4 years ago
September 23, 2020
भुपेन्द्र जिसी, काठमाडौं
कुनै पनि क्रिकेट संघ र बोर्डले केन्द्रिय खेलाडी सम्झौता गर्नेक्रममा पछिल्लो एक वर्षको प्रर्दशनलाई आधार मान्ने गर्दछन् । उत्कृष्ट प्रर्दशन गरेका खेलाडी बढुवा हुँदा कमजोर प्रर्दशन गरेका खेलाडी घटुवा हुन्छन् । घटुवा भएको बढुवा हुन र बढुवा भएको खेलाडीले सोही ग्रेडमा रहन कडा मेहनत गर्नुपर्ने हुन्छ । जसले खेलाडीमा एक अर्काबीच प्रतिस्पर्धा, हौसला र मनोबल बढ्ने हुँदा टोलीको नतिजा राम्रो हुने सम्भवना रहन्छ । ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको २०२० नयाँ केन्द्रिय खेलाडी सम्भौताको ग्रेडमा भने त्यस्तो देखिँदैन । प्रर्दशन भन्दापनि ग्रेड विभाजनमा आफ्नोपन गरेको देखिन्छ । खेलाडीको प्रर्दशन, सहभागिता, सिनियर, क्षमता लगायतका कुनैपनि कुरा ख्याल नगरी क्यानले १९ महिला र १८ पुरुष खेलाडीको नाम सार्वजनिक गरेको छ । नयाँ सम्झौताले खेलाडीमा उत्साह, हौसला र खुसी होईन निराशा बढी ल्याउने देखिन्छ ।
क्यानले खेलाडीको २०२० को पारिश्रमिक र ग्रेड निर्धारण गर्न कोषाअध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रिय सदस्य दुर्गाराज पाठक र अमितविर पान्डेको समिति गठन गरेको थियो ।
नयाँ ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ४ र ‘सी’ मा ६ खेलाडी छन् । यसअघि सन् २०१९ मा २२ खेलाडीलाई ८, ८ र ६ क्रमश: ‘ए’, ‘बी’ र ‘सी’ ग्रेडमा राखेको थियो । नयाँ सम्झौता अनुसार २०२० मा ग्रेड ‘ए’ मा पारस खड्का, कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारी छन् ।
२०१९ को ग्रेड अनुसार सोमपाल कामी ‘बी’ मा झरेका छन् । ‘बी’ ग्रेडमा रहेका वसन्त रेग्मी ‘ए’ मा उक्लिएका हुन् । २०१९ मा ग्रेडमा रहेका प्रदीप ऐरी, ललितनारायण राजवंशी, राजु रिजाल र ईशान पान्डे सम्झौताबाट बाहिरिएका छन् । जसमा २०१९ भर ललित टोलीका नियमित सदस्य थिए ।
२०१९ मा अन्तर्राष्ट्रिय खेलनै नखेलेका ओपनर सुवास खकुरेल र तीब्र गतिका युवा बलर कमलसिंह ऐरी सम्झौतामा रहँदा नियमित सदस्य ललित बाहिरिएका छन् । ग्रेड ‘बी’मा क्यानले सोमपाल, पवन सरार्फ, आरिफ शेख र सुशन भारी छन् । २०१९ मा नियमित टोलीमै रहँदै राम्रो प्रर्दशन गरेका अभिनाश बोहोरा ‘सी’ ग्रेडमा झरेका छन् । ग्रेड ‘सी’ मा सुवास, कमलसिंह, रोहितकुमार पौडेल, राशिद खान र कुशल मल्ल छन् ।
क्यान खेलाडीको अभिभावक संस्था हो । क्यानले खेलाडीलाई काखा र पाखाको अनुभव महसुस गर्न दिनु हुँदैन । ग्रेड र पारिश्रमिकको मुख्य उद्देश्य भनेको खेलाडीबीचको आन्तरिक प्रतिस्पर्धालाई बढाउँदै उत्कृष्ट नतिजा निकाल्नु हो । प्रर्दशन अनुसारको पारिश्रमिक प्रदान गर्नु हो । जसले टोलीलाई फाइदा पुग्छ । ‘ए’ ग्रेडमा शीर्ष अर्थात प्रमुख खेलाडीलाई राख्ने गरिन्छ । जुन ग्रेडमा सहज पुग्न सक्ने हुनु हुँदैन ।
