3 hours ago
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ ।
च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे । ओडिआई करियरको ५१औं शतक विराटले १ सय ११ बलमा पूरा गरे ।
कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर १ सय १४ रनको साझेदारी गरे । अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे ।
शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ ।
त्यसअघि युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमा समेटियो ।
पाकिस्तानका लागि सउद सकिलले सर्वाधिक ६२ रन जोडे । उनले ७६ बलमा ५ चौका प्रहार गरे । सकिलले तेस्रो विकेटका लागि कप्तान मोहम्मद रिजवानसँग १ सय ४ रनको साझेदारी गरे । कप्तान रिजवानले ७७ बलमा ३ चौकाको सहयोगमा ४६ रन जोडे ।
खुसदिल साह ३९ बलमा ३८ तथा ओपनर बाबर अजाम २३ रनमा आउट भए । अर्का ओपनर इमाम उल हक १० तथा नसिम साह १४ रनमा आउट भए । शाहिन शाह अफ्रिदी रनको खाता नखोल्दै आउट हुँदा हरिस रउफले ८ रन जोडे ।
पाकिस्तानले १ सय ५१ रनमा २ विकेट गुमाएकोमा ९० रन जोड्दा बाँकी रहेको ८ विकेट गुमाएको थियो । पछिल्लो ५ ओभरमा पाकिस्तानले ३३ रन जोड्दा ३ विकेट गुमायो ।
भारतका लागि कुलदिप यादवले ३, हार्दिक पाण्ड्याले २ तथा हर्षित राना, अक्षर पटेल र रविन्द्र जडेजाले समान १ विकेट लिए । जितसँगै भारत दुई खेलमा अपराजित रहँदै ४ अंकका साथ समूह ‘ए’ को शीर्ष स्थानमा छ । पाकिस्तान २ खेलमा अंकबिहीन रहँदै समूह ‘ए’ को पुछारमा छ ।
पहिलो खेलमा न्युजिल्याण्डसँग फराकिलो अन्तरले पराजित भएको पाकिस्तान अर्को हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
पहिलो खेलमा बंगलादेशलाई हराएको भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल नजिक पुगेको छ ।
दुई वर्षअघि भारतमा आयोजना भएको ओडिआई विश्व कपको शीर्ष ८ टोली च्याम्पियन्स ट्रफीमा खेल्दैछन् । सहभागी टोली दुई समूहमा विभाजन गरिएको छ । पाकिस्तान, भारत, बंगलादेश तथा न्युजिल्याण्ड समूह ‘ए’ मा छन् ।
अस्ट्रेलिया, अफगानिस्तान, इङ्ग्ल्याण्ड र दक्षिण अफ्रिका समूह ‘बी’ मा छन् । समूहका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । फाइनल फागुन २५ गते (९ मार्च) हुनेछ ।
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफी २०२५ को दोस्रो राउण्डको पहिलो खेलमा भारत र पाकिस्तान भिड्दै छन् । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ […]