1 year ago
January 21, 2024
सुबास हुमागाईं, काठमाडौं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि अबको केहि महिना निकै व्यस्त तालिका छ । आइसीसी विश्वकप लिग २ को नयाँ संस्करण सुरुवातसँगै नेपालले द्विपक्षीय सिरिज लगायत टि२० क्रिकेट विश्वकप नै खेल्दैछ । टोलीमा यो समय स्पिनरको खोजी भइरहेको छ ।
टोलीमा नियमित लेग स्पिनर सन्दीप लामिछानेको अनुपस्थिति रहने भएसँगै अब घरेलु क्रिकेटबाट स्पिनरको स्थान पूर्ति गर्नुपर्ने अवस्था छ । टोलीमा अफ स्पिनरको भूमिका दीपेन्द्र सिंह ऐरीले लामो समयदेखि पूरा गर्दै आएका छन् । त्यस्तै बायाँ हाते स्पिनरमा ललित नारायण राजवंशी छन् । ललितसँगै सूर्य तामाङ र सागर ढकाल पनि बायाँ हाते विकल्पमा छन् । तर लेग स्पिनरको विकल्प भने पर्याप्त छैन ।
प्रशिक्षक मोन्टी देशाइले यसअघि मौसम ढकाललाई सन्दीपको विकल्पको रुपमा हेरेका थिए । तर मौसमबाट अपेक्षा अनुसार प्रदर्शन आउन सकेको छैन । घरेलु क्रिकेटमा पनि खासै नजमेका मौसमलाई नेटमा पनि निकै समय दिइएको थियो । तर उनले त्यो स्थान आफ्नै बनाउन आवश्यक पर्ने प्रदर्शन दिन सकेका छैनन् ।
जारी प्रधानमन्त्री कपकै प्रदर्शन हेर्ने हो भनेपनि मौसमको प्रदर्शन निकै कमजोर छ । ३ खेलमा उनले ४ विकेट मात्र लिएका छन् भने प्रति ओभर झन्डै ५ रन खर्चेका छन् ।
प्रधानमन्त्री कपमा बायाँ हाते स्पिनर नै हावी भएका देखिन्छन् । हालसम्म सर्वाधिक विकेट लिने सूचीमा बागमतीका सूर्य तामाङले १९, आर्मीका साहब आलमले १२ तथा मधेशका रंजित कुमारले ११ विकेट लिएका छन् । १० विकेटभन्दा बढी लिने तीनै खेलाडी बायाँ हाते स्पिनर हुन् ।
नेपाल यू-१९ टोलीमा रहेका १९ वर्षीय तिलक राज भण्डारी अर्को विकल्पका रुपमा छन् । घरेलु क्रिकेटमा बागमती प्रदेशका लागि खेल्दै आएका उनले यू-१९ विश्वकपमा आफूलाई प्रमाणित गरे राष्ट्रिय टोलीको ढोका पनि खुल्ने सम्भावना छ । यसका लागि उनले नेपाल ए टोलीमार्फत आफूलाई प्रमाणित गर्न पनि सक्छन् ।
नेपाल यू-१९ टोलीमै सुभाष भण्डारी र दीपेश कँडेल पनि स्पिनरको रुपमा छन् । सुभाषले बायाँ हाते स्पिनमार्फत रन गतिमा रोक लगाउने क्षमता राख्छन् । उनले गण्डकी प्रदेशको सिनियर टोलीबाट पनि नियमित खेल्दै आएका छन् ।
दीपेश कँडेलले यू-१९ मा प्रभावशाली प्रदर्शन गरेका छन् । कोशी प्रदेशको मुख्य खेलाडी रहेका उनी हाल नेपालमा नहुँदा टोलीको नतिजामा असर परेको प्रदेश कप्तान अंकित सुवेदीले पनि स्वीकारेका छन् । तर बायाँ हाते विकल्प धेरै हुँदा दीपेशले सिनियर टोलीसम्म आउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
दायाँ हाते स्पिनरको रुपमा अर्को विकल्प सुदूरपश्चिमका शेर मल्ल पनि छन् । नेपालको यू-१९ टोलीबाट प्रभाव जमाएका उनले सुदूरपश्चिमका लागि पनि पिएम कपमा राम्रो प्रदर्शन गरेका छन् । भैरहवाको पिचमा ३ खेल खेल्दै ९ विकेट लिएका उनी ब्याटिङमा पनि योगदान दिन सक्छन् ।
त्यसो त ओपनर कुशल भुर्तेलले पनि आफ्नो लेग स्पिनमा पछिल्लो समय थप ध्यान दिएका छन् । अष्ट्रेलियाबाट फर्केलगत्तै पिएम कपमा कोशीविरुद्ध उत्रिएका उनले पहिलो खेलमै बलिङ गर्दै विकेट पनि लिए । उनी खेलपछि मैदानमा अभ्यास गर्दै लेग स्पिनमा मिहिनेत गरिरहेका थिए । प्रशिक्षक देशाइकै आग्रहमा उनले पार्ट टाइम स्पिन गर्न मिहिनेत गरिरहेका छन् ।
नेपालले पिएम कप समापन भएलगत्तै क्यानाडाको ए टोलीसँग सिरिज खेल्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै क्यानाडासँगै एकदिवसीय सिरिज पनि हुनेछ । फेब्रुअरी तेस्रो साता सुरु हुने लिग २ को पहिलो सिरिजअघि क्यानडा ए विरुद्धको खेलबाट प्रशिक्षक देशाइले नेपालको स्पिन बलिङ आक्रमणको परिक्षा पनि गर्न पाउनेछन् ।
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला टोलीकी अलराउण्डर पुजा महतोले यामाह स्कुटर जितेकी छिन् । शुक्रवार सम्पन्न त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा उत्कृष्ट नेपाली खेलाडीले पाउने यामाह स्कुटर पुजा महतोले पाएकी हुन् । पुजाले सिरिजका ६ खेलमा १ सय ३४ रन बनाइन् । पुजाको नाममा ३ विकेट लिइन् । पुजा नेपालको लागि सर्वाधिक रनकर्ताको शीर्ष स्थानमा […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको उपाधि जितेको छ । अन्तिम खेलमा शुक्रवार नेपाललाई ७ विकेटले पराजित गर्दै थाइल्याण्डले सिरिजको जितेको छ । सिरिजमा खेलेको ६ मध्ये ५ खेलमा जित हात पार्दै १० अंकका साथ थाइल्याण्ड च्याम्पियन बन्यो । नेपालले सिरिजमा सबै ६ खेल हार्यो । ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले […]
February 7, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको अन्तिम खेलमा थाइल्याण्डविरुद्ध नेपाल सामान्य योगफलमा समेटिएको थियो । जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८१ रन मात्र जोड्न सक्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा १ चौका प्रहार गरिन् […]