default_image

4 years ago

December 22, 2020

सहज छैन ह्वाटमोरलाई

126 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकमा विश्वकप विजेता अष्ट्रेलिया डेभ ह्वाटमोर आउँदै छन् । ह्वाटमोर नेपाली क्रिकेटको प्रशिक्षकको रुपमा आउने हालसम्मका ठूला नाम हुन् ।

विश्वकप विजेता ह्वाटमोरको आगमनले नेपाली क्रिकेटले विश्व क्रिकेटमा नयाँ रफ्तारको लय पकड्ने अपेक्षा गरिएको छ । गतवर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएसँगै नेपाल विदेशी प्रशिक्षक विहिन थियो । क्यानले चार महिनाको प्रयासपछि ह्वाटमोरलाई नियुक्त गरेको हो ।

नेपालले पहिलो विदेशी प्रशिक्षकको रुपमा सन् १९९६ मा फारुक जमाललाई पाएको थियो । जमालपछि ब्रायन ब्रिगिन, हारुन रशिद हुँदै सन् २००१ मा श्रीलंकन प्रशिक्षक रोय डायस नेपाल आएका थिए । सन् २०१० सम्म नेपाली क्रिकेट हेरेका डायसले डिभिजन ४ सम्म पुर्याए । डायस नेपाली क्रिकेटमा सबैभन्दा लामो समय बिताउने प्रशिक्षक हुन् ।

एक दशकमा नेपाली क्रिकेटको जग राम्रो बनाएर छोडे । उनले बसालेकै जगमा सन् २०११ मा पुबुदु दासानायके आएपछि नेपाली क्रिकेटले नयाँ फड्को मार्यो । डिभिजन ४, ३, २ को उपाधि जित्नुका साथै २०१४ मा बंलादेशमा भएको टि२० विश्वकप पहिलो पटक खेल्यो । जुन विश्वकपलाई नेपाली क्रिकेटकै इतिहासमा हालसम्मकै सर्वाधिक ठूलो सफलता मानिन्छ ।

तर क्यानको बारम्बार आन्तरिक किचलोको कारण पुवुदुले आफ्नो भविष्य नदेखेपछि सन् २०१५ मा नेपाल छोडेर अमेरिका गएका थिए । यसपटक पनि पुवुदु क्यानले लिएको १२ जना अन्तरवार्ता प्रशिक्षक सूचिमा थिए । पुवुदुले नेपाल आउन चाहेपनि क्यानले भने आफूलाई विगतमा अख्तियारसम्म पुर्याएको कारण उनलाई प्राथमिकतामा राखेन ।

दासानायकेले छोडेपछि सन् २०१९ सम्म प्रशिक्षक जगत टमटाले टोलीको जिम्मेवारी सम्हाले । टमाटाको प्रशिक्षकमा नेपालले ऐतिहासिक ओडिआई मान्यता प्राप्त गर्यो । ऐतिहासिक टि२० आई र ओडिआई सिरिज पनि जित्न सफल भयो ।

त्यसपछि गतवर्ष जेठमा भारतीय प्रशिक्षक उमेश पटवाल नेपाल आएका थिए । पटवालको ८ महिना कार्यकालमा नेपालले खेलेका सबै प्रतियोगितामा निराशजनक प्रर्दशन गर्यो । क्यानले हटाउन नपाउँदै माघमा पटवालले आफ्नो पारिश्रमिकमा बढी कर लगाएको कारण दिँदै राजीनामा दिए । उक्त निराशा अन्त्य गर्न ह्वाटमोर नेपाल आउँदै छन् ।

ह्वाटमोरको प्रशिक्षकमा नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्ने लक्ष्य राखेको छ । पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रर्दशन खस्किदो छ । मलेसिया, सिंगापुर र कतारसँग पराजित हुन थालेको नेपाली क्रिकेटलाई आफ्नो लय समाउन प्रमुख चुनौती देखिन्छ ।

ह्वाटमोरको मुख्य उदेश्य नेपाललाई सन् २०२२ मा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा पुर्याउनु हो । आइसीसीले नेपाललाई विश्व टि२० वरीयतामा १५ औं स्थानमा रहेको आधारमा सिधैं सन् २०२२ मा हुने ग्लोबल छनोटमा स्थान दिएको छ । विश्वकप पुग्नबाट नेपाल अब एक कदममात्र टाढा छ । समूह ए बाट शीर्ष दुईमा रहँदै विश्वकपमा पुग्न नेपाललाई सहज भने पक्कै हुने छैन । त्यसको लागि अहिले देखिनै तयारी र रणनीति थाल्न आवश्यक देखिन्छ ।

