5 years ago
May 31, 2020
भूपेन्द्र जिसी, काठमाडौं
कुनैपनि खेलमा प्रदर्शन अनुसार नै हार र जितको छिनोफानो हुन्छ । कहिलेकाहिँ राम्रो प्रदर्शन गर्दागर्दै पनि टोली हार्न सक्छ भने कहिले खराब प्रदर्शनका बाबजुद जित हासिल गर्न सक्छ । समय र परिस्थिति अनुसार नतिजाको महत्त्व पनि फरक हुने गर्दछ ।
कुनै जितले इतिहास रच्दा कुनै जितको खासै महत्व रहँदैन । कुनै जित सहज हुन्छ भने केहि संघर्ष र कठिन । कुनैपनि खेल रोमाञ्चक तब हुन्छ जब दुवै टोली अन्तिम समयसम्म पनि जितको लागि संघर्षरत हुन्छन् । विगतमा निकै कम देखिने अन्तिम बलसम्मको रोमान्च अहिले टि२० को आगमनसँगै सामान्य हुन थालेको छ ।
नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा प्रतिद्वन्द्वी अनुसार प्रर्दशन गर्ने गरेको इतिहास छ । लक्ष्य पछ्याउने क्रममा केहि कमजोर प्रदर्शन गरेको नेपालले धेरै खेल अन्तिम ओभरतिर जितेको छ । नेपाली क्रिकेटमा निकै उतारचढाव रहेको छ । सन् १९९६ देखि हालसम्म आइपुग्दा नेपाली क्रिकेट टोलीले थुप्रै रोमाञ्चक जित हात पारेको छ ।
केहि यस्ता जित छन् जिन धेरै समर्थकको मानसपटलमा ताजा छ । नेपाली क्रिकेटको इतिहासका रोमाञ्चक जितलाई फर्केर हेर्दा बल आउटदेखि करण केसीको अविश्वसनिय प्रर्दशन सम्मका खेल आउने गर्दछन् । समग्रमा नेपाली क्रिकेट इतिहासका ५ रोमाञ्चक जित यस प्रकार छन् ।
५. नेपाल र जमर्नी (आइसिसी ट्रफी, २००१)
नेपालले पहिलो पटक आइसिसी प्रतियोगिता सन् २००१ मा क्यानडामा खेलेको थियो । आइसिसी ट्रफीमा नेपालले जमर्नीमाथि रोमाञ्चक जित हात पारेको थियो । क्यानडाको किङ सिटीमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित ४८ ओभरमा ९ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । दीपेन्द्र चौधरीले ६८ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ५२ रन जोडेका थिए । जमर्नीका अब्दुल हमिदले ५ विकेट लिएका थिए ।
जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको जमर्नीका ओपनर शामस उद्दीनले १ सय १७ बलको सामना गर्दै ६८ रन जोडेपछि जित तर्फ लम्केको थियो । उद्दीनलाई ४७ औं ओभरको अन्तिम बलमा जय सर्राफले महबुब आलमबाट क्याच गराउँदा जमर्नीलाई जित्न अन्तिम ओभरमा ३ रन र नेपाललाई १ विकेटको आवश्यक थियो । पवनकुमार अग्रवालले सुरुवाती दुइ बल डट राख्दै तेस्रो बलमा रेनाल्ड बुसलाई बोल्ड आउट गरेपछि नेपालले २ रनको रोमाञ्चक जित हात पारेको थियो ।
४. नेपाल र कुवेत, (एसिसी टि२० कप, २००९) बल आउट
सन् २००९ मा युएईमा भएको एसिसी टि२० कपमा नेपालसँगको खेलमा कुवेतले टस जितेर ब्याटिङ गर्दै १९.१ ओभरमा १ सय २३ रनमा अल आउट भएको थियो । नेपालका दीपेन्द्र चौधरीले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएपछि कुवेत सस्तैमा समेटिएको थियो । तर उक्त लक्ष्य पछ्याएको नेपाललाई जितको लागि अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा डेब्यु गरिरहेका विनोद भण्डारीले छक्का प्रहार गर्दै खेल टाई (बराबर) गराएका थिए ।
विनोदले १६ बलमा समान १ चौका र छक्का सहित अविजित २५ रन जोडेका थिए । नेपालले खेल टाई गराउँदा ७ विकेट गुमाएको थियो । सुपर ओभरको नियम लागु हुनु अघि खेल टाइ भएमा बल आउट (बलले स्टम्प ताक्ने) विजेता निर्धारण गरिन्थ्यो । जस अनुसार नेपालको तीनै बलरले स्टम्प ताक्दा कुवेतका एक बलर असफल भएपछि बल आउटमा नेपाल ३—२ ले विजयी भएको थियो ।
३.नेपाल र केन्या (आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन २, २०१८)
यस प्रतियोगितामा सहभागी ६ टोली मध्य शीर्ष दुई टोलीले सन् २०१८ मै जिम्बावेमा हुने एक दिवसिय विश्वकप छनोटमा स्थान बनाउने हुँदा डिभिजन २ मा नेपालको भविष्य जोडिएको थियो । ओडिआई मान्यता पाउन विश्वकप छनोट खेल्नैपर्ने हुँदा नेपाल यस अवसर गुमाउन कुनै हालतमा चाहँदैन थियो । तर दोस्रो खेलमा ओमानसँग ६ विकेटको हारले ठुलो धक्का लाग्न पुग्यो । पहिलो खेलमा नामिबियालाई १ विकेट र युएईलाई ४ विकेटले हराएको नेपालले अघिल्लो चरणको आशा कायमै राख्न केन्यालाई पराजित गर्नैपर्थ्यो ।
विन्डहोकमा टस हारेर ब्याटिङ थालेको केन्याका ओपनर इरफान करीम र एलेक्स ओबान्डाले १७ ओभरमा ६५ रन जोड्दै राम्रो सुरुवात दिलाए । ओबान्डालाई सन्दीप लामिछानेले ४१ रनमा बोल्ड आउट गरेपछि नेपाल खेलमा फर्किएको थियो । सन्दीपले १० ओभरमा ५ मेडन सहित २० रन खर्चेर ५ विकेट लिएपछि केन्याले ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७७ रन जोडेको थियो । १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ११ रन जोड्न ओपनर ज्ञानेन्द्र मल्ल र अनिल कुमार शाहलाई गुमाएपछि दबाबमा पर्यो । कप्तान पारसले ४४ बलमा ३ चौका र २ छक्का सहित ४२ रन जोड्दै इनिङ उकासेका थिए । तर २३.२ ओभरमा शरद भेषवाकर १९ रनमा आउट हुँदा नेपाल ८२—५ को कमजोर अवस्थामा पुगेको थियो ।
छैटौं विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलले ८७ रनको महत्वपुर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए । नेपाललाई अन्तिम ओभरमा ६ रन आवश्यक परेको थियो । अन्तिम ओभरको पहिलो बलमा २ रन लिएका रोहितले दोस्रो बलमा र सोमपाल कामीले तेस्रो बलमा १—१ रन बटुले । चौथो बलमा रोहित ४७ रनमा रन आउट भएपछि खेल अझ रोमाञ्चक बनेको थियो । पाँचौ बल सोमपालले डट खाएपछि खेल अन्तिम बलमा पुग्यो । अन्तिम बलमा सोमपालले लेग साइडमा प्रहार गर्दै २ रन बटुल्दै नेपाललाई ३ विकेटको रोमाञ्चक जित दिलाए । अन्तिम बलमा केन्याका फिल्डरबीच आपसमा तालमेल नमिल्दाको त्यसको फाइदा नेपाललाई पुगेको थियो ।
२.नेपाल र नेदरल्यान्ड्स (दुई ओडिआई सिरिज, २०१८)
डेब्यु ओडिआई सिरिजको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ५५ रनले पराजित भएको थियो । दोस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४८.५ ओभरमा २ सय १६ रनमा अल आउट भएको थियो । पारस ५१ र सोमपालले ६१ रनको अर्ध शतकीय इनिङ खेलेका थिए । २ सय १७ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याड्सलाई मध्यक्रमका वस्ली बर्रेसीलेले ७१ रन जोड्दै सहज जिततर्फ लम्काएका थिए ।
