3 years ago
June 15, 2022
ह्युस्टन (हाम्रो खेलकुद) – तीव्र गतिका बलर करण केसीको पाँच विकेट र ओपनरको कीर्तिमानी ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानलाई ७ विकेटले पराजित गरेको छ । अमेरिका भ्रमणमा नेपालले पहिलो जित हात पार्दै अंक तालिकामा एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ ।
जितको लागि १ सय ६४ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ८६ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको योगदान दिए । कुशल भुर्तेल ७५ बलमा ५ चौकासहित ५६ रनमा क्याच आउट भए ।
दुबै ओपनरको ओडिआई करिअरको तेस्रो अर्धशतक हो । आसिफले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन् । पहिलो विकेटका लागि आसिफ र कुशलले २३.५ ओभरमा १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालका ओपनरबाट पहिलो पटक शतकीय साझेदारी भएको हो ।
यसअघि ओपनरको रुपमा ओडिआईमा सर्वाधिक ठूलो साझेदारी ६६ रन थियो । आसिफ र कुशले गतवर्ष ओमानविरुद्ध नै गरेका थिए । नेपालबाट ओडिआईमा सर्वाधिक ठूलो साझेदारी देव खनाल र दीपेन्द्रसिंह ऐरीले दुई महिना अघि पपुवा न्युगिनीविरुद्ध १ सय २९ रनको गरेका थिए । यो दोस्रो ठूलो साझेदारी हो ।
देव खनाल १० रनमा आउट भए । दीपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे । ऐरीले विलाल खानलाई विजयी चौका प्रहार गरेका थिए । रोहित पौडेल २१ बलमा १ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । ओमानका फैज बटले दुई र खवर अलीले एक विकेट लिए ।
त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको ओमान ४६.५ ओभरमा १ सय ६३ रनमा अल आउट भयो । ओमानका कप्तान जिशान मकसुदले १ सय बलमा ३ चौकासहित सर्वाधिक ५२ रन बनाए ।
सन्दीप गौडले ९१ बलमा ३ चौका र १ छक्कासहित ४७ रन बनाए । एक समय १६.१ ओभरमा ४९-५ को कमजोर अवस्थामा पुगेको ओमानलाई छैटौं विकेटका लागि मकसुद र गौडले ८३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए ।
तीव्र गतिका बलर करण केसीले पाँचौं ओभरको दोस्रो बलमा ओपनर कश्याप प्रजापतिलाई दुई रनमा बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । करणले नै सातौं ओभरको दोस्रो बलमा शोएब खानलाई देव खनालबाट दुई रनमा क्याच आउट गराए ।
१३ औं ओभरको पाँचौं बलमा ओपनर जतिन्दर सिंहलाई सन्दीपले २३ रनमा बोल्ड आउट गरे । जतिन्दरले ३६ बलमा ३ चौका प्रहार गरे । १५ औं ओभरको तेस्रो बलमा अयान खानलाई सन्दीपले शून्यमा बोल्ड गरे । १७ औं ओभरको पहिलो बलमा खवर अलीलाई एक रनमा एलबीडब्लू आउट गर्दै ओमानलाई ४९–५ को कमजोर अवस्थामा पुर्याएका थिए ।
नसिम खुसी १० र कलिमुल्लाह १ रनमा आउट भए । नेपालका करण केसीले ९ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । करणको ओडिआई करिअरको यो दोस्रो पटक पाँच विकेट हो । यसअघि गत विहीनबार ओमानविरुद्धनै करणले ओडिआई करिअरको पहिलो पाँच विकेट पूरा गरेका थिए ।
सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीको नाममा १(१ विकेट रह्यो । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।
ओमानको विश्वकप लिग २ मा सम्पूर्ण ३६ खेल सकिएको छ । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट खेल्नेकी पुछारको चारमा रहँदै प्लेमा पुग्ने अन्य टोलीको नतिजामा भर पर्नेछ । ओमान शीर्ष तीनमा रहने उच्च सम्भावना छ । नेपालले अव आज राती घरेलु टोली अमेरिकासँग खेल्नेछ ।
अंक तालिका
ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारका साथ ४४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड २० खेलमा १३ मा जित र ५ मा हारका साथ २८ अंक जोड्दै दोस्रो स्थानमा छ । युएई २२ खेलमा १२ मा जित र ८ मा हारसहित २६ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका २३ खेलमा १० मा जित र १२ मा हारका साथ २१ अंक जोड्दै चौथो स्थानमा छ । नेपाल १५ खेलमा ७ मा जित र ७ मा हारका साथ १५ अंक जोड्लै पाँचौं स्थानमा उक्लिएको छ । नामिबिया १४ खेलमा ७ मा जित र ७ मा हार सहित १४ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २० खेलमा १ मा जित र १९ मा हारका साथ पुछारमा छ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी (विकेटकिपर), सुनिल धमला, सुवास खकुरेल, देव खनाल, आदिल अन्सारी, करण केसी, सोमपाल कामी, सुशान भारी, किशोर महतो र सागर ढकाल ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]