default_image

10 months ago

April 28, 2024

नेपाल वेस्ट इन्डिज ‘ए’ सँग पराजित 

2022 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्धको दोस्रो टि२० खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । पहिलो खेलमा ४ विकेटको हार बेहोरेको वेस्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले पराजित गर्दै शृंखलामा १-१ को बराबरी गरेको हो ।

पाहुना टोलीले दिएको १६१ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५० रन मात्र बनाउन सक्यो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा ६ चौका र २ छक्का सहित ७१ रन बनाएपनि जित भने दिलाउन सकेनन् । पाचौं ओभरमा क्रिजमा पुगेका रोहितले अन्तिम सम्म रहेर टोलीलाई जित दिलाउने प्रयास गरेका थिए । तर अन्य ब्याटरको साथ पाउन नसक्दा उनले टोलीलाई पार लगाउन सकेनन ।  

अन्तिम दुई ओभरमा २६ रन चाहिएकोमा नेपालले ओबेद म्याककोयको १९औ ओभरमा ९ रन बनायो । अन्तिम ओभरमा १७ रनको आवश्यकता रहेको थियो । तीब्र गतिका बलर म्याथ्यु फर्ड अन्तिम ओभर बलिङ गर्न आएका थिए ।

पहिलो बलमा रोहितले कुनै रन बनाउन सकेनन । दोस्रो बलमा भने उनले चौका प्रहार गरे । तेस्रो बलमा २ रन लिने क्रममा आकाश चन्द रन आउट हुन पुगे । चौथो बलमा सागर ढकालले रोहितलाई स्ट्राइक दिए । २ बलमा ११ रन चाहिएको अवस्थामा रोहितले दुवै बलमा रन बनाउन नसकेपछि नेपाल पराजित हुन पुग्यो ।

नेपालका शीर्षक्रमका ब्याटरको प्रदर्शन आज पनि सम्झनालायक रहेन । तेस्रो ओभरको पहिलो बलमा ओपनर लोकेश बम चोटका कारण मैदानबाट बाहिरिन पुगे । पुल शट खेल्ने क्रममा उनको खुट्टामा चोट लागेको थियो । उनी १२ बलमा १७ रन बनाएर खेलिरहेका थिए । सोहि ओभरको चौथो बलमा अर्का ओपनर कुशल भुर्तेल आउट हुन पुगे । उनी २ रन बनाएर ओबेद म्याककोयको बलमा जोनसन चार्ल्सद्वारा क्याच आउट भएका थिए ।

अनिल शाह १ रन बनाएर पाचौँ ओभरको चौथो बलमा आउट भए । ओसेन थोमसको बलमा उनी विकेटकिपर आन्द्रे फ्लेचरद्वारा क्याच आउट भएर पेभेलियन फर्किए ।

त्यसपछि लोकेश पुनः फर्किए । तर उनले कुनै रन थप्न सकेनन । १६ बलमा १७ रन नै बनाएर गुडाकेश मोतीको बलमा उनी ठुलो शट खेल्ने क्रममा बोल्ड आउट भए । त्यसलगत्तैको बलमा कुशल मल्ल शुन्यमा रनआउट भए । पहिलो खेलमा पनि रनआउट हुँदै पेभेलियन फर्किएका उनी आज भने पहिलो बलमा नै आउट भएका थिए ।  

नवौ ओभरमा गुलशन झालाई वेस्ट इन्डिज ‘ए’का कप्तान रोस्टन चेजले बोल्ड गरे । राम्रो सुरुवाट पाएका गुलशनले आउट हुनुअघि ११ बलमा ३ चौका र २ छक्का सहित २६ रन बनाउन भ्याए । 

सातौ नम्बरमा क्रिजमा पुगेका आरिफ शेखले पनि सम्झनलायक प्रदर्शन गर्न सकेनन । छैठौं विकेटका लागि कप्तान रोहित पौडेलसँग ४३ रनको साझेदारी गरेपनि उनी १६ बल खेल्दै १२ रन मात्र बनाएर १५औ ओभरमा मोतीको शिकार बन्न पुगे । 

१६औ ओभरको तेस्रो बलमा दीपेन्द्र पनि सस्तैमा आउट हुन पुगे । ५ बलमा ३ रन बनाएर उनी म्याककोयको बलमा चेजद्वारा क्याच आउट भए । सोमपाल कामीले पनि ५ बल खेल्दै ३ रन मात्र बनाउन सके । उनी १८औ ओभरको पाचौं बलमा रनआउट भएका थिए ।

वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र गुडाकेश मोतीले समान २-२ विकेट लिए । यस्तै ओशेन थोमस र रोस्टन चेज १-१ विकेट लिन सफल भए ।  

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिज ‘ए’ ले १ सय ६० रन बनाएको थियो । 

