default_image

2 years ago

October 10, 2022

टि२० विश्वकप जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली

106 views

0 Bookmark

आइसीसी टि२० विश्वकप विश्व क्रिकेटको टि२० अन्तर्गत सबैभन्दा ठूलो उपाधि मानिन्छ । त्यसैले विश्वका शक्तिशाली देशको नजर टि२० विश्वकपमा हुने गर्दछ । उपाधि होडमा नआउने टोली पनि विश्वकपमा आफूलाई विश्वसामू प्रमाणित गर्न चाहन्छन् । क्रिकेटमा एकदिवसीय र टि२० विश्वकप हुने गर्दछ ।

एकदिवसीय चार र टि२० विश्वकप दुई वर्षको अन्तरमा हुन्छ । सन् २०१६ पछि टि२० विश्वकप चार वर्षको अन्तरमा गर्ने निर्णय गरेपनि आइसिसीले उक्त परिवर्तन गरिसकेको छ । टि२० विश्वकपको आठौं संस्करण १६ अक्टोबरदेखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुँदैछ ।

कोरोना महामारीको कारण २०२१ मा हुनुपर्ने विश्वकप २०२२ मा हुँदैछ । भारतले गतवर्ष युएई र ओमानमा टि२० विश्वकप आयोजना गरेको थियो । सात संस्करण सकिँदा वेस्टइन्डिज मात्र दुइ पटक टि२० विश्वकप जित्ने एक्लो टोली हो । भारत, पाकिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र श्रीलंकाले समान १-१ पटक विश्वकप जितेका छन् । सन् २००७ मा पहिलो पटक टि२० विश्वकप आयोजना गरेको दक्षिण अफ्रिका उपाधिविहीन छ ।

विश्वकप जित्न कुनैपनि टोली उत्कृष्ट हुनुपर्छ । ब्याटिङ, फिल्डिङ, बलिङ, रणनीतिक, मानसिक, परिस्थीति अनुसार खेल्न सक्ने क्षमता, दबाब र उत्कृष्ट कप्तानी लगायत धेरै कुरा मिलेमा मात्र विश्वकप च्याम्पियन बन्नसक्छ । सिमित खेलाडी र बलियो पक्षले मात्र विश्वकप च्याम्पियन बन्न धेरै कठिन पर्छ ।

ठूला नाम भन्दा पनि दबाब र आवश्यक खेलमा प्रदर्शन गर्न सक्ने खेलाडीले नै टोलीलाई च्याम्पियन बनाउन सक्छन् । त्यसैले कागजी रुपमा भन्दा पनि मैदानमा प्रदर्शन गर्ने खेलाडी हुनुपर्छ ।

कुनैपनि टोलीको स्तर पछिल्लो समयको अन्तर्राष्ट्रिय प्रदर्शनबाट अनुमान गर्न सकिन्छ । विश्वकपको लागि सबै टोलीले आफ्नो उत्कृष्ट टोली घोषणा गरेका छन् । सबै टोलीका खेलाडी, पछिल्लो समयको प्रदर्शन, लय, टिम सन्तुलन, कप्तानी लगायत सबै पक्ष हेर्दा २०२२ को टि२० विश्वकप उपाधि जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली यस प्रकार देखिन्छन् ।

५.न्युजिल्यान्ड

न्युजिल्यान्ड विश्व क्रिकेटमा सफल हुनुमा टिम भावना र अनुसाशन प्रमुख कारण हो । कागजी रुपमा स्टार खेलाडी खासै नभएपनि मैदानमा प्रदर्शन अब्बल हुने गर्दछ । पछिल्ला दुई विश्वकपको फाइनल खेलेको न्युजिल्यान्डले गतवर्ष भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको थियो ।

