2 years ago
January 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा नेपाल टि२० लिग मंगलबार निकै चर्चामा रह्यो । नेपाल टि२० लिगमा बिहान काठमाडौं नाइट्स र विराटनगर सुपर किंग्सबीच प्रतिस्पर्धा हुनुपर्ने थियो ।
खेल बिहान ९ बजे र टस ८:३० बजे हुनुपर्ने थियो । फ्रेन्चाइज टिमका मालिकहरुले पूर्व सहमति अनुसार खेलाडीहरुलाई पैसा नदिएपछि खेल समयमा सुरु हुन सकेन । पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार्स बाहेक अन्य चार टोलीले खेलाडीलाई कत्ति पनि रकम दिएका छैनन् । त्यसैले बिहान खेलाडीले टसको लागि कागज नै लिन नमानेपछि विवाद थप चुलिएको थियो ।
क्यान पदाधिकारी र खेलाडीबीच लामो छलफलपछि खेल दुई घण्टा ढिलो सुरु हुने सहमति भयो । खेल ९–९ ओभरको भयो । मंगलबार रातीसम्म पैसा पाउने आश्वासन पाएपछि खेलाडी खेल्न तयार भए । खेलाडी खेल त खेले । तर मैदानमा मलिन अनुहारमा उत्रिएका खेलाडीको शारीरिक हाउभाउ सामान्य थिएन ।
मंगलबार आयोजनाको जिम्मा पाएको सेभेन थ्री स्पोर्ट्सका संस्थापक जतिन भारतमा पुगिसकेका थिए । सोमबार मध्यरातसम्म सम्पर्कमा नरहेका जतिन मंगलबार बिहान भने सम्पर्कमा आएको दाबी क्यानले गरेको छ । पत्रकार सम्मेलन गर्दै जानकारी दिने आश्वासन दिएपनि क्यान पदाधिकारी मिडियासामु उपस्थित हुन सकेनन् ।
यसअघि निजी क्षेत्रीबाट वर्षमा तीन फ्रेन्चाइज लिग (इपिएल, पिपिएल र डिपिएल) भएपनि खेल रोकिने अवस्था कहिल्यै आएको थिएन । तर यो विवाद नौलो भने होईन । सुरुवात देखिनै नेपाल टि२० लिगमा आर्थिक पारदर्शीतालाई दिएर बारम्बार प्रश्न उठ्दै आएको थियो । सेभेन थ्री स्पोर्टस नेपाली बजारका लागि नयाँ कम्पनी थियो । हालसम्म यो संस्थाको क्रिकेट प्रतियोगिता वा अन्य केहि कार्यक्रम गरेको इतिहास थिएन ।
यसैपनि विदेशी कम्पनी र लिगमा जोडिएका केहि फ्रेन्चाइज टोलीको नाम बेटिङ कम्पनीसँग जोडिनुले खेल आयोजनामै चिन्ता व्यक्त हुँदै आएको थियो । क्यानले नियम विपरित खुल्ला प्रतिस्पर्धा नै नगरी आयोजना जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । त्यहि कारण क्यानलाई टि २० लिग निल्नु न ओकल्नुको अवस्थामा छ ।
आफ्नो खाडलमा आफैं फस्दै क्यान
क्यानले पहिला सेभेन थ्री स्पोर्ट्सलाई १० वर्षका लागि नेपाल टि२० लिग बेचेको थियो । पहिला कर्मसियल पार्टनर भनेको थियो । तर अहिले टियु मैदानमा नेपाल टि२० लिग भइरहँदा मुख्य आयोजक नै कम्पनी जस्तो देखिन्छ । चौतर्फी आलोचनापछि सेभेन थ्री स्पोर्ट्सलाई दिने सम्झौता क्यानको बोर्ठ बैठकले रद्द गर्यो ।
गत वर्ष साधारण सभादेखि ८ वर्षलाई ३३ करोड रुपैयाँमा बेच्यो । क्यानको एक पक्षले लगातार आलोचना गरेपनि बहुमतका आधारमा पेलेर नै क्यान अघि बढ्यो । खुल्ला प्रतिस्पर्धा विना नै सेभेन थ्री स्पोर्ट्सलाई दिएको भन्दै क्यानमाथि धेरै प्रश्नहरु उठे । इपिएल संस्थापक आमिर अख्तरले सर्वोच्चमा मुद्दा नै दायर गरे ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अन्यले भन्दा धेरै पैसा दिएको हुदाँ सेभेन थ्रीलाई जिम्मेवारी दिएको बताए । जुन नेपाली क्रिकेटको भलाईमानै रहेको दाबी गरे । नेपालकै उत्कृष्ट लिग गर्ने दाबी गरे । तर अहिले प्रतियोगिता सामान्य प्रतियोगिता भन्दा कम महत्त्वका साथ भइरहेको छ ।
गत जेठमा क्यानले प्रतियोगिता मिति नै सार्वजनिक गर्यो । आर्थिक पारदर्शीता लिएर गरेको प्रश्नमा क्यानका अध्यक्ष चन्द र नेपाल टि२० गर्भनिङ काउन्सिलका अध्यक्ष प्रशान्त विक्रम मल्लले त्यस्तो कुनै समस्या नहुने दाबी गरे । खेलाडी र क्यानले प्रतियोगिता अघिल्लो दिनसम्म खातामा पैसा पठाउने बताएका थिए ।
प्रतियोगिता ३४ मध्ये २२ खेल सकिँदा पोखरा र लुम्बिनी अल स्टार्सका खेलाडीले केहि प्रतिशत रकम पाएका छन् । क्यानले पाउनु पर्ने ४ करोड मध्य १ करोड २० लाख मात्रै पाएको छ । अन्य चार टोलीका खेलाडीले भने पैसा नै पाउन सकेका छैनन् । फार वेस्ट युनाइटेड र काठमाडौं नाइट्सको त मालिक नै पहिचान गर्न मुश्किल छ ।
केहि नेपाली र विदेशी खेलाडीको प्रदर्शनलाई भने शंकाको घेरामा हेरिएको छ । प्रतियोगिता तीन पटक सर्यो । प्रतियोगिता पुस ७ देखि सुरु हुनुपर्ने थियो । तर तयारी नपुगेको कारण एकदिन पछि सर्यो ।
प्रतियोगिता अघिल्लो दिनसम्म क्याानका अध्यक्ष चन्दले खेलाडीले समयमै पैसा पाउने दाबी गरे । सुरुवाती दुई दिन बैंक बन्द हुँदा नआएको बताएका थिए । तर त्यसपछि कुनै बहाना बाँकी रहेन । प्रतियोगिता विवादित मात्रै बनेन नेपाली क्रिकेटकै इज्जत गुम्ने अवस्थामा पुग्यो ।
फिक्सिङको चर्चा
यस प्रतियोगिता सबैभन्दा ठूलो चिन्ता भनेकै फिक्सिङ थियो । नतिजा हेर्दा पनि शंका गर्न सकिन्छ । खेलाडीहरुलाई प्रस्ताव समेत आएको आधिकारीक रुपमै पुष्टि भएको छ । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको बताए ।
‘हाम्रो टिमको एक खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव आएको थियो । हामी नियम अनुसार त्यो एसियुलाई भनेका थियौं । प्रस्ताव र फिक्सिङ फरक हो । प्रस्ताव गर्यो भन्दैमा सबैले गर्छ भन्ने हुँदैन । प्रस्ताव जो र जसले जसरी पनि गर्न सक्छ । हामीले रिपोर्ट गरेका छौं । एसियुले हेरिसकेको छ’, मंगलबार ज्ञानेन्द्रले खेलपछि भने ।
एन्टी करप्सन युनिट (एसियु) ले यस विषयमा अनुसन्धान गरिरहेको छ । प्रमाण पाएमा एसियुले आइसिसीलाई प्रतिबन्धको लागि सिफारिस गर्नेछ ।
विराटनरले नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर वेस्ट इन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको थियो । पछिल्ला दुई खेलमा भने आन्द्रे बाहिर रहँदा रोहितले कप्तानी गरेका छन् । राजा दुई खेल खेलेर विना पारिश्रमिक पाकिस्तान फर्किएका छन् ।
जनकपुरले सोमपाल कामी, विदेशी केज्रिक विलियम्स र चाडविक वाल्टनजस्ता स्टारलाई छाडेर वेस्टइन्डिजकै ट्रेभोन ग्रिफिथलाई कप्तानी दियो । ग्रिफिथले वेस्टइन्डिजबाट एउटा पनि खेल खेलेका छैनन् । सामान्यतयता यो स्तरमा खेल्न यी दुवै खेलाडीलाई कठिन पर्छ । कप्तानी त धेरै टाढाको विषय थियो । यी मात्र होइन अन्य विदेशी खेलाडीको प्रदर्शन पनि शंकास्पद छन् ।
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) खेल मिलेमतो देखि सधैं टाढा रहँदै आएको छ । यदि खेल फिक्सिङ भएको प्रमाण भेटिएमा खेलाडीलाई प्रतिबन्ध लाग्नेछ । त्यतिमात्र होइन यदि कसैले खेलाडीलाई फिक्सिङको लागि प्रस्ताव गरेको तर उक्त खेलाडीले त्यो जानकारी एसियुलाई नदिएको भए पनि प्रतिबन्ध लाग्छ ।
सन् २०१९ मा बंगलादेशका सकिब अल हसनलाई बंगलादेश, श्रीलंका र जिम्बावेबीच त्रिकोणात्मक सिरिज तथा आइपिएलको खेलमा म्याच फिक्सिङको अफर आएको थियो । उनले त्यो प्रस्ताव आएको आइसिसीलाई जानकारी नदिएकै कारण एक वर्ष प्रतिबन्ध लागेको थियो ।
अब के हुन्छ ?
