6 years ago
February 18, 2019
सुबास हुमागाईं, काठमाडौं
नेपाली महिला राष्ट्रिय क्रिकेट टोली अहिले थाइल्याण्डमा छ । सोमबारदेखि सुरु भएको आईसीसी विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगितामा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । आयोजक थाईल्यान्ड प्रमुख दावेदार रहेको प्रतियोगिताले दुई विश्वकप प्रतियोगिताको बाटो खोल्नेछ । राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीमात्र अर्को चरणका लागि छनोट हुनेछ ।
पछिल्लो समय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा एक पछि अर्को सफलता हात पार्दा महिला क्रिकेटर भने मुकदर्शक मात्र बनिरहे । पुरुषतर्फ राष्ट्रिय टोलीले सफलता हात पार्दै जाँदा घरेलु क्रिकेट पनि चलायमान देखियो । क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहँदा निजि क्षेत्रले आफ्नै लगानीमा फ्रेन्चाइज लिग संचालन गरे । खेलाडीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा हात पारेको सफलताले ती लिग प्रभावकारी भएको प्रष्ट देखिन्छ ।
हरेक अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि फ्रेन्चाइज लिगका उत्कृष्ट खेलाडीहरु सामेल गरेर टोली निर्माण गरिएको थियो । सिनियर टोलीमात्र नभएर उमेर समूहका प्रतियोगितालाई पनि यस्ता फ्रेन्चाइज लिगले सहयोग पुर्याए । दुई वर्षअघि अत्तरियामा त्यसकै सिको गरेर एक महिला प्रतियोगिता पनि आयोजना भएको थियो । तर त्यसले निरन्तरता पाउन सकेन । केहि महिनाअघि कलैयामा पनि एक महिला प्रतियोगिता आयोजना गरियो । त्यसको निरन्तरताबारे अर्को संस्करण कुर्नेपर्ने स्थिति छ ।
नेपालले गत महिना मात्र थाईल्यान्डमा टि-२० स्म्यास प्रतियोगिता खेल्यो । फाइनलमा थाईल्यान्डसंग फराकिलो हार बेहोर्दै उपविजेतामा सिमित नेपाली टोलीले प्रतियोगिता दौरान भने प्रभावशाली प्रदर्शन गर्यो । टोलीको पहिलो रोजाइमा निकै प्रतिस्पर्धा पनि देखिन्थ्यो । विगतमा ब्याटिङमा समस्या देखिएको नेपाली टोलीले नियमित रुपमा राम्रो प्रदर्शन गर्यो । बलिङको धार यसैपनि राम्रो थियो नै । फाइनलमा भने टोली मानसिक रुपमा तयार नहुँदा पराजित हुन पुगेको टोलीमा संलग्न खेलाडी र प्रशिक्षकको धारणा थियो ।
थाईल्यान्डबाट फर्केपछि नेपाली टोली पुन: तयारीमा जुट्यो । विश्वकप छनोटलाई मुख्य लक्ष्य बनाएर टोलीले नियमित अभ्यास गरेको छ । टोलीका प्रशिक्षक विनोद दासले ब्याटिङको रणनीतिलाई विशेष ध्यान दिएका छन् । कुन समयमा कसरी खेल्ने भन्ने सोचको विकास गर्न प्रशिक्षक दासले धेरै समय खर्चेका छन् । नेपाली टोलीको बलिङ र फिल्डीङ भने विगतदेखि नै राम्रो रहँदै आएको छ ।
प्रशिक्षक विनोद दासले महिला क्रिकेटमा नेपाल मात्र नभएर अन्य राष्ट्र पनि एक्सपोजरको कमीका कारण नतिजा जतासुकै जान सक्ने बताउँछन् । ‘नेपाल मात्र होइन, अन्य राष्ट्रमा पनि एक्सपोजरको कमी छ । थाईल्यान्डले वर्षभरी नै टोलीलाई प्रशिक्षणमा राख्ने गर्छ । यूएई र हङकङ पनि राम्रो तयारीका साथ आउँछन् । हामीले यस्ता टोलीविरुद्ध कुनै मौका दिनुहुन्,’ उनले भने, ‘फिल्डीङमा रन बचाउने त छँदै छ, स्कोर गर्ने अवसरको भरपुर फाइदा उठाउन जरूरी छ । विपक्षीलाई दबाबमा राख्नेबितिकै खेल आफ्नो पक्षमा पार्न हामी तयार हुनुपर्छ ।’
नेपालले टि-२० स्म्यासको फाइनल बाहेकका खेलमा सहज जित दर्ता गरेको थियो । ब्याटिङमा लगातार १ सय रनको आँकडा पार गरेको नेपालले कमजोर टोलीहरुलाई सस्तो योगफलमा समेटेको थियो । त्यसै लयलाई मंगलबार पहिलो खेलमा मलेसियाविरुद्ध पनि जारी राख्नु नेपालको लागि आवश्यक छ । त्यसो त कागजमा नेपाल मलेसियाभन्दा बलियो टोली हो । तर प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीमात्र छनोटमा अगाडी बढ्ने हुनाले अन्त्यसम्म रनरेटले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।
टोलीकी कप्तान रुविना क्षेत्री बेलबसे राष्ट्रिय टोलीले केहि राम्रो नतिजा ल्याएमात्र घरेलु क्रिकेटमा महिलातर्फ पनि निजि क्षेत्रको नजर पर्ने बताउँछिन् । ‘ हाम्रो लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । जबसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो नतिजा ल्याउन सकिंदैन हाम्रो देशमा राम्रो अवसर पाउन कठिन छ । त्यसैले हामी नकारात्मक सोच हटाएर आत्मविश्वासी बनेर प्रशिक्षण गरिरहेका छौं,’ उनले भनिन्, ‘ हामीले यस प्रतियोगिताबाट टि-२० मात्र नभएर ५० ओभरको मान्यता पनि प्राप्त गर्नेछौं । त्यसैले पनि भविष्यका लागि यसले धेरै महत्त्व बोकेको छ ।’
नेपालले यस प्रतियोगिताको शीर्ष स्थानमा रहे सन् २०२० मा हुने टि-२० विश्वकप र सन् २०२१ मा हुने एकदिवसीय विश्वकपको अन्तिम छनोटमा स्थान बनाउनेछ । नेपाली महिला क्रिकेटले पछिल्लो साता दुई घरेलू फ्रेन्चाइज लिग प्रतियोगिता पायो । क्विन्स इभेन्ट म्यानेजमेन्टले ‘वुमन्स क्रिकेट लिग’ (डब्लूसीएल) घोषणा गरेको भोलिपल्टै एनसीएलले वुमन्स टि-२० क्रिकेट लिगको आयोजना घोषणा गर्यो । चैत्र पहिलो साताबाट विराटनगरमा हुने वुमन्स टि-२० मा ४ टोलीले खेल्नेछन् भने डब्लूसीएलमा ५ टोलीको सहभागिता रहनेछ । डब्लूसीएल चैत तेस्रो साताबाट सुरु हुनेछ ।
वर्षभर शान्त रहने महिला क्रिकेटका दुई ठूला प्रतियोगिता केहि साताको अन्तर हुँदैछ । केहि प्रतियोगिता नभएको अवस्थामा एक्कासी दुई प्रतियोगिता खेल्न पाउनु भने खेल र खेलाडीको लागि सुखद पक्ष हो । तर यी दुई प्रतियोगितामा केहि समयअन्तर हुँदा खेलाडीहरुलाई पनि दिर्घकालिन रुपमा सहज नै हुन्छ । दुवै पक्षका आयोजकले यसबारे सोच्न जरुरि छ ।
राष्ट्रिय टोलीका खेलाडी थाईल्यान्ड प्रस्थान गर्ने क्रममा बिदाईको बेलामा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले महिला खेलाडीलाई पनि तलबको लागि पहल गर्ने आश्वासन दिएका छन् । पुरुष क्रिकेट टोलीले उनकै पहलमा आईसीसी मार्फत तलब पाउने प्रक्रिया सफल हुँदा विष्टले महिलाको पनि सक्दो प्रयास गर्ने बताएका छन् ।
महिला क्रिकेट टोलीले अब थाईल्यान्डमा अपेक्षित नतिजा हासिल गरे आउने केहि वर्ष पुरुष क्रिकेटजस्तै महिला क्रिकेटक लागि पनि उत्तम समय हुने देखिन्छ । एक प्रतियोगिता र दुई वटा विश्वकप छनोट राम्रो पद्दति नभएपनि यसको उपयोग गर्न सकेको खण्डमा नेपाली महिला क्रिकेटले छलाङ मार्ने पक्का छ ।
नेपाली टोली :
रुविना क्षेत्री वेलवासे (कप्तान)
सीता रानामगर (उपकप्तान)
करुणा भण्डारी
सरिता मगर
नेरी थापा
इन्दु बर्मा
सोनु खड्का
आरती बिडारी
काजल श्रेष्ठ
रोमा थापा
कबिता कुवँर
अप्सरी बेगम
ममता कुमारी चौधरी
बिन्दु रावल
मुख्य प्रशिक्षकः बिनोद दास
सहायक प्रशिक्षकःनिरा राजोपाध्याय
म्यानेजरः अमृता पौडेल
फिजियो: सकुना डानी
वैकल्पिक खेलाडी:
रितु कुमारी कनौजिया
सुमन विष्ट
अन्जली चन्द
डोली भट्ट
नेपालको खेल तालिका :
फेब्रुअरी १९ नेपाल विरुद्ध मलेसिया बिहान ८:४५ बजे
फेब्रुअरी २१ थाइल्यान्ड विरुद्ध नेपाल बिहान ८:४५ बजे
फेब्रुअरी २२ युएई विरुद्ध नेपाल बिहान ८:४५ बजे
फेब्रुअरी २४ नेपाल विरुद्ध हङकङ दिउसो १२:४५ बजे
फेब्रुअरी २५ चीन विरुद्ध नेपाल दिउसो १२:४५ बजे
फेब्रुअरी २७ नेपाल विरुद्ध कुवेत बिहान ८:४५ बजे
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]