5 years ago
April 25, 2020
कप्तान कथन
परेश लोहनी (पूर्व कप्तान, नेपाली राष्ट्रिय क्रिकेट टोली)
मेरो घर काठमाडौं हो । जन्म सन् १९८० मा । नेपालमा क्रिकेटको पाएनेर मेरो मामुको बुबा स्वर्गिय डा. कल्याणमणि दक्षित हो । उहाँको घर महाराजगञ्जमा थियो । त्यहाँ भाडामा दिएर गैरीधारामा बस्नुहुन्थ्यो । म ६,७ वर्षको थिएँ । उहाँ (हजुरबुबा) घरमै नेटमा अभ्यास गर्नुहुन्थ्यो । कल्याणमणि र उहाँको दाई कुमारमणि दिक्षित नेपाली क्रिकेटको पाएनेर हुन् ।
मैले त्यो बेला देखिनै उहाँसँग क्रिकेट सिकेको हुँ । क्रिकेटको किताब पढ्थें । कतिपय शब्द आउँदैन थियो । त्यो ७–८ वर्षको उमेरमा ठुला ठुला शब्द आउने कुरा पनि भएन । अनि हजुर बुबालाई सोधेर यो के हो, उ के हो भनेर पुरै किताब पढेर सिक्थें । मैले स्कुल देखि नै क्रिकेट खेलें । मेरो बाल्यकाल यसरी नै क्रिकेट खेलेरै बित्यो । स्कुलबाट खेल्दा ब्याट बल त्यही हुन्थ्यो । घरमा खेल्दा हजुरबुबाको ब्याट, बल प्रयोग गर्थे । त्यसैले खासै चिन्ता भएन ।
९ वर्षकै उमेरमा कडा बलले खेलेको हो । टेनिस बलले खेल्थे । हजुरबुबाको गैरीधारा क्रिकेट क्लब भन्ने थियो । त्यहि क्लबबाट पनि खेले । घरेलु क्रिकेटमा अहिले जस्तो त्यो बेला फ्रेन्चाइज लिग हुने कुरै भएन । पहिला राजविराजमा, महावीर क्रिकेट क्लब काठमाडौंमा प्रतियोगिता हुन्थे । मैले महावीरबाट खेलें । मैले सन् १९९९ मा राजविराजमा भएको जय ट्रफी काठमाडौं जिल्लाबाट खेल्दै राष्ट्रिय प्रतियोगितामा सुरुवात गरे । मैले त्यहि प्रतियोगिताको फाइनलमा कपिलवस्तुविरुद्ध १ सय ११ अविजित शतकीय इनिङ खेलेको थिए र उपाधि जितेका थियौं ।
अर्को वर्ष काठमाडौंमा भएको जय ट्रफीको पहिलो खेलमा चितवनविरुद्ध पनि शतक हाने । चितवनविरुद्ध स्कोर ठ्याक्कै थाहा भएन । लगातार दुई शतक हानेपछि नेपालको बन्द प्रशिक्षणमा परिहालें । त्यो बेला यूएईमा भएको एसिसी ट्रफिको लागि प्रशिक्षण भएको थियो । पाकिस्तानका हारुन राशिद प्रशिक्षकका रुपमा नेपाल आएका थिएँ । मेरो शरिरको तौल पनि अलि बढी भएको हुँदा हरुनले मलाई इन्जमाम (पाकिस्तानका पूर्वकप्तान) भनेर जिस्काउँथे । प्रशिक्षणमा पनि राम्रो प्रर्दशन गरे । त्यो बेला भारतबाट टोली आउँथ्यो । त्यसमा पनि एउटामा शतक र अर्को सायद ८० रन जति बनाएको थिएँ । अनि सिनियर टोलीमा परि हाले ।
सन् २००० मा भएको उक्त एसिसी ट्रफीमा मेरो प्रर्दशन ठिकै भयो । सोचेजस्तो राम्रो अलि भएन । २०–३० रनमा आउट भए । हामी पहिलो पटक सेमिफाइनलमा पुगेका थियौं । जुन इएसपिएनमा लाइभ आएको थियो । दुर्भाग्य म हङकङविरुद्ध शून्यमा आउट हुन पुगे । म ओपनर हुँ । सधैं ओपनरकै भुमिका निर्वाह गरेँ । त्यसपछि क्यानडामा भएको विश्वकप छनोटको बन्द प्रशिक्षणमा परे । अहिले डिभिजन श्रेणी यात्रा तय गरेर विश्वकप छनोट खेल्नुपर्छ । त्यो बेला जसले उपाधि जित्थ्यो त्यहि टोली छनोट हुन्थ्यो । ग्रेट क्वालिफिकेसन भनिन्थ्यिो ।