खेलाडीले मंगलबार राती सम्म पैसा पाउने आशामा खेलेका छन् । नपाएको खण्डमा बुधबारदेखि नखेल्ने निश्चित देखिन्छ । जतिन भारत गएको हुँदा समयमै पैसा पाउनेमा झिनो आशा छ । खेलाडीले पैसा नपाए बुधबारदेखि भने नखेल्ने देखिन्छ ।
सम्झौता अनुसार ७५ प्रतिशत खेल सकिएपछि त्यसको जिम्मेवारी सेभेन थ्री नै हुनेछ । क्यान कम्तिमा ७५ प्रतिशत खेल सक्न चाहन्छ । त्यसपछि अन्तर्राष्ट्रिय अदालतमै मुद्धा परेपनि क्यान नियम अनुसार बच्न सक्छ । क्यानको ध्यान त्यता पनि हुनसक्छ ।
अनुसन्धान गर्न गृह मन्त्रालयको निर्देशन
नेपाल टि२० लिगमा खेल मिलेमतो (म्याच फिक्सिङ) बारे प्रश्न उठेपछि गृह मन्त्रालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई छानबिनका लागि निर्देशन दिएको छ । यसले लिग झनै विवादमा तानिएको छ ।
पीडामा विदेशी खेलाडी
विदेशी खेलाडीले सोमबार सम्म पैसा नपाए नखेल्ने चेतावनी दिएका थिए । त्यसैको कारण मंगलबार खेल समयमा सुरु भएन । पैसा नपाएपछि विदेशी खेलाडीहरु पनि पीडामा छन् ।
काठमाडौंका लागि उच्च प्रदर्शन गरिरहेका ब्लेकले विराटनगर सुपर किंग्सविरुद्ध जितपछि पैसा नपाएको गुनासो मात्रै गरेनन् भावुक रुपमा प्रस्तुत भए । ‘ हामीले अहिलेसम्म केहि पनि पाएका छैनौं । के भइरहेको छ पनि थाहा छैन । क्रिसमसको समयमा परिवार छोडेर क्रिकेट खेल्न आएका छौं र केहि नपाउँदा चिन्ता लागेको छ । हामीले अब क्रिकेट खेल्ने र के हुन्छ हेर्ने नै हो,’ ब्लेकले भने ।
विराटनगर सुपर किंग्सबाट खेलेका जिम्बावेका स्टार अलराउन्डर सिकन्दर राजा पनि विना प्राश्रमिक पाकिस्तान फर्किएका छन् । अन्य विदेशी खेलाडी पनि फर्किन लागेका छन् ।
संकटमा नेपाली क्रिकेट
नेपालको ओडिआई मान्यता गुम्ने खतरा उच्च छ । लगातार खराब प्रदर्शनपछि नेपाली समर्थक निकै निराश बनेका छन् । ओडिआई गुम्ने खतरासँगै आफ्नो विश्वसनीयता पनि गुमाउने देखिन्छ ।
नेपालका चर्चित खेलाडी तथा पूर्व कप्तान सन्दीप लामिछाने बलात्कार आरोपमा अहिले थुनामा छन् । नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन लगातार कमजोर छ ।
अझ चर्चामा रहेको फिक्सिङ आरोप प्रमाणित भएमा केहि खेलाडीलाई प्रतिबन्ध नै लाग्नेछ । त्यति मात्रै होइन जतिन र मालिक नै सम्पर्कमा आएनन् भने त्यसको जिम्मेवार को हुन्छ? पक्कै पनि क्यान नेतृत्वले नै त्यसको जिम्मेवारी लिनुपर्छ ।
आर्थिक रुपमा मजबुत बनाउन सक्ने आशा गरिएको नेपाल टि२० लिग झनै विवादित बनेको छ । यसले नेपाली क्रिकेटनै संकटमा रहेको देख्न सकिन्छ । सर्वत्र आलोचनाको बाबजुद आफ्नो अपहत्तेले नराम्रोसँग फसेको छ । क्यान मात्रै होइन नेपालको विश्व क्रिकेटमै नराम्रो छवि बन्ने पक्का देखिन्छ । नेपाल टि२० लिगको कारण नेपालको अन्तर्राष्ट्रिय छविमा कस्तो असर पर्ला गम्भीर रुपमा सोच्नु पर्ने देखिन्छ।
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – शुभ कसांकारको अर्धशतकको सहयोगमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट एक्सिलेन्स क्रिकेट सेन्टर(सिइसी) काठमाडौंले पहिलो जित हासिल गरेको छ । बुधवार भएको दिनको पहिलो खेलमा सिइसीले न्यु होराइजन बुटवललाई ६ विकेटले पराजित गरेको हो । न्यु होराइजनले दिएको १ सय १ रनको लक्ष्य सिइसीले १७.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]