2 years ago
September 16, 2022
भुपेन्द्र जिसी, काठमाडौं
आरिफ शेख नेपाली क्रिकेटमा जिम्मेवारी ब्याटिङ अलराउन्डरको रुपमा चिनिन्छन् । नेपाललाई ओडिआई मान्यता दिलाउन सन् २०१८ डिभिजन–२ मा महत्वपूर्ण योगदान दिएका आरिफको टि२० आई प्रदर्शनमा बेला-बेलामा प्रश्न उठ्ने गर्दछ ।
पछिल्लो समय निरन्तर सिनियर टोलीमा पर्दै आएका आरिफको ओडिआई प्रदर्शन राम्रो भएपनि टि२० मा भने सन्तोषजनक रहेको छैन । आरिफ टि२० आई खेल्न आक्रामक नभएको हुँदा मौका दिनु गलत भएको भन्दै आलोचना हुँदै आएको छ । उनको स्ट्राइकरेट र प्रदर्शनले आलोचना गुर्न स्वभाविक नै हो । टि२० मा आक्रामक ब्याटिङ निकै महत्त्वपूर्ण हुन्छ । र त्यो प्रदर्शन आरिफको ब्याटबाट नेपाली क्रिकेटमा कमै देखिन्छ ।
यस साता आरिफले घरेलु टि२० प्रतियोगितामा भने सानदार ब्याटिङ गरेका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई फाइनलमा पुर्याउन आरिफले महत्त्वपूर्ण प्रदर्शन गरे । विहीबार दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाउन आरिफले १५ बलमा ३ चौका र ३ छक्कासहित ३६ रनको सानदार इनिङ खेले ।
उनको उक्त प्रदर्शनमा पुलिसले टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । उक्त विजयी लक्ष्य पछ्याएको एनआरएनएले ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । खेलको प्लेयर अफ द म्याच चुनिएका आरिफको स्ट्राइकरेट २४०.०० थियो ।
आरिफ जारी प्रतियोगितामा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर समेत हुन् । आरिफले लुम्बिनी प्रदेशविरुद्ध २२ बलमा ३ चौका र ४ छक्कासहित २२७.२७ को स्ट्राइकरेटमा ५० रनको अविजित इनिङ खेलेका थिए । आर्मीका कप्तान विनोद भण्डारीले पुलिसविरुद्ध नै २२ बलमा अर्धशतक प्रहार गर्दै बराबरी गरे । कुशल भुर्तेलले २३ बलमा लुम्बिनीविरुद्ध अर्धशतक हानेका थिए ।
समूह चरणको खेलमा पुलिस आर्मीसँग १३ रनले पराजित भयो । तर सोमपाल कामी, साहब आलम, सुशन भारी र जितेन्द्र मुखिया जस्ता नेपाली क्रिकेट टोलीका प्रमुख बलरविरुद्ध आरिफले विष्फोटक ब्याटिङ गरे । जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा आरिफले २४ बलमा १ चौका र ३ छक्कासहित ४० रनमा आउट भए ।
आरिफले लुम्बिनी र आर्मीविरुद्ध पाँचौ र एनआरएनएविरुद्ध चौथो नम्बरमा ब्याटिङ गरेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले आरिफलाई आफूपछि पठाउँदै आएका छन् । यसअघि आरिफले पाँचौदेखि सातौं नम्बरसम्म ब्याटिङ गर्दै आएका थिए ।
नेपाली टोलीमा भने आरिफले छैटौंदेखि तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् । नेपाली टोली र पुलिस दुवैको ब्याटिङमा गहिराइ छ । आरिफलाई पुलिसले फरक भूमिका दिएको छ । त्यो हो आक्रामक ब्याटिङ । आरिफ त्यही आक्रामक ब्याटिङको भूमिका निर्वाह गरेको बताउँछन् ।