‘बी’ मा टोलीबाट नियमित खेलिरहेका र युवा खेलाडीलाई प्राथमिकतामा राख्दै निर्धारण गरिन्छ । क्यानले ‘ए’ ग्रेडमा ८, ‘बी’ मा ४ र ‘सी’ मा ६ खेलाडी राखेको छ । यसले ग्रेडको महत्व बढ्नुको सट्टा घट्न सक्छ । ‘ए’ ग्रेडको महत्त्व केहि घटेको देखिन्छ । प्लेइङ ११ मा मात्र नभएर अन्तिम १४ मा नै पर्न संघर्ष गरिरहेका खेलाडी ग्रेड ए मा पर्दछन् भने त्यसको महत्त्व पनि रहेन । ‘ए’ ग्रेडमा खेलाडी सहजै पुगेपछि आन्तरिक प्रतिस्पर्धामा प्रश्न उठ्नु जायज हो ।
‘बी’ ग्रेडमा जम्मा ४ खेलाडीलाई राखिएको छ । केन्द्रिय सम्झौतामा जम्मा १८ जना खेलाडीलाई राखिएको छ । हरेक प्रतियोगितामा टोलीमा १४ सदस्य र ४ वैकल्पिक खेलाडी रहने गर्छन् । क्यानले सम्झौता दिँदा ‘ए’ ग्रेडमा अत्याधिक खेलाडी समेट्दा आर्थिक पाटो कमजोर हुने डरले संख्या नै घटाएको छ । जबकी ‘ए’ को तुलनाका ‘बी’मा झन्डै दोब्बर र सीमा त्यसको दोब्बर संख्या हुने अन्तर्राष्ट्रिय प्रयोग छ । ‘बी’ ग्रेडमा सोमपालसहित जम्मा ४ खेलाडी हुनुले पनि क्यानको नियत उदांगो भएको छ ।
नेपालले २०१९ मा जनवरीमा यूएईसँग समान तीन टि२० सिरिज र ओडिआई सिरिज खेलेको थियो । जुलाईमा मलेसियासँग दुई टि२०, सिंगापुरमा आइसिसी विश्वकप टि ट्वान्टी विश्वकप एसिया छनोट, सेप्टेम्बरमा सिंगापुरमा नेपाल, जिम्बाबे र सिंगापुरबीच त्रिकोणात्मक सिरिजमा भाग लिएको थियो ।
त्यस्तै,अक्टोबरमा ओमानमा पाँच राष्ट्र सम्मिलित टि२० सिरिज, नोभेम्बरमा नेपालमा एमसिसीसँग प्रथम श्रेणी, बंगलादेशमा एसिसी इमर्जिङ टिम्स कप र १३ औं दक्षिण एसियाली खेलकुद (साग) खेलेको थियो । ग्रेड निर्धारणमा पुरानो प्रदर्शनलाई मध्यनजर गर्दै यी सिरिजलाई आधार मान्नुपर्ने थियो ।
स्पिनर ललितले २०१९ मा नेपालले खेलेका सबै खेलमा सहभागिता जनाएका थिए । ललितले २०१९ मा कुल १८ अन्तर्राष्ट्रिय खेलमा १५ विकेट लिएका थिए । १३ औं सागमा टि२० आई मान्यता खेलमा नेपालबाट ३ खेलमा ६ विकेटका साथ शीर्ष स्थानमा रहेका थिए । २०१९ मा नेपालल सेप्टेम्बरमा जिम्बाबे र सिंगापुरबीच भएको त्रिकोणात्मक सिरिजमा ललित टोलीमा रहेपनि कुनैपनि खेलमा मौका पाएनन् । अन्य सबै खेल खेलेका थिए ।
२०२० मा नेपालमा भएको त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकासँग टोलीमा परेपनि बलिङ गर्ने मौका पाएनन् । तर तीनै ललित क्यानको ग्रेडमा छैनन् । तर क्यानले ग्रेड ‘सी’ मा राखेका सुवास र कमलसिंह दुवैले २०१९ मा कुनैपनि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।
कमलले माघमा ओमानविरुद्ध’डेब्यू’गरेका थिए । तीब्र गतिका बलर सोमपाल घाईते हुँदा टोलीमा मौका पाएका थिए । ओमानविरुद्ध शरद भेषावकर घाइते हुँदा सुवासलेटोलीमा मौका पाएका थिए । त्यसअघि सुवासले अन्तिम खेल २०१८ सेप्टेम्बरमा एसिया कप क्वालिफायर खेलेका थिए ।
क्यानले ग्रेड’सी’मा राखेका तीब्र गतिका बलर अभिनाश बोहरा २०१९ मा प्रमुख खेलाडी हुन् । अभिनाशले २०१९ मा यूएईविरुद्ध टि२० आई खेलमा टोलीमा डेब्यु गरेका थिए । २०१९ मा अभिनाशले टि२० क्रिकेटमा नेपाली क्रिकेटबाट पहिलो रोजाईमा खेले । २०१९ मा १७ टि२० आईमा १६ विकेट लिए । नेपाललाई यूएईसँगको त्रिकोणात्मक टि२० सिरिज २–१ ले जिताउन अभिनाशले ६ विकेट लिएका थिए ।
