5 years ago
April 22, 2020
कप्तान कथन
लेखबहादुर क्षेत्री (एलबी) (नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान)
मैले क्रिकेट सानोमा कोलकाताको बंगालमा पठनपाठनको क्रममा सिकेको हुँ । म घरको कान्छो छोरा । एउटा दिदी र तीन दाईहरु । बुबा भारतमा जागिरे भएको कारण हामी सबैले उतै बसेर पढेका हौं । कहिलेकाहिँ नेपाल आउँथ्यौं ।
बंगाली केटाहरुले बहादुर त क्रिकेट खेल्न जान्दैनस् भनेर जिस्काएपछि क्रिकेट सिक्न थाले । देब्रे हातले स्पिन बलिङ र ब्याटिङ गर्थे । टेनिस बलमा राम्रो खेल्न थाले । सबैले देब्रे केटा खेल्छ भनेर बोलाउन थाले । एउटा ठुलो टेनिस बलको प्रतियोगिता दौरानमा त्यहाँ बंगालको रेल्वेमा काम गर्ने खेलाडीहरुले मेरो खेल हेरे । अनि उनीहरुले तिमी प्राक्टिक्स (प्रशिक्षण) गर्न किन आउँदैनौ, तिम्रो खेल राम्रो छ भने ।
मलाई क्रिकेटमा प्रोत्साहन गर्ने वाइ के चौधरी र इमरान खान थिए । खेल्दै गर्दा म मोहम्मडन स्पोर्टिङ क्रिकेट सेन्टरमा सिक्न जान थाले । कुरा सन् १९८९ तिर हो । क्रिकेट सेन्टरबाट मैले जुनियर टोलीबाट बेंगलोरमा पेप्सी क्यानोफि ट्रफी प्रतियोगिता खेल्न गएँ । त्यस प्रतियोगिताको उदीयमान खेलाडी घोषित हुँदै मैले बिसनसिंह बेदीबाट एउटा टिसर्ट पुरस्कार पाएँ ।
क्रिकेट एसोसिएसन बंगालले फर्स्ट डिभिजन र सेकेन्ड डिभिजनको दुईवटा प्रतियोगिता गराउथ्यो । सेन्टरमा गौतम दाले हामीलाई एक दुई जना मान्छे चाहिएको भनेपछि प्रशिक्षकले मलाई त्यहाँ एक पटक जाउ भन्नुभयो । अनि म प्रथम श्रेणीको क्लब बेलगाछिया युनाइटेड क्लब वेस्ट बंगालमा गए । बाटो ठ्याक्कै उल्टो पर्थ्यो । त्यहाँ मलाई ब्याट, बल, खाजा खर्च र भाडा दिने सर्तमा सन् १८८९ सिजनको लागि राख्ने सहमति भयो ।
म धेरै खुसी भएँ । मलाई त्यो भन्दा अरु चाहिएको पनि थिएन । दोस्रो वर्षमा त्यहि क्लबबाट खेले । मैले दोस्रो वर्ष ८ हजार पाएँ । त्यहाँ धेरै टाढा भएपछि म बाटा स्पोर्ट्स क्लबमा आएँ । मैले भारतमा झण्डै ५ वर्ष प्रथम श्रेणीको क्रिकेट खेले । मैले खेल्दा सौरभ गांगुली मोहन बगानबाट खेल्थे ।
हाम्रो पुरानो घर पर्वत हो । पछि कोहलपुरमा आएका हौं । २०५० सालमा आमाले बोलाएपछि दायाँ बायाँ केहि नसोचि नेपाल आएँ । क्रिकेट छोड्ने बेला त्यहाँ धेरैले सम्झाएका थिएँ । तर म नेपाल फर्किएँ । म कोलकातामा त्यस्तो ठूलो सहरमा बसेको मान्छे सुरुमा आउँदा कोहलपुर कुनाकाप्चा लाग्यो ।
म आउँदा कोहलपुरमा क्रिकेट थिएन । डेढ बर्षपछि मात्र नेपाल र बाँकेमा पनि क्रिकेट हुन्छ भन्ने थाहा पाएँ । कोहलपुरमा रहेको रामजानकी माविमा वि.सं. २०५० फागुनमा मासिक १२ सय तलबमा शिक्षकको जागिर पाएँ । त्यसको तीन महिना पछि म प्रध्यापक भएँ । अनि मेरो विवाह चितवनमा भयो । २०५२ सालमा छोरी जन्मिन् ।
त्यो बेला रञ्जित राना दाई राम्रो क्रिकेट खेल्नुहुन्थ्यो । रञ्जित दाईले बाँके जिल्ला संघका सचिव सुनिल सिंह हमालले मेरो भाई राम्रो क्रिकेट खेल्छ कतै छ भने थाहा दिनु भनेर भन्नु भयो । नेपालगञ्जमा रहेको मंगलप्रसाद माविमा गएँ । चर्को गर्मीमा मैले दुई दिनसम्म नेट समाएँ, पानी ओसारें, विकेट पनि बोकें । मलाई काम गराउनुको कारण पछि थाहा पाएँ, यो वास्तवमा क्रिकेट सिक्न आएको हो की होइन भनेर जाँचिएको रहेछ ।