‘मेरो मानसिक सोच भन्दा पनि टोलीले एउटा भूमिका दिएको छ । त्यसमा मलाई लाग्छ प्रदर्शन राम्रो भएको छ । फाइनलमा त्यो जिम्मेवारी अर्को पनि हुनसक्छ । टोलीले दिएको भूमिकामा राम्रो गर्ने प्रयास गर्छु’, आरिफले भने ।
आरिफले २६ ओडिआई खेलमा ४ अर्धशतकसहित ४ सय ९२ रन बनाएका छन् । आरिफ जिम्मेवार र म्याच विनर ब्याटर हुन् । जुन गुण पछिल्लो समय युवा खेलाडीमा कमै भेटिन्छ । ३१ टि२० आई खेलमा आरिफले १०६.८६ को स्ट्राइकरेटमा ४ सय ५ रन बनाएका छन् । औसत २१.३१ छ । जुन स्ट्राइकरेट टि२० मा अौसत मात्र मानिन्छ । अझ फिनिसरको लागि यो स्ट्राइक रेट सुहाउँदो छैन ।
तल्लोक्रमका ब्याटरको अधिकांश इनिङ छोटो भएपनि स्ट्राइकरेट बलियो हुनुपर्छ । प्रायजसो तल्लोक्रममा ब्याटिङ विष्फोटक शैलीमा गर्नु पर्छ नै । आरिफ त्यसमा सिनियर टोलीमा चुक्दै आएका छन् । आरिफ कम बल खेल्न पाएको बताउँछन् ।
‘अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगिता दबाब भिन्दै हुन्छ । मलाई त्यस्तो दबाब हुँदैन । टोलीले जुन भूमिका दिएको हुन्छ त्यसमा राम्रो गर्न चाहन्छु’, उनले थपे, ‘म अहिले राम्रो लयमा छु । टोलीले ५–६ ओभर खेल्न पाउँदा पनि छिटो रन बनाउने भूमिका दिएको छ ।’
आरिफको खेल्ने शैलीमा परिवर्तन भएको छ । आरिफ सुरुदेखिनै आक्रामक ब्याटिङ गर्दै विपक्षीलाई दबाब राख्दै आएका छन् । यसअघि उनी आक्रामक भन्दा संयमित ब्याटिङ बढी गर्ने गर्दथे । हुन त ती अधिकांश एकदिवसिय प्रतियोगिता नै थिए । टोलीको इनिङलाई अन्तिमसम्म लग्दै आरिफ जिततर्फ ध्यान दिने गर्दथे । तर यस पटक त उनी विष्फोटक ब्याटरको रुपमा प्रस्तुत भएका छन् । उनको प्रदर्शन साँच्चै तारिफयोग्य छ ।
आरिफ आफ्नो खेल्ने शैलीमा शैली परिवर्तन गरेको बताउँछन् । ‘पक्कैपनि टि२० एउटा छोटो शैलीको खेल हो । टि२० मा समय पनि थोरै हुन्छ । त्यही अनुसार आफ्नो खेल विकास गर्ने प्रयास गर्दै छु । ब्याटिङ गर्ने शैलीमा केहि परिवर्तन पनि गरेको छु’, आरिफले भने ।
आरिफले यसअघि घरेलु क्रिकेटमा २०१९ को पोखरा प्रिमियर लिगमा चितवन राइनोजलाई अपराजित रहँदै च्याम्पियन बनाउन आक्रामक ब्याटिङ गरेका थिए । नेपाली फ्रेन्चाइज लिगमा विदेशी खेलाडी आक्रामक ब्याटिङ हावी हुँदै आएका छन् । आरिफले त्यो प्रतियोगितामा विदेशी खेलाडीमात्र नभएर नेपाली पनि त्यतिनै उत्कृष्ट राम्रो उदाहरण प्रस्तुत गरे ।
प्रतियोगिताभर विष्फोटक ब्याटिङ गरेका आरिफले ६ खेलमा १८५.०५ को स्ट्राइकरेटमा १ सय ६१ रन जोडेका थिए । उक्त प्रतियोगितामा सन्नी पटेलको १९० को स्ट्राइकरेटपछि आरिफको उच्च थियो । नवौं क्रिकेटमा आरिफले ३ खेलमा २०६.५५ को स्ट्राइकरेटमा १ सय २६ रन बनाउँदै सर्वाधिक रन बनाउने ब्याटरको सूचिमा छन् । उनीभन्दा अघि पुलिस कै कुशल भुर्तेल ४ खेलमा १५६.९७ को स्ट्राइकरेटमा १ सय ३५ रनका साथ शीर्ष स्थानमा छन् ।
