3 years ago
March 7, 2022
जन्म दिने बुबालाई गुमाउनु कुनैपनि सन्तानको लागि निकै दुःखद र पिडादायीय क्षण हो । अझ आफूले जन्म दिएको सन्तानको निधनको खबर सुन्नुभन्दा पिडादायी क्षण सायद जीवनमा अर्को हुँदैन होला । भारतीय क्रिकेटर विष्णु सोलंकीले तीन हप्ताको अन्तरमा बुबा र छोरीलाई गुमाउनु पर्यो । तर शोकको क्षणमा पनि उनले क्रिकेट खेल्न भने छाडेनन् ।
पिडा बोकेको अवस्थामा कुनै पनि खेलाडीले केहि समय पिडा बिर्सन खेलबाट विश्राम लिन चाहन्छ । उक्त पिडा भुलेर मैदान मानसिक रुपमा तयार भएर फर्कन खेलाडीलाई लामो समय लाग्न सक्छ । तर सोलंकीले शोकका बाबजुद क्रिकेटलाई निरन्तरता दिने निर्णय लिए । छोरीको असामयिक निधनको दुई सातापछि मैदान उत्रेका २९ वर्षिय विष्णु सोलंकीले उनलाई शतक समर्पित गरे ।
छोरीलाई शतक समर्पित गरेको तीन दिनपछि बुबाको पनि मृत्यु भयो । बुबाको मृत्युको बाबजुद उनले क्रिकेटलाई निरन्तरत दिने निर्णय लिए । यसै साता शनिबार रणजी ट्रफीमा बरोडा हैदराबाद ४३ रनले पराजित भयो । सोलंकी बुबा र छोरीको मृत्युको बाबजुद मैदान उत्रँदै औसत प्रदर्शन गरे ।
अघिल्लो महिना फेब्रुअरी ११ मा विष्णु भारतको कटकमा क्वारेन्टाइनमा थिए । सोहि क्रममा आफ्नी श्रीमतीले छोरीलाई जन्म दिएको थाहा पाए । उनी पहिलो पटक बुबा बनेका थिए । पहिलो पटक बुबा बनेको खुसी २४ घण्टा पनि टिक्न सकेन ।
फेब्रुअरी १२ मा बरोडाका टिम म्यानेजर धमेन्द्र आरोठेले उनलाई मध्यरातमा उठाए । दिउँसो नै छोरीको निधन भएको खबर सुनाए । त्यसको अर्को दिन उनी घर फर्किए । पहिलो सन्तान काखमा लिन र राम्रोसँग अनुहार देख्न नपाई गुमाउनु पर्यो । उक्त घटनाको दुई साता अघि शैएद मुश्ताक अली ट्रफीको क्वाटरफाइनलमा हरियाणाविरुद्ध बरोडालाई ८ विकेटको जित दिलाउन सोलंकी अन्तिम ओभरमा नायक बनेका थिए ।
बरोडालाई अन्तिम तीन बलमा जितको लागि १५ रन चाहिएको अवस्थामा विष्णुले सुमित कुमारलाई चौथो बलमा छक्का, पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का हान्दै खेल जिताएपछि भारतीय क्रिकेटमा उनको निकै चर्चा भएको थियो । उक्त प्रतियोगिता पछि रणजी ट्रफी हुने तालिका थियो । त्यसैले उनी कोरोना महामारीपछि पहिलो पटक हुन लागेको रणजी ट्रफीमा सहभागी हुन कटक पुगेका थिए ।
भारतीय टेस्ट टोलीमा पर्ने प्रमुख आधारनै रणजी हो । रणजीलाई घरेलु खेलाडीनै निकै महत्व दिने गर्दछन् । छोरीको मृत्युपछि घर फर्किएका विष्णु १७ फेब्रुअरीमा रणजी खेल्न कटक फर्किए । चण्डीगढविरुद्ध फेब्रुअरी २४ मा मैदान उत्रिए । दोस्रो दिन उनले पहिलो इनिङमा १ सय ३ रनको शतकीय इनिङ खेले । उक्त शतक स्वर्गिय छोरीलाई समर्पित गरे ।
उनको लागि २७ फेब्रुअरी (आइतबार) बिहान अर्को दुःखद घटना आयो । उनको घरबाट टिम म्यानेजर आरोठेसमक्ष अर्को दुखद खबर आयो । जुन सोलंकीको बुबाको निधनको खबर थियो । उक्त खवर बरोडाका वैकल्पिक खेलाडी निनाद रथवाले सुरुमा कप्तान केदार देवधरलाई दिए । रथवा र सोलंकी मिल्ने साथी हुन् । रथवाले खबर सोलंकीलाई सुनाए ।
दुई महिना अस्पतालमा उपचारपछि ७५ वर्षको उमेरमा मृत्यु भएको थियो । म्याच रेफ्री अमित पाठकले सोलंकीलाई ड्रेसिङ रुमबाट घरमा फोन गर्न अनुमति दिए । सामान्यतया क्रिकेटमा खेल चलिरहेको समयमा फोन चलाउन पाइदैन । दुवै टोली र म्याच अफिसियलले शोकमा दुई मिनेट मौन धारणा गर्नुको साथै हातमा कालो पट्टी बाँधेर खेलेका थिए ।
बरोडा क्रिकेट एसोसिएसनले उनलाई घर फर्किन सबै सहयोग गर्ने बताएको थियो । तर सोलंकीले टिम म्यानेजमेन्टलाई मार्च ३ मा हैदराबादविरुद्ध खेल खेल्ने इच्छा बताएका थिए । त्यसैले बुबाको मृत्युपछि घर नफर्कने निर्णय लिए । हैदरावादविरुद्ध पहिलो इनिङमा ४४ बलमा ४ चौका र १ छक्कासहित सूर्य प्रसादको बलमा ३२ रनमा बोल्ड आउट भए ।
दोस्रो खेलमा ५६ बलमा ५ चौकासहित २८ रनमा आउट भए । पहिला छोरी र त्यसपछि बुबाको मृत्युको बाबजुद उनले क्रिकेटलाई निरन्तरता दिएका थिए ।
(इएसपिएन क्रिकइन्फोको सहयोगमा)
November 11, 2024
एजेन्सी – लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ । न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ । १ सय ९ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा १ सय […]
November 10, 2024
एजेन्सी – दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारतलाई हराएको छ । दक्षिण अफ्रिकाले आइतवार भारतलाई ३ विकेटले हराएको हो । जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि ट्वान्टी आई सिरिजमा १-१ को बराबरी गरेको छ । १ सय २५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । दक्षिण […]
November 10, 2024
एजेन्सी – दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टि ट्वान्टी आईमा पाहुना टोली भारत सामान्य योगफलमा समेटिएको छ । भारतले आइतवार घरेलु टोलीलाई जितका लागि १ सय २५ रनको सामान्य लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्क, ग्केबेरामा टस हारेर ब्याटिङको निम्ता पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । […]