default_image

2 years ago

February 14, 2023

कुशलको शतकमा नेपालको ऐतिहासिक जित

324 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेलको शतकमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको छ । यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठूलो योगफल हो ।

जितको लागि २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि ओडिआईमा पूरा गरेको सर्वाधिक उच्च योगफल २०१९ मा युएईविरुद्ध तेस्रो खेलमा २ सय ५५ रनको विजयी लक्ष्य ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो ।

नेपालको जितमा ओपनर कुशल भुर्तेल १ सय १३ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनमा आउट भए । कुशल जितको लागि तीन रन आवश्यक हुँदा कभरमा क्याच आउट हुन पुगेका थिए । करण केसी १२ बलमा १ चौका र २ छक्कासहित २० रनमा अविजित रहे । सोमपाल कामीले विजयी चौका प्रहार गरे ।

कुशलले ९९ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक पूरा गरेका थिए । कुशल नेपाली ओडिआईमा ओपनरको रुपमा शतक हान्ने पहिलो क्रिकेटर हुन् । ओडिआईमा नेपालबाट शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन् । यसअघि नेपालबाट रोहित पौडेल, पारस खड्का र दीपेन्द्रसिंह ऐरीले शतक हानेका थिए ।

कुशल टि२० आई र ओडिआई दुबैमा शतक हान्ने नेपालको तेस्रो खेलाडी हुन् । कुशलअघि पारस खड्का र दीपेन्द्रसिंह ऐरीले ओडिआई र टि२० आई दुबैमा शतक हानेका थिए । कप्तान रोहित पौडेल ७६ बलमा ७ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । तेस्रो विकेटका लागि रोहित र कुशलले १ सय ३३ रनको शतकीय कीर्तिमानी साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

ओडिआईमा नेपालबाट बनेको उच्च साझेदारी हो । यसअघि उच्च साझेदारी २०२२ मार्चमा दीपेन्द्रसिंह ऐरी र देव खनालले पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि नै १ सय २९ रनको गरेका थिए । कप्तान रोहितले दुई जीवनदान थिए । रोहितले २० औं ओभरको अन्तिम बलमा ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । नामिबियाका फिल्डरले कभरमा क्याच छोड्न पुगेका थिए । रोहितले ३९ रनमा पुनः जीवनदान पाएका थिए । डिप मिडविकेटमा रोहितको सहज क्याच लो ह्यान्डी लरेन्सले छाडेका थिए ।

नेपालले दोस्रो ओभरमै ओपनर आसिफ शेखलाई गुमाएको थियो । दोस्रो ओभरको पाँचौं बलमा स्पिनर बेनार्ड शोल्टजले आसिफ शेखलाई शून्यमा बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ५० रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्ल २५ रनमा जान निकोल लोेफ्टी इओटनले एलबीडब्लू आउट गरेका थिए । कुशल मल्ल ६ रनमा ट्रम्पलम्यानको बलमा बोल्ड आउट भए ।

सन्दीप जोरा २४ बलमा ३ चौका र १ छक्कासहित २८ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए । नामिबियाका रुबेन ट्रम्पलम्यानले १० ओभरमा ४८ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नामिबियाका जेन निकोलले ५.४ ओभरमा ५४ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा २ सय ८५ रनमा अल आउट भएको थियो । नामिबियाका माइकल भान लिंगेनले १ सय ३७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३३ रनको कीर्तिमानी इनिङ खेलेपनि टोलीको हार भने टार्न सकेनन् । उनको यो लगातार शतक हो । दुबै शतक नेपालविरुद्ध हानेका छन् ।

यसअघि नेपालविरुद्ध नै डिसेम्बरमा आफ्नो करिअरको सर्वाधिक १ सय २१ रनको शतकीय इनिङ खेलेका थिए । जुन नेपालविरुद्ध विपक्षी कुनैपनि ब्याटरले ओडिआईमा हानेको उच्च योगफल थियो । उनी नामिबियाबाट ओडिआईमा लगातार दोस्रो शतक हान्ने पहिलो खेलाडी हुन् ।

उनी नामिबियाबाट एक खेलमा ओडिआईमा सर्वाधिक रन हान्ने दोस्रो खेलाडी हुन् । नामिबियाका जेपी कोट्जेले २०१९ मा अमेरिकाविरुद्ध १ सय ३६ रनको इनिङ् खेलेका थिए । माइकलले १ सय १८ बलमा आफ्नो ओडिआई करिअरको तेस्रो शतक प्रहार गरेका थिए । माइकल करण केसीको बलमा डिप मिडविकेटमाथि छक्का हान्ने धुनमा ४७ औं ओभरको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका थिए ।

कप्तान जेरार्ड इरास्मस ७९ बलमा २ चौका र ३ छक्कासहित ५६ रनमा क्याच आउट भएका थिए । तेस्रो विकेटका लागि जेरार्ड र लिंगेनले १ सय २४ रनको सानदार शतकीय साझेदारी गरेपछि बलियो योगफलमा पुगेको थियो । कुशल मल्लले ३७ औं ओभरको पहिलो बलमा जेरार्डलाई सन्दीपबाट क्याच गराउँदै शतकीय साझेदारी तोडेका थिए ।

माइकलले ब्यक्तिगत ५६ रनमा जीवनदान पाएका थिए । स्पिनर कुशल मल्लको २६ औं ओभरको अन्तिम बलमा रोहित पौडेलले मिडअनमा माइकलको क्याच छाडेका ५६ रनमा क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर सोमपाल कामीले चोभार एण्डबाट बलिङ गर्दै तेस्रो ओभरको पाँचौं बलमा ओपनर लो ह्यान्डरे लरेन्सलाई ५ रनमा बोल्ड आउट गरेका थिए । त्यसअघि सोमपालले इनिङको पहिलो बलनै नो फ्याँलेका थिए । स्पिनर सन्दीप लामिछानेले ११ औं ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टकलाई १३ रनमा बोल्ड आउट गर्दै पूनरागमन गरेका थिए ।

चोभार एन्डबाट आएका सन्दीपले आफ्नो स्पेलको दोस्रो बलमै विकेट लिँदै साझेदारी तोडेका थिए । सन्दीपले बलात्कार आरोप लागेपछि गत भदौपछि नेपाली टोलीमा पूनरागमन गरेका हुन् । जान निकोल लोफ्टी ८ र ज्यान फ्रिलिंक १३ रनमा आउट भए । जेन ग्रिनले १९ बलमा ४ चौका र १ छक्कासहित ३४ रन बनाए ।

करण केसीले १० ओभरमा १ मेडन खर्चेर ६१ रन खर्चेर ५ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ९ ओभरमा १ मेडनसहित ५६ रन खर्चेर १ विकेट लिए । नेपालले अव दोस्रो खेल शुक्रबार स्कटल्यान्डसँग खेल्नेछ । नेपाल २४ खेलमा ९ मा जित र १४ मा हारका साथ २० अंक जोड्दै छैटौं स्थानमा छ ।

February 5, 2025

नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – नेपालले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालकी कप्तान इन्दु बर्माले टस जितेर ब्याटिङ रोजेको हो । नेपाली टोलीमा १ परिवर्तन भएको छ । मंगलवार थाइल्याण्डसँगको खेलमा खेलेकी अलिशा कुमारी यादवको स्थानमा सिता राना मगरले मौका पाएकी छिन् । दुवै टोली सिरिजमा तेस्रो […]

February 5, 2025

मोन्टिको सुखद सुरुवात, अनि अकस्मात बहिर्गमन!

भुपेन्द्र जि.सी. नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता सामाजिक सञ्जाल मार्फत सिनियर पुरुष टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाईलाई धन्यावाद दिँदै बिदाइ गर्यो । नेपाली क्रिकेटलाई पछ्याउने सबै समर्थक र शुभचिन्तकका लागि उक्त घोषणा आश्चर्यको विषय थियो । किनभने उनले दुई वर्षमा दिएको नतिजाले सम्झौता नविकरण सहजै हुने धेरैको अनुमान थियो । मोन्टीको प्रशिक्षणमा नेपालले […]

February 5, 2025

पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेपाल पहिलो जितको खोजीमा नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल बुधवार दिउँसो १२ः१५ बजे सुरु हुनेछ । दुवै टोली सिरिजमा तेस्रो पटक आमने सामने हुदैछन् । नेपाललाई पहिलो र दोस्रो भेटमा नेदरल्याण्ड्सले पराजित गरेको थियो । यस सिरिजमा भने दुवै टोलीको यो पाँचौ खेल […]

Success

Thank you for your time.