केन विलियम्सन विश्व क्रिकेटका वर्तमान समयका उत्कृष्ट कप्तान हुन् । कुनैपनि टोलीमा स्टार खेलाडी भएर मात्र हुँदैन । त्यो खेलाडीलाई कसरी प्रयोग गर्ने विशेष कप्तानी गुण हुनुपर्छ । विलियम्सन आफैं टोलीका ब्याटिङका खम्बा हुन् । अर्कोतर्फ उनीले आफ्नो खेलाडीलाई सधैं प्रदर्शनमा स्टार बनाउँछन् ।

उनको उत्कृष्ट कप्तानीमा विपक्षी ठूला टोली निराश हुँदै आएका छन् । उत्कृष्ट कप्तानीमा विलियम्सन हारेको खेल जिताउन सक्ने खुबी राख्ने गुण भएका खेलाडी हुन् । गतवर्ष टि२० विश्वकपको फाइनलमा अष्ट्रेलियासँग पराजित भएको न्युजिल्यान्ड यस पटक भने फाइनलमा निराश हुन चाहँदैन ।

न्युजिल्यान्डको मुख्य हतियार तीव्र गतिको बलिङ हो । अष्ट्रेलियामा तीव्र गतिका बलरलाई अझ बढी फाइदा पुग्ने गर्दछ । ट्रेन्ट बोल्ट, टिम साउथी, लोकी फर्गुसन र एडम मिल्न तीव्र गतिका बलर हुन् । बोल्ट स्विङ र गतिका लागि माहिर छन् । फर्गुसनको गतीको चाल पाउन सक्दैन । उनी १ सय ५० प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्दै आएका छन् । यी चार बलरले लगातार खेल्दै आएको अनुभवी पनि छ । दबाबमा राम्रो प्रदर्शन गर्न सक्छन् ।

यता ब्याटिङमा मार्टिन गुप्टिल, विलियम्सन, डेभन कन्वे, ग्लेन फिल्पिस जस्ता स्तरिय ब्याटर छन् । ब्याटिङ पनि मजबुत छ । फिनिसरमा जेम्स निसम रहनेछन् । स्पिनरमा ईश सोधी र मिचेल सान्टनार छन् । युवा विष्फोटक ब्याटर फिन एलेन विश्वलाई नै घातक बन्न सक्छन् ।

अन्य टोलीले लगातार खेलाडी परिवर्तन गर्दछन् । तर न्युजिल्यान्डले एकै टोलीलाई निरन्तर अभ्यास गराउँदै निखार ल्याउने गर्दछ । स्पष्ट रणनीतिमा प्रदर्शन मजबुत हुने गर्दछ ।

अर्कोतर्फ सबै खेलाडी आफ्नो भूमिकामा शतप्रतिशत दिने गर्दछन् । भारत, अष्ट्रेलिया र इंग्ल्यान्ड जस्तो धेरै विकल्प उनीहरुसँग हुँदैन । समग्रमा सन्तुलित टिम, उत्कृष्ट कप्तान, सानदार बलिङ आक्रामण हुँदा न्युजिल्यान्ड पहिलो पटक विश्वकप जित्न सक्छ ।

४. भारत

भारत सन् २००७ पछि पहिलो पटक टि२० विश्वकप जित्न चाहन्छ । रोहित शर्माको कप्तानीमा रहेको भारतको मुख्य विशेषता नै ब्याटिङ हो । भारतको ब्याटिङमा विश्व स्टारको बाहुल्यता छ ।

भारतको ओपनरमा रोहित शर्मा र लोकेश राहुल छन् । यी दुवै सानदार ब्याटिङको लागि चिनिन्छन् । यी दुईले राम्रो सुरुवात दिँदा विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, दीनेश कार्तिक र हार्दिक पान्ड्या जस्ता ब्याटर हुँदा विशाल योगफल सजिलै बनाउन र पूरा गर्नसक्छ ।

सूर्य, हार्दिक, दीनेश र पन्तको खेल्ने शैली विष्फोटक हो । सूर्य २०२२ मा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले २३ खेलमा १ शतक र ६ अर्धशतकसहित कुल ८ सय १ रन बनाएका छन् । स्ट्राइकरेट १८४.५६ छ । उनको लय रोक्न नै विपक्ष्यलाई कठिन पर्नेछ ।

भारत ब्याटरमा सिमित खेलाडीमा निर्भर छैन । खराब सुरुवातको बाबजुद पनि ठूलो योगफलमा पुग्न सक्छ । भारतको तीव्र गतिको बलिङमा अर्शदीपसिंह, भुवनेश्वर कुमार र हर्षल पटेल छन् । जस्प्रित बुमराह र रविन्द्र जडेजा चोटका कारण नहुँदा बलिङमा भने केहि असर परेको छ । अर्शदीपले राम्रो आशा जगाउँदै आएका छन् । स्पिनरमा युजभेन्द्र चहल र आश्विन हुनेछन् ।

टि२० क्रिकेटमा ब्याटिङ धेरै फरक पार्छ । भारतसँग विश्व स्टार म्याच विनर ब्याटर हुँदा विश्वकप च्याम्पियन बन्नसक्छ । अर्कोतर्फ रोहित शर्मा आइपिएलमा सर्वाधिक पाँच पटक उपाधि जित्ने कप्तान हुन् । उनको कप्तानी पनि उत्कृष्ट रहँदै आएको छ । रोहितको कप्तानी र ब्याटिङले भारतको विश्वकप उपाधि खडेरी तोडिन सक्छ ।

३.इंग्ल्यान्ड

इंग्ल्यान्ड सिमित ओभरको क्रिकेटमा सबैभन्दा आक्रामक टोली मानिन्छ । विष्फोटक ब्याटरको बाहुल्यता छ । आक्रामक ब्याटिङ र तीव्र गतिको बलिङ आक्रामणले इंग्ल्यान्ड सन् २०१० पछि पुन च्याम्पियन बन्न सक्छ । अर्कोतर्फ इंग्ल्यान्ड र अष्ट्रेलियाको कन्डिसन धैरै मिल्छ ।

अष्ट्रेलियापछि सबैभन्दा बढी मैदानको कन्डिसनको फाइदा इंग्ल्यान्डले नै उठाउने छ । इंग्ल्यान्डमा जस बटलर, एलेक्स हेल्स, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन र डेविड मलान जस्ता भरपर्दा ब्याटर छन् । लिभिङस्टोन मध्यक्रमका सबैभन्दा विष्फोटक ब्याटरमा पर्दछन् । उनको सट हेर्न जो कोहि समर्थक इच्छुक हुन्छन् ।

जस बटलर कप्तानसँगै म्याच विनर ब्याटर हुन् । उनी खेलको परिस्थिति अनुसार ब्याटिङ गर्दछन् । स्टोक्स ठूला खेलका स्टार अलराउन्डर हुन् । मोईन अली, साम करन, डेविड विल्ली, क्रिस वोक्स र मार्क वुड राम्रो ब्याटिङ गर्दछन् । युवा ब्याटर ह्यारी ब्रुकले पाकिस्तानसँगको सात टि२० आई सिरिजमा सानदार प्रदर्शनका साथ प्लेयर अफ द सिरिज चुनिएका थिए ।

ब्याटिङमा इंग्ल्यान्डको गहिराई छ । कठिन र खराब अवस्थामा पनि इंग्ल्यान्ड आक्रामक ब्याटिङको क्षमता राख्छ ।
इंग्ल्यान्डको तीव्र गतिको बलिङ आक्रामण मजबुछ । मार्क वुड १ सय ५० माथिको गतिमा गर्दै लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।

पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएका रिस टोप्ली र क्रिस जोर्डन डेथ ओभरका बलर हुन् । स्पिनमा आदिल राशिद र मोईन अली छन् । इंग्ल्यान्ड गतवर्ष सेमिफाइनमा न्युजिल्यान्डसँग स्तब्ध भएको थियो । यो पटक त्यो पिडालाई अन्त्य गर्दै च्याम्पियन बन्न सक्छ ।