अभिनाश सिरिजमा सर्वाधिक विकेट लिने बलर चुनिएका थिए । २०१९ मा लिष्ट ए मा इमर्जिङ टिम्स कपमा हङकङविरुद्ध डेब्यूगर्दै ३ विकेट लिएका थिए । २०२० मा ओडिआईमा ओमानविरुद्ध डेब्यु गरेका थिए । थाईल्यान्डमा गत फेबु्रअरीमा भएको टि२० एसिया कप छनोटमा तीन खेलमा चार विकेट लिएका थिए ।
अभिनाशलाई ग्रेड’सी’मा राख्दा सुशन भारीलाई बी मा राखेको छ । सुशनले २०१९ मा त्रिकोणात्मक टि२० सिरिजबाट खेल्न सुरु गरेका थिए । त्रिकोणात्मक सिरिज टि२०, पाँच राष्ट्र सम्मिलित टि२० सिरिज र साग गरि कुल ६ खेलमा ६ विकेट लिएका थिए । इमर्जिङ टिम्समा ३ खेलमा ४ विकेट लिएका थिए । सुशनलाई’बी’मा राख्दा ललित’सी’सम्म पनि अट्न सकेनन् ।
यतिमात्र होईन । २०१९ मा’बी’ग्रेडमा झरेका वसन्त’ए’मा बढुका भएका छन् । उनले युएईसँगको तीन ओडिआई सिरिज अन्तर्गत दुई खेलमा २ विकेट लिएका थिए । वसन्त २०१९ मा जुलाईमा सिंगापुरमा भएको आइसिसी विश्वकप एसिया टि२० छनोट पछि टोलीमै छैनन् । २०१९ मा बसन्तले ६ मात्र टि२० आई खेल खेलेका थिए । जसमा ९ विकेट लिएका थिए ।
यूएईसँगको तीन टि२० सिरिजमा एक खेल मात्र खेल्दै २ विकेट लिएका थिए । मलेसियासँगको दुई टि२० सिरिज अन्तगर्त पहिलो खेलमात्र खेल्दै दुई विकेट लिएका थिए । टि२० विश्वकप एसिया छनोटमा जुलाईमा सिंगापुरमा ४ खेलमा ५ विकेट लिएका थिए । त्यसयता वसन्त टोली बाहिर छन् ।
खेल नै नखेलि सबैलाई आश्चर्य पार्दै क्यानले’ए’मा बढुका गरेको छ । त्यसो त क्यानले वसन्तलाई पछिल्लो सम्झौतामा’ए’ग्रेडमा राख्नुपर्ने अवस्थामा’बी’ग्रेडमा राखेर गल्ती गरेको थियो । २०१८ मा राम्रो प्रदर्शन गरेका उनलाई घटुवा गर्दा धेरैले प्रश्न उठाए । तर त्यस गल्ती सुधार्ने नाममा क्यानले अहिले अर्को गम्भिर गल्ति गरेरको छ ।प्रर्दशन विनानै’ए’मा बढुका हुनु र प्रर्दशन गरिरहेका खेलाडी’सी’मा पुग्नुले क्यानको नियतमाथि स्वभाविक रुपमा प्रश्न उठ्छ ।
बलिङ अलराउन्डर सोमपाल ‘बी’पुगेका छन् । प्रमुख खेलाडी सोमपालले २०१९ मा यूएईविरुद्ध समान तीन ओडिआई र टि२० आई सिरिज खेलेका थिए । नेपाललाई यी दुवै सिरिज २–१ ले जिताउन सोमपालले अलराउन्ड प्रर्दशन गरेका थिए । यूएईसँगको दोस्रो ओडिआईमा पाँच विकेट लिनै नेपालबाट उक्त सफलता हात पार्ने पहिलो खेलाडी बने । उक्त सिरिजमा ओडिआईमा सर्वाधिक विकेट लिने बलर बनेका सोमपाल टि२० आईमा चार विकेट लिएका थिए ।
सोमपालले मलेसियासँगको दुई टि२० खेलमा तीन विकेट, सिंगापुरमा भएको टि२० विश्वकप एसिया छनोटमा ४ खेलमा ३ विकेट, त्रिकोणात्मक टि२० सिरिजमा ३ खेलमा दुई विकेट र ओमानमा भएको सिरिजमा ५ खेलमा ४ खेलमा एक विकेट लिएका थिए ।
