default_image

1 year ago

February 15, 2024

नेपाल नामिबियासँग पराजित

2541 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वकप लिग-२ २०२४-२७ अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

विहीबार टियु क्रिकेट मैदानमा नामिबियाले विजयी सुरुवात गर्ने क्रममा ४ विकेटको जित निकालेको हो । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३४ औं ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालले टियु मैदानमा १५ ओडीआई खेलपछि हार बेहोर्द प्रशिक्षक मोन्टि देशाइको घरेलु ओडीआईको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो ।

नामिबियाका लागि अलराउन्डर जान निकोल लफ्ट इटन र जेजे स्मिटले छैटौं विकेटका लागि ४२ रनको साझेदारी गर्दै जितको आधार तय गरे । स्मिट ३५ बलमा १ चौका र १ छक्कासहित १७ रनमा नटआउट रहे । लफ्ट-इटनले ३० बलमा ५ चौकासहित ३१ रन जोडे ।

नामिबियाका लागि जान फ्रिलिंकले ३४ रन जोडे । उनी २१ औं ओभरमा सोमपालको बलमा क्याच आउट भएका थिए ।

ओपनरद्वय निको डाभीन १५ रन र माइकल भान लिंगेनले ३३ बलमा २३ रन जोडे । दुवैलाई ललित राजवंशीले आउट गरे ।कप्तान एरास्मस ८ रन बनाएर सोमपालको बलमा क्याच आउट भए । उनी आउट भएको ३ बलपछि नै फ्रिलिंक आउट भएका थिए ।

२५ औं ओभरमा जेन ग्रीन आउट भएपछि नेपालले खेलमा फर्कने संकेत पाएको थियो । सोमपालले लगातार ३ विकेट लिँदै ८१-२ बाट ८४-५ को स्थितिमा पुर्याएपछि नामिबिया दबाबमा थियो । तर स्मिट र लफ्ट इटनले टोलीलाई जितसम्म पुर्याए ।

त्यसअघि नेपालले ४१.१ ओभरमा अलआउट हुँदै १ सय ३२ रन मात्र जोड्न सक्यो । घरेलु मैदानमा नेपालले ओडीआईमा जोडेको यो सबैभन्दा कमजोर योगफल हो । यसअघि नेपालले ओमान र यूएईविरुद्ध दोस्रो इनिङमा १ सय ७९ रन बनाएको थियो । पहिलो इनिङमा भने २०२० मा अमेरिकाविरुद्ध १ सय ९० सबैभन्दा कम थियो ।

कमजोर सुरुवात गरेको नेपाललाई मध्यक्रममा भीम सार्कीको ब्याटिङले उकासेको थियो । २१ रनमा शीर्ष ४ ब्याटरको साथ गुमाएपछि नेपाल दबाबमा परेको थियो । भीमले ८६ बलमा ४४ रन जोड्दै नेपाललाई सम्मानजनक योगफलसम्म पुर्याए ।

नामिबियाका लागि कप्तान तथा स्पिनर गेर्हार्ड एरास्मसले मध्यक्रमको ५ विकेट लिएर नेपाललाई समस्या दिए । त्यसअघि तीव्र गतिका बलरद्वय रुबेन ट्रम्पलम्यान र ज्याक ब्रेसलले २-२ विकेट लिँदै नेपालको शीर्षक्रम धराशायी पारेका थिए ।

ओपनर कुशल भुर्तेल खेलको पहिलो बलमा स्लिपमा रहेका जेजे स्मिटको हातबाट समातिए । उनी रोयल डक (खेलको पहिलो बलमा विकेट) आउट भए । रुबेन ट्रम्पलम्यानले फालेको वाइड बललाई पछ्याउने क्रममा कुशल एज लाग्दै क्याच आउट भएका थिए ।

ट्रम्पलम्यानले अर्को ओभरको पहिलो बलमा अनिललाई एलबीडब्लु धरापमा पारे । अनिलले ६ बलमा २ चौकासहित ८ रन जोडे ।

लगत्तै अर्को ओभरमा आसिफ शेख ज्याक ब्रेसलको बलमा सिल्ली मिड अनमा क्याच आउट भए । आसिफले ११ बलमा १ चौकासहित ४ रन बनाए । उनी आउट हुँदा नेपाल १३-३ को स्थितिमा थियो । रोहित पौडेल ब्रेसलकै बलमा प्लेड अन भएपछि नेपाल २१-४ को स्थितिमा पुग्यो ।

त्यसपछि भीम र कुशल मल्लले ४६ रनको साझेदारी गर्दै इनिङ सम्हाल्ने प्रयास गरे । तर कुशल गेर्हार्ड एरास्मसको बलमा क्याच आउट भएपछि विकेट पतन सुरु भयो । उनले २२ बलमा १ चौका र १ छक्कासहित १५ रन जोडे ।

लगत्तै एरास्मसको अर्को ओभरमा सोमपाल फुल टस बललाई आक्रमण गर्ने धुनमा मिड विकेटमा क्याच आउट भए । एरास्मसले २८ औं ओभरमा भीमलाई एलबीडब्लु धरापमा पारेसँगै नेपाल ९४-७ को अवस्थामा पुग्यो ।

३२ औं ओभरमा गुलशनलाई एरास्मसले बोल्ड गरे । उनले ३१ बलमा २१ रन बनाए । ३६ औं ओभरमा पवन सर्राफ १२ रन जोड्दै क्याच आउट भए ।

एरास्मसले ४२ औं ओभरको पहिलो बलमा करणलाई एलबीडब्लु धरापमा पारे । अन्तिम स्पेलको लागि आएका उनले पहिलो बलमै करणको विकेट लिएका थिए । करणले ३८ बलमा ३ चौकासहित १६ रन जोडे । ललित ११ बलमा खाता नखोली नटआउट रहे ।

नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

बेन्च : सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख

नामिबियाको टोली : जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि-इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज

बेन्च : जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो, सन फौसी

March 15, 2025

थन्डर ११ इन्डो- नेपाल टि ट्वान्टीको फाइनलमा

हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २‌ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]

March 15, 2025

मधेशलाई आइजिपी कप क्रिकेट उपाधि

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गर्दै मधेश प्रदेश प्रहरी कार्यालयले प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मधेशले शनिवारको‌ भएको फाइनलमा लुम्बिनीलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो । लुम्बिनीका […]

March 15, 2025

तृतको शतकमा आर्मीको लगातार चौथो जित

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]

Success

Thank you for your time.