२.दक्षिण अफ्रिका

दक्षिण अफ्रिका सन्तुलित टोली हो । कप्तान टेम्बा बभुमालाई छाड्ने हो भने अन्य सबै ब्याटर उच्च लयमा छन् । हालसालै विश्वको उत्कृष्ट टोली भारतविरुद्ध डेविड मिलर र राइली रोसोउले सानदार शतक हानेका थिए । मिलरले पछिल्लो समय मध्यक्रममा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।

३५ बलमै टि२० क्रिकेटमा सर्वाधिक छिटो शतक हान्ने कीर्तिमान रोहित शर्मासँग बराबरी गरेका मिलर विपक्षी बलरलाई किलर बन्ने गर्दछन् । क्विन्टन डि ककले भारतविरुद्ध दोस्रो र तेस्रो टि२० आई खेलमा अर्धशतकका साथ लयमा फर्किएका छन् । बभुमाको विकल्पमा रिजा हेन्ड्रिक्स छन् । हेन्ड्रिक्सको टि२० आईमा प्रदर्शन उच्च छ ।

डि कक, राइली रोसोउ, मिलर र एडेन माक्ररम जस्ता ब्याटरले ब्याटिङक्रम मजबुत बनेको छ । मारक्रम मध्यक्रमका सर्वाधिक भरपर्दा ब्याटर हुन् । तल्लोक्रमका ब्याटर ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको आक्रामक शैली झनै मजुबत बनाएका छन् । गत जुलाईमा स्टब्सले २८ बलमा इंग्ल्यान्डविरुद्ध ८ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए ।

उनले मौका पाएको खेलमा आक्रामक ब्याटिङ गर्दै आएका छन् । अर्कोतर्फ डि कक, रोसोउ र मिलर बायाँ हाते ब्याटर हुँदा टिम सन्तुलन र रणनीतिमा अतिरिक्त फाइदा मिल्नेछ । दक्षिण अफ्रिका बलिङ आक्रामण झनै उत्कृष्ट छ । कागिसो रबाडा, एनरिच नोर्किया र लुन्गी एनगिडी जस्ता विश्वस्तरिय बलर छन् ।

रबाडा र नोर्कियाका जोडीले जो कोहि ब्याटरलाई खेल्न मुश्किल पर्दछ । यी दुबैको गति १ सय ५० माथिको हुने गर्दछ । स्पिनरमा महाराज र तबरेज शाम्सी रहनेछन् । सन्तुलित टोली दक्षिण अफ्रिकाले उपाधि जित्न सक्छ ।

१. अष्ट्रेलिया


घरेलु टोली अष्ट्रेलिया उपाधिको सर्वाधिक दाबेदार र बलियो टोली हो । साविक विजेता अष्ट्रेलिया लगातार दुई टि२० विश्वकप जित्ने पहिलो टोली बन्ने धुनमा हुनेछ । अष्ट्रेलियाको टोली ब्याटिङ र बलिङ दुवैमा मजबुत छ । अर्कोतर्फ घरेलु समर्थक र मैदानको फाइदा उठाउँदै उपाधि जित्न सकिन्छ ।

घरेलु समर्थकलाई १२ औं खेलाडी भन्ने गरिन्छ । त्यसको भरपूर्ण फाइदा उठाउनेछ । अष्ट्रेलिया खेलाडीलाई घरेलु मैदान र कन्डिसन राम्रोसँग थाहा हुँदा परिस्थीति अनुसार खेल्न सक्छन् । टिम डेविडको आगमनले अष्ट्रेलियाको ब्याटिङ झनै मजबुत बनेको छ ।

ओपनरमा आरोन फिन्च र डेविड वार्नर हुनेछन् । फिन्चले वेस्टइन्डिजसँगको सिरिजमा क्यामरन ग्रीनलाई मौका दिएका थिए । भारतसँग सिरिजमा विष्फोटक ब्याटिङ गरेका ग्रीन विश्वकप टोलीमा छैनन् । उनी विश्वकप टोलीमा पर्छन् वा पर्दैन सबैभन्दा चाखको विषय बनेको छ ।

ब्याटिङ क्रममा त्यसपछि मिचेल मार्श रहनेछन् । गत वर्ष विश्वकप उपाधि जिताउन मार्श नायक बनेका थिए । मार्शपछि ग्लेन म्याक्सवेल, म्याथ्यु वेड, टिम डेविड र मार्कस स्टोइनिस हुनेछन् । यी चार ब्याटर विष्फोटक ब्याटिङ गर्दछन् । डेविड र वेड उच्च लयमा छन् । म्याक्सवेलको लय राम्रो छैन । तर उनी ठूला प्रतियोगितामा नायक बन्न सक्छन् । तीव्र गतिका बलर प्याट कमिन्स पनि विष्फोटक ब्याटिङबाट खेल मोड्न सक्छन् ।

तीव्र गतिका बलरमा कमिन्स, जोश हेजलवुड र मिचेल स्टार्क छन् । हेजलवुडको प्रदर्शन लगातार सानदार रहँदै आएको छ । विश्वकपमा स्टार्कको प्रदर्शन सधैं उच्च हुने गर्दछन् । उनलाई विश्वकपका खेलाडी पनि भन्ने गरिन्छ । एडम जाम्पा स्पिन हतियार हुन् । टिम सन्तुलन, घरेलु मैदान र समर्थकको फाइदा उठाउने हुँदा उपाधिको प्रमुख दाबेदार देखिन्छ ।

September 7, 2024

स्कटल्याण्डविरुद्ध अस्ट्रेलियाको क्लिनस्विप

एजेन्सी – अस्ट्रेलियाले स्कटल्याण्ड विरुद्धको टि ट्वान्टी आई सिरिजमा क्लिन स्विप गरेको छ । स्कटल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले शनिवार तेस्रो टि ट्वान्टी आई ६ विकेटले जितेपछि सिरिजमा क्लिन स्विप गरेको हो । अस्ट्रेलियाले पहिलो खेल ७ विकेटले र दोस्रो ७० रनले जितेको थियो । स्कटल्याण्डले दिएको १ सय ५० रनको लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ […]

September 7, 2024

क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- अग्रवाल युवा मञ्चले आयोजना गरेको खेल महोत्सव अन्तर्गत क्रिकेटमा काठमाडौं नाइट्स च्याम्पियन बनेको छ। गोल डिगर्सले‌ फुटसलको उपाधि जितेको छ। फुटसलको फाइनलमा गोल डिगर्सले बुल्स एफसीलाई हराएको थियो । अमन अग्रवाल उत्कृष्ट खेलाडी, केतन भिमसरिया उत्कृष्ट गोलरक्षक तथा ७ गोल गरेका ऋतिक अग्रवाल सर्वाधिक गोलकर्ता बने । धन्यन्तरी स्पोर्ट्स हबमा शनिवार भएको […]

September 7, 2024

तेस्रो टेस्टमा इङ्ग्ल्यान्डको मजबुत सुरुवात

एजेन्सी – कप्तान ओली पोपको शतकको सहयोगमा श्रीलंकाविरुद्धको तेस्रो टेस्टमा इङ्ग्ल्यान्डले मजबुत सुरुवात गरेको छ । टेस्ट सिरिज लागि श्रीलंका इङ्ल्ग्यान्ड भ्रमणमा रहेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो दिन शुक्रवारको खेल सकिदा ३ विकेट गुमाएर २ सय २१ रन बनाएको छ । टोलीका लागि यस सिरिजमा कप्तानी सम्हालिरहेका ओली १ […]

Success

Thank you for your time.