default_image

2 years ago

September 14, 2022

पुलिसलाई हराउँदै आर्मी समूह विजेता

280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबलाई १३ रनले हराउँदै समूह ए को विजेताको रुपमा सेमिफाइनलमा पुगेको छ ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनायो । आक्रामक ब्याटिङ गरेका आरिफ शेख २४ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा आउट भए ।

पुलिसलाई जितको लागि अन्तिम १२ बलमा २९ रन चाहिँएको थियो । पहिलो बलमा करण केसीले लङअनमा पेभेलिएनतर्फ छक्का हानेका थिए । लङअनमा रहेका फिल्डर साहब आलमको हातमा लागेर बल छक्का गएको थियो ।

दोस्रो बलमा एक र तेस्रो बलमा योगेन्द्रसिंह कार्कीले तीन रन बटुले । चौथो बल डट राखेपनि अन्तिम ८ बलमा १९ रन चाहिँएको थियो । पाँचौं र छैटौं बलमा एक एक रन खर्चिए । पुलिसलाई अन्तिम ६ बलमा १७ रन चाहिँएको थियो । सोमपाल कामीले पहिलो बलमा योगन्द्रलाई एक रन दिए ।

दोस्रो फुलटस बलमा करणको हातमा लागेको थियो । बल नो बल देखिएपनि अम्पायरले दिएनन् । तेस्रो बलमा करणले एक रन दिए । दोस्रो रन लिन खोजेपनि तालमेल नमिल्दा योगेन्द्रसिंह कार्की १४ रनमा रन आउट भए । त्यसपछि सोमपालले बाँकी तीन बलमा एक रन खर्चेर एक विकेट लिँदै जित पक्का गराए । करण ९ रनमा आउट भए ।

पहिलो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल तीन रन लिने धुनमा करण केसीबाट रन आउट भए । कुशलले तेस्रो रनको लागि आग्रह गरेपनि नपुग्ने देखेपछि धमलाले अस्वीकार गरेपछि भुर्तेल रन आउट हुन पुगेका थिए ।

स्पिनर सुशन भारीको पाँचौं ओभरको तेस्रो बलमा चोभारतर्फ छक्का हान्न खोजेपनि मिडअनमा कप्तान दीपेन्द्रसिंह ऐरी २१ रनमा भीम सार्कीबाट क्याच आउट भए । दीपेन्द्रले १३ बलमा १ चौका र २ छक्का हाने ।


सुनिल धमला १५ बलमा १ चौका र २ छक्कासहित २७ रनमा बोल्ड भए । धमला जितेन्द्र मुखियाको छैटौं ओभरको पाँचौं बलमा बोल्ड भएका थिए । पवन सरार्फ २६ बलमा १३ रनमा आउट भए ।

आर्मीका स्पिनर शाहब आलमले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए । जितेन्द्र मुखिया र सुशन भारीले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले विष्फोटक ब्याटिङ गर्दै २९ बलमा २ चौका र ७ छक्कासहित ६६ रनमा रनमा अविजित रहे ।

भण्डारीले २२ बलमा अर्धशतक पूरा गरेका थिए । जारी प्रतियोगितामा २२ बलमा अर्धशतक हान्ने विनोद नेपाल पुलिस क्लबका आरिफ शेखपछि दोस्रो खेलाडी हुन् । शेखले लुम्बिनी प्रदेशविरुद्ध हानेका थिए ।

युवा विकेटकिपर अर्जुन साउदले ३४ बलमा ७ चौका र २ छक्कासहित ५३ रनमा रन आउट भए । अर्जुनको यो सिनियर राष्ट्रिय प्रतियोगितामा पहिलो अर्धशतक हो । अर्जुनले ३३ बलमा अर्धशतक पूरा गरेका थिए ।

अर्जुन दशौं ओभरको अन्तिम बलमा तीन रन लिने धुनमा करण केसीबाट रन आउट भए । तीव्र गतिका बलर करण केसीको तेस्रो ओभरको अन्तिम बलमा गुलशान झाले थर्डम्यानमा उत्कृष्ट क्याच लिँदै हरि चौहानलाई शून्यमा पेभेलिएन फर्काए ।

स्पिनर ललितनारायण राजवंशीको नवौं ओभरको दोस्रो बलमा स्वीपसट खेल्ने धुनमा १५ रनमा एलबीडब्लू आउट भए । सार्कीले १२ बलमा २ चौका प्रहार गरे । रोहित पौडेल १९ बलमा १४ रनमा सहज क्याच आउट भए । राजेश पुलामी १२ बलमा २ चौकासहित १४ रनमा आउट भए । पहिलो खेल खेलेका सोनु तामाङ १ रनमा अविजित रहे ।

तीव्र गतिका बलर गुलशन झाले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर २ विकेट लिए । ललितनारायण राजवंशीले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

समूह बी बाट एनआरएनए नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै पाँच अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । उपाधि दावेदार एपिएफ र बागमती प्रदेश एक खेल पनि खेल्न नपाई बाहिरिएपछि समूह बी बाट एनआरएनए र सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएका छन् ।

सुदूरपश्चिम ४ खेलमा १ मा जित, १ मा हार र २ खेल अंक बाँड्दै ४ अंकका सेमिफाइनलमा स्थान बनायो । प्रतियोगितामा एक खेल पनि खेल्न नपाएका बागमती प्रदेश र एपिएफ ४–४ अंकका साथ तेस्रो र चौथो स्थानानमा रहँदै बाहिरिए ।

सुदूरपश्चिम, बागमती र एपिएफको ४–४ अंक थियो । सुदूरपश्चिमले एक खेल जितेको हुँदा नियम अनुसार सेमिफाइनलमा पुगेको हो । नियम अनुसार समान अंक भएमा जित हेर्ने गरिन्छ ।

आर्मी ५ खेलमा ३ मा जित र २ खेलमा अंक बाँड्दै ८ अंकका साथ शीर्ष स्थानमा रहँदै समूह विजेता बन्यो । पुलिस ५ खेलमा २ मा जित, एकमा हार र २ मा अंक बाँड्दै ६ अंकका साथ नेटरनरेटमा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा स्थान बनायो । कर्णाली ५ खेलमा २ मा जित, १ मा हार र २ खेलमा अंक बाँड्दै ६ अंक भएपनि नेटरनरेटको कारण बाहिरिएको हो ।

बिहीबार पहिलो सेमिफाइनलमा समूह ए को विजेता आर्मी र समूह बी को उपविजेता सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो सेमिफाइनलमा समूह ए को उपविजेता पुलिस र समूह बी को विजेता एनआरएनएबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शुक्रबार हुनेछ । यदि वर्षाको कारण खेल हुन नसके समूह विजेता टोली फाइनलमा पुग्नेछन् ।

February 23, 2025

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित

एजेन्सी – विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । […]

February 23, 2025

भारतविरुद्ध पाकिस्तानको मध्यम योगफल

एजेन्सी – च्याम्पियन्स ट्रफीको डिफेन्डिङ च्याम्पियन पाकिस्तानले भारतविरुद्ध सामान्य योगफल तयार गरेको छ । युएईमा जारी खेलमा पाकिस्तानले भारतविरुद्ध २ सय ४१ रनको मध्यम योगफल तयार गरेको हो । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ । युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ […]

February 23, 2025

पाकिस्तानले टस जित्यो

एजेन्सी – च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले भारतविरुद्ध टस जितेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर ब्याटिङ रोजेका हुन् । भारतले पाकिस्तानमा खेल्न अस्विकार गरेपछि उसका सबै खेल युएईमा भइरहेको छ । पाकिस्तानले गत संस्करणको फाइनलमा भारतलाई नै पराजित गरेको थियो । पाकिस्तान १ सय ८० रनको जित निकाल्दै […]

Success

Thank you for your time.