प्रतियोगितामा ५० भन्दा बढी रन जोड्दै २ सयमाथिको स्ट्राइकरेटमा रन जोड्ने आरिफ एक मात्र ब्याटर हुन् । आरिफ यस्तो खेल आफ्नो ब्याटबाट नदेखिनुमा टि२० प्रतियोगितानै कमी बताउँछन् । ‘अव टि२० प्रतियोगितानै कम भएर हो कि । हामी कति समयपछि टि२० घरेलु प्रतियोगिता खेल्दैछौं’, उनले भने ।
सिनियर टोलीको स्ट्राइकरेटले घरेलुमा सुधार गर्न दबाब हुने उनी स्वीकार गर्दछन् । ‘पक्कैपनि दबाब हुन्छ । अन्तर्राष्ट्रिय र घरेलुमा योजना फरक हुन्छ । त्यसले गर्दा पनि अन्तर्राष्ट्रिय स्तरमा मेरो ब्याटिङक्रम ६–७ मा हुन्छ । यतातिर अलि माथि खेल्न पाउँदा ओभर पनि खेल्न पाउँछु’, आरिफले भने ।
त्यसैमा थपे, ‘मलाई टोलीले भूमिका आक्रामक ब्याटिङ गर्ने नै दिएको छ । फाइनमा आर्मीविरुद्ध होटलमा टिम मिटिङ पछि योजना बनाउने छौं ।’
आरिफ मध्यगतिका बलर समेत हुन् । २०१४ देखि नेपाली टोलीबाट खेल्दै आएका उनी एउटा अनुभवी अलराउन्डर हुन् । एकदिवसिय खेलमा आरिफले थुप्रै हारेका खेल आफ्नो ब्याटबाट जितसम्म पुर्याएका छन् । आरिफ र रोहित पौडेलको सिनियर टोलीमा साझेदारी मज्जाले जम्दै आएको पनि छ । एकदिवसियमा उनीमाथि प्रश्न गर्ने ठाउँ छैन । तर टि२० मा अहिलेको प्रदर्शनले पक्कैपनि हुँदैन ।
६–७ नम्बरमा कुनैपनि ब्याटर फिनिसरको रुपमा खेल्छ । फिनिसरको काम सधैं विष्फोटक ब्याटिङका साथ एक ओभरमा खेललाई मोड्न सक्नुपर्ने हुन्छ । परिवर्तनको सुरुवात घरेलुबाट देखाएका छन् । अर्कोतर्फ अहिले टियुको पिचमा आक्रामक ब्याटिङ गर्न कुनै कठिन छैन । युवा खेलाडी टियुमा एकपछि अर्को आक्रामक इनिङ खेल्दै आएका छन् । टियुको प्रदर्शनले उत्कृष्ट भनिहाल्नु हतार हुने देखिन्छ । असली परिक्षा अन्तर्राष्ट्रिय क्रिकेटमा हुनेछ ।
टि२० टोलीमा स्थान निरन्तरता दिन आरिफले खेल्ने शैली परिवर्तन गर्नुबाहेक अन्य विकल्प छैन । घरेलुमा देखाएको शैली अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता दिएमा टि२० आईमा उनीमाथि प्रश्न उठ्ने छैन । अन्यथा टि२० शैलीमा नेपालले उनको विकल्प खोज्नुपर्ने अवस्था आउनसक्छ ।
शालिन र शान्त स्वभावका आरिफलाई यो कुरा अझ राम्रोसँग थाहा छ । त्यसैले त घरेलु क्रिकेटमा उनले विष्फोटक ब्याटिङका साथ आफूलाई फिनिसरमा प्रमाणित गर्न खोजेका छन् । जुन पुलिस र नेपाली क्रिकेट दुवैलाई आवश्यक छ ।
February 24, 2025
एजेन्सी – भारतीय क्रिकेट टोलीका पूर्व कप्तान विराट कोहलीले महान् क्रिकेटर सचिन तेन्दुल्करको कीर्तिमान तोडेका छन् । कोहलीले आइतवार पाकिस्तानविरुद्धको च्याम्पियन्स ट्रफी खेल दौरान सबैभन्दा कम इनिङमा १४ हजार ओडिआई रन बनाउने सचिनको कीर्तिमान तोडेका हुन् । कोहलीले २ सय ८७ इनिङमा १४ हजार रन पूरा गर्ने कीर्तिमान बनाएका हुन् । यसअघि सचिनले ३ सय […]
February 23, 2025
एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]
February 23, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]