1 year ago
February 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर भीम सार्कीले शतक बनाएपछि नेपालले तेस्रो खेल ९ विकेटले जित्दै क्यानडाविरुद्ध ओडीआई सिरिज क्लिनस्विप गरेको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार क्यानडाले प्रस्तुत गरेको २ सय ३३ रनको लक्ष्य नेपालले ४५ औं ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । अनिल र भीमको शतकीय इनिङसँगै कीर्तिमानी साझेदारीमा नेपालले सहज जित दर्ता गरेको हो । यसअघि पहिलो खेल ७ रन र दोस्रो खेल ४ विकेटले जितेको नेपालले ३-० ले सिरिज क्लिनस्विप गर्यो ।
अघिल्लो खेलमा अर्धशतक बनाएका अनिलले १ सय १२ रनको योगदान दिँदा भीम पनि १ सय १ रनमा नटआउट रहे । नेपालका लागि ओडीआईमा दुई खेलाडीले शतक प्रहार गरेको यो पहिलो अवसर हो । अनिलले १ सय २४ बलमा १२ चौका र २ छक्का प्रहार गरे । भीमले १ सय २९ बलमा ११ चौका र १ छक्का जोडेका थिए ।
अनिल र भीमले ओडीआई क्रिकेटमा नेपालका लागि सबैभन्दा ठूलो साझेदारी पनि बनाए । दोस्रो विकेटका लागि यी दुईले १ सय ८९ रनको साझेदारी गरे । यसअघि सन् २०२३ मा कुशल भुर्तेल र आसिफ शेखले जिम्बावेविरुद्ध १ सय ७१ रनको साझेदारी गरेका थिए ।
नेपालबाट ओडीआईमा शतक पूरा गर्ने अनिल सातौं र भीम आठौं खेलाडी बने । अनिल शतक प्रहार गर्ने दोस्रो विकेटकिपर समेत हुन् । नेपालका लागि यसअघि रोहित पौडेल (१२६), पारस खड्का (११५), कुशल भुर्तेल (११५), आसिफ शेख (११०), कुशल मल्ल (१०८) र दीपेन्द्रसिंह ऐरी (१०५) ले शतक बनाएका थिए ।
अनिलले आफूले सामना गरेको सुरुवाती ४ बलमा लगातार चौका प्रहार गरेका थिए । इनिङको दोस्रो ओभरमा उदय भगवानलाई आक्रमण गर्दै उनले आफ्नो लयलाई निरन्तरता दिएका थिए । उनले ५१ बलमा अर्धशतक पूरा गरेका थिए ।
पाँचौ ओभरमा ओपनर कुशल भुर्तेल आउट भएपछि अनिलले आफ्नो गतिमा ब्रेक लगाउनुपरेको थियो । अनिल र कुशलले पहिलो विकेटका लागि ४५ रन जोडेका थिए । कुशलले १४ बलमा ३ चौकासहित १३ रनको योगदान दिए । उनलाई डिलोन हेलिगरले बोल्ड गरेका थिए ।
त्यसअघि टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३२ रन जोड्यो । नवनित धलिवलको अर्धशतकसँगै निखिल दत्त र कप्तान साद बिन जफरले क्यानडालाई सामान्य स्कोरसम्म पुर्याएका थिए । नेपालले आजको खेल जिते तीन खेलको सिरिज क्लिनस्विप गर्नेछ ।
धलिवलले ५० रन जोड्दा निखिल दत्त ४५ रनमा रनआउट भए । कप्तान सादले अन्त्यतिर १५ बलमा आक्रामक ३१ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरेपछि क्यानडाले स्कोरमा सुधार गरेको थियो । नेपालका लागि डेब्यु गरिरहेका हेमन्त धामीले ३ विकेट लिए ।
ओपनर आरोन जोन्सन ४ रन जोड्दै डेब्यु गरिरहेको हेमन्तको शिकार बनेका थिए । ठूलो सट खेल्ने धुनमा एज लाग्दै उनी थर्ड म्यानमा देवको हातबाट समातिए । दोस्रो विकेटका लागि ओपनर नवनित धलिवल र श्रीमन्थ विजयरत्नेले ४८ रनको साझेदारी गरे । विजयरत्ने २२ रन जोड्दै आकाश चन्दको शिकार बनेपछि क्यानडा ५५-२ मा पुगेको थियो ।
निकोलस किर्तन ३ रन जोड्दै कुशल मल्लको बलमा क्याच आउट भए । ओपनर नवनित धलिवल अर्धशतक पूरा गर्नेबितिक्कै क्याच आउट भएपछि क्यानडा १०१-४ को स्थितिमा पुग्यो । २७ औं ओभरमा आउट भएका उनले ८२ बलमा ५ चौकासहित ५० रन जोडे ।
हर्ष ठाकर २९ रन जोड्दै कुशल मल्लकै एलबीडब्लु धरापमा परे । उनले ४८ बलमा १ छक्कसहित २८ रनको योगदान दिए । निखिल दत्त र हर्षले छैटौं विकेटका लागि ५४ रनको साझेदारी गर्दै रनगति बढाएका थिए ।
विकेटकिपर श्रेयस मोभाले २९ बलमा १ चौकासहित २५ रन जोडे । उनी हेमन्तको बलमा क्याच आउट भए । निखिल दत्त ४५ रन जोड्दै रनआउट भए । ६२ बलको सामना गर्दै २ चौका र १ छक्का प्रहार गरेका उनी दोस्रो रन जोड्ने क्रममा रनआउट भएका थिए ।
डिलोन हेलिगर ४ रन जोड्दै हेमन्तकै बलमा क्याच आउट भए । हेमन्तले ३ विकेट लिँदा कुशल मल्लले २ तथा ललित राजवंशी र आकाश चन्दले १-१ विकेट हात पारे ।
नेपालले आजको खेलमा ४ परिवर्तन गरेको थियो । पछिल्लो खेलबाट सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेख टोलीबाट बाहिर हुँदा आरिफ शेख, ललित नारायण राजवंशी र कुशल भुर्तेल टोलीमा फर्किए । हेमन्तले डेब्यु गरे ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी, कुशल भुर्तेल, ललित नारायण राजवंशी, भीम सार्की
बेन्च : सुर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी, आसिफ शेख
क्यानडाको प्लेइङ ११ : आरोन जोन्सन, नवानित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जाफर (कप्तान), श्रेयास मोभा, उदय भगवान सिंह, श्रीमन्थ विजयरत्ने, डिलोन हेलीगर, निखिल दत्त
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]