3 years ago
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ को तयारीको लागि श्रीलंका भ्रमण गरेको नेपालले अन्तिम तथा चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त-११ विरुद्ध खेल्दैछ ।
श्रीलंका संयुक्त-११ र नेपालबीचको खेल बिहान १० : १५ मा बोर ग्राउन्डमा सुरु हुनेछ । एक दिवसिय अभ्यास खेलमा श्रीलंका चर्चित स्पोर्ट्स अनलाइन द पापारे का अनुसार नेपालविरुद्ध खेल्ने श्रीलंका संयुक्त-११ मा पूर्व विश्व स्टार खेलाडीको सहभागीता रहने भएको छ ।
पूर्व कप्तान तथा विश्व चर्चित ब्याटर उपुल थरंगा, अलराउन्डर थिसरा परेरा, तीव्र गतिका बलर धाम्मिका प्रसाद, स्पिन अलराउन्डर दिलरुवान परेरा, दिलसान मुनाविरा, सेकुगे प्रसन्ना र विकेटकिपर सान्दुन विराक्कोडी जस्ता चर्चित खेलाडीले श्रीलंका संयुक्त–११ को टोलीबाट खेल्ने छन् ।
यसअघि तीन अभ्यास खेलमा नेपालले सहज जित हात पारेको थियो । पहिलो अभ्यास खेलमा श्रीलंका नेभी स्पोर्ट्स क्लबलाई १ सय ११ रनले र दोस्रो अभ्यास खेलमा सोहि टोलीलाई ८२ रनले पराजित गरेको थियो । नेपालले सुरुवाती दुई खेलमा ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको थिएन । पहिलो खेलमा २ सय १४ र दोस्रो खेलमा १ सय ९७ रनमा अल आउट भएको थियो ।
तेस्रो अभ्यास खेलमा श्रीलंका पुलिसविरुद्ध नेपालले ८ विकेट गुमाउँदै ३ सय ३१ रन बनाएको थियो । आसिफ शेख, कुशल भुर्तेल, रोहित कुमार पौडेल र करण केसीले अर्धशतक प्रहार गरेका थिए । विश्राम दिएका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किनेछन् । उच्च लयमा रहेका दीपेन्द्र टोलीमा फर्किदा नेपालको ब्याटिङ थप मजबुत बन्नेछ । नेपालको ब्याटिङ शीर्ष चार आसिफ, कुशल, रोहित र दीपेन्द्रमा धेरै निर्भर रहनेछ ।
तल्लोक्रममा आरिफ शेख, भीम सार्की र करण केसीबाट राम्रो ब्याटिङको अपेक्षा गर्न सकिन्छ । करण विष्फोटक ब्याटिङको क्षमता राख्छन् । स्पिनर सन्दीप लामिछाने, तीव्र गतिका बलर कमलसिंह ऐरी र करण बलिङ हतियार हुन् । सोमपाल कामी सुरुवाती तीन खेल खेलेका छैनन् । फिट भएको अवस्थामा उनी टोलीमा फर्किनेछन् ।
संयुक्त-११ को ओपनिङ उपुल थरंगा र सान्दुन विराक्कोडीले गर्ने सम्भावना छ । थरंगाले इपिएलमा ६ खेलमा १ सय ८५ रन बनाएका थिए । बायाँ हाते विकेटकिपर थरंगाले श्रीलंकाबाट ३१ टेस्ट, २ सय ३५ ओडिआई र २६ टि२० आई खेल खेलेका छन् । उनले श्रीलंकाबाट कप्तानी गरि सकेका छन् ।
ओडिआईमा उनले १५ शतक र ३७ अर्धशतक सहित ६ हजार ९ सय ५१ रन जोडेका छन् । उत्कृष्ट प्रदर्शन २०१३ मा भारतविरुद्ध १ सय ७४ रन अविजित छ । टि२० क्रिकेटमा दुई शतक र १९ अर्धशतक सहित ३ हजार ४ सय ५३ रन बनाएका छन् । थरंगा ठूलो इनिङका लागि चिनिन्छन् । टेस्ट तथा विश्वकप अनुभवी थरंगाविरुद्ध नेपाली बलरको परिक्षा हुनेछ । श्रीलंका ११ बाट खेल्ने धेरै खेलाडी नेपाली क्रिकेट बारे जानकार छन् ।
