1 month ago
January 15, 2025
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीले २ वर्षअघि मोन्टि देशाइलाई मुख्य प्रशिक्षकको रुपमा पाएको थियो । ओडीआई मान्यता नै गुम्ने खतरा बढेको अवस्थामा जोखिम लिएर नेपाल आएका मोन्टिले छोटो समयमा नै आफ्नो प्रभाव जमाएर नेपालको ओडीआई मान्यता मात्र जोगाएनन्, लिग-२ को पुछारनजिकबाट तेस्रो स्थानसम्म उकाले ।
मोन्टिको नियुक्ति भएको २ वर्ष बित्दा नेपालको ब्याटिङमा सुधार देखिएको छ । विश्वकप छनोटमा टेस्ट राष्ट्र वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्यान्डसँग राम्रो प्रदर्शन गरेको नेपालले एसिया कपमा छनोट हुँदै भारत र पाकिस्तानसँग पनि प्रतिस्पर्धा गर्यो । नेपालले टि२० विश्वकपमा दोस्रो पटक छनोट हुँदै अर्को इतिहास रच्यो । तर विश्वकपमा दक्षिण अफ्रीका र बंगलादेशविरुद्ध निकै लो स्कोरिंग खेलमा पराजित हुँदा भने नेपाल अविश्वसनीय नतिजा निकाल्नबाट बन्चित भयो ।
प्रशिक्षक देशाइको सम्झौता नविकरण हुने-नहुने चर्चा चलिरहेको समयमा क्यानले बुधबार २० युवा ब्याटरलाई देशाइको विशेष ‘ब्याटिङ क्लिनिक’ कार्यक्रम गर्ने निर्णय गरेको छ । सिनियर टोलीबाहिर रहेका युवा ब्याटरले देशाइसँगको समय निकै फलदायी हुने अपेक्षा गर्न सकिन्छ । यसअघि वेस्ट इन्डिजको सिनियर टोलीको ब्याटिङ कन्सल्टेन्ट रहिसकेका देशाइले क्यानडा र यूएईको राष्ट्रिय टोलीमा पनि काम गरेका छन् । उनले आइपिएलको राजस्थान रोयल्स र गुजरात लायन्समा पनि आवद्ध रहेका थिए ।
समग्रमा नेपालले देशाइको आगमनपछि ब्याटिङमा सुधार गरेको प्रष्ट पार्ने आधारहरु यसप्रकार छन्:
ओडीआई नतिजामा आएको सुधार
नेपालले मोन्टि देशाइको आगमनपछि खेलेको ३६ मध्य २० खेलमा जित दर्ता गर्यो । अन्य १५ खेलमा हार बेहोर्दा १ खेल नतिजाविहिन रहेको थियो । देशाइ अघि नेपालले खेलेका ३७ खेलमध्य १५ खेलमा मात्र जित हासिल गरेको थियो ।
नेपालले देशाइको आगमनसँगै लगातार ५ खेल जितेको थियो । त्यस समय लिग-२ का १२ मध्य ११ खेल जित्दै नेपालले ओडीआइ मान्यता गुमाउने संघारबाट शीर्ष ३ मा पुग्दै सिधै विश्वकप छनोट खेल्ने अवसर पाएको थियो ।
नेपाल देशाइको नेतृत्वमा गत संस्करणको लिग २ विजेता स्कटल्याण्डविरुद्ध अपराजित रह्यो । घरेलु मैदानमा खेलेको दुवै खेल जितेको नेपालले यसै वर्ष अमेरिकाको डालासमा भएको खेलमा पनि स्कटल्यान्डलाई पराजित गर्यो । त्यहीं भएको अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो ।
नेपालले बेहोरेको १५ हारमध्य ५ खेल टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, वेस्ट इन्डिज, आयरल्याण्ड र जिम्बाब्वेसँग रहेको थियो । भारत, आयरल्यान्ड, जिम्बाब्वे र वेस्ट इन्डिजविरुद्ध हारका बाबजुद २ सय ३० रनको आँकडा भने पार गरेको थियो ।
अमेरिकासँग उसको घरेलु मैदानमा दुवै खेल हारेको नेपालले नामिबियासँग नयाँ सिजनमा दुवै खेल हार बेहोरेको थियो । नेदरल्यान्ड्सलाई एक खेलमा हराएको नेपालले दोस्रो खेलमा भने हार बेहोर्यो । समग्रमा नेपालले लिग-२ को नयाँ सिजनको सुरुवाती २ सिरिजमा खराब नतिजा निकाल्दा प्रश्न खडा भएको हो । तर दुवै पटक नेपाल टि२० क्रिकेटलाई केन्द्रमा राखेर पुनरागमन गर्दा नतिजामा असर परेको देखिन्छ ।
ओडीआई टिम ब्याटिङमा कायापलट
देशाइले नेपालको नेतृत्व लिएपछि नेपालको टिम ब्याटिङमा कायापलट नै भएको छ । देशाइको आगमनअघि नेपालको प्रति विकेट औसत २१.८२ रन रहेको थियो । उनको आगमनपछि यो बढेर प्रति विकेट २७.६५ रनमा पुगेको छ । यसले नेपाली ब्याटरको औसत स्कोर झन्डै २६ प्रतिशतले वृद्धि भएको देखाउँछ ।
यस्तै रन रेटमा पनि नेपालको सुधार देख्न सकिन्छ । देशाइ आउनुअघि नेपालले प्रति ओभर ४.२७ रन प्रति ओभर जोड्ने गरेकोमा देशाइ आएपछि इकोनोमी ४.९७ अर्थात् झन्डै ५ रन प्रति ओभरमा पुगेको छ ।
देशाइ आएपछि नै टोलीले पहिलो पटक ३ सय रनको आँकडा पार गर्न सक्यो । ओमानविरुद्ध नेपालले बनाएको ३ सय १० रन नै हालसम्म ओडीआई क्रिकेटमा नेपालले बनाएको सर्वाधिक योगफल हो ।
टिम स्कोरमा पनि मोन्टिको आगमनपछि सकारात्मक प्रभाव परेको छ । नेपालले मोन्टि आउनुअघि ४ पटक मात्र २ सय ५० रनको आँकडा पार गर्न सकेको थियो । तर उनको आगमनपछि नेपालले १० पटक २ सय ५० रनको आँकडा पार गर्यो ।
देशाइको आगमनअघि नेपालले २६ खेलमा २ सय रनको आँकडा पार गर्न सकेको थिएन । त्यसमध्य २० खेलमा नेपालले हार बेहोरेको थियो थियो । तर देशाइ आएपछि नेपालले १४ खेलमा २ सय रन छुन सकेन, जसमध्य ८ खेलमा नेपाल पराजित भयो । देशाइ आएपछि नेपालले घरेलु मैदानमा ३ पटक मात्र २ सय रनको आँकडा छुन असफल रह्यो । तीनै खेल पछिल्लो पटक भएको लिग-२ को सिरिजमा थियो ।
टि२०आईमा पनि सुधार
नेपालले देशाइको आगमनयता ३८ टि२०ई खेल खेल्दा प्रति ओभर ८.३२ को औसतमा रन बनाएको छ । त्यसअघि भने नेपालले प्रति ओभर ७.५२ रन जोड्दै आएको थियो । त्यस्तै ब्याटिङ औसत पनि प्रति विकेट २१.१७ रनबाट बढेर २३.७१ मा पुगेको छ ।
नेपालले देशाइ आएपछि खेलेको ३८ टि२०आई मध्य २१ खेलमा जित दर्ता गर्यो । त्यसअघि ५३ खेलमा नेपालले ३१ खेलमा जित दर्ता गरेको थियो । नेपालले देशाइको आगमनपछि नै दोस्रो पटक विश्वकप खेल्दै दक्षिण अफ्रीका र बंगलादेशजस्ता टोलीसँग निकै प्रतिस्पर्धात्मक खेल पनि प्रस्तुत गर्यो । दक्षिण अफ्रीकासँग १ रनको हार सम्भवत नेपाली क्रिकेटलाई विश्व क्रिकेटमाझ चिनाउन निकै महत्त्वपूर्ण कडी रह्यो ।
पार्टनरशिपमा विकास
नेपालले मोन्टि देशाइको आगमनपछि ब्याटिङ पार्टनरसिपको सबै तर्फ कीर्तिमान सुधार गरेको छ । नेपालले पछिल्लो २ वर्षमा पहिलो देखि दशौं विकेटको २ बाहेक सबैको पार्टनरसिपमा सुधार गर्न सफल भयो ।
नेपालले देशाइको आगमनपछि ओडीआईमा ८ पटक शतकीय साझेदारी पायो । जसमध्य ३ पटक १ सय ५० भन्दा बढीको साझेदारी बने । यसमा कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि जिम्बावेविरुद्ध उसकै घरेलु मैदानमा बनाएको १ सय ७१ रन पनि सामेल छ । समग्रमा नेपालले बनाएको शीर्ष ५ साझेदारी नै देशाइको आगमनपछि बनेका हुन् ।
विशेषगरि निकै टाउको दुखाइ बनेको नेपालको ओपनरको समस्यालाई देशाइले हल गरेका थिए । कुशल भुर्तेल र आसिफ शेखको जोडीले ३ पटक शतकीय साझेदारी निर्माण गरेका थिए ।
टि२०आई क्रिकेटमा पनि नेपालले देशाइको आगमनपछि दुई ठूला साझेदारीको कीर्तिमान तोड्यो । सन् २०२२ को विश्वकप छनोटमा कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले फिलिपिन्सविरुद्ध तेस्रो विकेटका लागि गरेको १ सय ७१ रनको साझेदारी रोहित पौडेल र कुशल मल्लले २०२३ मा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध १ सय ९३ रनको साझेदारी बनाउँदै तोडेका थिए ।
नेपालले बेहोरेका हार
ओडीआईमा नेपालले बेहोरेको १५ हारमध्य ४ खेल टेस्ट राष्ट्रका टोलीसँग थियो । यी सबै खेल घरेलु मैदान बाहिर भएका थिए र ३ खेलमा नेपालले २ सय ३० को आँकडा पार गरायो । पाकिस्तानसँग एसिया कपका दौरान मुल्तानमा १ सय ४ रनमा आउट हुनु नेपालको सबैभन्दा कमजोर प्रदर्शन रह्यो । डे नाइट खेलमा फ्लड लाइटमा ब्याटिङ गर्दा नेपाली ब्याटरले टिकेर खेल्न सकेका थिएनन् ।
अलराउन्डर सोमपाल कामीले उक्त खेलमा टोली नर्भस भएको हाम्रो खेलकास्टमा बताएका थिए । ‘त्यो दिन ब्याटिङका लागि निकै राम्रो माहोल थियो । सायद हामीले त्यो वातावरण बुझ्न सकेनौं । तर मलाई लाग्छ त्यो दिन ब्याटिङ गर्न निकै राम्रो अवस्था थियो,’ उनले अनुभव साटेका थिए ।
नेपालले हार बेहोरेको अर्को खराब खेल अमेरिकासँग विश्वकपपछि लिग-२ को अमेरिका सिरिजमा थियो । जहाँ पहिलो ब्याटिङ गर्दै २ सय ८६ रन बनाएको नेपालले अमेरिकालाई रोक्न सकेन । उक्त खेलमा नेपालले ९ बलर प्रयोग गरेपनि कुशल भुर्तेल र ललित राजवंशी बाहेक अन्य सबै बलरले संघर्ष गरेका थिए । अमेरिकाका ओपनर शायाना जाहंगिरले शतक प्रहर गर्दै घरेलु टोलीलाई जित दिलाएका थिए । एक समय ३६ ओभरमा १९७-६ को स्थितिमा रहेको टोली सातौं विकेट लिन संघर्ष गर्दा अन्तिम ओभरमा ३ विकेटले हार बेहोर्न पुगेको थियो ।
त्यसअघि ओमानविरुद्ध क्यानडामा भएको सिरिजमा पनि नेपाल जितनजिक हुँदाहुँदै हार बेहोर्न पुगेको थियो । २ सय २१ रनको लक्ष्य प्रस्तुत गर्दा एक समय २११-९ को स्थितिमा रहेको ओमानको अन्तिम विकेट लिन नसक्दा नेपाल १ विकेटले हार्यो । अन्तिम ओभरमा जितका लागि ८ रन आवश्यक पर्दा ओमानका लागि शकिल अहमद र कालिमउल्लाहले १-१ चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।
त्यस्तै जिम्बावेमा भएको विश्वकप छनोटमा पनि नेपालले आयरल्याण्डलाई २ सय ६९ रनको लक्ष्य दिएको थियो । आयरल्याण्ड २६ ओभरमा १३४-५ को स्थितिमा पुगेपनि अन्तिम ओभरमा २ विकेटको जित निकाल्न सफल रहेको थियो ।
घरेलु मैदानमा भएको पछिल्लो सिरिजमा नामिबियालाई १ सय ६९ रनको लक्ष्य दिँदा नेपालले ११८-६ को स्थितिमा पुर्याएर पनि अन्य विकेट लिन संघर्ष गर्दा हार बेहोर्यो । उक्त हारले नामिबियाले नेपाल भ्रमणमा सुखद अन्त्य गर्न पाएको थियो । उक्त खेलमा नेपालले पूरा ५० ओभर खेल्न नसक्नु अर्को कारण थियो । घरेलु भूमिमा खेलाडीले लगातार खराब सट खेल्दा नेपाल १३ ओभर बाँकी रहँदा नै अलआउट भएको थियो । शीर्षक्रमका ३ ब्याटर डकआउट हुँदा नेपाल संकटमा पुगेको थियो ।
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]
February 21, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यु खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस हारेको छ । पाकिस्तानको कराँचीमा रहेको नेशनल बैंक क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बमुभाले टस जितेर ब्याटिङ रोजेका हुन् । सन् २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकप र २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आत्मविश्वास अफगानिस्तानसँग छ। २०२३ को […]