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३६ बलमा ३ छक्कासहित सर्वाधिक ४३ रन बनाए । यस्तै गुडाकेश मोती इनिङको अन्त्य तिर आक्रामक केहि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र ४ छक्का सहित ३३ रनमा अविजित रहे । म्याथ्यु फर्ड ६ बलमा ११ रन बनाएर नटआउट रहे ।  

सुरुवात देखि नै लगातार अन्तरालमा विकेट गुमाएको वेस्ट इन्डिजले पहिलो खेलमा जस्तो आक्रामक ढंगले ब्याटिङ गर्न भने सकेन ।  

आजको खेलमा टोलीमा आएका सागर ढकालले नेपालका लागि आफ्नो पहिलो ओभरमै दुई विकेट लिँदै राम्रो सुरुवात दिलाएका थिए । पहिलो खेलमा राम्रो सुरुवात दिलाएका ओपनर एलिक अथान्जे तेस्रो ओभरको दोस्रो बलमा ६ रन बनाएर कुशल मल्लद्वारा क्याच आउट भएका थिए । यस्तै सोहि ओभरको पाचौ बलमा सागरले अर्का ओपनर जोनसन चार्ल्सलाई ११ रन बनाएको अवस्थामा बोल्ड गर्दै पेभेलियन फर्काए ।

तेस्रो र चौथो नम्बरमा क्रिजमा पुगेका आन्द्रे फ्लेचर र कप्तान रोस्टन चेज मिलेर तेस्रो विकेटका लागि ४६ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडेका थिए । चेज २२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर १०औ ओभरको अन्तिम बलमा कुशलद्वारा बोल्ड भएका थिए ।   

१४औ ओभरमा केसी कार्टीलाई आउट गर्दै कुशलले नै नेपाललाई चौथो सफलता दिलाए । केसी १६ बलमा १० रन बनाएर नेपालका कप्तान रोहित पौडेलद्वारा लङ-अनमा क्याच आउट भएका हुन् ।   

पाचौँ सफलता सोमपाल कामीले १७औ ओभरको पहिलो बलमा दिलाए । पाचौ विकेटका रुपमा किमो पल १० बलमा ८ रन बनाएर सोमपालको बलमा बोल्ड भए । १८औ ओभरमा हेडन वाल्सलाई ९ रनमा रोहितले रनआउट गराए । उनले ७ बल खेल्दै २ चौका प्रहार गरेका थिए ।  

सोहि ओभरमा फ्लेचर पनि आउट भए । उनलाई दीपेन्द्र सिंह ऐरिले लङ-अफमा कप्तान रोहितद्वारा क्याच आउट गराए । 

नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले समान २-२ विकेट लिए । सागरले ४ ओभरमा १९ रन दिए भने कुशलले ४ ओभर बलिङ गर्दै २२ रन खर्चिए । दीपेन्द्र सिंह ऐरिले ३ ओभरमा १ विकेट लिँदै ३९ रन खर्चिए । सोमपाल कामिले २ ओभरमा १८ रन खर्चेर १ विकेट नै लिए । आकाश चन्दले ३ ओभरमा ३९ रन दिँदै कुनै विकेट लिएनन् भने कुशल मल्लले पनि ४ ओभरमा २३ रन दिँदा कुनै विकेट लिएनन् । 

नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको थियो । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् । पहिलो खेलबाट विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, अभिनाश बोहोरा र ललित राजवंशी बाहिर थिए । 

वेस्ट इन्डिजले पनि टोलीमा एक परिवर्तन गरेको थियो । मध्यक्रमका ब्याटर कदिम एलेनेको स्थानमा स्पिनर हेडन वाल्स जुनिअर टोलीमा अटाएका थिए ।

शृंखलाको तेस्रो खेल आउँदो बुधवार हुनेछ ।  

February 8, 2025

कुशलको अलराउण्ड प्रदर्शनमा डडेलधुरा फाइनलमा

काटमाडौं(हाम्रो खेलकुद) – कुशल भुर्तेलको अलराउण्ड प्रदर्शनको सहयोगमा फ्रेन्ड्स युथ क्लब डडेलधुरा धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा शनिवार न्यु होराइजन बुटवललाई ५ विकेटले हराउँदै डडेलधुरा फाइनल पुगेको गहो । डडेलधुराले उपाधिका लागि सोमवार डिसीए धनगढी र सिवाईसी अत्तरिया मध्ये एक‌सँग फाइनल हुनेछ । ८३ रनको सामान्य […]

February 7, 2025

खुकरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

सुमन अधिकारी,बुटवल लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा […]

February 7, 2025

अर्जुन ट्रफीको सेमिफाइनल समीकरण पूरा

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । लिग चरणको अन्तिम खेल शुक्रवार सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । प्रतियोगिताको सातौं दिन भएको समुह ‘बी’ अन्तर्गत भएको लिग चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवललाई ७८ रनले हरायो । यो जितसँग अत्तरिया समुह […]

Success

Thank you for your time.