डियन्सलाई ४ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। चेन्नइको जितमा रुतुराज गाइक्वाड र रचिन रविन्द्रको अर्धशतक महत्वपूर्ण रहयो। जितको लागि १ सय ५६ रनको सहज लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। ओपनर राहुल त्रिपाठी मात्र २ रनमा दीपक चाहरको बलमा आउट […]
March 23, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले जितको लागि चेन्नई सुपर किङ्सलाई १ सय ५६ रनको सहज लक्ष्य दिएको छ। मुम्बईको ब्याटिङ प्रदर्शन अत्यन्त फितलो रहयो। टस जितेर चेन्नईले पहिले फिल्डिङ रोज्यो। मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५५ रन बनायो। कमजोर सुरुवात गरेको मुम्बईले पहिलो पावर प्लेमा ३ विकेट गुमाउँदै […]
March 23, 2025
एजेन्सी – सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा विजयी सुरुवात गरेको छ। हैदरावादको राजीव गांधी स्टेडियममा आज सनराइजर्सले राजस्थान रोयल्स लाई ४४ रनले पराजित गरेको हो। २ सय ८७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ६ विकेक गुमाएर २ सय ४२ रन बनायो ।टोलीका लागि ध्रुव जुरेल र सन्जु साम्सनले अर्धशतक बनाए । जुरेलले ३५ […]