2 hours ago
February 5, 2025
भुपेन्द्र जि.सी.
नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो ।
मोन्टीको प्रशिक्षणमा नेपालले उत्कृष्ट नतिजा निकाल्यो । अझ त्यसको सुरुवात त जादुमयी नै भन्नलायक थियो । उनको नियुक्तिको समयमा नेपालले आशा मारेको ओडीआई मान्यतालाई निरन्तरता मात्र दिएन, विश्वकप छनोटमा नै स्थान बनायो । त्यसपछि एसिया कप र दशकपछि टि२० विश्वकप पुग्नुले नेपाली क्रिकेटको माहोल नै फेरेको थियो ।
स्वदेश मात्रै होईन, विदेश र ठूला टेस्ट टोलीले हेर्ने नजरमै फरक ल्याएका थिए । विश्व क्रिकेटको ध्यान नेपालमा खिच्न सफल भएका थिए । त्यसैले उनलाई सफल प्रशिक्षक मानिन्छ । रोय डायस, पुबुदु दासानायकेपछि फरक माहोल ल्याउन सफल प्रशिक्षक समेत थिए, त्यो पनि अन्य दुईको तुलनामा निकै कम समयमा । तर पनि क्यानले उनलाई बिदा गर्ने कठोर निर्णय लियो ।
ओडिआाई मान्यता निरन्तरता सम्भव नदेखेपछि आफ्नो छवि बचाउन राजीनामा दिएर पुबुदु दासानायके क्यानडा लागेका थिए । त्यसपछि आएका भारतीय प्रशिक्षक मनोज प्रभाकरले टोली झनै भद्रगोल बनाएपछि क्यानले उनलाई हटाउनु परेको थियो । २०७९ माघ १४ मा आधिकारीक नियुक्ति विना नै नेपाल आएका मोन्टीले अर्को दिनबाट टीयुमा प्रशिक्षण थालेका थिए । आईसीसी विश्वकप लिग २ आउन दुई हप्ता मात्रै बाँकी हुँदा अन्य कुनै विकल्प नै उनीसँग थिएन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङलाई उनी निकट वर्तमान कार्य समितिकै क्यानका केही पदाधिकारीले उचालेपछि नियत नै राखेर मोन्टीको नियुक्ति प्रक्रिया ढिलो गरिएको थियो । तर नेपाली क्रिकेट समर्थकको दबाब र टिममा आवश्यकता देखेपछि नियुक्ति प्रक्रिया अघि बढ्यो थिए ।
नेपाल आएको एक हप्तापछि मात्रै क्यानले उनलाई सार्वजनिक रुपमा प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले नेपालको बागडोर सम्हाल्नु अघि लिग २ मा नेपालले २४ खेलमा ८ मा मात्रै जितेको थियो । ओडीआई बचाउन अन्तिम १२ मध्य ९ जित्नुपर्ने थियो । लगातार खराब प्रदर्शन गरेको नेपाली टोलीमा कमैले विश्वास राखेका थिए ।
उनी आएको दुई हप्तापछि नेपालले आईसीसी विश्वकप लिग २ मा स्कटल्यान्ड र नामिबियासँग टीयु क्रिकेट मैदानमा खेल्दै सुरुवात गरेको थियो । पहिलो खेलमै नामिबियाले दिएको दिएको २ सय ८६ रनको लक्ष्य पूरा गर्दै सानदार सुरुवात गरेको थियो । नेपालले २०१९ मा युएईविरुद्ध २ सय ५५ रनपछि पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो । उक्त जितले नेपालले राम्रो मोमेन्ट पायो ।
त्यसपछि त नेपालले एकपछि अर्को जादुमयी नतिजा निकाल्यो । कमजोर मानिने ब्याटिङ हतियार बन्यो । अर्को खेलमा लिग २ च्याम्पियन बनिसकेको स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य पूरा गर्न सफल भयो । नामिबियाले दिएको २ सय ७५ र स्कटल्यान्डले २ सय १३ रनको लक्ष्य पूरा गर्दै ओडीआईमा बचाउने आशा जगाएको थियो । अनि मोन्टीको हाइहाइ सुरु भएको थियो ।
