5 years ago
September 22, 2019
भूपेन्द्र जिसी, काठमाडौं
सपना पूरा गर्न प्रयास सबैले गर्छन् । कसैको आफ्नो सपना हुन्छ त कसैको परिवारको सपना पूरा गर्नु मुख्य लक्ष्य हुन्छ । कमैले मात्र दुवै पक्षलाई समेटेर दुवैमा सफलता प्राप्त गर्न सक्छन् । इशान पाण्डे समग्र नेपाली समाजकै यस्ता उदाहरण हुन् जसले क्रिकेट खेल्दै राष्ट्रिय टोलीमा पर्ने आफ्नो सपना पूरा गरे । र सँगसँगै डाक्टरी पढ्दै आफ्नो बुबाको विशेष सपना पूरा गर्न दिनरात मिहिनेत गरिरहेका छन् ।
कुनैपनि क्षेत्रमा लागेपछि मिहिनेत गरेर त्यसै क्षेत्रमा दक्षता हासिल गर्ने सबैलाई रहर हुन्छ । अझ त्यसमा आफूलाई अब्बल सावित गर्न विशेष मिहिनेत लाग्छ । धेरैले एकै क्षेत्रमा पनि कडा मिहिनेत गरेर सफलता हासिल गर्दैनन् । तर इशानले क्रिकेटको सर्वोच्च सफलताका रुपमा राष्ट्रिय टोलीमा स्थान बनाए र अहिले नेपालकै उत्कृष्टमध्यको काठमाडौं विश्वविद्यालयमा एमबीबीएस गर्दैछन् । यसका लागि इशानले निकै मिहिनेत गरेका छन् । दुवै क्षेत्रमा उनी सफलताको पथमा छन् । तर यो दोहोरो यात्रा सहज भने पक्कै छैन ।
नेपालमा क्रिकेटमा खेलेरै बाच्ने आधार अझै बनिसकेको छैन । फ्रेन्चाइज लिगले केहि सम्भावना देखाएपनि चटक्कै छाडेर क्रिकेटमै लाग्न कठिन छ । त्यसैले हरेक बाबु आमाको सपना छोरोछोरी पढेरै भविष्यमा राम्रो गरुन भन्ने हुन्छ । पछिल्लो समय नेपाली क्रिकेटले पाएको सफलताले अभिभावक केहि सकरात्मक छन् । तर क्यान आईसीसीको निलम्बनमा रहेको अवस्थामा निजी क्षेत्रले आयोजना गर्ने फ्रेन्चाइज लिगले नै नेपाली घरेलु क्रिकेट जनतन धानेको छ । यो दीर्घकालीन समाधान भने होइन ।
२०७२ वैशाखमा भुकम्प जानु झण्डै एक महिनाअघि स्याङ्जाका इशान एमबीबीएस पढ्न र क्रिकेट करिअरलाई अघि बढाउन भारतबाट नेपाल आएका थिए । केहि महिनापछि नेपाली यू१९ टोलीमा परे । त्यसको एक वर्षपछि सन् २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकपमा नेपाली टोलीमा स्थान बनाए । विश्वकपमा कुनै खेलमा पहिलो रोजाइमा नपरेका उनी विश्वकपपछि केहि समय क्रिकेटबाट टाढा जस्तै रहनु पर्यो ।
इशानसँगै विश्वकप टोलीमा रहेका सन्दीप लामिछाने, आरिफ शेख र दीपेन्द्रसिंह ऐरी अहिले नेपालका प्रमुख खेलाडीको रुपमा स्थापित भइसकेका छन् । ओपनर सुनिल धमला र विकेटकीपर राजु रिजालले सन् २०१७ मा डेब्यू गर्ने मौका पाएका थिए । अन्य सहकर्मी घरेलु र फे्रन्चाइज लिगमा व्यस्त रहे । तर इशान गायव जस्तै भए, जुन उनी मान्न तयार छैनन् । उनी आफूलाई गायब भएको भन्दापनि सहि समयको पर्खाइमा रहेको बताउँछन् । यू-१९ विश्वकपमा सहभागी भएको तीन वर्षपछि इशान सिनियर टोलीमा ओपनरको रुपमा सिंगापुर र ओमानमा हुने टि२० सिरिजको लागि नेपाली टोलीमा परेका छन् । बन्द प्रशिक्षणमा परेको पहिलो पटकमै उनी अन्तिम टोलीमा परेका हुन् ।
राष्ट्रिय टोलीमा लगातारको खराब ओपनिङ साझेदारी र उपकप्तान ज्ञानेन्द्र मल्ले व्यक्तिगत कारण देखाउँदै दुवै सिरिज नखेल्ने भएपछि इशानको राष्ट्रिय टोलीको यात्रा सहज बन्यो । बायाँ हाते उनको उपस्थितले नेपालको ब्याटिङ सन्तुलन बन्ने आशा गरिएको छ । नेपालले पछिल्लो समय प्रयोग गरेका ओपनरमा दिलिप नाथमात्रै बायाँ हातका थिए । त्यसअघि महबुब आलम पनि बायाँ हाते खेलाडी थिए । पछिल्लो एक वर्षमा इशानले राम्रो प्रर्दशन गरेका छन् । राष्ट्रिय टोलीमा परेका उनी हाल एमबीबीएस पहिलो वर्षमा अध्यनरत छन् ।
को हुन् इशान ?
शीर्षक्रमका बायाँ हाते ब्याट्सम्यान इशानको क्रिकेट करिअर भारतको हरिद्धारबाट सुरु भएको हो । इशान तीन वर्ष देखि नै एकेडेमीबाट हुर्केका क्रिकेटर हुन् । बुबा पुष्पराज र आमा पद्मा पाण्डेको कोखबाट पहिलो सन्तानको रुपमा स्याङ्जाको मालुंगामा जन्मिका हुन् । इशानको एक बहिनि छिन् । इशान सानै उमेरमा राम्रो शिक्षाको लागि बुबासँग भारत जानुपर्यो । भारतीय क्रिकेट वातावरणबाट इशान टाढा हुन सकेनन् । इशानलाई पहिलो पटक हातमा ब्याट समाउन सिकाउने दाई (ठूला बुबाका छोरा) हरि पाण्डे थिए । दाईसँग खेल्दै गर्दा इशानले क्रिकेटप्रति देखाएको रुचि र लगावले बुबाले तीन वर्षकै उमेरमा जिमखान क्रिकेट एकेडेमीका भर्ना गरिदिए ।
कति वर्षको उमेरमा भारत गएको भन्ने इशानलाई थाहा छैन । तीन वर्षको उमेर देखी क्रिकेट एकेडेमी गएको भन्ने याद छ । उनले दिल्लीमा क्रिकेटसँगै पढाईलाई पनि अघि बढाए । दिल्ली पब्लिक स्कुल हरिद्वारमा कक्षा १२ पढाई सकेपछि सन् २०१५ मा नेपाल फर्किए । उनी नेपाल आएको एक महिना नपुग्दै महाभुकम्प गएको थियो । काठमाडौं आएपछि इशान बुढानिलकण्ठमा हरि दाईसँगै बसे ।
काठमाडौं आउनुको उदेश्य क्रिकेट खेल्नु र एमबीबीएस पढ्नु थियो । एमबीबीएस पढ्नुको पछाडीको पनि बेग्लै कथा छ । रोजगारको सिलसिलामा लामो समय देखी भारतमा रहेका बुबा पुष्पराजको एउटा सपना छ । नेपालमा एउटा निशुल्क अस्पताल खोलेर गरिब र असहायको सेवा गर्ने । बुबाको उक्त सपनालाई सहयोग गर्न क्रिकेटसँगै डाक्टरी पढ्ने निर्णय लिएका हुन् ।
ग्रेट हिमालय क्रिकेट एकेडेमीमा भर्ना हुँदै पढाईसँगै क्रिकेटलाई पनि निरन्तरता दिए । इशान सन् २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकपको लागि नेपाली टोलीमा परे । तर सबै खेलमा बेन्चमा बसेर फर्किनु पर्यो । तर इशान आफ्नो लक्ष्यबाट विचलित भएनन् । क्रिकेट र पढाई दुबैलाई अघि बढाई रहे । पढाई र क्रिकेट दुबैलाई एकै पटक अघि बढाउन उनकोमात्रै मिहेनतले सम्भव थिएन । उनलाई यो स्थानसम्म पुर्याउन धेरैको हात रहेको छ । हरि पाण्डे,कलेजका सिनियर नविन यादव,अभिषेक श्रीवास्तवसँगै सागर शर्माको ठूलो साथ र सहयोग छ ।
अभिषेक र नविनले इशानलाई पढाईको चिन्ता नलिई क्रिकेटमै फोकस गर्न भन्थे । परिक्षा आएपछि आफ्नो पढाई छोडेर नविन र अभिषेकले इशानलाई रातभर पढाउने गरेको बताउछन् । दाईहरुको साथ र सहयोग नपाएको भए पढाई र क्रिकेट दुबै अघि बढाउन असम्भव रहेको इशान बताउँछन् इशान बन्द प्रशिक्षणमा पर्न के-के गर्नु पर्छ,कुन कुरा सिकउँछ भनेर बेला बेलामा आरिफ शेख लगायत अन्य खेलाडीलाई सोधबुझ गर्थे ।