बंगलादेशमा भएको इमर्जिङ कपमा भने विकेटविहिन बनेका थिए । यद्यपि ब्याटबाट उनले महत्त्वपूर्ण योगदान दिए । सोमपालले १३ औं साग बंगलादेशसँगको यू२३ सँग खेलेपनि अन्य खेल खेलेका थिएनन् । एमसिसीसँगको प्रथम श्रेणी खेलमा पहिलो इनिङमा २ विकेटका साथ २६ रन बनाएका थिए भने दोस्रो इनिङमा ५१ रन बनाउनुको साथै १ विकेट लिएका थिए ।
त्यसयता भने सोमपाल ढाडको समस्याको कारण २०२० का त्रिकोणात्मक ओडिआई सिरिज र इस्टर्न रिजनमा टोली बाहिर थिए । चोटका कारण केहि प्रतियोगिता नखेल्दा घटुवा हुने त पक्कै होईन । उहि खेलाडी हो । तर तीनै सोमपाल ग्रेड’बी’पुग्दा वसन्त’ए’मा उक्लिएका छन् ।
व्यक्तिगत जीवनमा दाउमा राख्दै देशका लागि खेल्ने खेलाडीका लागि पारिश्रमिक दिने विषयमा हेलचेक्याई गरिनु सामान्य विषय होइन । त्यसैले क्यानले समयमै आफ्नो गल्ती सुधार गर्नेतर्फ लाग्नुपर्ने देखिन्छ ।
पुरुष टोलीको नयाँ ग्रेड
ग्रेड ‘ए’ – ज्ञानेन्द्र मल्ल, पारस खड्का, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, वसन्त रेग्मी, दीपेन्द्र सिंह ऐरी र विनोद भण्डारी
ग्रेड ‘बी’ – सुशन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सरार्फ
ग्रेड सी’- सुवास खकुरेल, रोहित कुमार पौडेल, कुशल मल्ल, राशिद खान, अभिनाष बोहोरा र कमलसिंह ऐरी
महिला ग्रेड
ग्रेड ‘ए’ – रुविना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करुणा भण्डारी
ग्रेड ‘बी’ – ज्योती पान्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, ऋतु कनोजिया, काजल श्रेष्ठ र सरिता मगर
ग्रेड ‘सी’ -कविता कुँवर, डली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द र शोभा आले
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध नेपाल पुलिस क्लबले सामान्य अग्रता लिएको छ। वीरगंजमा जारी फाइनलमा पुलिसले दोस्रो दिन बुधवारको खेल सकिँदा दोस्रो इनिङमा ९५ रनको अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा पुलिसले १ सय ३२ रन जोड्दा ९ विकेट गुमाएको छ । पुलिसका लागि कुशल भुर्तेलले […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर ब्याटर कविता कुँवरको अर्धशतकमा सुदूरपश्चिम प्रदेशले धनगढीमा जारी महिला प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी प्रतियोगितामा बुधवार लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । दिनको दोस्रो खेलमा सुदूरपश्चिमले लुम्बिनीमाथि ७५ रनको जित हात पारेको छ । पहिलो खेलमा मंगलवार गण्डकी प्रदेशलाई पराजित गरेको सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । लुम्बिनी आफ्नो पहिलो […]
January 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागिय टोली नेपाल एपिएफ क्लबले धनगढीमा जारी महिला प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । एपिएफले बुधवार गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । हुस्सु लागेका कारण ढिला सुरु भएको खेल १५ ओभरमा छोट्याइएको थियो । ७१ रनको लक्ष्य एपिएफले ९.३ ओभरमा २ विकेट गुमाएर […]