धाम्मिका अघिल्लो महिना नेपाली टोलीको बलिङ कन्सल्ट्यान्टको रुपमा आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए मा नेपाललाई सहयोग गरेका थिए । धाम्मिका तीव्र गति र बाउन्सरको लागि चर्चित बलर हुन् । धाम्मिकाले श्रीलंकाबाट २५ टेस्ट, २४ ओडिआई र एक टि२० आई खेल खेलेका छन् । उनले टेस्टमा ७५ र ओडिआईमा ३२ विकेट लिएका छन् । धाम्मिकाको बाउन्सर र गतिमा नेपाली ब्याटरलाई रन बनाउन सहज हुनेछैन ।
बायाँ हाते विराक्कोडी विकेटकिपरसँगै आक्रामक ब्याटिङ गर्ने गर्दछन् । इपिएलमा उनले ललितपुर प्याट्रियटर्सबाट ५ खेलमा १ सय ६५ रन बनाएका थिए । श्रीलंका स्टार अलराउन्डर थिसारा परेराको प्रदर्शन धेरै महत्वपूर्ण हुनेछ। ३३ वर्षिय श्रीलंका परेरा विश्वकप च्याम्पियन खेलाडी हुन् । आक्रामक ब्याटि र तीव्र गतिको बलरको रुपमा चिनिन्छन् ।
सन् २०१४ मा श्रीलंकाले टि२० विश्वकप उपाधि जित्दा थिसारा परेरा टोलीका प्रमुख सदस्य थिए । फाइनलमा भारतले प्रस्तुत गरेको १ सय ३१ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा परेराले १४ बलमा ३ छक्कासहित २३ रनमा अविजित रहँदै उपाधि पक्का गराएका थिए । ओडिआई र टि२० आई क्रिकेट दुबैमा ह्याट्रिक लिएका छन् । परेराले श्रीलंकाबाट ६ टेष्ट, १ सय ६६ ओडिआई र ८४ टि२० आई खेल खेलेका छन् । परेराले ओडिआई १ सय ७५ विकेट लिदा कुल २ हजार ३ सय ३८ रन बनाएका छन् ।
बलिङमा उत्कृष्ट प्रदर्शन ६–४४ र ब्याटिङमा १ सय ४० रन छ । टि२० आईमा परेराले ५१ विकेट लिदा ब्याटिङमा १ हजार २ सय ४ रन बनाएका छन् । विश्व स्टार विष्फोटक परेराको विकेट नेपालको लागि धेरै महत्वपूर्ण हुनेछ । उनी ब्याटिङ र बलिङ दुबैमा नेपाललाई घातक बन्न सक्छन् । उनी चलेको खण्डमा जित एक्लै सहज बनाउन सक्छन् । सेकुगे प्रसन्ना चितवन टाइगर्स र दिलसान मुनाविराले विराटनगर वारियर्सबाट इपिएल खेलेका थिए ।
श्रीलंकाका विश्व स्टार, विश्वकप च्याम्पियन, उसैको घरेलु मैदानमा नेपाली खेलाडीको असली परिक्षा हुनेछ । यसअघि तीनै खेलमा सहज जित हात पारेको नेपाली बलर र ब्याटरको असली अग्नी परिक्षा श्रीलंका संयुक्त ११ को टोलीविरुद्ध हुनेछ ।
नेपालले आजको खेलमा विनोद भण्डारी र पवन सरार्फलाई बेन्चमा राख्ने सम्भावना छ । भण्डारीले तीनै अभ्यास खेलमा दोहोरो अंकमा रन बनाउन सकेका छैनन् । सोमपाल फिट भएको अवस्थामा पवनको स्थान लिनसक्छन् । विनोदको स्थानमा ज्ञानेन्द्र मल्ललाई मौका दिनसक्छ । ज्ञानेन्द्रको लय राम्रो नभएपनि अनुभवको आधारमा थप विश्वास देखाउन सक्छ ।
नेपाल १४ मार्चमा युएई पुग्नेछ । नेपाल, युएई र पपुवा न्युगिनीबीचको त्रिकोणात्मक ओडिआई सिरिज १५ मार्चदेखि सुरुहुनेछ । विश्वकप लिग-२ मा नेपालले पहिलो खेल मार्च १६ मा पपुवा न्युगिनी (पिएनजी) सँग खेल्दै सुरुवात गर्नेछ । २२ मार्च सम्म नेपाल युएईमा रहनेछ । विश्वकप लिग-२ २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपमा पुग्ने रोडम्याप हो । विश्वकप लिग-२ मा ७ देशले प्रतिस्पर्धा गरेका छन् । शीर्ष तीन टोली २०२३ मा हुने विश्वकपको ग्लोबल छनोटमा सिधैं प्रवेश पाउनेछन् ।