नहोस् पनि किन दुई बलिया टोलीविरुद्ध नेपालले अपेक्षा विपरित उत्कृष्ट ब्याटिङ गर्न सफल भएको थियो । त्यसअघि नेपाल लिग २ मा दुई सय रन पूरा गर्न संघर्ष गर्दै आएको थियो ।
फेब्रुअरी अन्तिम साता नेपाल लिग २ खेल्न युएई गएको थियो । पपुवा न्युगिनी र युएईविरुद्ध उक्त लिग २ मा नेपालले चार मध्य तीन खेल जितेको थियो । त्यसपछि घरेलु मैदानमा मार्च दोस्रो साता युएई र पपुवा न्युगिनीविरुद्ध सुरुवाती दुई खेल जित्दै ओडीआई बचाएको थियो ।
अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउनेक्रममा ४४ ओभरमा २६९-६ को अवस्थामा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले विजयी हुँदै विश्वकप छनोटमा पुगेको थियो । अन्तिम खेलमा नेपाली फ्यानको उपस्थीति टियुमा देखेर मोन्टी निकै भावुक समेत बनेका थिए ।
अन्तिम १२ मध्य ११ खेल जित्नु आफैंमा मिराकल थियो । ब्याटिङमा खेलाडीमा एकाएक परिवर्तन आएको थियो । सबैले मोन्टीलाई श्रेय दिएका थिए । ठूलो योगफल बनाउन, पछ्याउन, ब्याटरहरुले ठूलो इनिङ, साझेदारीमा विकास, खेलाडीले आफ्नो भूमिका अनुसार प्रदर्शन गर्न सफल भएका थिए ।
त्यसपछि अप्रिलमा टीयु र मुलपानीमा भएको एसीसी प्रिमियर कपको फाइनलमा युएईलाई ७ विकेटले हराउँदै एसिया कपमा स्थान पक्का गर्यो । एकपछि अर्को नतिजाले धेरैले मोन्टीले नेपाली क्रिकेटमा लामो यात्रा तय गर्ने अनुमान गरेका थिए । अझ कतिले त टेस्ट मान्यता दिलाउने सम्म आशा राख्न थालेका थिए ।
जुनमा आईसीसी विश्वकप एकदिवसीय छनोटमा पहिलो खेलमै जिम्बावेविरुद्ध २ सय ९० रन बनाउँदै विश्वक्रिकेटमा थप चर्चा कमाएको थियो । दुर्भाग्य त्यसै खेलमा कुशल भुर्तेल ९९ रनमा बोल्ड भए । अन्तर्राष्ट्रिय क्रिकेटमा भ्याइनभ्याई भएको नेपालले एसिया कपमा डेब्यु गर्दै पहिलो पटक भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्यो ।
त्यसपछि नोभेम्बर ३ मा मुलपानीमा युएईलाई आईसीसी टी२० विश्वकप एसिया क्षेत्रको सेमिफाइनलमा ८ विकेटले हराउँदै २०१४ पछि विश्वकपमा स्थान बनाएको थियो । २०२४ को विश्वकपमा नेपाल जितविहीन बनेपनि बंगलादेश र दक्षिण अफ्रिकाविरुद्ध प्रदर्शन भने निकै तारिफ योग्य थियो । मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेटमा आएका मुख्य परिवर्तन ।
टोलीको गुट अन्त्य
नेपाली क्रिकेटमा सबैभन्दा ठूलो समस्याको रुपमा मानिएको गुटलाई मोन्टीले लगाम लगाउन सफल भएका थिए । एकपछि अर्को सफलता निक्लनुमा टोलीको एकता निकै महत्वपूर्ण थियो । सधैं सकरात्मक सोच राख्ने मोन्टीले टोलीमा गुट उत्पन्न हुन दिएनन् । उनको कार्यकालको सफलता मानिन्छ । उनले ह्यापी ड्रेसिङ रुमको मन्त्र आत्मसात गर्दै टोलीमा सकारात्मक परिवर्तन ल्याएका थिए ।
अस्थिर टोली अन्त्य
नेपालले मोन्टी आउनु अघि टोलीमा निरन्तर खेलाडी परिवर्तन गर्दै आएको थियो । केही बाहेक अन्य खेलाडीले एउटा सिरिजमा राम्रो गर्न नसके टोली बाहिर हुनुपर्ने समस्या थियो । तर मोन्टीले निरन्तर एउटै टोलीमा विश्वास गरे । एउटा सिरिज नराम्रो खेल्दामा बाहिर गरेनन् । यस्ले खेलाडीमा आत्माविश्वास बढ्यो । कुशल मल्ल र गुल्सन झाको सानदार प्रदर्शन त्यस्को मुख्य कारण हो ।
ब्याटिङमा सुधार
नेपालले लगातार खराब प्रदर्शन गर्नुमा कमजोर ब्याटिङ मुख्य कारण थियो । तर उनको आगमनमा ब्याटिङमा ब्याकप सुधार गर्यो । २०१८ मा ओडीआई मान्यता पाएको नेपालले ७३ खेल खेल्दा कुल १४ पटक २ सय ५० कटाएको छ । जस्मा १० इनिङ मोन्टीको प्रशिक्षणमा थियो । २०२३ सेप्टेम्बरमा नेपालले टी२० आईमा मंगलोलियाविरुद्ध ३१४ रन बनायो । पुरुष टी२० इतिहासमा ३ सय माथि रन बनाउने नेपाल पहिलो टोली बन्यो ।
ओडीआईमा बनेका कुल ८ शतक मध्य ५ मोन्टीको कार्यकालमा रह्यो । ओडीआईमा बनेका तीन १५० माथिको साझेदारी पनि उनकै कार्यकालमा रहे । मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि कुशल मल्ल र रोहितबीचको १९३ रनको साझेदारी कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
ठूला टोलीविरुद्ध प्रतिस्पर्धा
देशाइको आगमन अघि ठूला टोलीविरुद्ध नेपालको प्रदर्शन कमजोर हुने गर्दथ्यो । तर मोन्टीले ‘वान बल ब्याटल’ (हरेक बलको युद्ध) नारा नै लिए । उक्त नारा अनुसार खेल्न थाले । विश्वकप छनोटमा जिम्बावे, आयरल्यान्ड तथा एसिया कपमा भारतविरुद्ध २३० रन र विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेश राम्रो उदाहरण हुन् ।
विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिकालाई ११५ रनमा राकेपनि अन्तिम दुई बलमा दुई रन बनाउन नसक्दा हारेको थियो । बंगलादेशलाई पनि १०६ रनमा अल आउट गरेपनि कमजोर ब्याटिङकै कारण हार्न पुगेको थियो । ठूला टोलीविरुद्ध पनि नेपाल खेल्न सक्छ भन्ने राम्रो उदाहरण प्रस्तुत गर्न सफल भयो ।
राम्रो गर्ने खेलाडीलाई पुरस्कार
मोन्टीले ह्याप्पी ड्रेसिङ रुमको अवधारणा अनुसार प्रत्येक खेलमा राम्रो गर्ने खेलाडीलाई अवार्ड दिन थाले । जसले खेलाडीमा आन्तरिक प्रतिस्पर्धा बढायो । एसिया कपमा नेपाली खेलाडीलाई यही मेडल लगाइदिन विराट कोहली, हार्दिक पान्ड्या र राहुल द्रविड पनि आएका थिए ।
ब्याकअप खेलाडीमा विश्वास
मोन्टीले ब्याकअप खेलाडीलाई टिमै राखेर विकासको अवधारणा लिए । प्रतिश जि.सी. र मौशम ढकाल प्लेइङ ११ मा अट्न नसकेपनि अन्तिम १५ मा टोलीसँगै रहेका थिए ।
खराब पछिल्लो वर्ष
मोन्टीको २०२४ नतिजाको रुपमा भने राम्रो हुन सकेन । आईसीसी टी२० विश्वकपमा नेपाल जितविहीन बन्यो । श्रीलंकासँग वर्षाको कारण अंक बाड्दा, नेदरल्यान्ड्ससँग १०६ रनमा अल आउट हुँदै ६ विकेटको हार, दक्षिण अफ्रिकाविरुद्ध ११६ रन बनाउन नसक्दा १ रनले पराजित र बंगलादेशविरुद्ध १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा ८५ रनमा अल आउट भएको थियो ।
विश्वकपमा जितविहीन बनेपछि क्यानको बोर्ड बैठकमा मोन्टीको भुमिका लिएर प्रश्न उठेको थियो । त्यति मात्रै होइन आईसीसी विश्वकप लिग २ मा १२ मध्य १० खेलमा हार्न पुगेको छ । त्यसैले नेपालको ओडीआई मान्यता केही जोखिममा परेको छ ।
ओडीआईका प्रमुख खेलाडी आरिफ शेखलाई फेब्रुअरीमा नेदरल्यान्ड् र नामिवियाविरुद्ध लिग २ मा टीयुमा चार मध्य तीन खेलमा बाहिर गरेका थिए । त्यसपछि गत सेप्टेम्बरमा पनि क्यानडा र ओमानविरुद्ध २ खेलमा बाहिर गरेका थिए । क्यानडा भ्रमणमा दीपेन्द्रलाई पनि पहिलो खेलबाट बाहिर गरेका थिए ।
पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले ब्याटिङमा पनि राम्रो गर्न सकेको छैन । एसीसी प्रिमियर कपमा कमजोर प्रदर्शनका साथ एसिया कपमा पुग्न असफल भयो । पछिल्लो समय एकपछि अर्को हार व्यहोर्न थालेपछि मोन्टीको सम्झौता कठिन बनेको थियो ।
आवश्यकता भन्दा बढी विश्वास बन्यो घातक
मोन्टी आएदेखि नै १५-२० खेलाडीमा केन्द्रित रहे । एकै टिममा विश्वास राखे । अन्तिम १५ मा एक दुई फेर बदल भएपनि प्लेइङ ११ विरलै परिवर्तन हुन्थ्यो । पछिल्लो समय सिनियर टोलीमा चार पाँच खेलाडीको प्रदर्शन निरन्तर कमजोर रह्यो । मोन्टीले उनलाई ड्रप गर्नुको सट्टा फरक भूमिकामा निरन्तर खेलाई राखे । मोन्टीको उक्त निर्णयबाट सिनियर टोलीकै केही खेलाडी खुसी थिएनन् ।
सुरुवातमा पाएको सफलतापछि मोन्टीमा बढी नै विश्वास देखिएको केही क्रिकेट जानकार बताउथे । त्यसैले उनले छनोटकर्ता र क्यानका प्रमुख पदाधिकारीको खासै सुन्दैन थिए । आईसीसी टी२० विश्वकप २०२४ को टिम छनोटलाई लिएर क्यान र मोन्टीबीच मनमुटाव आएको थियो । गत वैशाखमा टी२० विश्वकप खेल्नुअघि अन्तिम तयारीको रुपमा रहेको वेष्टइण्डिज ए विरुद्ध पाँच टी२० सिरिजमा केही खेलाडी परेका थिएनन् ।
त्यसैले मोन्टी, कप्तान र क्यान पदाधिकारीबीच रातारात बैठक बस्दै कमलसिंह ऐरी, सागर ढकाल, विनोद भण्डारी र लोकेश बम टोलीमा थपिएका थिए । कमल र सागर त विश्वकपको अन्तिम टोलीमै अटाए । मोन्टीको निर्णयमा क्यानले हस्तक्षेप गर्न थालेपछि सम्बन्ध थप चिसिएको चर्चा क्रिकेट वृत्तमा छ ।
टि२० विश्वकप, लिग २ र एसिसी प्रिमियर कपमा खराब लयका खेलाडीलाई बाहिर गरेको भए नतिजा फरक आउन सक्ने क्यानका पदाधिकारीको समिक्षा थियो । विश्वकपछि क्यान पदाधिकारीबीच असन्तुष्टिकै कारण नेपालमा उनको लामो साझेदारी नहुने संकेत देखिएको थियो ।
टोलीको नतिजा भन्दा पनि आफू नभएमा यी खेलाडीको भविष्य के हुनेमा पछिल्लो समय मोन्टी बढी चिन्तित भएको एक खेलाडी बताउँछन् । अन्त्यमा सिमित खेलाडीमा मात्र भर परेर नतिजा निकाल्न नसक्नु नै मोन्टीको सम्झौता नवीकरण नहुनुको एक कारण बन्यो ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]
February 4, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लोकेश बमको अर्धशतक सहयोगमा डिसिए धनगढीले अर्जुन ट्रफीमा दोस्रो जित हासिल गरेको छ । मंगलवारको दोस्रो खेमा बोष्टन क्रिकेट झापालाई ५ रनले हराउँदै डिसिएले सेमिफाईनलको सम्भावना बलियो बनाएको छ । बोष्टन भने लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । धनगढीले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको बोष्टनले निर्धारित २० […]