आफ्नो मिहेनतको कारण नै टोलीमा परेको इशान बताउछन् । उनलाई टोलीमा पर्नु भन्दापनि आफ्नो प्रर्दशनले टोलीलाई जिताउन सके लक्ष्य पुरा हुने बताए । अब इशानलाई पढाइ र क्रिकेट रोज्नु पर्ने अवस्था आएमा सहजै क्रिकेट रोज्ने छन् । तर उनी त्यस्तो अवस्था नआवोस भन्नेमा छन् । हाल धुलिखेलमा रहेको काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्समा पहिलो वर्षमा अध्यनरत उनी नियमित क्रिकेट प्रशिक्षण भने ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण लिदै आएका छन् ।
‘पहिलो पटकमै बन्द प्रशिक्षणबाट सिनियर टोलीमा पर्दा एकदमै खुसी लागेको छ । पछिल्लो एक वर्षमा खेल राम्रो भएको थियो । बन्द प्रशिक्षणमा टोलीमा पर्छु वा पर्दिन भनेर चाहिँ खेलेको थिइन । मिहेनत गरिरहेको थिए र टोलीमा परे,’इशानले भने, ‘टिममा पर्नलाई मिहिनेत गरिरहेको थिएँ । बन्द प्रशिक्षणमा राम्रो पनि गरे र मौका पाएको छु ।’
इशान दीर्घकालीन सोच भन्दापनि खेलैपिच्छे योजना बनाउने बनाउने सुरमा छन् । ‘लामो समय सोचेभने मेरो पनि रिप्लेस गर्ने खेलाडी आउँछ । एक एक खेलमा राम्रो गर्दै अघि बढ्नेछु । कलेज र एकेडेमीमा सिनियर दाईको सहयोग विना यो सम्भव थिएन’,उनले थपे । इशानलाई परिवारबाट पनि राम्रो साथ छ । पढाई र क्रिकेट दुबैमा कडा मिहेनत गर्न भनेका छन् । जुन दिन पढाई र क्रिकेट मध्य एक रोज्नुुपर्ने अवस्था आउछ त्यहि बेला सोचौंला भन्ने घर परिवारको सल्लाह छ ।
केहि महिनाअघि प्रधानमन्त्री कपमा प्रदेश तीनबाट खेल्दा निकै फाइदा भएको उनले बताए । त्यसबेला राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले प्रदेशबाट खेल्ने निर्णय लिएका थिए । प्रदेशबाट खेल्दा नयाँ खेलाडीलाई उर्जा बढ्ने र उनीहरुलाई शीर्ष श्रेणी क्रिकेटमा माथि आउन प्रोत्साहन गर्ने त्यसबेला उपकप्तान मल्लले बताएका थिए । पारस र ज्ञानेन्द्रको लक्ष्य अनुसार नै इशानलाई निकै फाइदा पुगेको देखिन्छ । इशानको भनाइ मान्ने हो भने पारस र ज्ञानेन्द्रसँग ड्रेसिङ रुममा सिक्ने कुरा नेटमा एक वर्षसम्म सिकेर पनि पाउन नसकिने उनको बुझाई छ ।
इशानको प्रर्दशन
इशानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा सन् २०१५ मा अफगानिस्ताविरुद्ध खेलेका थिए । सन् २०१६ को यू१९ विश्वकप नेपाली टोलीमा परे । तर सबै खेलमा बेन्चमा बसेर फर्किनु पर्यो । यू१९ मा आफ्नो क्षमता देखाउने अवसर नपाएका इशानलाई फ्रेन्चाइज लिगमा टोलीले अक्सनमा खासै महत्व दिएनन् । स्वयं इशान पनि आफूले कतै प्रर्दशन नै नगरेपछि टोलीले अनुबन्ध गर्ने आधार नभएको जवाफ दिन्छन्।
यू१९ पछि आफु गायव नभएर आफ्नो क्षमता विकास गर्न तर्फै लागेको उनको तर्क छ । सन् २०१७ मा भएको पहिलो राष्ट्रिय प्रधानमन्त्री एकदिवसिय क्रिकेट प्रतियोगितामा मध्यमाअञ्चल क्षेत्रबाट शीर्षक्रमको ब्याट्सम्यानको रुपमा प्रतिनिधित्व गरे । तर प्रर्दशन कमजोर रह्यो । इशानले २ खेलमा ३१ रन जोडे । एपीएफसँग ७ र पश्चिमाञ्चल विकाश क्षेत्रबीरुद्ध २४ रन जोडेका थिए । दोस्रो संस्करणको पीएम कपमा प्रदेश ३ बाट खेलेका उनको प्रर्दशन पुन खराब रह्यो । प्रदेश ६ विरुद्ध २३ रन जोड्न बाहेक अन्य खेलमा दोहोरो अंकमा रन छुन सकेनन् ।
इशानले २०७४ मा त्रिभुवन विश्वविद्यालय टियु को ए टिमललाई युनिभर्सिटी क्रिकेट कप टि२० को उपाधि दिलाउन फाइनलमा डिएभी कलेजविरुद्ध ५७ रनको अर्धशतकीय इनिङ खेलेका थिए । प्रतियोगिताभर उत्कृष्ट प्रर्दशन गरेका इशान म्यान अफ द सिरिज समेत चुनिए । पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा शरद भेषवाकर कप्तान रहेको पोखरा पल्टनले इशान पाण्डेलाई नियुनतम मुल्य ३० हजारमा अनुबन्ध गरेको थियो । तर पुरै खेलमा बेन्चमा बस्नु पर्यो । उनले वैकल्पिक फिल्डरका रुपमा लिएको क्याच भने चर्चामा रहयो ।
गतवर्ष चितवन टाईगर्सले ईपीएलमा इशानलाई टोलीमा अनुुबन्ध गरेपनि कुनै खेलमा मौका दिएन । गत फागुनमा काठमाडौंमा भएको आठौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रदेश ३ छनोट स्तरीय खेलमा पनि इशानले राम्रो प्रर्दशन गरे । त्यस्तै गत चैतमा भएको कलेज प्रिमियर लिगमा पनि उनले राम्रै थियो । गत जेठमा प्रदेश ३ बाट प्रधानमन्त्री राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा गरेको प्रर्दशन उनको करिअरको निर्णायक रह्यो । तर इशान यसलाई नै करीअरको टर्निङ पोइन्ट मान्न तयार छैनन् । उनी करिअरको त्यस्तो ठिक टर्निङ पोइन्ट आइनसकेको बताए ।
प्रधानमन्त्री कपमा कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित प्रदेश ३ लाई सेमिफाइनल सम्म पुर्याउन इशानको प्रर्दशन महत्वपूर्ण थियो । पहिलो खेलमा एपीएफसँग १ रनमै बोल्ड आउट हुन पुगे । प्रदेश ५ विरुद्ध ३० बलमा समान १ चौका र छक्का सहित २१ रनमा नट आउट रहे । त्यस्तै गण्डकी प्रदेशविरुद्ध ४० बलमा ४ चौका सहित २६ रनमा अविजित रहे । सुदूरपश्चिम प्रदेशविरुद्ध ८४ बलमा ६ चौका सहित ५३ रनको अर्ध शतकीय इनिङ खेले । सेमिफाइनल खेलमा त्रिभुवन आर्मीविरुद्ध १ सय १७ बलमा ३ चौका र ४ छक्का सहित ७९ रनको इनिङले सबैको मन जित्न सफल भए ।
इशानलाई चुनौती नै चुनौती !
यर्थाथमा भन्ने हो भने इशान सिनियर टोलीमा परेपनि घरेलु क्रिकेटमा राम्रोसँग परिचित छैनन् । प्रमुख तीन फे्रन्चाइज लिग ईपीएल,डीपीएल र पीपीएलको तीन संस्करण सकिंदा उनको डेब्यू समेत भएको छैन । त्यसैले पनि उनको टि२० प्रर्दशन समर्थकले कमै देखेका छन् । इशानको खेल्ने शैली पनि वान डे प्रकारको देखिन्छ । आवश्यक परेको अवस्थामा इशान ठूला सटका लागि क्षमता राख्छन् । तर उनको प्रकृति संयमित भएर खेल्ने हो, जसका लागि उनले सुरुवाती समयमा क्रिजमा केहि समय बिताउने गर्दछन् ।
टि२० मा पावर प्लेमा ठूला सट र हरेक बलमा रन जोड्नुपर्ने हुनुपर्छ । टि२० मा एक डट बलले ठूलो प्रभाव र दबाब सृर्जना गर्ने हुँदा वान डे शैलीमा सफल देखिएका उनलाई टि२०मा सिद्ध गर्न पक्कै सहज हुने छैन । यद्यपि उनले प्रशिक्षणमा मिहिनेत गरेर आफूलाई टि-२० मै ढाल्न सक्छन् ।
नेपाली क्रिकेटको सर्वाधिक अस्थिर र ब्याट्सम्यानलाई टिक्न कठिन हुने पोजिसन नै ओपनिङ हो । पछिल्लो केहि वर्षमा नरेश बुढाएर, सुनिल धमला, दिलिप नाथ, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिल कुमार शाह, प्रदीप ऐरी, पारस खड्का, पवन सरार्फ लगायतका खेलाडी ओपनरका रुपमा प्रयोग गर्दा कसैले पनि सम्झनयोग्य प्रर्दशन गर्न सकेनन् । सिंगापुर र ओमानको सिरिजमा सम्भवत इशान पारसको जोडीको रुपमा मैदान उत्रने छन् । दुवै सिरिज अन्य देशको लागि विश्वकप छनोट तयारी हुँदा नेपालको लागि डिसेम्बरमा हुने सागको तयारी हुनेछ । दुई टेष्ट राष्ट्र जिम्बाबे र आयरल्यान्ड साथै नेदरल्यान्ड नेपाल भन्दा उपल्लो स्तरका टोेली हुन् । टेष्ट खेल्ने बलरको सामना गर्न पक्कै सहज हुने छैन ।
यस अवसर इशानले आफुलाई सिद्ध गर्न सके उनले नेपाली क्रिकेटमा लामो यात्रा तय गर्ने निश्चत छ । बायाँ हाते ब्याट्सम्यान हुँदा अझ अन्यको तुलनामा बढी प्राथमिकता पाउने छन् । तर खराब प्रर्दशन गरे पुन: टोलीमा मौका पाउन मुश्किल पर्ने छ । इशानको क्रिकेटप्रतिको लगाव र उनको मिहिनेतले सफलता मिल्ने धेरैले लख काटेका छन् ।
December 11, 2024
भुपेन्द्र जि.सी. लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ मा काठमाण्डु गुर्खाजसँग १८ रनले हार्दै प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बन्यो । लिगका ६ मध्य ५ खेल हारेपछि लुम्बिनी प्लेअफ दौडबाट बाहिरिएको हो । असोज तेस्रो साता काठमाडौंमा सम्पन्न अक्सनमा लुम्बिनी सबैभन्दा भाग्यमानी मानिएको थियो । अक्सनमा उच्च प्रतिस्पर्धापछि गोलाप्रथामा टोलीले ५ खेलाडी (ग्रेड ए […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]