default_image

3 years ago

March 18, 2022

नेपालको युएईसँग लज्जास्पद हार

286 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बलिङमा उत्कृष्ट प्रदर्शन गरेपनि खराब ब्याटिङको कारण नेपालले आइसिसी विश्वकप लिग–२ मा घरेलु टोली युएईसँग लज्जास्पद हार बेहोरेको छ । मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल शुक्रबार युएईसँग ४८ रनले पराजित हुन पुग्यो ।

१ सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १ सय २० रनमा अल आउट भयो । नेपालका लागि रोहित कुमार पौडेलले ६० बलमा ४ चौकासहित सर्वाधिक ४६ रन बनाए । रोहित लगातार दोस्रो अर्धशतक प्रहार गर्न चार रनले चुकेका थिए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

तीव्र गतिका बलर जुनैद सिद्दिकले पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेललाई ११ रनमा बोल्ड आउट गरे । कुशलले १५ बलमा १ चौका प्रहार गरे । चौथो बलमा फ्रन्ट फुटबाट खेलेका आसिफ एज लागेर मिड अनमा ७ रनमा चिराग सुरीबाट क्याच आउट भए । आसिफले १२ बलमा १ चौका प्रहार गरे ।

नवौं ओभरको पाँचौं बलमा दीपेन्द्रसिंह ऐरी ४ रनमा रन आउट भए । ज्ञानेन्द्र मल्ल ६२ बलमा १ चौकासहित २८ रनमा रोहन मुस्तफाको बलमा एलबीडब्लू आउट भए । ज्ञानेन्द्र र रोहितले चौथो विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई खेलमा फर्काएका थिए । तर त्यसपछि ब्याटर चल्न नसक्दा पराजित भएको हो ।

बासिल हामिदले २४ औं ओभरको अन्तिम बलमा आरिफ शेखलाई उत्कृष्ट कट एण्ड बोल्ड गर्दै शून्यमा पेभिलिएन फर्काए । आरिफ आउट हुँदा नेपाल ८५–५ थियो । सोमपाल कामी ६ र कमलसिंह ऐरी शून्यमा आउट भए ।

युएईका पार्टटाइम स्पिनर बासिल हामिदले ५ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ४ विकेट लिए । जुनैद सिद्दिकले ७.१ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ३ विकेट लिए । जहुर खान र रोहन मुस्तफाले १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको युएई ४६.३ ओभरमा १ सय ६८ रनमा अल आउट भएको थियो । युएईका अनुभवी बायाँ हाते ब्याटर रोहन मुस्तफा ८१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । सिपी रिजवान ८५ बलमा ४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । एक समय ३५–४ को खराब सुरुवात गरेको युएईलाई पाँचौं विकेटका लागि मुस्तफा र रिजवानले ७७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।

चौथो ओभरको पाँचौं बलमा ओपनर चिराग सुरीलाई सोमपालले ६ रनमा आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । सुरी आउट साइड एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच भए । १९ वर्षीय विकेटकिपर वृत्य अरविन्द यस खेलमा भने चल्न सकेनन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका उनलाई सोमपालले आसिफबाट ३ रनमा क्याच आउट गराउँदै नेपाललाई प्रमुख सफलता दिलाए ।

सोमपालले १० औं ओभरको पहिलो बलमा ओपनर मोहम्मद वासिमलाई २१ रनमा कुशल भुर्तेलबाट क्याच गराउँदै प्रमुख तीन ब्याटरलाई पेभेलिएनको बाटो देखाएका थिए । वासिमले २८ बलमा ३ चौका प्रहार गरे । करण केसीले आसिफ खानलाई २ रनमा आसिफबाटनै क्याच गराएपछि युएई १०.३ ओभरमा ३५–४ को अवस्थामा पुगेको थियो ।

रिजवानलाई ४ औं ओभरको तेस्रो बलमा सन्दीपले स्टम्पिङ आउट गर्दै साझेदारी तोडे । मुस्तफालाई ३९ औं ओभरको पहिलो बलमा दीपेन्द्रले बोल्ड गरेका थिए । सागरको ४१ औं ओभरको तेस्रो बलमा ठूलो सट खेलेका बासिल हामिद लङअनमा ज्ञानेन्द्र मल्लबाट १४ रनमा क्याच आउट भए । सागरको ओडिआईमा यो पहिलो विकेट हो ।

नेपालका लागि सोमपाल कामीले ९ ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए । करण केसीले ७.३ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ३ विकेट लिए । सन्दीपले १० ओभरमा १ मेडनसहित ३० रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले १० ओभरमा ४२ रन खर्चेर १ विकेट लिए । सागर ढकालले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । नेपालले पहिलो खेलमा पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो । सोमबार युएईसँगनै खेल्नेछ ।

अंक तालिका

ओमान २७ खेलमा १७ मा जित र ८ मा हार सहित ३६ अंक जोड्दै शीर्षस्थानमा छ । युएई १६ खेलमा ९ मा जित र ५ मा हार सहित २० अंकका साथ दोस्रो स्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १४ खेलमा १४ मानै हारका साथ पुछारमा छ ।

December 18, 2024

कोल्सावाला र बोसिस्टोको अर्धशतकमा कर्णालीको प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – ओपनर जयकिशन कोल्सावाला र विलियम बोसिस्टोको अर्धशतकको सहयोगमा सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा बुधवार टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रनको योगफल तयार गरेको हो । कर्णालीका लागि […]

December 18, 2024

एनपिएलमा कार जित्ने दौड : पाँच खेलाडीबीच प्रतिस्पर्धा

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने एक नेपाली खेलाडीले ६२ लाख रुपैयाँ पर्ने ओमोडा कार पाउनेछन् । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिता अघि नै उक्त घोषणा गरेको थियो । प्रतियोगिता लिग सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स शीर्ष, जनकपुर बोल्ट्स दोस्रो, चितवन राइनोज तेस्रो र कर्णाली याक्स चौथो स्थानमा रहँदै प्लेअफमा पुगे […]

December 18, 2024

हङकङ यु १९ विरुद्ध नेपालले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – हङकङ यु १९ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालले टस जितेको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपाल यु १९ का कप्तान अभिषेक तिवारीले टस जितेर ब्याटिङ रोजेका हुन् । पहिलो एकदिवसीय खेलमा जितका साथ नेपाल यु १९ ले ३ खेलको एकदिवसीय सिरीजमा १-० को अग्रता बनाएको छ ।

Success

Thank you for your time.