default_image

11 months ago

April 2, 2024

मयंक यादव : जसको गति विश्वभर चर्चामा छ

6107 views

0 Bookmark

इन्डियन प्रिमियर लिग (आइपिएल) ले भारतीय क्रिकेटमा नयाँ प्रतिभालाई विश्व क्रिकेटसामु स्थान दिँदै आएको छ । उक्त सुचिमा यस सिजन तीव्र गतिका बलर मयंक यादवको नाम थपिने पक्का भएको छ ।

लखनउ सुपर जायन्टसका लागि शनिबार पन्जाब किंग्सविरुद्ध डेब्यु गरेका युवा बलर मयंकले छोटो समयमै प्रभाव जमाएका छन् । डेब्युमै ३ विकेट लिएर प्लेयर अफ द म्याच घोषित उनले मंगलबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध आफ्नो उच्च लयलाई कायम राखे ।

ग्लेन म्याक्सवेललाई आउट गरेका उनले क्यामरन ग्रीनलाई बोल्ड गरे । उनले ग्रीनको विकेट आफ्नो लागि उत्कृष्ट रहेको पनि बताए । मयंक लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच घोषित भए ।

शनिबार १ सय ५५ किलोमिटर प्रति घण्टा बलिङ गरेका उनले आफूलाई यस सिजन आइपिएलमा सबैभन्दा तीव्र गतिमा बल फ्याँक्ने बलरको रुपमा स्थापित गरे । मंगलबार उनले १ सय ५६ को आँकडा छुँदै आफ्नै रेकर्ड सुधारे ।

उनले मंगलबारको खेलमा १० पटक १ सय ५० किमी प्रति घण्टाको गति पार गरे । नियमित रुपमा तीव्र गतिको बल फाल्ने उनले आफ्नो लाइन र लेन्थमा पनि पकड जमाउन सकेका छन् । विगतमा भारतले गति भएका बलर पाएपनि उनीहरुले आफ्नो बलिङमा नियन्त्रण राख्न सकेका थिएनन् । तर मयंक फरक देखिएका छन् ।

मयंकले आफ्नो प्रदर्शनको कारण आफ्नो खानपिन, निन्द्रा र प्रशिक्षणको मिहिनेत रहेको बताए । ‘तीव्र गतिमा लगातार बल फाल्न सहज छैन । तर मैले मेरो खानपिनमा निकै ध्यान दिएको छु । त्यसपछि निन्द्रा र प्रशिक्षणमा पनि समय मिलाएको छु । यसले गर्दा नै यो सम्भव भएको छ,’ बेंगलुरुविरुद्ध जितपछि उनले भने ।

लखनउले सन् २०२२ को मेगा अक्सनमा मयंकलाई न्युनतम २० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसबेला टोलीको सहायक प्रशिक्षक रहेका विजय धैयले उनलाई नेटमा बलिङ गरेको देख्दा प्रभवित भएर अनुबन्ध गर्न टोलीमा भनेका थिए । उनले भविष्यमा राम्रो हुने सम्भावना देखेर मयंकलाई टोलीमा राखेको बताए ।

तर सन् २०२२ मा अवसर नपाएका मयंकले २०२३ मा चोटका कारण खेल्न पाएनन् । २०२४ मा दोस्रो खेलमा डेब्युको अवसर पाएका मयंकले पहिलो खेलमै प्रभाव जमाए । पछिल्लो सिजन घरेलु क्रिकेटमा पनि राम्रो प्रदर्शन गरेका उनलाई लखनउले अवसर दिएको थियो । बलिङ प्रशिक्षक मोर्ने मोर्केलसँग मयंकले काम गरिरहेका छन् ।

दिल्लीको सोनेट क्लबबाट आफ्नो करिअर सुरु गरेका उनलाई स्वर्गीय तारक सिन्हा र देवेन्द्र शर्माले सुरुवाती प्रशिक्षण दिएका थिए । दिल्लीमा सुरुवातमा अवसर नपाएपनि उनले पछिल्लो घरेलु सिजनमा भने राम्रो प्रदर्शन गरेका थिए ।

मयंकको प्रदर्शनबाट विश्व क्रिकेटमा तीव्र गतिका बलरमा उत्कृष्ट मानिने ब्रेट ली र डेल स्टेनले पनि सामाजिक संजालमार्फत प्रशंसा गरेका छन् । मंगलबार विपक्षी कप्तान फाफ डु प्लेसिसले पनि मयंकको गति र बलमा नियन्त्रणको प्रशंसा गरे ।

निरन्तर १ सय ५० किमी प्रति घन्टाको गति । लाइन र लेन्थमा सटिक नियन्त्रण । पेस बलिङ खेल्न माहिर अष्ट्रेलियाका ब्याटरलाई समस्या दिन सक्ने खुबी । र लगातार दुई खेलमा प्लेयर अफ द म्याच । मयंक भारतीय क्रिकेटका उदियमान स्टार हुन् ।

जसप्रित बुमराहमा निकै निर्भर रहेको भारतीय तीव्र गतिको बलिङले यसपटक आइपिएलमार्फत अर्को प्रतिभा भेटेको छ । यस्तै प्रदर्शन निरन्तर रहे मयंकले आगामी जुनमा हुने टि२० विश्वकप खेल्ने चर्चा सर्वत्र छ । र सम्भावना पनि बलियो देखिन्छ ।

एजेन्सीको सहयोगमा सुबास हुमागाईंको प्रस्तुति

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.