खेलको ३६ औं ओभरको पाँचौ बलमा बर्रेसीलाई दीपेन्द्रसिंह ऐरीले एलविडब्लू आउट गरेपछि नेदरल्यान्ड्स १४३—६ को अवस्थामा पुगेको थियो । जुन विकेट उक्त खेलको टनिङ प्वाइन्ट बन्न पुग्यो । शन स्नेटरलाई ४३.३ ओभरमा सन्दीपले १२ रनमा बोल्ड आउट गरेपछि नेदरल्यान्ड्स १८५—९ को अवस्थामा पुगेको थियो । तर अन्तिम विकेटका लागि फ्रेड क्लासेन र पल भान मेकिरेनले ४९ ओभर सम्म २११—९ को अवस्थामा पुर्याएपछि खेल निकै रोमाञ्चक बन्न पुगेको थियो ।
नेदरल्याड्सलाई जित्न अन्तिम ६ बलमा ६ रन र नेपाललाई १ विकेट आवश्यक थियो । पहिलो बलमा पारसले क्लासेनलाई १ रन दिँदा दोस्रो बल डट राखे । तेस्रो बलमा १ रन दिएका पारसले चौथो बलमा फिल्डरबीच तालमेल नमिल्दा क्लासेनले २ बटुले । पारसले पाँचौ बल डट राखेपछि खेल अझ रोमाञ्चक र उत्कृष्ट बन्यो । अन्तिम बलमा क्लासेनले १ रन लिनेक्रममा पारसले रन आउट गरेपछि नेपालले पहिलो ओडिआई जित १ रनले जितेको थियो ।
१. नेपाल र क्यानडा (आइसिसी विश्व क्रिकेट लिग डिभिजन २, २०१८ )
टस हारेर ब्याटिङ थालेको क्यानडाले ओपनर श्रीमन्था विजयरत्नेको १ सय ३ रनको शतकीय इनिङमा ५० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो । जुन योगफल उक्त विन्डहोक मैदानको पिचमा निकै चुनौतीपुर्ण थियो । अर्कोतर्फ उक्त प्रतियोगितामा ब्याटिङमा नेपाली ब्याट्सम्यानले निकै संघर्ष गरि रहेका थिए । उक्त विजयी लक्ष्य पछ्याएको नेपाल ४२.१ ओभरमा १४४—९ को कमजोर अवस्थामा पुगेको थियो ।
नेपाललाई जितको लागि अन्तिम विकेटका रुपमा ५१ रन जोड्नु पर्थ्यो । क्रिजमा करण केसी र सन्दीप दुबै बलर हुँदा जितको आशा धेरैले मारेका थिए । बाउन्ड्री बाहिर क्यानडाका खेलाडी जित मनाउन थालिसकेका थिए । क्यानडाका खेलाडीलाई निराश बनाउन करणले उत्कृष्ट प्रर्दशन गरे । करणले उत्कृष्ट ब्याटिङ गर्दै अन्तिम ओभरमा पुर्याए ।
नेपाललाई अन्तिम ओभरमा ८ रन आवश्यक थियो । तर क्यानडाका सेसिल परवेजले सुरुवाती चार बल लगातार योर्कर फाल्दै डट राखेपछि खेल अझ रोमाञ्चक बनेको थियो । तर पाँचौ बलमा करणले उत्कृष्ट छक्का प्रहार गरे । अन्तिम बल वाइड फालेपछि नेपाललाई सहज बनेको थियो । अन्तिम बलमा करणले १ रन लिदै १ विकेटको अविश्वसनिय जित दिलाए । जुन नेपाली क्रिकेट इतिहासकै उत्कृष्ट रोमाञ्चक जित पर्दछ ।
March 5, 2025
एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो ।न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ । भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो। समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट […]
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधवार एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे ।ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको छ । एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ । […]
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ। लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो। विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको […]