default_image

2 years ago

April 10, 2022

क्रिकेट खेल्न १२ वर्षमै घर छोडेका आदिल

352 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

युवा अलराउन्डर आदिल अन्सारीले राष्ट्रिय क्रिकेट टोलीबाट ड्रिम डेब्यू गरे । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज जित्दा आदिलले फिनिसरको भूमिकामा राम्रो छाप छोड्न सफल भए । घरेलु क्रिकेटमा देखिएको छोटो समयमै सिनियर टोलीमा पर्न सफल भए । तर यहाँसम्म पुग्न उनले कडा मिहिनेत र संघर्षपूर्ण यात्रा तय गरेका छन् ।

क्रिकेट खेल्न १२ वर्षकै उमेरमा भागेर दिल्ली पुग्ने निर्णय लिएका आदिल अहिले नेपाली क्रिकेटका आशाका किरण बनेका छन् । पपुवा न्युगिनीविरुद्ध डेब्यू गर्दै उनले ११ बलमा १ चौका र ३ छक्कासहित ३१ रनको इनिङ खेले । त्यसक्रममा उनले खेलेको हेलिकप्टर सट सामाजिक संजालमा चर्चाको विषय बन्यो ।

पिएनजीविरुद्ध रोहित पौडेल १५ औं ओभरमा आउट भएपछि आदिल ब्याटिङ गर्न मैदान छिरेका थिए । ‘आरिफ दाइ तयार हुँदै ब्याटिङ गर्न पेभेलिएनबाट निस्किनु भएको थियो । खै पुबुदु सरको मनमा के आयो । वहाँलाई रोकेर मलाई पठाउनु भयो’, उनले ब्याटिङ गर्न प्रवेश गर्दाको क्षण सम्झंदै भने, ‘यो समय तिम्रो लायक छ । यहाँसम्म जस्तो खेलेर आएका छौं त्यस्तै खेल्नु भन्नु भनेर पठाउनु भयो ।’

आदिल उक्त खेलमा सुरुवाती समय संयमित क्रिकेट खेले । १९ औं ओभरमा भने उनले आफ्नो असली ब्याटिङ देखाए । नोसैना पोकनालाई पहिलो बलमा लेग साइडमा चौका प्रहार गरे । दोस्रो फुलटस बल आदिलले चोभार तर्फको डिप मिडविकेटको भागमा समर्थक मै पुर्याए । त्यस बल हराउँदा खेलमा अर्को मगाउनु परेको थियो ।

तेस्रो अफसाइडको बललाई उनले एक्स्ट्रा कभरमा सुन्दर छक्का प्रहार गरे । नो बलमा उनले हेलिकप्टर सट प्रहार गर्दै थप मनोरञ्जन प्रदान गरे । अन्तिम ओभरमा काबुआ मोरेआको दोस्रो बलमा एलबीडब्लू हुन पुगे ।

‘म जाँदा दिप्पी दाइ (दीपेन्द्र) सेट हुनुहुन्थ्यो । मैले सोचे अहिले स्ट्राइक दिन्छु । किनभने दिप्पी दाइले हान्नुभएको छ । वहाँ आउट भए मैले हान्छु । नभए अन्तिममा एउटा ओभरमा तीन चार छक्का हान्नु पर्ला । नभन्दै त्यस्तै भयो’, उनले भने ।

‘नो बलपाए पछि झन् आत्माविश्वास बढ्यो । अब आउट हुने कुनै सम्भावना छैन । त्यसैले निडर भएर हेलिकप्टर सट हाने’, आदिलले थपे, ‘म सुरुमा कलैयामा खेल्ने स्थानीय खेल जस्तै सोचेर गएको थिएँ । अन्तर्राष्ट्रिय खेल खेलेको छु भनेर सोचेन । आफ्नै सामान्य खेल खेल्ने सोच थियो । मलाई जति धेरै समर्थक हुन्छन् त्यतिनै खेल्न मज्जा आउँछ ।’

आदिल मलेसियासँग १४ रन र फाइनलमा पीएनजीसँग १५ रनमा आउट भए । हजारौं दशर्क सामू आदिलले आत्माविश्वासी प्रर्दशन गरे । धेरै खेलाडी पहिलो पटक टोलीमा पर्दा नर्भस हुन्छन् । खुलेर खेल्न सक्दैनन् । तर आदिलमा त्यो भने देखिएन । आक्रामक ब्याटिङ गर्ने उनी शक्ति मात्र होइन, प्राविधिक रुपमा पनि निपुण छन् ।

को हुन् आदिल अन्सारी ?

