default_image

3 months ago

December 5, 2024

पोखरालाई हराउँदै जनकपुरको लगातार तेस्रो जित

958 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा पोखरा एभेन्जर्सलाई हराउँदै जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

जनकपुरले बिहीवार पोखरामाथि ७ विकेटको जित हात पार्यो । १ सय ३९ रनको मध्यम लक्ष्य जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुका लाहिरु मिलन्थाले सर्वाधिक ४५ रन बनाए । उनले ३२ बलमा ८ चौका प्रहार गरेका थिए । मिलन्था माइकल लिक्सको बलमा सागर ढकालबाट क्याच आउट भएका थिए ।

एनपिएलमा १ सय ४४ रनका साथ मिलन्था सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा रहेका छन् । उनले विराटनगर किंग्ससँगको पहिलो खेलमा ७५ तथा कर्णाली याक्ससँगको दोस्रो खेलमा २४ रन जोडेका थिए ।

जिमी निशमले २० बलमा ५ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । हर्ष ठाकरले १४ बलमा १ चौकाको सहयोगमा नट आउट १३ रन बनाए ।

आसिफ शेखले ३४ बलमा ३ चौकाको सहयोगमा ३३ जोडे । ३३ रन बनाउँदै आसिफ कुशल भुर्तेलको बलमा ठूलो सट खेल्ने धुनमा विपिन खत्रीबाट क्याच आउट भए ।

आसिफकाविरुद्ध पहिलो ओभरको तेस्रो बलमा आकाश चन्दले क्याच आउट मौका सिर्जना गरेका थिए । तर, विकेटकिपर दिलिप नाथ तथा स्लिपका फिल्डर माइकल लिस्कले मौकाको सदुपयोग गर्न चुकेका थिए । त्यस समयमा आसिफले रनको खाता नै खोलेका थिएनन् ।

ओपनर तथा कप्तान अनिलकुमार शाह दोस्रो ओभरको दोस्रो बलमा विपीन खत्रीको बलिङमा एलबिडब्लु धरापमा परे । अनिलले ३ बलमा १ रन मात्र जोडेका थिए । पोखराका लागि माइकल लिस्क, कुशल भुर्तेल र विपिन खत्रीले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रनको मध्यम योगफल तयार गरेको थियो ।

पोखराका लागि म्याट क्रिचलेले सर्वाधिक ३५ रन जोडेका थिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । ३५ रन बनाउँदै क्रिचले ललित नारायण राजवंशीको बलमा कप्तान अनिलबाट क्याच आउट भए ।

ओपनर आन्द्रस गौसले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा २० रन जोडे । चौथो ओभरको अन्तिम बलमा ललित राजवंशीद्वारा गौस आउट भए । छक्का प्रहार गरे लगत्तैको अर्को बलमा फेरी छक्काको प्रयास गरेका गौस बाउन्ड्रिमा जनकपुरका मार्की खेलाडी आसिफ शेखबाट क्याच आउट भए ।

माइकल लिस्कले १३ बलमा ३ छक्काको सहयोगमा २५ रन जोडे । लिस्क इनिङको अन्तिम ओभरमा किशोर महतोको बलमा बाउन्ड्रिमा आसिफ शेखबाट क्याच भए । राइमन राइफरले २० बलमा १७ रन बनाए । राइफर जिमी निशमको बलमा कप्तान अनिल शाहबाट क्याच आउट भए ।

न्युजिल्यान्डमा बसेर त्यहाँको घरेलु क्रिकेट खेलिरहेका दिनेश छैटौं ओभरको पाँचौ बलमा न्युजिल्यान्डका अन्तर्राष्ट्रिय क्रिकेटर जिमी निशमको बलमा आउट भए । दिनेशले १७ बलमा १० रन जोडेका थिए ।

कप्तान कुशलले ६ बलमा १ चौकाको सहयोगमा ६ रन जोडे । ललितको बलमा विकेटकिपर लाहिरु मिलन्थाबाट स्टम्पीङ भए । दिलिप नाथ १४ बलमा ११ रन जोड्दै आउट भए । नाथ मोहम्मद मोहसिनको बलमा एलबिडब्लु धरापमा परे ।

जनकपुरका लागि ललितले ३, जिमी निशमले २ तथा मोहम्मद मोहसिन र किशोर महतोले समान १ विकेट लिए ।

लगातार तीन खेलमा ६ अंकका साथ जनकपुर लिगको शीर्ष स्थानमा छ । जनकपुरले पहिलो खेलमा विराटनगर किंग्स तथा दोस्रो खेलमा कर्णाली याक्सलाई समान ८ विकेटले हराएको थियो ।

पोखराको भने यो लगातार दोस्रो हार हो । पोखरा पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो । आजै हुने दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ ।

March 18, 2025

इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको जित

काठमाडौं(हाम्रो खेलकुद) – इशान पाण्डेको अलराउण्ड प्रदर्शनमा बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीलाई पराजित गरेको छ । मंगलवार भएको खेलमा बागमतीले गण्डकी प्रदेशलाई ६९ रनले हरायाे । बागमतीले दिएको २ सय ८९ रनको लक्ष्य पछ्याएको गण्डकी ४४ ओभरमा २ सय १९ रनमा अल आउट भयो । गण्डकीका लागि वंश क्षेत्रीले सर्वाधिक […]

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

Success

Thank you for your time.