विश्वकपमा छनोट गराउन ह्वाटमोरको प्रमुख उदेश्य र चुनौती रहनेछ । तर प्रतियोगिता सुरु हुन थोरै समय बाँकी रहँदा तयारी थाल्नु नेपाली क्रिकेटको परम्परा हो । त्यहि परम्परा दोहोरिने हो भने विश्वकपमा पुग्न कठिन देखिन्छ । नेपालको ओडिआई मान्यता सन् २०२३ सम्म रहने छ । त्यसपछि ओडिआई मान्यता निरन्तरता गर्नेगरी तयार पार्न पार्नुपर्ने हुन्छ । आगमी १०–१५ वर्षमा नेपालले टेष्ट मान्यता सपना देखेको छ । तर कुनै रणनीति र योजना भने छैन । हालसम्म नेपाली क्रिकेटको आगमी कुनैपनि योजना र रणनीति देखिदैन । यसले नेपाललाई विश्व क्रिकेटमा फड्को मार्न कठिन पर्ने देखिन्छ ।

ह्वाटमोरलाई टि२० विश्वकपमा पुर्याउन ब्याटिङ समस्यामा क्रान्तिकारी परिवर्तन ल्याउन आवश्यक देखिन्छ । विश्वमा टि२० शैली परिवर्तन हुँदा नेपाली ब्याट्सम्यानले १२०–१३० रनमै संघर्ष गर्दै आएका छन् । पछिल्लो पाँच वर्षमा नेपालले एक दर्जन भन्दा बढी ओपनर जोडी परिवर्तन गरेको छ । प्राय नयाँ प्रतियोगितामा फरक ओपनर जोडी देखिएका छन् । लगातार अस्थिर ओपनिङ जोडीको कारण ब्याटिङक्रम झनै कमजोर र भद्रगोल बनेको छ ।

ओपनिङ र ब्याटिङक्रम स्थिर गराउन छोटो समयमा उनलाई पक्कै सहज हुने छैन । ह्वाटमोरलाई ल्याउनुको मुख्य कारण ब्याटिङ समस्या समधान गर्न हो । ब्याटिङ समस्या समधान नभए नेपालले उत्कृष्ट नतिजा निकाल्न कठिन पर्ने देखिन्छ । अर्कोतर्फ नेपाली क्रिकेट टोली एक वर्षदेखि कोरोना महामारीको कारण अन्तर्राष्ट्रिय खेल खेलेको छैन । सुरुवाती समय खेलाडीको लय समाउन र समस्या पहिचान गर्नमै लाग्ने देखिन्छ । ह्वाटमोरको सुरुवाती सम्झौता एक वर्षको हुने छ । एक वर्षमा उनलाई टि२० विश्वकप देखि आइसीसी विश्वकप लिग २ मा उत्कृष्ट नतिजा निकाल्ने सम्मका ठूला अवसर पनि छन् ।

पछिल्लो समय नेपाली क्रिकेट टोलीमा गुटबन्दीको चर्चा पनि सुनिएको छ । केहि सिनियर खेलाडीबीच एकता नरहेको कारण टोलीकै प्रदर्शनमा असर गरेको आरोप पनि नलागेको होइन । टोलीमा एकताविना र व्यक्तिगत प्रर्दशनकै आधारमा सफलताको आशा गर्नु जायज हुँदैन । खेलाडीमा रहेको गुटलाई अन्त्य गर्दै टोलीमा एकता गराउन अर्को चुनौती उनीसामु छ ।

खेलाडीबाट साथ नपाएमा र खेलाडी खेलाडीबीच एकताको कमी रहि रहेमा उनलाई उत्कृष्ट नतिजा निकाल्न सहज हुने छैन । यसअघि भारतीय प्रशिक्षक पटवालले खेलाडीमाथि भेदभावनै गरेको आरोप लागेको थियो ।

क्यानमाथि आइसीसीले लगाएको निलम्बन पूर्णरुपमा फुकुवा भएको छैन । सर्शत रुपमा फुकुवा भएको छ । कुनैपनि योजना सुरुगर्दा आइसीसीसँग सहकार्य गनुपर्ने हुँदा ढिलोसुस्ती भएको क्यानले जवाफ दिँदै आएको छ । यसले ह्वाटमोरको योजना लागुमा असर र ढिला हुनसक्छ । अर्कोतर्फ क्यानकै पदाधिकारीबीच एकता देखिदैन । खेलाडी र पदाधिकारीबीच भिन्दाभिन्दै गुट रहँदा त्यसको असर उनको योजना लागुमा हुन सक्छ । आफ्नो योजना लागु गर्नमा ढिलाई भएका नतिजा देखिनमा पनि ढिलाई हुन्छ ।