आदिलको जन्म बुबा गुलमहम्मद अन्सारी र आमा मेहरुन खातुनको कोखबाट पाँचौ सन्तानको रुपमा कलैयाको सिम्रौनगढ –३ मा भएको हो । उनका तीन दाइ (अजिउल्लाह, सफिउल्लाह र फिरोज), भाइ (साकिर) र दिदी (रेहना) छन् । बुबा पेशाले व्यापारी हुन् । तर क्रिकेट नबुझ्दा उनले यहाँ होमिन धेरै संघर्ष गर्नुपर्यो ।

आदिलको बाल्यकाल र क्रिकेट यात्रा

गाउँमा टेनिस बल खेलमा नाम चलेका मनिर खान थिए । आदिलले कंकालली माध्यमिक विद्यालयमा पढ्न जादा उनलाई अभ्यास गरिरहेको देख्थे । एक दिन उनलाई बलरको आवश्यक परेपछि आदिललाई बोलाए । त्यहिँबाट आदिलको क्रिकेट यात्रा सुरु भयो । बल फ्याँक्दै गर्दा विस्तारै क्रिकेटमा आर्कषित भए । आदिल घरमा नभनी दिनभर क्रिकेट खेल्न थाले ।

घरबाट पढ्न भनेर स्कुल जान्थे । तर कक्षामा किताब राखेर क्रिकेट खेल्न जान्थे । घरकालाई लाग्थ्यो छोरा पढ्न गएको छ । तर उनी दिनभर खेलेर फर्किन्थे । विस्तारै क्रिकेटमा लगाव बढ्न लाथ्यो । कलिला आदिलका औंलाले कलम होईन बल चलाउन थाले ।

घरमा यो सबै कुरा एकदिन थाहा भयो । सबैले पढ्नकै लागि भनेर क्रिकेट छुटाउन खोजे । क्रिकेटमा भर्खर पाइला टेकेका आदिल त्यसैमा रमाएका थिए । उनको मनमा क्रिकेट बाहेक अरु केहि थिएन ।

‘आदिल ५ कक्षातिर पढ्दा मैले बलिङ गर्न भने । मैले पहिलो पटक नै उसको बलिङमा अर्कै धार र एक्सन देखे । त्यसमा विशेष क्षमता थियो । त्यसैले क्रिकेट खेल्न भनेको थिए । हाम्रो प्लेइङ–११ मा पर्न उसलाई एक दुई वर्ष लागेको थियो । पछि राम्रो गर्दै गयो । मलाई अहिले धेरै गर्व र धेरै खुसी लागेको छ’, आदिललाई सुरुमा क्रिकेट सिकाउने मनिरले भने ।

क्रिकेट खेल्न १२ वर्षमै घरबाट भागेर दिल्ली

घरबाट पढ्न मात्र भन्थे । तर आदिल दुवै क्रिकेट र पढाइ सँगै अघि बढाउन चाहन्थे । तर घरमा मानेनन् । नखेली बस्न छटपटी भयो । त्यसैले घर छाडेर भागे । साथमा न पैसा थियो, न त जाने ठाउँको टुङ्गो । कलिलो उमेरका बाबजुद महत्त्वकांक्षा बोकेर उनी क्रिकेटको सुन्दर सपनाका साथ दिल्ली तर्फ हानिए ।

यात्राकै क्रममा उनीसामु एक जना भगवान बनेर आए । उनको नाम आदिललाई आजसम्म थाहा छैन । आदिललाई उनले कहाँ जाने भनेर सोधे रे । आदिलले तपाइ कहाँ जानुहुन्छ भनेर सोधेछन् । दिल्ली जाने जवाफ दिएपछि आफूले पनि त्यहि जवाफ दिए । अनि आफ्नो सबै कुरा सुनाए ।

ती व्यक्तिले आदिललाई भाग्न नहुने सम्झाए बुझाए । तिमी आइसक्यौ भने म एकेडेमीमा भर्ना गराउँछु तर घर फोन गर उनले भने । तर आदिलसँग नम्बर थिएन । आदिल पछि फोन गरौंला पहिला एकेडेमी भर्ना गर्दिन भन्दै जवाफ दिए । आदिलको क्रिकेट भोक देखेर उनले पनि दिल्ली पुग्ने बितिक्कै एकेडेमी लगिदिए ।

एकेडेमी पुगेको १५ दिनमै अभ्यास गर्नेक्रममा हातमा चोट लागेपछि आदिल घर फर्किनु पर्यो । आदिलको अडान क्रिकेट नै खेल्ने थियो । विस्तारै घरकाले पनि साथ दिन थाले । घरबाट पैसा पाउन गाह्रो थियो । आदिलले घरमा पैसा माग्ने आँट निकाल्न सक्दैन थिए ।

आदिल सुरुमा तीव्र गतिका बलर थिए । त्यसैले त्यति धेरै सामग्री चाहिँदैन थियो । कम खर्च लाग्ने हुँदा टेनिस बल धेरै खेल्न थाले । उनी कहिले काहिँ बिहारमा गएर खेल्थें । ठूला ठूला प्रतियोगिता खेल्न थाले । त्यहिँबाट पैसा आउन थाल्यो । जनतन एउटा जुत्ता किने । गाउँमा टेनिस बलमा राम्रो छाप छाडेका उनीपछि वीरगन्ज क्रिकेट ट्रेनिङ सेन्टर पुगे ।

जिल्लाहरुको खेल हुन थाल्यो । त्यसैले बाराबाट खेल्न कलैया फर्किए । त्यसैक्रममा कलैयाको नेतृत्व गर्ने सुदीप चौधरीसँग भेट भयो । आदिल उनलाई गुरु मान्छन् । त्यतिसम्म आदिल तीव्र गतिका बलर थिए । सुदीपसँगको भेटपछि ब्याटिङमा केन्द्रित हुन थाले । सुदीपले आदिललाई ब्याटिङमा केन्द्रित गराए । ठूलो ठूलो सट हान्न सके चाँडै सिनियर टोलीमा पर्ने आश्वासन दिन्थे ।

‘आदिलमा प्रतिभा थियो । गाउँबाट आएको हुँदा टेनिस बलले धेरै खेलेको थियो । एउटा राम्रो अलराउन्डरको क्षमता सुरुमै देखिन्थ्यो । रौतहटमा एउटा खेलमा एक्लै ९० माथिको इनिङ खेलेपछि मैले ब्याटिङमा धेरै ध्यान केन्द्रित गराएँ’ , सुदीपले भने ।

आदिलले हालसम्म फ्रेन्चाइज क्रिकेट खेलेका छैनन् । धनगढी प्रिमियर लिग (डिपिएल) २०१९ मा सिवाईसि अत्तरियाले उपाधि जित्दा आदिल टोलीमा थिए । डिपिएल अघि मुम्बई र कलैयाबीच सिरिज भएको थियो । अत्तरियाको मालिक र तत्कालिन यू१९ का प्रशिक्षक विनोद दास खेल हेर्न कलैया पुगेका थिए । उनको टोलीलाई खेल जित्न ७ विकेट गुमेको अवस्थामा ५ ओभरमा ७५ रन आवश्यक थियो । तर आदिलले १७–१८ बलमै खेल जिताएपछि अत्तरियाले उनलाई किनेको थियो । उनले खेल्न भने पाएनन् ।

करिअरको टर्निङ प्वाइन्ट

गत पुषमा यू–१९ राष्ट्रिय प्रतियोगितामा तत्कालिन प्रदेश नम्बर २ (मधेश प्रदेश) ले सुदूपश्चिम प्रदेशले २ सय ९१ रनको विशाल लक्ष्य ५ बल अगाडिनै ८ विकेटको क्षतिमा पूरा गर्यो । ४० ओभरमा २१४/८ को अवस्थामा हुँदा क्रिजमा आदिल २१ रनमा थिए । अन्तिम ६० बलमा जितको लागि ७८ रन चाहिएको थियो । जितको आशा सबैले मारेका थिए । तर आदिल टोलीको सुपर हिरो बने ।

आदिलले ४३ बलमा ७ चौका र ६ छक्कासहित ८७ रनमा अविजित रहँदै ५ बल अगाडि खेल जिताउँदै सनसनी मच्चाए । जुन घरेलु क्रिकेटको एक उत्कृष्ट लक्ष्य पूरा भएको खेल थियो । उनका ठूला ठूला सटको चर्चा समर्थक हुन थाल्यो ।

लगत्तै युएईमा भएको यू–१९ एसिया कप टोलीमा परे । बंगलादेशसँग १, श्रीलंकासँग ७ र कुवेतसँग ४२ बलमा २ चौका र ५ छक्कासहित ४९ रनमा आउट भए । युएईबाट फर्केपछि प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता खेले । एपिएफविरुद्ध आदिलले १४ बलमा २ चौका र ४ छक्कासहित ३५ रन बनाए । आदिलले पहिलो पटक २०२० मा प्रधानमन्त्री कप खेलेका थिए । त्यो नै उनले खेलेको पहिलो घरेलु प्रतियोगिता थियो ।

स्थानियका सुपर स्टार

आदिल प्रदेश २ मा हुने घरेलु प्रतियोगिताका सुपर स्टार नै हुन् । उनको विष्फोटक ब्याटिङ धेरैले मन पराउँछन् । आदिल, युवा अलराउन्डर विवेक यादव र अनुभवी खेलाडी महबुब आलमको उपस्थितिले स्थानिय प्रतियोगितामा भिन्दै क्रेज छाउने गरेको छ । आदिलले घरमै सिमेन्टको पिच बनाएर दैनिक ५–६ घण्टा अभ्यास गर्दछन् । आदिलको सफलताको पछाडी मनिर, सुदीप, विनोद दास, उमेश यादव, सिम्रौनगढका मेयर विजय शँकर यादव लगायतको हात रहेको बताउँछन् ।

आदिलको यो सुरुवात हो । फिनिसरको कामनै थोरै बलमा धेरै रन बनाउने हुन्छ । विकेट गुम्ने सम्भावना पनि त्यतिनै । टिमले त्यसैले धैर्यता पनि त्यतिनै देखाउन सक्नुपर्छ । टिमले विश्वासलाई उनले न्याय पनि गर्नुपर्छ । पछिल्लो समय सिनियर टोलीमा युवा खेलाडी जसरी परेका छन् त्यसरी नै बाहिरिने समस्या छ । त्यसबाट बच्न उनले आफ्नो लय, मिहिनेत, अनुशासन र फिटनेशलाई ध्यान दिनुपर्छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.