त्यसपछि नेपाल स्वदेश फर्किनेछ । पिएनजीपनि नेपाल आउनेछ । पिएनजी र नेपालबीच दुई ओडिआई खेल हुनेछ । नेपाल, पिएनजी र मलेसियाबीच त्रिकोणात्मक टि२० आई सिरिज खेल्नेछ । नेपालले चैत ११ (मार्च २५ ) मा पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेल खेल्ने छ । चैत १२ (२६ मार्च) मा दोस्रो ओडिआई खेल खेल्ने छ । त्रिकोणात्मक टि२० आई सिरिज भने चैत १४ देखि २१ गर्ते (मार्च २८ देखि ४ अप्रिल) सम्म टियु मैदानमा हुनेछ ।
नेपालको टोली :
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भीम सार्की, पवन सरार्फ र करण केसी ।
युएई भ्रमणमा नेपालको तालिका
१६ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, शाहजाह क्रिकेट स्टेडियम
१८ मार्च नेपालविरुद्ध युएई, दुबई इन्टरनेशल क्रिकेट स्टेडियम
२१ मार्च नेपालविरुद्ध युएई, दुबई
२२ मार्च नेपालविरुद्ध पपुवा न्युगिनी, दुबई
नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई सिरिज
चैत ११ ( मार्च २५) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
चैत १२ ( मार्च २६) : नेपालविरुद्ध पपुवा न्युगिनी, टियु मैदान
अंक तालिका
ओमान २६ खेलमा १६ मा जित र ८ मा हार सहित ३४ अंक जोड्दै शीर्षस्थानमा छ । स्कटल्यान्ड १२ खेलमा ७ मा जित र ३ मा हार सहित १६ अंकका साथ दोस्रो स्थानमा छ । युएई १३ खेलमा ६ मा जित र ५ मा हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका १६ खेलमा ७ मा जित र ९ मा हार सहित १४ अंक भएपनि नेटरनरेटका कारण चौथो स्थानमा छ । नामिबिया ११ खेलमा ६ मा जित र ५ मा हार सहित १२ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ८ खेलमा ४ मा जित र ४ मा हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी १२ खेलमा १२ मानै हारका साथ पुछारमा छ ।
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर विनोद भण्डारीको नटआउट अर्धशतकमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु मैदानमा बुधवार भएको पहिलो क्वालिफायर खेलमा जनकपुरमाथि सुदूरपश्चिमले ८ विकेटको जित हात पार्यो । जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सबाट मध्यम लक्ष्य पाएको छ । टियु मैदानमा जारी एनपिएलको दोस्रो क्वालिफायर खेलमा जनकपुरले सुदूरपश्चिमलाई जितका लागि १ सय ४० रनको मध्यम लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय […]
December 18, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल)को पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा जनकपुरका कप्तान आसिफ शेखले टस जितेर ब्याटिङ रोजेका हुन् । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो । सुदूरपश्चिमले पछिल्लो खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ […]