default_image

2 hours ago

October 23, 2024

एनपिएलमा टेस्ट राष्ट्रका क्रिकेटर ल्याउन आइसीसीको कडाइ!

4864 views

0 Bookmark

सुबास हुमागाईं, काठमाडौं

पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी फ्रेन्चाइज टोलीहरुले एकपछि अर्को विदेशी खेलाडी अनुबन्धनको घोषणा गर्दैछन् । तर आइसीसीको विशेष प्रावधानका कारण यसपटक एनपिएलमा टेस्ट राष्ट्रका स्टार खेलाडी भने टोलीहरुले चाहेर पनि पर्याप्त संख्यामा भित्र्याउन नपाउने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नै आयोजनामा गर्न लागेको एनपिएल नेपालको पहिलो फ्रेन्चाइज लिग हो । यसअघि क्यान निलम्बनमा रहँदा प्राइभेट संस्थाले गरेका धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिग आइसीसीको स्वीकृतिमा आयोजना भएका थिए । तर क्यानको आगमनसँगै आइसीसीले संघको पुनर्स्थापना सँगै अब क्यानले नै प्रतियोगिताबारे निर्णय गर्ने भएपछि यी लिग संचालन हुन सकेनन् ।

२०७८ सालमा क्यानको नयाँ कार्यसमितिले नेपाल टि२० लिगका लागि सेभेन थ्री स्पोर्ट्स नामक भारतीय कम्पनिलाई जिम्मेवारी दिएको थियो । त्यसको एक वर्षपछि विवादका बीच लिग आयोजना त भयो तर खेल मिलेमतो लगायत विभिन्न विवादले गर्दा उक्त प्रतियोगिता पुन: संचालन हुन सकेन । सेभन थ्री र क्यानबीच लामो जुहारी नै चल्यो । उक्त प्रतियोगिताको विवादले त्यसबेला ठूलो समस्या त थियो नै, हाल हुन गइरहेको एनपिएलमा पनि असर परेको छ ।

क्यानले आफैं आयोजना गर्न लागेको भएपनि गत संस्करणको नेपाल टि२० मा आएको विवादका कारण आइसीसीले निकै ढिला गरि प्रतियोगिता आयोजना गर्न हरियो झन्डा दिएको छ । लिग संचालनका लागि आइसीसीले केही विशेष प्रावधान राख्दै यसपटक नजिकबाट प्रतियोगिता आयोजनाको सबै पक्ष नियाल्ने क्यानलाई जानकारी दिएको छ ।

त्यसमध्य एक प्रावधान टेस्ट राष्ट्रका स्टार खेलाडीको अनुबन्धनमा पनि कडाइ गर्दै सिमित संख्या तोकिएको छ । यसबाहेक आइसीसीले क्यानसँग हरेक फ्रेन्चाइजको स्थापना र टोली मालिकबारे विस्तृत जानकारी पनि माग गरेको थियो । त्यसको सम्पूर्ण विवरण क्यानले आइसीसीलाई पठाइसकेको छ । हरेक देशमा विदेशी खेलाडी सम्मिलित गरेर एकमात्र आधिकारिक लिग संचालन गर्न पाइने भएकाले पनि आइसीसीले एनपिएललाई आधिकारिकता दिन यो कदम चालेको हो ।

यसपटक क्यानले फ्रेन्चाइज टोली छनोट देखि अक्सनसम्म पारदर्शी ढंगले आफैं लिग आयोजना गर्ने प्रक्रिया सुरु गर्यो । सुरुवातमा ६ टोली भनिएपनि धेरै संस्थाले फ्रेन्चाइज खरिद गर्ने इच्छा देखाएपछि सहभागी टोली संख्या पनि ८ बनाइयो । क्यानले सोचेभन्दा ठूलो रुप लिएको लिगमा नेपाली खेलाडीहरुले पनि राम्रै रकम आर्जन गर्ने भएका छन् ।

हरेक टोलीले मार्की खेलाडीलाई कम्तीमा २० लाख रुपैयाँ प्रदान गर्दैछ । यस्तै अक्सनबाट सहभागी ८ टोलीले १५ लाख देखि २ लाखसम्म खर्चेर ८० खेलाडी अनुबन्धन गरेका छन् । अक्सनमा खेलाडी खरिद गर्न मात्र कुल ५ करोड ९२ लाख ५० हजार रुपैयाँ खर्च भएको थियो । यसबाहेक विदेशी खेलाडीमा यसै हाराहारीमा रकम खर्च हुनेछ । तर आइसीसीको प्रावधानले विदेशी खेलाडी अनुबन्धनमा भने टोलीहरुले चाहेका स्टार अनुबन्ध गर्न नपाउने भएका छन् ।

आइसीसीले क्यानसमक्ष राखेको विशेष प्रावधानमा लिगमा यसपटक टेस्ट राष्ट्रबाट ४ विदेशी खेलाडी मात्र खेलाउन पाइने सर्त राखेको छ । यसमा पछिल्लो दुई वर्षमा टेस्ट राष्ट्रको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडी गणना हुनेछन् । टेस्ट राष्ट्रबाट खेल्न सन्न्यास लिएको २ वर्ष पुगेका वा पछिल्लो २ वर्षयता अन्तर्राष्ट्रिय खेल नखेलेका टेस्ट राष्ट्रका खेलाडी भने यो संख्यामा गणना हुने छैनन् ।

क्यानका प्रवक्ता छुम्बी लामाले आइसीसीले पहिलो पटक यस स्तरको लिग संचालन हुन लागेकाले यो प्रावधान राखेको बताए । ‘हामी पहिलो पटक यो लिग आयोजना गर्दैछौं । त्यसैले टेस्ट राष्ट्रबाट पछिल्लो २ वर्षमा खेलेका ४ खेलाडी मात्र लिगमा खेल्नेछन् । एसोसिएट र टेस्ट राष्ट्रकै २ वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट नखेलेका खेलाडीमा भने यो नियम लागु हुने छैन,’ उनले भने ।

कर्णाली याक्सले आइतबार पाकिस्तानका अलराउन्डर हुसेन तलतलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । पाकिस्तानका लागि टि२०आई खेलेपनि उनी आइसीसीको नियमअनुसार गणनामा भने आउने छैनन् । उनले सन् २०१९ मा एकमात्र ओडीआई खेलेका थिए भने पछिल्लो पटक सन् २०२१ मा दक्षिण अफ्रीकाविरुद्ध टि२०आई खेलेका थिए ।

आइसीसीले टेस्ट राष्ट्रका खेलाडीमा ४ वर्तमान खेलाडी मात्र राख्न पाइने भनेपनि एसोसिएट खेलाडीको हकमा भने केही लचकता देखाएको छ । लिगमा हरेक टोलीले प्लेइङ-११ मा कम्तिमा ४ विदेशी खेलाउनै पर्ने प्रावधान रहेको छ । कतिपय खेलाडी लिगको पूरा समय उपलब्ध नहुने कारण आइसीसीले ६ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न भने स्वीकृति दिएको छ । यसकारण अब टोलीहरुले मार्की १, अक्सनबाट १०, ट्यालेन्ट हन्टबाट १ सँगै विदेशी खेलाडी ४ देखि ६ जनासम्म टोलीमा समावेश गर्न पाउनेछन् ।

क्यानले आइसीसीको यो प्रावधान आएसँगै सहभागी टोलीहरुलाई पनि यसबारे जानकारी दिइसकेको छ । गत संस्करणको नेपाल टि२०ले निम्त्याएको समस्या र त्यसपछि नेपालमा यस स्तरमा हुन लागेको पहिलो फ्रेन्चाइज लिग भएकाले आइसीसीको यो कदम स्वभाविक रहेको क्यानका सचिव पारस खड्काले बताए ।

‘हामीले पहिला त गत संस्करणको नेपाल टि२० ले निम्त्याएको समस्याका कारण आइसीसीलाई कन्भिन्स गर्न धेरै मिहिनेत गर्नुपर्यो । अन्त्यमा आइसीसीले विशेष प्रावधानलाई मानेर यो प्रतियोगिता आयोजना गर्दैछौं । यसपटक ४ खेलाडी मात्र आएपनि एसोसिएट र अन्य खेलाडीको हकमा राम्रै मान्नुपर्छ,’ खड्काले भने ।

आइसीसीले हरेक राष्ट्रमा एक मात्र अधिकारिक लिग आयोजना गर्न स्वीकृति दिने गर्दछ । दिर्घकालीन योजनाका साथ अघि बढेको प्रतियोगिता भएका कारण क्यानले आफैं गर्न लागेको एनपिएलमा सबै पक्षलाई पूरा गर्ने सचिव खड्काले बताए ।

‘यसअघिका लिगहरुलाई आइसीसीले धेरै ध्यान दिएको थिएन । ती लिगमा इन्टिग्रिटिमा धेरै समस्या निम्तिएका थिए । यसपटक हामीले आइसीसीको एन्टी करप्सन कोडको अधिनमा रहेर लिग संचालन गर्दैछौं । सुरक्षा र आयोजनाका विषयमा सबै आइसीसी प्रतियोगिता झैं कडाइ हुनेछ,’ राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका खड्काले प्रष्ट पारे ।

एनपिएलमा केही टोलीले विदेशी प्रशिक्षक अनुबन्ध गरेका छन् । विदेशी खेलाडी अनुबन्ध गर्न होडबाजी पनि सुरु भइसकेको छ । विशेषगरी टेस्ट राष्ट्रका वर्तमान क्रिकेटर अनुबन्धको प्रक्रियामा कुन टोली अघि रहन्छ हेर्न अब चासो बढेको छ । क्यानले ४ खेलाडी मात्र अनुबन्ध गर्न पाउने भएपछि जो पहिला दर्ता गर्छ त्यसै टोलीको खेलाडी गणना गर्ने नियम बनाएको प्रवक्ता लामाले हाम्रो खेलकुदलाई जानकारी दिए ।

एसोसिएट क्रिकेटरको हकमा ६ खेलाडीसम्म अनुबन्ध गर्ने प्रावधानले भने फ्रेन्चाइज टोलीलाई केही राहत मिलेको छ । अब टेस्ट राष्ट्रका खेलाडी पूरा सिजन आउने नपाएपनि उनीहरु उपलब्ध हुने समयबाहेक अन्य बेलामा एसोसिएट क्रिकेटरले स्थान लिन सक्नेछन् ।

हालसम्म अनुबन्ध गरिएका विदेशी खेलाडीहरु:

पोखरा एभेन्जर्स : आन्द्रिएस हाउस (अमेरिका), एन्डरसन फिलिप (वेस्ट इन्डिज), बास डे लिडे (नेदरल्यान्ड्स)

कर्णाली याक्स : हुसेन तलत (पाकिस्तान)

लुम्बिनी लायन्स : टम मोरिस (इंग्ल्याण्ड)

सूदुरपश्चिम रोयल्स : ब्रान्डन मक्मलेन (स्कटल्याण्ड)

विराटनगर किंग्स : अकिब इल्यास (ओमान)

काठमाडौं गुर्खाज : माइकल लेभिट (नेदरल्यान्ड्स)

October 23, 2024

नेदरल्यान्ड्सका लेभिटले काठमाडौंबाट एनपिएल खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – नेदरल्यान्ड्सका क्रिकेटर माइकल लेभिटले काठमाडौं गुर्खाजबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । काठमाडौंले पहिलो विदेशी खेलाडीको रुपमा माथिल्लो क्रमका विष्फोटक ब्याटर लेभिटलाई टोलीमा अनुबन्ध गरेको बुधबार सामाजिक संजालमार्फत जनाएको छ । २१ वर्षिय लेभिटले हालसम्म नेदरल्यान्डेसका लागि ८ ओडिआई तथा १७ टि ट्वान्टी आई खेलेका छन् । टियु […]

October 23, 2024

इङ्ग्ल्यान्डका मुर्स लुम्बिनीबाट खेल्ने

काठमाडौं(हाम्रो खेलकुद) – इङ्ग्ल्यान्डका क्रिकेटर टम मुर्सले लुम्बिन लायन्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) खेल्ने भएका छन् । लुम्बिनीले पहिलो विदेशी खेलाडीको रुपमा विकेटकिपर तथा बायाँ हाते ब्याटर मुर्सलाई टोलीमा अनुबन्ध गरेको बुधवार सामाजिक संजालमार्फत जनाएको छ । २८ वर्षिय मुर्सले हालसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा भने मौका पाएका छैनन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अनुभव नभएका […]

October 23, 2024

डर्टमन्डमाथि रियलको जित

एजेन्सी – स्पेनिस टोली रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा रियलले ५-२ जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान १ गोल थपे । डर्टमन्डका लागि डोनिल मलेन […]

Success

Thank you for your time.