अहिलेका खेलाडीलाई पानी बोकाउनु पर्छ म तल्लो स्तरको रहेछु भन्ने सोच्छन् । यस्तो काम मैले पहिला नै गरेको थिए । क्रिकेटप्रति भोक थियो । र हुनु पनि पर्छ । अहिलेका खेलाडीमा कम पाइन्छ । त्यसबेला सिद्धार्थ कप भैरहवामा खेल्न जान नेपालगञ्ज ११ छनोट भएको रहेछ । मलाई थाहा थिएन । भैरहवा गएर आएपछि जमिल अन्सारीले खेलेर आएको भनेपछि थाहा पाएँ । त्यो बेला जावेद सिद्दिकी राम्रो स्पिनर हुनुन्थ्यो । त्यसैले म टोलीमा परेनछु ।
तर सिद्धार्थ कप खेलेर आएपछि सिद्दीक विरामी परेको कारण नेपालगञ्ज ११ को टोलीबाट कलैया जाने मौका पाएँ । त्यो नै करिअरको टर्निङ प्वाइन्ट मान्नुपर्छ । कलैयामा भएको सत्यनारायण अग्रवाल मेमोरियल प्रतियोगितामा मैले राम्रो प्रर्दशन गरे । त्यसमा हामी उपविजेता हुँदा खुकुरी क्लब विजेता बन्यो । कलैयाबाट आएपछि जय ट्रफीको लागि म बाँकेको टोलीमा परें ।
१२ औं जय ट्रफि विरगञ्जमा हुँदै थियो । बाँकेबाट छनोट भएको दिन मेरो छोरीको न्वारान थियो । त्यसैले म आफुलाई भाग्यमानी ठान्छु । जय ट्रफी त्यो वर्ष दुई पटक भयो । मलेसियामा सन् १९९६ मा हुने एसिसी ट्रफिको लागि खेलाडी छनोट गर्न एकै वर्ष दुई पटक गरिएको रहेछ । पछि थाहा पाएँ ।
पहिलो खेलमै काठमाडौंविरुद्ध मैले ४८ रन ४ विकेट लिएपछि प्लेयर अफ द म्याच त चुनिए तर खेल १ रनले हार्न पुग्यौं । म आउट हुँदा २ विकेट गुमेको थियो र जितको लागि २८ रन आवश्यक थियो । हाम्रा खेलाडी सधैं त्यहि त होनी हतार हतार गरेर फटाफट जित्न खोज्दा १ रनले हारेका थियौं । झापा र कैलालीलाई जितेपनि समुह चरणबाट एक टोली मात्र सेमिफाइनलमा प्रवेश गर्ने हुँदा हामी बाहिरियौं । बाँकेबाट म र गणेश शाही छनोट भयौं ।
विरगञ्जमै प्रशिक्षण भयो । प्रशिक्षकको रुपमा भारतबाट विरेन्द्र भटनाघर र पाकिस्तानबाट फरुक जमान आएका थिए । मलेसियामा हुने एसिसी ट्रफीमा नेपालको उत्तम कर्माचार्य दाई कप्तान हुँदा म उप कप्तान भएँ । जुन नेपालको पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल थियो । मलेसियामा भएको एसिसी ट्रफिमा वसन्त शाहीले नेपालबाट सर्वाधिक विकेट लिएका थिए । त्यसपछि राजु र म थियौं ।
नेपालगञ्जमा भएको १४ औं जय ट्रफी विसं २०५४ मा बाँके राष्ट्रिय च्याम्यिन हुँदा म कप्तान थिएँ । जुन बाँकेले पहिलो पटक राष्ट्रिय उपाधि जितेको थियो । फाइनलमा रुपन्देहीलाई हराएर उपाधि जितेका थियौं । नेपालले पहिलो भ्रमण वर्ष घोषणा गरेको थियो । त्यसैले पनि त्यो वर्ष महत्वपूर्ण थियो । दोस्रो एसिसी ट्रफि सन् १९९८ मा नेपालले आयोजना गर्दै थियो । त्यसमा नेपालको कप्तान म भएँ । टिबी शाहले कप्तानी गर्दा कुनै समस्या छ भनेर सोध्नु भएको थियो, मैले छैन भनें ।
दुर्भाग्य भन्नुपर्छ लिग चरणमा हामीले जित्ने खेल जापान र थाईल्यान्डसँग वर्षाको कारण अंक बाड्नु पर्यो । त्यो समयका बलिया टोली युएई र हङकङसँग हार्यौं र बाहिरियौं । म राजविराजमा २०५६ मा १६ औं जय ट्रफी खेलेर आउँदा युएनमा जागिर पाएँ । सन् २००० मा युएईमा भएको टोलीमा म परेपनि प्रशिक्षणमा सहभागि भइन । जागिरबाट बझाङ पुगे । कप्तान हुँदा हुँदै पनि टोलीमा जान नपाउनु बाध्यता थियो ।
टिबी सरले फोन गरेर तिमी जस्तो मान्छे यो बेला देशलाई आवश्यक छ आउ भनेर सम्झाउँदै हुनुन्थ्यो । धेरै विचार गरे । घरकाले कतिदिन सम्म खेल्नुहुन्छ भन्न थाले । म त्यो बेला ३२ वर्ष भइसकेको थिएँ । राम्रो जागिर पाएको बेला किन छोड्नु भनेर आइन । मेरो कप्तानीमै देशमै भएको एसिसी ट्रफीमा जापान र थाईल्यान्डसँग वर्षाको कारण खेल हुन नपाउँदा साह्रै नराम्रो लाग्यो । खेल भएको भए हामीले राम्रो क्रिकेट खेलेर देखाउँथ्यौं । नेपालले पहिलो प्रतियोगिता आयोजना गरेको हुँदा राम्रो गर्न चाहेका थियौं ।
क्रिकेटबाट धेरै कुरा पाएँ । देशलाई नेतृत्व गर्न पाएँ । नेतृत्व क्षमता सिके । सम्मान पाएँ । क्रिकेटले पहिचान बनायो । देशलाई केहि गर्नुपर्छ भन्ने सिकायो । महिला क्रिकेट विकास गर्नुपर्छ भन्ने पनि सिकायो । तर जुन गतिमा अहिले संरचना देखी सबै कुरामा क्रिकेटको विकाश हुनुपर्ने हो त्यो नहुँदा साह्रै चिन्ता लाग्छ । दुख लाग्छ । पिर लाग्छ । हाम्रो ब्याटिङ अहिले पनि सन् १९९६ मा पहिलो औपचारिक अन्तर्राष्ट्रिय खेल खेल्दा जस्तो छ । खासै परिवर्तन छैन ।
अझ अहिलेको तुलनामा त्यो बेला व्यवस्थापन धेरै राम्रो थियो । तर सिमित मान्छेको मात्र चल्थ्यो । अहिले त सबै लिडर जस्तो देखिन्छन् । छाडापन छ । आफ्नो जिम्मेवारी निर्वाह गर्नुको सट्टा अरुको कुरा काट्न ठिक्क छ । क्रिकेट विकास नहुँदा हामी जस्तालाई पिडा धेरै हुन्छ । संरचनादेखि सबै कुराको विकास हुनुपर्ने हो । अझै पनि खेलमा राजनिती गर्न खोज्छन् ।
यस्तो अवस्था देख्दा आफूलाई साह्रै नराम्रो लाग्छ । नेपाली क्रिकेटको विकास गर्ने हो भने न्यूनतम भौतिक पुर्वधारको विकास हुनुपर्छ । विद्यार्थीलाई राम्रो बनाउछु भनेर मात्र हुँदैन । पहिला आफ्नो विद्यालयको संरचना हेर्नुपर्छ । क्रिकेटमा पनि त्यहि हो । क्रिकेटले मेरो एउटा पहिचान बनायो । सबैले आफ्नो जिम्मेवारी इमान्दारीता पूर्वक निर्वाह गर्नुपर्छ । अनि मात्र खेलले फड्को मार्छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानहरुको संस्मरण समेट्ने क्रममा हाम्रो खेलकुदले सबै कप्तानहरुको खेल जीवन प्रतिविम्बित गर्ने प्रयास गर्नेछ । यो लेख हाम्रो खेलकुदका भुपेन्द्र जिसीले कुराकानीका आधारमा तयार पारेका हुन् । यसअघि अन्य कप्तानहरुको संस्मरण पढ्न यहाँ थिच्नुहोस ।
November 23, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा आगामी शुक्रवारबाट युएईमा सुरु हुने यु १९ एसिया कपको लागि नेपाली टोली घोषणा भएको छ । एसिसीले शनिवार हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । क्यानले हालसम्म अधिकारिक घोषणा नगरेपनि एसीसीले नेपालको टोली सार्वजनिक गरेको हो । केही दिनअघि भारतको कनार्टक यू१९ […]
November 23, 2024
एजेन्सी – भारतीय ब्याटर तिलक बर्माले टि ट्वान्टी क्रिकेट नयाँ कीर्तिमान बनाएका छन् । तिलक लगातार तीन टि ट्वान्टीमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेका छन् । तिलकले शनिवार भारतमा जारी सैयद मुश्ताक अलि ट्रफिमा हैदराबादबाट खेल्दै मेघालयविरुद्ध ६७ बलमा १ सय ५१ रनको शतकीय पारी खेलेका छन् । २२ वर्षीय तिलकले गत साता मात्र […]
November 23, 2024
एजेन्सी– अस्ट्रेलियाविरुद्ध पहिलो टेस्ट दोस्रो इनिङमा भारतले सानदार प्रदर्शन गरेको छ । दोस्रो दिन शनिवारको खेल सकिँदा भारतले विकेट नगुमाई १ सय ७२ रन बनाएको छ । दोस्रो इनिङमा भारतले २ सय १८ रनको अग्रता बनाएको छ। भारतका यशस्वी जयसवाल ९० रन र केएल राहुल ६२ रनमा अविजित छन् । १ सय ९३ खेलेका यशस्वीले […]