आइसिसी क्रिकेट विश्वकप क्वालिफायर (आइसिसी ट्रफि) नाम रहेको उक्त प्रतियोगितामा हामीले नामिबियासँग हार्न पुग्यौं । जर्मनी र जिब्राल्टारलाई हराएका थियौं । अनि त्यसपछि रोय डायस सर प्रशिक्षकको रुपमा आउनु भयो । उहाँले यू१९ विश्वकपको लागि नेपाली टोलीलाई न्युजिल्यान्ड लगेर जानुभयो । हामी प्लेट च्याम्पियन भएका थियौं ।
सन् १९९६ मा महावीर क्लबबाट खेलें । ब्याट्सम्यान भएपनि १६ विकेट लिएपछि बलरको रुपमा काठमाडौं जिल्लाबाट छनोट भए । मैले लेगस्पिन, अफस्पिन र मध्यम गति तीनैमा बलिङ गर्थे । हङकङ जाने यु१९ टोलीको मुख्य छनोट विरगन्जमा थियो । त्यो बेला भारतसहित सबै टोली खेल्थे । त्यो बेला वर्षाले साथ दिँदा नेपालले दक्षिण अफ्रिकालाई हराएको थियो ।
विरगञ्जको छनोटमा मलाई सुरुमा मध्यक्रम खेलाए । कप्तान राजु बस्नेतले ब्याट्सम्यान हो माथि खेलाउनु पर्छ भनेपछि ओपनिङनै गरे । विराटनगर विरुद्ध खेल्दा म ४० हो की कतिमा अविजित खेल्दै थिएँ । तर अध्यारो भएर बलनै नदेखिने भएर पछ्याउन सकिएन । पछाडी पुरै कालो । त्यो बेला रातो बलले खेलिन्थ्यो । पछि बलनै नदेखिने भएपछि रनरेटले विराटनगरले जितेको थियो । त्यो बेला क्रिकेटकै जुत्ता पाइदैन थियो । कन्भर्स जुत्ता लगाएर खेलेको दुवै खुटमा कर्न आयो ( दुबै खुटमा पाइतलामा डल्लो आउनु) । हिड्न पनि नसक्ने भएन । खेल्ने त कुरै नगरौं । अनि काठमाडौं फर्किएँ । यू१९ छनोट भयो र गएँ । म दुई हप्तापछि खेल्न सक्ने भएको थिएँ ।
मैले पाँच वर्ष महावीर क्रिकेट क्लबको कप्तानी गरे । पाँच वर्ष मैले क्षेत्र नम्बर ३ को कप्तानी गरे । पहिला ५ वटा क्षेत्रको प्रतिस्पर्धा हुन्थ्यो । पाँच मध्य चार पटक फाइनलमा पुगेर हारेका थियौं । जहिले पनि फाइनल पुग्ने अनि क्षेत्र नम्बर १ सँग हारेर फर्किन्थ्यौं । हामीले अन्तिममा त्यहि टिमलाई हराएर उपाधि जितेका थियौं ।
मैले राष्ट्रिय टोलीमा राजु खड्का पछि कप्तानी पाएको थिएँ । एसियन प्रिमियर लिगमा हङकङ विरुद्ध सन् २००४ मा मैले कप्तानी गरेको थिएँ । थ्री डे खेलमा हामीले उनीहरुलाई २ सय ८० जतिको लक्ष्य दिएका थियौं । त्यसबेला हङकङको प्रमुख खेलाडी राहुल शर्मा थिए । उनलाई सस्तैमा आउट गर्यौं पनि । तर क्याच विन म्याच भने जस्तै एक खेलाडीलाई हामीले शुन्यमा क्याच मिस गर्दा उसलेनै पछि ६० जति हानेर खेल जिताएको थियो । त्यो खेलाडीको नाम ठ्याक्कै भुले । मैले त्यहि एउटा खेलमा कप्तानी गरेको हुँ । त्यो खेलमा म पहिलो इनिङमा ४९ रनमा रन आउट भए । दोस्रोमा ३० जति बनाएको थिएँ होला । त्यो बेला उप कप्तान विनोद दास थिए । अनि म पछि विनोद कप्तान भए ।
हामी बेंगलोर गएका थियौं । कर्नाटका स्टेटसँग तीन खेल खेलेका थियौं । विनोद घाइते भएर गएको थिए । राजु खड्का कप्तान थिए । राजु घाइते भएपछि तेस्रो खेलमा मैले कप्तानी गरेको थिएँ । मेरो करिअरको उच्च प्रर्दशन सिंगापुरविरुद्ध दुई शतक हो । एसियन प्रिमियर लिगमा पाँच वटा देश (नेपाल, युएई, मलेसिया, सिंगापुर र हङकङ) थ्री डे क्रिकेट प्रतिस्पर्धा हुन्थ्यो ।
सन् २००५ मा सिंगापुरमै मैले दोस्रो इनिङमा १ सय १ रनको शतकीय इनिङ खेलेको थिएँ । सिंगापुरमा मैले शतक प्रहार गर्दा ४० रनमा जतिमा खेल्दा मलाई विस्तारै घुमायो । सुरुमा बलर र अनि मैदाननै पुरै घुमेको देखे । केहि देखिँन । अनि म मैदानमा लडे । हेलमेट खोले । मलाई हिट स्ट्रोक भएको रहेछ । म रिटायर्ट हर्ट भएँ । बाहिर गएर इनर्जि ड्रिंक्स पिएँ । अर्को दिन एकजना ब्याट्सम्यान आउट भएपछि ब्याटिङ गर्न गए अनि शतक प्रहार गरे । त्यो मेरो आफ्नो करिअरको उत्कृष्ट पल हो । सिंगापुर नेपाल आएको बेला पनि १ सय ३ रनको शतकीय इनिङ खेले । यी दुई शतक अन्तर्राष्ट्रिय स्तरमा मेरो उच्च प्रर्दशन र उत्कृृष्ट पल हुन् ।
मैले कहिल्यै पनि नेपालको कप्तान बन्छु भन्ने सपना समेत देखेको थिइन । खाली देशबाट खेल्दै राम्रो प्रर्दशन गरि टोलीलाई जिताउँछु भन्ने मनमा थियो । त्यो बेला नेपालमा चलन कस्तो थियो भने कप्तानबाट हटेसँगै अन्तर्राष्ट्रिय खेल यात्रा पनि लगभग सकिन्थ्यो । सायद कप्तान छोडेपछि पनि निरन्तर खेल्न पाएको म, विनोद दास र पारस खड्का मात्रै होला । मैले नेपालबाट २०१२ मा आइसिसी टि२० क्वालिफायर दुबईमा भएको प्रतियोगितानै अन्तिम खेलेको थिएँ ।
क्रिकेट भनेको प्यासन हो । क्रिकेट जति पनि खेले सबै मनदेखी खेल्दै रमाएँ । म पैसाको लागि कहिल्यै खेलिन । सन् २०१८ मा बिरामी भएदेखि क्रिकेट खेलेको छैन । मैले २०१६ मा विशाल वारियर्सबाट इपिएल खेलेको थिएँ । त्यसयता भने म कमेन्ट्री गर्दै आएको छु । नेपाली र अंग्रेजी दुवै भाषामा गर्छु । जे गरेपनि प्यासन हो । क्रिकेटको प्यासन कहिल्यै मर्ने रहेनछ । एसिसीको कोचिङको लेभल टु सकिसकेको छु । अब लेभल थ्री गर्ने तयारी छ ।
नेपालका नयाँ युवा खेलाडीमा धेरै प्रतिभा छ । तर उनीहरुसँग अनुभव छैन । ओपनिङ गर्दा म आउट हुनुन्छु की हुन्छु भनेर डराई डराई खेल्ने ब्याट्सम्यान पक्का आउट हुन्छ । बाउन्ड्री प्रहार गर्ने एउटा बल हो । त्यसका लागि धैर्य राख्न सक्नुपर्छ । एकदिवसियमा लगातार ३ ओभर मेडन खाएपनि केहि हुँदैन । एउटा योजना बनाउनुपर्छ । हरेक बलमा बाउन्ड्री होइन । यो खेलमा मनै उत्कृष्ट ब्याट्सम्यान हो र खेल जिताउनु पर्छ भन्ने सोच हरेक खेलाडीमा हुनुपर्छ । मुख्य त मानसिक रुपमा तयार हुनुपर्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
November 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]
November 23, 2024
एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् । २२ वर्षीय तिलकले गत साता मात्र […]
November 23, 2024
एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]