4 years ago
January 19, 2021
सुबास हुमागाईं, काठमाडौं
नेपाल क्रिकेट संघ (क्यान) माथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले लगाएको निलम्बन झन्डै ४ वर्षपछि फुकुवा गर्यो । आइसीसीले क्यानको नयाँ कार्यसमितिमाथि पूर्ण भर गर्न नसकेरै होला गत वर्ष यो निर्णय लिँदा ‘ससर्त’ भन्ने शब्द निलम्बनको अगाडी टासो लगायो । कारण, क्यानमा पुरानै व्यक्तिको हावी भएकाले त्यहि प्रवृत्ति मौलाउने डर ।
निलम्बन फुकुवापछि क्यानले नेपालमा त्रिकोणात्मक सिरिज सफलतापूर्वक आयोजना गर्यो । त्यसो त क्यान निलम्बनमा रहँदा पनि नेपालको अन्तर्राष्ट्रिय प्रतियोगिता रोकिएको थिएन । घरेलु क्रिकेट क्यान नहुँदा पनि जोडतोडका साथ चलेकै थियो । अझ नेपालमै प्राइभेट कम्पनिहरुले आइसीसीसँग स्वीकृति लिएर वृहत रुपमा लिग आयोजना गरेका थिए । महिलाको हकमा पनि वुमन्स च्याम्पियन्स लिगजस्तो स्तरीय प्रतियोगिता आयोजना भयो ।
क्यानको आगमनपछि घरेलु क्रिकेटमा शुन्यता कायम रहयो । क्यान आएपछि भइरहेका फ्रेन्चाइज लिग अनिश्चित बने र घरेलु क्रिकेटका नारा कागजमै सिमित रहे । कोरोना महामारीले क्यानले कागजमै राखेको योजना अब त्यहाँबाट बाहिर आउनेमै शंका उत्पन्न हुन थाल्यो ।
कोरोना केहि साम्य भएलगत्तै महिला प्रधानमन्त्री कप दाङको लमहीमा हुने भयो । यसै त शान्त खेलकुद, त्यसमाथि लामो समयपछि राष्ट्रिय महिला क्रिकेटका खेल । आफ्नो परिक्षा चल्दै गरेकाले प्रतियोगिता सुरु भएको दुई दिनपछि भएपनि प्रतियोगिता स्थल पुगें । लमहीको देउखुरी मैदानमा आउटफिल्ड केहि कमजोर हुनुबाहेक प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो ।
प्रचारको हिसाबले महिला क्रिकेटमा सायद राष्ट्रिय स्तरको सफल प्रतियोगिताको रुपमा यसलाई लिइएको थियो । नयाँ खेलाडीको आगमन, विभागीय टोलीको वर्चस्वको अन्त्य, प्रतिस्पर्धात्मक खेल, लगायत पक्षले प्रतियोगिताको रोमान्च थपिएको थियो । त्यसो त क्यानले महिला र पुरुष दुवैको प्रतियोगिता एकै समयमा गर्न खोजेकोमा दुवै प्रतियोगिता फरक समयमा हुनुपर्ने माग राखेपछि क्यानले उक्त निर्णय बदलेको थियो ।
दाङमा प्रतियोगिता सकिएको झन्डै २ सातापछि काठमाडौंमा पुरुषको क्रिकेट प्रतियोगिता सुरु हुने भयो । उद्घाटन समारोहका लागि ८:३० बजे पुग्न क्यानको मिडिया समितिले सूचना दिएपछि त्यहि अनुसार म सहकर्मी भुपेन्द्र जिसीसँग मैदान पुगेको थिएँ । प्रमुख अतिथि खेलकुद मन्त्री समयमा नै आएपछि म कार्यक्रम खिच्न मैदानभित्र नै पुगें । तर क्यानका अधिकारीले मलाई रोक लगाए ।
मैदानभित्र नै कार्यक्रम राखिएको हुँदा क्यानको आधिकारिक मिडियालाई मात्र प्रवेश दिइने उनको भनाइ थियो । मैदानको बीच भागमा उद्घाटन समारोह राखिएको र क्यानका अधिकारीले नै त्यसो भनेपछि मैले प्रतिप्रश्न गरिन । क्यानको प्रतियोगिता र नियम मान्नुपर्छ भन्ने सोच्दै म मिडिया बक्सतर्फ लागें । पहिलो दिन भएकाले क्यानबाट मिडिया बक्स तयारीमा भएको कमजोरीलाई स्वीकार्दै हामीले आफ्नो काम गर्यौं ।
क्यानको व्यवहार र नियमप्रतिको गाम्भीर्यता देख्दा लाग्थ्यो, अब क्यान पनि व्यावसायिक भयो । यसअघि कुनैपनि प्रतियोगितामा उद्घाटन समारोहका क्रममा यस्तो किसिमको रोक लगाइएको थिएन । क्यानले नै गत महिना आयोजना गरेको महिला प्रम कपमा त अझ हरेक खेलमा टसका लागि जान पाइएको थियो । तर नियम लगाएपछि मान्नु हाम्रो दायित्व हो र त्यसलाई सधैं पालना नै गर्दै आएका छौँ ।
टियुमा पहिलो दिनको पिच हेर्दा म्याच रेफ्री संजय गुरुङले ग्राउण्ड स्टाफको तारिफ गरेका थिए । एकछिन पिचनजिक हुँदाको उक्त समयमा मैले पनि वेलिंगटनको पिच उठाएर नेपालमा ल्याएको भनेर ठट्टा गरें । पछि ग्राउण्ड स्टाफ मधु तामाङलाई सोध्दा उनले प्रदेश स्तरीय छनोटपछि केहि दिनको तयारीमा उक्त पिच तयार भएको बताए ।
सुरुवातका केहि दिन टियु मैदानमा बिताएपछि मुलपानी मैदानको खेल हेर्न जाने निर्णय गर्यौं । मुलपानीमा सामान्यतया कम मिडिया उपस्थित हुने कारण हामीले आयोजकलाई एकदिन अघि नै केहि थप साथीहरु त्यसतर्फ जाने जानकारी दिएका थियौं । एकै प्रतियोगिता भएपनि मुलपानी पुग्दा त्यहाँको स्थिति देख्दा भने निकै फरक पायौं ।
मैदानको अवस्थादेखि उपलब्ध स्रोतले दुई मैदानको स्तरलाई गिज्याइरहेको थियो । स्थानीय क्रिकेट गर्न जेनतेन सकिने मैदानमा राष्ट्रिय क्रिकेट भइरहेको थियो । लाग्थ्यो, टियु र मुलपानीमा दुई फरक क्यानले प्रतियोगिता आयोजना गरिरहेका छन् । एकातर्फ टियुको सानदार पिच र सतह मिलेको आउटफिल्ड । अर्कोतर्फ मुलपानीमा धुलाम्मे आउटफिल्ड र हावाले उडाउला झैं लाग्ने साइट स्क्रिन । अघिल्लो दिन टियुमा खेलेर मुलपानी धाउने खेलाडीलाई पक्कै गाह्रो हुँदो हो ।
खेलाडीलाई आफ्नो खेल देखाउन कठिन त हुने भयो नै, एकै प्रतियोगितामा हामी संचारकर्मीमाथि पनि दुई मैदानमा नितान्त फरक व्यवहार पायौं । टियुमा नियम अनुसार नै खेलपछि पोस्ट म्याच प्रेजेन्टेसनमा आफ्नो जिज्ञासाको उत्तर पाएका हामीले मुलपानीमा भने नित्य कर्म गर्दा धम्की खानुपर्यो ।
खेलपछि ऐतिहासिक जित हासिल गर्न सफल कर्णालीका कप्तान र प्रशिक्षकसँग कुरा गर्दा क्यानका अधिकारीले दम्भ देखाउँदै अभद्र व्यवहार गरे । दक्षिण अफ्रिकी प्रशिक्षकसँग अन्तर्वार्ताको चौथो मिनेटमा पाँचौ प्रश्न गर्दा उत्तर बागमती प्रदेश क्रिकेट संघका सदस्य अजय वीर पाण्डेले दिए, ‘प्रश्न गर्या गर्यै नगर न, उसलाई नि टाइम देउ । कतिवटा प्रश्न भयो, १० ओटा भयो?’
दक्षिण अफ्रिकी प्रशिक्षक पल फरेरा आफ्नो अनुभव र योजना उत्साहपूर्वक सुनाइरहँदा पाण्डेको यो हर्कतले उनलाई पनि अचम्मित तुल्यायो । झन्डै आधा दर्जन संचारकर्मीले प्रतियोगिता आयोजकले तोकेकै स्थानमा नियमित कार्य गर्दा पाण्डेलाई खै के समस्या भयो । उनको प्रस्तुतिले त्यहाँ उपस्थित खेलाडीबीच हाम्रो अपमान भएको ठान्यौं । उनी अझ ठूलो स्वर गर्न थालेपछि हामीले उनलाई हाम्रो कार्य नियमसंगत नै रहेको बतायौं ।
क्यानका अन्य कर्मचारीले हामीलाई सहि भनिरहँदा पाण्डे उनीहरुको कुरा सुन्ने पक्षमा थिएनन् । उनी जाइलाग्न थाले । हामी निराश हुँदै फर्कियौं । फर्कने क्रममा सहकर्मी पत्रकार आदर्श ढकालले पाण्डेको तस्बिर लिन सुझाव दिए । मैले उनीतर्फ क्यामेरा फर्काउने बितिकै उनी जंगिदै हामीतर्फ आए । मास्क खोल्दै उनले ‘ल खिच, हेडसट आउने गरि खिच,’ भने ।
उनी मिडिया बक्सतर्फ आउँदा हामी बाहिर निस्कन लागिसकेका थियौं । सामान्यतया मिडिया बक्समा नै खेलको काम फत्ते गरेर निस्कने हामी उनको अनुहार हेर्न सक्ने अवस्थामा पनि थिएनौं । त्यहाँबाट बाहिर निस्कनु ठिक लागेर सबै बाहिर निस्कियौं । यसबारे जानकारी दिन क्यानका मिडिया म्यानेजर भानु सिग्देललाई सम्पर्क गर्न खोज्यौं तर उनले फोन उठाएनन् । त्यसपछि क्रिकेट म्यानेजर विनोद दासलाई यसबारे जानकारी दिँदै हामी आफ्नो बाटो लाग्यौं ।
प्रधानमन्त्री कपको पाँचौ दिनसम्म आइपुग्दा मुलपानीमा तीन दिन खेल भए । आयोजनाको स्तर हेर्दा आयोजना खर्च जोगाउन लगातार खेल राखेर भएपनि न्यून स्तरको मुलपानी मैदानमा प्रतियोगिता भइरहेको छ । व्यवस्थापनमा स्रोत कमीका कारण खेल आयोजनामा नै कष्ट छ । अझ त्यहाँ उपस्थित व्यक्तिहरुमा क्रिकेटको ज्ञानकै कमी हुनुले थप समस्या हुनसक्छ ।
एकै प्रतियोगिता, एकै सहर, तर दुई फरक अवस्थाले पनि क्यानको व्यावसायिकता कहाँ छ भन्ने बुझ्न सकिन्छ । लामो प्रतियोगिता गर्न टियु मैदान उपयुक्त हुँदा हुँदै खर्च बचाउन खेल तालिका मिलाएर दुई स्थानमा प्रतियोगिता आयोजना गरिएको छ । दुई मैदानमा प्रतियोगिता आयोजना गर्न नहुने होइन, तर मैदानको स्तरको पनि ख्याल राख्नुपर्छ ।
विगतमा पनि मुलपानी मैदानलाई लिएर प्रश्न नउठेको होइन । कहिले माथिल्लो त कहिले तल्लो मैदानमा प्रतियोगिता गरेर झारा टार्ने कामले यसपटक पनि निरन्तरता पाएको छ । यसपटक क्यानले टियुमा गरेको व्यवस्थापनले मुलपानीमा पनि सोहि किसिमको व्यवस्था होला भन्ने हाम्रो भ्रम त्यहाँ पुग्दा उदांगियो ।
खेलको विकास भए नै खेलाडी र समग्र खेलसम्बन्धित क्षेत्रको विकास हुन्छ । दुई स्थानमा प्रतियोगिता गर्नु क्यानको बाध्यता होला । स्रोत र साधन समान मात्रामा नहुनु पनि केहि हदसम्म बुझ्न सकिन्छ । जसरी खेलाडी मैदानमा खेल्न उत्रन्छन्, उनीहरुको खेल र त्यसपछिको अभिव्यक्ति लिनु हाम्रो कर्म हो । नियमसंगत रुपमा आफ्नो पेशा गर्दा दुर्व्यवहार भोग्नु कुनै हालतमा ठिक होइन ।
आँखा चिम्लेर व्यावसायिकतातर्फ अघि बढ्न खोजिरहँदा एक सामान्य मानवमा हुनुपर्ने सुझबुझको कमी भएकालाई भलाद्मीको खेल मानिने क्रिकेटमा स्थान दिँदा त्यसले घाटा भने क्रिकेटलाई नै हुनेछ । क्यानको बेलैमा ध्यान जाओस् ।
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – स्पिनर साहब आलमको उत्कृष्ट बलिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले अग्रता लिएको छ । दोस्रो इनिङमा पुलिस क्लबले दोस्रो दिन बुधवारको खेल समाप्तिसम्म ९५ रनको अग्रता लिएको छ । वीरगंजमा जारी जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको फाइनलमा दोस्रो दिनको समाप्ति पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]