4 months ago
December 24, 2024
सुबास हुमागाईं, काठमाडौं
यो तथ्यांक सरसर्ती हेर्दा कुनै तीव्र गतिको बलरको तथ्यांक जस्तो लाग्ला, तर बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले नेपाल प्रिमियर लिगका दौरान जनकपुर बोल्ट्सबाट खेल्दा गरेको प्रदर्शन हो यो ।
जनकपुरले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा ५ विकेटले हराउँदै उपाधि जित्दा बलिङमा ललितको प्रदर्शन गजबको थियो । फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरले २ ओभरमा २८ रन जोड्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछि बलिङमा ललित आए । तेस्रो ओभरमा ४ रन खर्चेका उनले पाँचौ ओभार मेडन फ्याँके । फाइनलको मोमेन्टम पूर्णत सुदूरको पक्षमा रहेको अवस्थाबाट खोसेर फाइनललाई पुन: प्रतिस्पर्धात्मक बनाए ।
ललितका अनुसार फाइनलमा सुरुवाती २ ओभरमा धेरै रन खर्चेकाले उनको खेलमा महत्त्व थप बढेको थियो । तेस्रो ओभर बलिङ गर्न आउँदा उनको दिमागमा एक मात्र कुरा थियो – ‘कुनै हालतमा बाउन्ड्री नदिने’ । र भयो पनि त्यहि । उनले तेस्रो र पाँचौ ओभरमा कसिलो बलिङ गरेपछि ओपनरलाई खुल्न कठिन भयो । र ललितले पुन: एकपटक टोलीले दिएको जिम्मेवारी पूरा गरे ।
त्यसो त ललितले पूरा सिजनभर नै जनकपुरको लागि यहि भूमिका निर्वाह गरे । विपक्षी टोलीका प्रमुख ब्याटर, अझ पावरप्लेमै सुरुवाती विकेट झार्ने र रन गतिमा अंकुश लगाउने जिम्मेवारी उनले कुशलतापूर्वक निर्वाह गरे ।
यसका लागि ललितले एनपिएलको अक्सन सकिएलगत्तै अमेरिकादेखि नै तयारी गरेका थिए । जनकपुरको भाग्य यो थियो कि टोलीका कप्तान, मार्की र प्रमुख प्रशिक्षक सबै एकसाथ थिए । ललितका अनुसार प्रशिक्षक पुबुदु, आसिफ र अनिलले अमेरिकादेखि नै उनको यो भूमिकाबारे छलफल गरेका थिए ।
‘अमेरिकामा हुँदा नै हामीले यसबारे छलफल गरेर योजना बनाएका थियौं । मलाई आफ्नो बलियो पक्षबारे थाहा थियो । पुबुदु सरले पनि पावरप्लेमा आफ्नो योजना सुनाउन भन्नुभयो । मैले त्यसबेला नै पावरप्लेमा २-३ ओभर अनि डेथ ओभरमा १ ओभर बलिङ गर्न तयार छु भनेको थिएँ । त्यसबेला देखि नै मैले आफूलाई तयार गरें,’ ललितले सुनाए ।
ललितले एनपिएलका सबै १० खेलमा पूरा ४ ओभर बलिङ गरे । ४० मध्य २० ओभर पावरप्ले र ६ ओभर डेथ ओभरमा रहेको थियो । पावरप्लेमा उनले फ्याँकेको २० ओभरमा उनले ९७ रन मात्र खर्चिएर ७ विकेट हात पारे । एनपिएलमा आधा समय पावरप्लेमा बलिङ गरेका उनको इकोनोमी ४.८५ रन प्रति ओभर रह्यो ।
टि२० क्रिकेटमा सामान्यतया स्पिनरको काम भनेको मध्य ओभरमा ब्याटरहरुलाई खुल्न नदिनु हो । पावरप्ले सकिएपछि जब फिल्ड खुल्छ, स्पिनरले विपक्षी ब्याटरलाई क्रिजभित्र राखेर, ठूलो सटका लागि समय नदिनु स्पिनरको खुबी हो । एनपिएलमा पनि अन्य टोलीले आफ्नो स्पिनरलाई यसै समयमा प्रयोग गरे ।
यसक्रममा ब्याटरले रन जोड्न नसक्दा आक्रमण गर्दा विकेट जाने सम्भावना बढ्छ । र पावरप्लेमा भन्दा मध्य ओभरमा ३० यार्ड सर्कलबाहिर बढी फिल्डर हुँदा क्याच समाउने सम्भावना पनि बढी हुन्छ ।
ललित पावरप्लेमा बलिङ गर्ने आत्मविश्वास नियमित प्रशिक्षणकै कारण सम्भव भएको बताउँछन् । ‘मैले यसको लागि आफूलाई नियमित रुपमा तयार गरेको छु । जनकपुर मात्र होइन, राष्ट्रिय टोलीको लागि पनि म आफूलाई यो भूमिकामा स्थापित गर्न प्रयास गर्छु । चुनौतीका लागि तयार रहन नयाँ बलले नेट्समा पनि बलिङ गर्छु,’ ललितले आफ्नो तयारीबारे सुनाए ।
ललितले एनपिएलमा विपक्षी टोलीको मुख्य ब्याटरको नै विकेट लिएका छन् । उनले लिएका १७ विकेटमा प्रतिश जिसीबाहेक सबै ब्याटरकै भूमिकामा खेल्ने खेलाडी हुन् । र यसपटक प्रतिशले पनि विराटनगरका लागि सातौं नम्बरमा ब्याटिङ गरेका थिए । उनले लिएका १७ मध्य ७ विकेट विपक्षी ओपनरको रहेको छ ।
ललितले यसक्रममा नाम चलेका विदेशी ब्याटर रवी बोपारा, आन्द्रिएस गाउस, ब्रान्डन मक्मलेन, विलियम बोसिस्टोको विकेट लिए । नेपालका लोकेश बम, देव खनाल, कुशल भुर्तेल, सुमित महर्जन र विनोद भण्डारी पनि उनको शिकार भए ।
ललितले एनपिएलमा फ्याँकेको ४० ओभरमध्य ६ पटक मात्र दोहोरो अंकमा रन बेहोरे । पावरप्लेको २० ओभरमा त उनले २ पटक मात्र १० भन्दा बढी रन खर्चेका छन् । एनपिएल अवधिभर ललितले एक खेल बाहेक सबैमा विकेट लिए ।
एक स्पिनरले पावरप्लेको जिम्मेवारी लिएर रनगतिमा अंकुश लगाउँदै विकेट पनि लिएको सायद यो भन्दा राम्रो प्रदर्शन बिरलै भेटिन्छ । त्यसैले पनि बोल्ट्सका प्रशिक्षक पुबुदु दासानायकेले उपाधि जितेलगत्तै ललितकै कारण आफ्नो टोली उपाधिसम्म पुगेको बताए । उनले ललित नै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी रहेको दावी समेत गरे ।
‘ललित नै प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी हुन् । हामीले उपाधि जित्दा उनको प्रदर्शन महत्त्वपूर्ण थियो । उनको एक खेलमा तुक्का प्रदर्शन लागेको होइन, हरेक खेलमा उनले टोलीलाई बलियो स्थितिमा पुर्याए । उनले ब्याटिङ विकेटमा खेल्दा पनि पावरप्लेमा दुई खेलमा मेडन फ्याँकेका छन्,’ पुबुदुले भने ।
फाइनलमा पराजित भएपछि सुदूरका प्रशिक्षक जगत टमाटाले पावरप्लेमा ललितले फ्याँकेको मेडनले खेलमा प्रभाव पारेको बताए । ‘हामीले १०-१५ रन बढी जोड्न सकेनौं । राम्रो सुरुवात गरेपछि पावरप्लेको मेडनले धेरै असर गर्यो । अन्त्यमा त्यो सुरुवाती ओभरले नै हाम्रो इनिङमा असर गर्यो । डेथ ओभरमा पनि हामीले सोचेजस्तो अन्त्य गर्न सकेनौं,’ टमाटाले भने ।
फाइनलमा जनकपुरले १ सय ८४ रन बेहोर्दा ललितले आफ्नो ४ ओभरमा मात्र १४ रन खर्चिए । अन्य सबै स्पिनरको इकोनोमी दोहोरो अंकमा छ । उनले नै सुदूरलाई २ सय रनको आँकडासम्म पुग्न दिएनन् । पावरप्लेको २ ओभरमा ४ रन खर्चेका उनले १३ औं ओभरमा विनोद भण्डारीको विकेट लिए । र १७ औं ओभरमा मात्र ७ रन खर्चेर अर्को मोमेन्टम ब्रेक गरे ।
प्रतियोगिता अवधिभर नै प्रभाव जमाएका उनी पुरस्कार वितरण समारोहमा भने उत्कृष्ट बलरमा सिमित भए । टोलीलाई च्याम्पियन बनाउनुका साथै निरन्तर राम्रो प्रदर्शन गरेका उनी सर्वोत्कृष्ट खेलाडीको दावेदार त थिए । तर प्रतियोगिताको निर्णयमा उनले प्रभाव पार्न सकेनन् । विकेट लिने सूचीमा शीर्ष स्थानमा भएर टोलीलाई उपाधि दिलाएपनि तथ्यांकमा उनी पछि रहेको प्राविधिक समितिको विश्वास थियो ।
ललित आफैं कारको बारेमा भन्दापनि टिमले के आवश्यक ठानेको छ त्यसको लागि खेलेको बताउँछन् । ‘मेरो लागि टिमले उपाधि जित्नु महत्त्वपूर्ण थियो । फाइनलमा पनि मैले विकेट लिन गएको भए, अझ रन खर्चेर टोलीको अवस्था खराब हुन सक्थ्यो । मेरो काम रनको गतिमा अंकुश लगाउनु थियो,’ उनले भने ।
फाइनल जितेपछि सहकर्मीको कुरा सुन्दा भने कार जित्ने आशा पलाएको उनले बताए । ‘सायद फाइनलमा ३-४ विकेट लिएर जितेको भए, कारको सम्भावना बलियो हुन्थ्यो होला । मलाई पुबुदु सर, जिम्मी (निशम), लगायत अन्य साथीहरुले फाइनल जिते लगत्तै अब कार जित्छौ भनेर भन्नुभएको थियो । त्यसबेला केही आशा पनि पलायो । तर अन्त्यमा बाइक जितें । तर त्यो भन्दा ठूलो टोलीका लागि उपाधि जितें । हामी सबै च्याम्पियन भयौं । आफूले पाएको जिम्मेवारी र आफ्नो भूमिकामा एकदम सन्तुष्ट छु, कुनै गुनासो छैन ।’
ललितको ध्यान अब क्यानले अर्को महिना सुरु गर्ने भनिएको एलिट कपमा छ । ‘मेरो लागि यो नयाँ फर्म्याट हो । म मात्र होइन, हाम्रो युगका धेरैका लागि । यसले हाम्रो एकदिवसीय संस्करणको ब्याटिङमा सहयोग पुर्याउने लक्ष्य राखेको छु । सेतो लुगा र रातो बल सम्झेर नै उत्साहित छु,’ ललितले अन्त्य गरे ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]
April 15, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]