default_image

5 years ago

September 20, 2019

क्रिकेटको ‘डीएनए’ हराएको क्यान

186 views

0 Bookmark

क्रियटिभ भ्वाइस

टीएस ठकुरी

‘इमानदारिता नै क्रिकेटको डीएनए हो ।’ अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) का पुर्व प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले क्रिकेट मैदानमा भइरहेको विकृतिलाई संकेत गर्दै केही बर्षअघि भनेका थिए , ‘पछिल्लो समयमा नकारात्मक व्यवहारहरु भइरहेका छन् । यसलाई रोक्न आवश्यक छ । अन्यथा क्रिकेटको साख जोगाउन सकिन्न ।’

विश्वमा क्रिकेटको साख जोगाउनका लागि आइसीसी कति गम्भीर र सचेत छ भन्ने यसले प्रस्ट पार्छ । आइसीसी मैदानभित्र मात्र हैन, मैदानबाहिरका खेलमा पनि निगरानी राख्छ । त्यहाँ पनि अनुशासन चाहन्छ । समग्र क्रिकेट शब्दप्रतिको आकर्षणलाई शिखरमा थामिराख्ने उसको ध्येय हुन्छ । प्रक्रिया र पद्धति विपरित जानेलाई आइसीसी पटक्कै रुचाउँदैन । कुनै पनि देशका सरकारको हस्तक्षेप पनि उ स्वीकार्दैन । क्रिकेटमार्फत संसारलाई एकठाउँमा ल्याउने आइसीसीको आफ्नै नियम छ, कानुन छ । एकहिसाबले उसको साम्राज्य भव्य छ, समृद्ध छ । त्यही भव्य साम्राज्य टिकाउन सबैलाई प्रक्रिया र पद्धतिमा हिंडाउनैपर्ने अनेक बाध्यता होलान्, आईसीसी त्यसमा अडिग छ, प्रतिवद्ध छ ।

निर्दिष्ट ऐन नियम पालना नगर्दा अमेरिका जस्तो संसारकै शक्तिशाली देशलाई प्रतिबन्ध लगाइदिएको छ । यसबाट पनि थाहा हुन्छ, आइसीसी आफ्नो मुल्य र मान्यतामा कदापी सम्झौता गर्दैन । भौगोलिक क्षेत्रफलका आधारमा उसले व्यवहार गर्दैन, शक्ति र पैसाका आडमा कसैलाई काखा वा पाखा गर्दैन । उसका अगाडि कुनै पनि देश ठुलो वा सानो छैन, सबै समान छन् ।

 

क्रिकेटप्रति जो इमानदार छन्, उनीहरु नै आईसीसीका नजरमा प्रिय हुन् । सायद, नेपाली क्रिकेटको लामो विरासत त्यही इमानदारितामा टिकेको थियो, आईसीसीले सामिप्यता देखाउनु पनि त्यही बचेखुचेको विरासत हो । साँच्चिकै भन्ने हो भने आईसीसीको नेपालप्रति अगाध स्नेह झल्किन्छ । तर, नेपाली क्रिकेटका अगुवाले नकारात्मक व्यवहारलाई निरन्तर प्रश्रय दिंदा पटक पटक चेतावनी दियो, त्यसलाई रोक्ने प्रयत्न नगर्दा अन्ततः निलम्बन गरिदिएको मात्र हो ।

क्यान निलम्बन गरेपनि खेलाडीलाई भने अवसरबाट कहिल्यै बञ्चित गरेन । नेपालले निरन्तर खेलिरहेको छ । तर यो सधैंका लागि सम्भव हुँदैन । देशभित्रको नियमनकारी र कार्यकारी निकाय चाहिन्छ, अर्थात क्यान चाहिन्छ । किनकी देशभित्रको गतिविधिले नै क्रिकेटको आकर्षण जोगाउने हो, प्रतिभाशाली खेलाडी जन्म दिने हो । त्यसका लागि नै क्यान आवश्यक हो ।

नेपाली क्रिकेट सात दशक बढीको यात्रा थुप्रै उतारचढाव पार गर्दै अहिलेको स्थितिमा आइपुगेको हो । भनिन्छ, राणा प्रधानमन्त्री चन्द्रशमसेरका कान्छा छोरा मदनशमसेरले नेपालमा सन् १९२० मा क्रिकेट सुरुवात गरेका थिए । सुरुमा राजा रजौटाहरुले मनोरञ्जनका रुपमा खेल्ने क्रिकेट राष्ट्रिय खेलकुद परिषद(राखेप)मा दर्ता हुँदासम्म उच्च वर्गीय हुनेखानेहरुको खेलका रुपमा लिइन्थ्यो । सन् १९४६ मा स्थापित क्रिकेट एसोसियसन अफ नेपाल सन् १९६१ मा आएर राष्ट्रिय खेलकुद परिषदमा दर्ता भयो । सन् १९९६ मा एसोसियट सदस्य भएसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको नेपाली क्रिकेटले सन् २०१८ मा एक दिवसीय क्रिकेटको मान्यता पाउँदासम्म ठुलो आरोह अवरोहबाट गुज्रिएको छ ।

नेपालमा जतिजति क्रिकेटको लोकप्रियता बढ्दै गयो, क्रिकेटको विकास र बिस्तार गर्नेभन्दा लाभ मात्र उठाउन खोज्न चाहने भिडले क्यान घेर्दै लग्यो । त्यसमाथि क्रिकेटमाथिको निर्लज्ज राजनीतिले क्यान निकम्मा बन्यो, खेल र खेलाडीको भाग्य भविष्य सुनिश्चित गर्नुपर्ने निकाय अनेक षडयन्त्र र तानाबानामा अल्झियो । यो सबै विकृति मौलाएको एक दशक यतै हो ।

जयकुमारनाथ साहले झण्डै ४२ बर्ष क्यानको नेतृत्व गरे । जनआन्दोलनपछि विनयराज पाण्डे क्यानको अध्यक्ष भए । तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला पाण्डेको नेतृत्वको समिति विघटन गरी राखेप सदस्यसचिव युवराज लामाले तत्कालीन माओवादीका वैकल्पिक केन्द्रीय सदस्य टंक लिम्बु (आङबुहाङ) लाई क्यानमा भित्राए । तदर्थ समितिको नेतृत्वमा आएको एक बर्षमै चितवन भेलाबाट लिम्बु क्यान अध्यक्ष निर्वाचित भए । नेतृत्व निर्वाचित थियो, तर त्यसमा भएको फिक्सिङ छरपस्ट थियो ।

क्रिकेटले पटक्कै नचिनेको लिम्बु नेतृत्वमा आएपछि नै विकृति विसंगति मौलाएको क्रिकेटका जानकारहरु बताउँछन् । लिम्बु आफैंमा क्रिकेटका लागि नौला थिए । उनी क्रिकेटमा अनभिज्ञ भएकै कारण निकटका व्यक्तिहरुले अध्यक्षको अधिकार दुरुपयोग गर्न थाले । क्यान स्पष्ट नीति र योजनाविहिन अवस्थामा पुग्यो । दलगत भागबन्डामा कार्यसमिति बनेका कारण सबैका आआफ्ना इच्छा र आकांक्षा थिए ।

तत्कालीन राजनैतिक शक्तिका हिसाबले माओवादीबाट लिम्बु अध्यक्ष भइसकेपछि कांग्रेसबाट चतुरबहादुर चन्द र एमालेका विनोद मैनालीलाई मिलाएर सन्तुलनको प्रयास गरियो । उनीहरु क्रिकेटको विकासभन्दा पनि दलगत अभिरुचिका कारण एकअर्कालाई सिध्याउने खेलमा लागिरहे ।

यसैबीच टंकलाई सफल बनाउने भन्दै अर्को समुह पनि देखा पर्यो । त्यो पनि आफ्ना आकांक्षा पुरा गर्न अध्यक्षलाई मोहरा बनाउन लागिरह्यो । चार बर्ष नयाँ उर्जा र प्रतियोगिताविहिन कलहमा सकियो । लिम्बुको अध्यक्षतामा बनेको चार बर्षे समिति पूर्णतः असफल भयो । आपसी द्वेष, कलह, झगडा, अख्तियारमा उजुरी, निलम्बन, जालझेलका श्रृंखलाले क्यानको जहाज डुब्यो ।

दश बर्षे सशस्त्र जनयुद्ध पृष्ठभुमि बोकेर आएका लिम्बु नेतृत्व क्षमतामा असफल बनेपनि नेपाली क्रिकेटले एकपछि अर्को अन्तर्राष्ट्रिय स्तरमा फड्को मारिरहेको थियो । त्यही आकर्षणले पनि राजनीतिक दल र नेताहरु क्यानलाई कब्जा गर्ने रणनीतिमा थिए । त्यसले क्यानलाई चरम राजनीतिमा फसाउँदै लग्यो । मनोमानी खर्च गर्ने, चरम अस्वस्थ र अपारदर्शीताले क्यानको दोस्रो निर्वाचनसम्म आइपुग्दा संस्था पुरै लथालिंग बन्यो । लिम्बुका सारथीहरु अर्कै समुहतिर लागे । क्यानका कामकारबाहीलाई अख्तियारले हस्तक्षेप गर्यो । नेपाली क्रिकेटका थुप्रै अनियमितताका विवाद बिशेष अदालतसम्म पुग्यो ।

त्यहींदेखि क्यानमा सुरु भएको विकृतिको उडान आजसम्म यथावत छ । यसलाई चिर्नु प्रमुख चुनौती छ । एक समय क्रिकेटको नेतृत्वमा आउन चाहेका रमेश सिलवाल यतिबेला चारबर्षका लागि समग्र खेलकुदको बागडोर सम्हालिरहेका छन् । उनले नेपाली क्रिकेटलाई नजिकबाट नियालेका छन् । तसर्थ यतिबेला निकास निकाल्ने सुवर्ण अवसर पनि हो । उनी राखेप सदस्यसचिव मात्र हैनन्, प्रधानमन्त्री केपी ओलीको प्रियपात्र पनि हुन् । तसर्थ उनको इमानदारी पहल पनि त्यत्तिकै जरुरी छ । उनको भुमिका अब बन्ने क्यानका लागि अवसर पनि हो ।

यही असोज १० र ११ गते निर्वाचनको तिथि तय गरिएको छ । यो निर्वाचनमा ‘क्रिकेट भए पो हामी रहन्छौं’ भन्नेहरु र ‘हामी नभए क्रिकेट के काम’ भन्नेहरुबिच भिडन्त हुने पक्कापक्की छ । त्यसमा क्रिकेटप्रति समर्पित व्यक्तित्व नै आजको आवश्यकता हो । त्यस्तो नेतृत्व जसले प्रायोजक आकर्षित गर्ने सामर्थ्य राख्छ, अन्तर्राष्ट्रिय सम्बन्ध विकास र बिस्तार गर्ने क्षमता राख्छ । जोसँग स्पष्ट मिसन र भिजन छ । अझ त्यो भन्दा बढ्ता जो इमानदार छ, भलादमी पहिचान छ ।

एक समय मध्यमवर्गीय मानिसहरु फुर्सदिला व्यक्तिले खेल्ने खेल भन्दै पछिसम्मै पनि क्रिकेटप्रति व्यंग्य गर्थे –‘मुर्खले खेल्ने, महामुर्खले हेर्ने खेल ।’तर रिचर्डसन यसमा सायद सहमत छैनन् । उनले विश्वलाई देखाउन चाहेको क्रिकेट खेल त्यस्तो होइन । त्यसैले त उनले भनेका छन् –‘भलादमीको खेल अर्थात क्रिकेटमा दर्शकहरु पनि इमानदारी र भलादमीपना देख्न चाहन्छन् ।’

सत्यता यही हो कि आम क्रिकेटप्रेमी नेपालीहरु यतिबेला क्यानमा इमानदार र भलादमी नेतृत्व खोजिरहेका छन् । क्रिकेटमा आफूलाई वर्षौंदेखि लागेको भन्नेहरु कस्तो नेतृत्व रोज्नेहुन्? त्यसका लागि भने असोज ११ सम्म पर्खनुपर्नेछ । तर, सबैको चाहना छ, सुझबुझ भएको, अन्तर्राष्ट्रिय समुदायमा पहिचान स्थापित भएको, प्रायोजक आकर्षित गर्नसक्ने र सरकारसँग संवाद गर्न सक्ने हैसियत स्थापित गरेको व्यक्तित्व । यो सबै जिम्मेवारी जिल्ला तथा प्रदेश प्रतिनिधिको विवेकमा । जय क्रिकेट, जय खेलकुद । सबैको जय होस ।

March 10, 2025

इन्डो–नेपाल क्रिकेट – बाहुनडाँगी सेमिफाइनलमा

हिमाल खरेल,मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टिट्वान्टी क्रिकेट प्रतियोगितामा आदर्श युवा क्लब बुधबारेलाई ४ विकेटले पराजित गर्दै आयोजक बाहुनडाँगी युवा क्लब सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको बुधबारेले १६.३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियोे । बुधबारेका लागि रिजन लिम्बू र अर्पण कार्कीले सर्वाधिक […]

March 10, 2025

पुलिसको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले जितबाट प्रतियोगिताको सुरूवात गरेको छ । पुलिसले लुम्बिनी प्रदेशलाई ८७ रनले हरायो । जितको लागि २ सय ५० रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटियो। लुम्बिनीले खराब सुरूवात गर्यो। दुई विकेट गुमाउँदा १६ रन बनाएको […]

March 10, 2025

किरणको शतकमा सुदुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्टिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले पहिलो जित हात पारेको छ । लमहीस्थित क्रिकेट मैदानमा सुदरले गण्डकी प्रदेशलाई ६ विकेटले हरायो । सुदरको जितमा किरण ठगुन्नाको अविजित सानदार शतक प्रमुख बन्यो । जितका लागि २ सय २१ रनको लक्ष्य पछाएको सुदरले ४३ ओभरमा ४ विकेट गुमाउँदै सहजै लक्ष्य पुरा गर्यो […]

Success

Thank you for your time.