नेपाली क्रिकेटमा अहिले खेलाडीको विकल्प पनि धेरै छैन । बन्द प्रशिक्षणमा बोलाइएका २५ जनाबाट अन्तिम १४ जनामा स्थान बनाउन खासै प्रतिस्पर्धा हुँदैन । आन्तरिक प्रतिस्पर्धाबिना नतिजा आउने सम्भावना कमै रहन्छ । बन्द प्रशिक्षणमा खेलाडी संख्या बढाउने आधारका रुपमा घरेलु प्रतियोगिता वृद्धि गर्नु आवश्यक छ । प्रतियोगिता हुन नसके सम्भावित खेलाडीलाई सहभागी गराउनु जरुरि छ ।

अर्कोतर्फ राष्ट्रिय टोलीमा खेलाडीले समान अवसर पाएका देखिदैन । केहि खेलाडी लगातार खराब प्रर्दशन गर्दापनि टोलीमा छन् भने कोही एक खेल खराब प्रर्दशन गर्दा बाहिरिन्छन् । त्यसैको कारण खेलाडीमा आत्मविश्वासको कमी देखिन्छ । ह्वाटमोरले सबैलाई प्रर्दशननै राष्ट्रिय टोलीमा पर्ने आधार हो भनेर विश्वास दिलाउन सक्नुपर्ने उदाहरणीय कामगर्न आवश्यक देखिन्छ ।

पछिल्लो पाँच वर्षमा उमेर समूह हुँदै राष्ट्रिय टोलीसम्म आएका लगभग सबै खेलाडी निजी एकेडेमीका उत्पादन हुन् । उमेर समूहको टोली छनोट गर्दा राष्ट्रिय प्रतियोगिता नहुँदा एकेडेमी बाहिरका खेलाडीले टोलीमा स्थान बनाउन सकिरहेका छैनन् । गाउँगाउँबाट प्रतिभा खोजेर ल्याउन सक्नुपर्ने हुन्छ ।

अर्कोतर्फ घरेलु प्रतियोगिता सीमित छन् । तीन फ्रेन्चाइज लिग र प्रधानमन्त्री एकदिवसिय प्रतियोगिता हुँदै आएको छ । फ्रेन्चाइज लिगमा खेलसँगै व्यापार र मनोरञ्जनलाई उत्तिकै प्राथमिकता दिइन्छ । तीन फ्रेन्चाइज लिग र नेपाल प्रिमियर लिग नेपाली ब्यापरले धान्न सक्ने बजार छैन । क्यानको आगमनसँगै उक्त तीन फ्रेन्चाइज लिगको भविष्य अन्यौल देखिन्छ ।

नेपाल प्रिमियर लिग गर्ने योजना अघि ल्याएपनि लागु कहिले हुन्छ स्वयं क्यानका पदाधिकारीनै बताउन सक्दैनन् । ओडिआई मान्यता देशसँग एउटा मात्र राष्ट्रिय एकदिवसिय प्रतियोगिता छ, जुन जेनतेन २ साता चल्छ । यसकै आधारमा ओडिआईमा उत्कृष्ट प्रर्दशन निकाल्न पक्कै सहज हुने छैन । कमजोर घरेलु संरचना र प्रतियोगिताले एक वर्षमै उत्कृष्ट नतिजा निकाल्न कठिन पर्ने देखिन्छ ।

सीमित खेलाडीबाट ओडिआई र टि२० खेलाडी छुट्याउन सक्नुपर्ने हुन्छ । टि२० शैलीमा राम्रो गर्ने खेलाडीले ओडिआईमा राम्रो नगर्न सक्छ । ओडिआईमा राम्रो गर्नेले टि२० मा राम्रो गर्न नसक्छ । ह्वाटमोरलाई सीमित प्रतियोगिताबाट टि२० र ओडिआई खेलाडी छुट्याउन सक्नुपर्ने चुनौती रहने छ ।

नेपालको बेन्च स्ट्रेन्थ कमजोर देखिन्छ । प्रमुख खेलाडी घाईते हुँदा वा टोलीमा उपलब्ध नहुँदा उसको भूमिका निर्वाह गर्ने खेलाडी पाउन कठिन पर्दछ । नेपालको लागि अब सिनियर टोलीसँगै  नेपाल ए को निर्माण गरेर सम्भावित खेलाडी तयार पार्नु आवश्यक छ ।

नेपाल अन्तर्राष्ट्रिय खेलमा आइसीसीसँग निर्भर छ । कुनैपनि खेलाडीको प्रर्दशनमा निखारता ल्याउन वर्षभर योजनावद्ध रुपमा खेलाडीलाई व्यस्त गराउन सक्नुपर्छ । वर्षमा दुई चार वटा आइसीसीका प्रतियोगिता खेलेर कुनैपनि टोलीमाथि जान सक्दैन । तीन चार वटा प्रतियोगितामा धेरै खेलाडीले मौका पाउन सक्दैनन् । भएका खेलाडीले पनि खेलको अनुभव धेरै लिन पाउँदैनन् ।

एउटा प्रतियोगिता कमजोरी सुधार गर्दै अर्को कमै खेलाडीले खेल्न पाएका छन् । एउटा खेल राम्रो नखेल्दैमा टोली बाहिर हुनु नेपाली क्रिकेटका लागि कुनै नौलो कुरा होईन । आइसीसीसँग निर्भर अन्तर्राष्ट्रिय प्रतियोगिताले मात्र ह्वाटमोरलाई नेपाली क्रिकेटको स्तर सुधार गर्न सहज हुने देखिदैन ।

क्यान आफैंले अघि सरेको योजना लागु गर्न ढिलासुस्ती गर्दै आएको छ । ह्वाटमोरको योजना अपेक्षा अनुसार लागु हुनेमा पक्कै कठिनाइ हुनेछ । कुनैपनि प्रशिक्षक आफ्नो योजना अनुसार काम गर्न पाउँदैन भने नतिजा अपेक्षा अनुसार निकाल्न सक्दैन ।

अर्को पक्ष पछिल्लो समय युवा खेलाडीले राष्ट्रिय टोलीमा डेब्यु दिन हतार गरिदै आएको छ । जसले युवा खेलाडीमा जिम्मेवारीको कमी पनि देखिन्छ । नेपाली युवा खेलाडीमा प्रतिभाको कुनै कमि देखिदैन । तर प्रतिभा सहि समयमा सदुपयोग गर्न सक्ने प्रशिक्षकको आवश्यक देखिन्छ । राष्ट्रिय टोलीबाट एक पटक बाहिरिएपछि पूनरागमन गर्न कठिन बन्दै आएको छ । पूनरागमनको आधार तय पार्न सक्नुपर्छ ।

उमेर समूहका प्रतियोगिता नेपालमा शून्य छन् । ग्रासरुट कमजोर हुँदा उत्कृष्ट प्रतिभा खेलाडी त्यति नै खेर गइरहेका छन् । निजि एकेडेमीसँगै क्यानले जिल्लातर्फ ग्रासरुट क्रिकेटमा ध्यान दिएर घरेलु प्रतियोगिताको संरचना बलियो पार्नु आवश्यक छ । क्लब क्रिकेटलाई प्रोत्साहन दिन सके खेलाडीको स्तरोन्नति हुन्छ । ह्वाटमोरले सुरुवातमा धेरै भन्दा धेरै घरेलु खेल हेर्न पाउनुपर्छ । पीएम कप यसको सुरुवात हुन सक्छ ।

ह्वाटमोर एक सफल प्रशिक्षक हुन् । यसमा कुनै दुविधा छैन । उनको प्रशिक्षकमा श्रीलंकाले सन् १९९६ मा एक दिवसिय विश्वकप जितेको थियो । ह्वाटमोरले बंगलादेश, श्रीलंका, पाकिस्तान जस्ता ठूला टेष्ट देशसँगै आइपिएलमा पनि प्रशिक्षक सम्हालिसकेका छन् । तर उनले काम गरेको ठाउँ र अहिले नेपालको अवस्था भिन्न छ ।

क्रिकेटको आधार स्तम्भ नै कमजोर रहेको स्थानमा ह्वाटमोरले कसरी काम गर्छन् यो थाहा पाउन केहि प्रतिक्षा गर्नैपर्छ । ह्वाटमोरले नेपाली क्रिकेटमा लामो यात्रा गर्ने हो भने त्यसका लागि नतिजा भने दिनुपर्छ । सँगसँगै उनको अनुभव र व्यक्तिगत सम्बन्धको भरपुर सदुपयोग गर्न सके नेपाली क्रिकेटले फड्को मार्न सक्छ ।

December 12, 2024

काठमाडौंले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु मैदानमा टस जितर काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । बुधवार लुम्बिनी लायन्ससँग खेलेको टिममा काठमाडौंले कुनै परिर्वतन गरेको छैन । काठमाडौं गुर्खाजको प्लेईङ–११ करण केसी, जेर्हाड एरास्मस, भीम सार्की, साहव आलम, दीपेश […]

December 12, 2024

पोखरासँग विराटनगर सुपर ओभरमा पराजित

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा हराएको छ । पोखराले सुपर ओभरमा विराटनगरलाई १३ रनले हरायो । सुपर ओभरमा पोखरा पहिले ब्याटिङमा उत्रिएको थियो । विराटनगरका तर्फबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । पोखराका रेमन राइफरले पहिलो र दोस्रो बलमा छक्का प्रहार गरे । […]

December 12, 2024

विराटनगर र पोखराबीचको खेल सुपर ओभरमा

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा पहिलो सुपर ओभरमा गएको छ ।बिहीवारको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीचको खेल सुपर ओभरमा पुगेको हो । विराटनगरले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाए पछि खेल सुपर ओभरमा पुगेको हो । […]

Success

Thank you for your time.