default_image

3 years ago

February 9, 2022

मिहिनेत, सफलता अनि राष्ट्रिय टोलीमा जुरेको अवसर

426 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

बायाँ हाते युवा स्पिनर सागर ढकाल नेपाली घरेलु क्रिकेटमा पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएका खेलाडी हुन् । सागर आइसिसी टि२० विश्वकप छनोट ए र चार देश सम्मिलित टि२० आई सिरिजको लागि पहिलो पटक नेपाली टोलीमा परेका छन् । माघ पहिलो साता नै ओमान भ्रमणको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा सागर थिएनन् । अन्तिम समयमा उनलाई टोलीमा थप्ने निर्णय भएको थियो ।

प्रशिक्षक पुबुदु दासानायकेले तुलनात्मक रुपमा नेपालको बलिङ केही कमजोर रहेको पाएपछि बन्द प्रशिक्षणमा राम्रो प्रदर्शन गरेका सागरलाई टोलीमा थप्ने निर्णय लिएका हुन् । उमेर समूह, घरेलु क्रिकेट र फ्रेन्चाइज लिगमा राम्रो छाप छाडेका सागरको सिनियर टोलीमा स्थान बनाउने सपना पूरा भएको छ । कोभिड नभएको भए सायद सागर विश्वकप छनोट खेल्ने सुरुवाती रोजाईमा पर्न सक्थे ।

क्यानले पुसमा घोषणा गरेको पहिलो चरणको ३० सदस्य बन्द प्रशिक्षणमा उनी थिए । तर कोरोनाको कारण उनले प्रशिक्षण र नेपाल पुलिस क्लबबाट प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा समूह चरणका सुरुवाती तीन खेल गुमाए । अन्तिम तीन खेलमा खेल्ने अवसर पाएपनि त्यो प्रदर्शनले सागर नेपालको अन्तिम टोलीमा पर्न सकेनन् ।

फाइनलमा सागरले नेपाल एपिएफ क्लबविरुद्ध ३ विकेट लिएका थिए । टोलीमा नभएपनि नेपालले केहि खेलाडीलाई सँगै राखेर निरन्तर अभ्यास गराएको थियो । प्रशिक्षणमा राम्रो गरेपछि राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेले एक साता अघि सागरलाई ओमान लैजाने थाहा दिएका थिए । ‘पहिलो पटक नेपाली टोलीमा पर्दा एकदमै खुसी लागेको छ । सुरुमा म टोलीमा थिइनँ । तर प्रशिक्षणमा मैले राम्रो गरे । त्यसैले टोलीमा परेजस्तो लाग्छ । मैले ओमान भ्रमणमा गएर राम्रो गरे भने झन् धेरै खुसी हुनेछु’, सागरले ओमान जानुअघि भने ।

सागर सन् २०१९ को डिसेम्बरमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा थिए । तर अन्तिम टोलीमा भने परेनन् । उमेर समूहमा उत्कृष्ट प्रभावपछि उनी सिनियर टोलीमा परेका थिए । त्यसपछि सागरले यस पटक मात्र सिनियर टोलीको बन्द प्रशिक्षणमा स्थान बनाएका थिए । पछिल्ला सबै प्रतियोगिता र सिरिजको बन्द प्रशिक्षणमा सागर नेट बलरको भूमिकामा थिए ।

‘मलाई बन्द प्रशिक्षणमा नबोलाउँदा टिमलाई आवश्यक पर्दा पर्छु जस्तो लाग्थ्यो । सिनियर टोलीमा पर्ने रहर कसलाई पो हुन्न र । क्याम्प परेपनि केहि सिक्न पाइन्थ्यो जस्तो लाग्थ्यो । सुरुवाती टोलीमै नपर्दा कहिलेकाहिँ नराम्रो पनि लाग्थ्यो’, उनले थपे, ‘टोलीमा बायाँ हाते स्पिनरमा धेरै प्रतिस्पर्धा हुँदा बन्द प्रशिक्षणमै पर्न कठिन थियो । मैले ओमान भ्रमणमा अवसर पाए मिहिनेत अनुसार उत्कृष्ट प्रदर्शन दिन्छु ।’

‘खेल्न पाएँ भने मेरो नेपालको लागि ‘डेब्यू’ हुनेछ । त्यहाँ मैले राम्रो गरे भने झन् आत्माविश्वास बढ्छ । एउटा ठूलो अवसर पनि हो । यहाँ राम्रो गरे भने विश्वकप छनोट लगायत अन्य महत्त्वपूर्ण खेलमा निरन्तर पर्नसक्छु भन्ने विश्वास छ’, उनले भने, ‘मुख्य उदेश्य नेपाललाई जिताउने हो । म मेरो तर्फबाट आफ्नो सर्वोत्कृष्ट दिन्छु।’

सागरको बाल्यकाल

सागरको जन्म गुल्मीको सत्यवती गाउँपालिकामा स्वर्गिय बुबा चुणामणी र आमा केशरा ढकाल कोखबाट कान्छो सन्तानको रुपमा भएको हो । सागरका चार दाइ (नारायण, कृष्ण, रमन र युवराज) र एक दिदी (जया) छन् । सागर घरको छैटौं तथा कान्छो सन्तान हुन् । बुबाको डेढ वर्षअघि हृदृयघातको कारण मृत्यु भएको थियो । सागर गुल्मीमै गाउँघरमा टेनिल बलले क्रिकेट खेलेर सिकेका र हुर्केका हुन् ।

कान्छो छोरा हुँदा सबैको मायामा हुर्किए । दाइ र बुबाहरु क्रिकेटको समर्थक थिए । त्यसैले क्रिकेट खेलहरु हेर्थे । यसरी उनमा विस्तारै क्रिकेट प्रतिको लगाव बढेको थियो । उनले झन्डै दुई वर्ष बुटवलमा बसेर खेले । सागर ६ वर्षअघि काठमाडौं छिरेका थिए । काठमाडौंमा उनले ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) मा अभ्यास गर्दै आफ्नो प्रतिभा निखारे ।

‘सागरमा क्षमतावान खेलाडी हुन् । उ एकेडेमी आउने बितिक्कै उनले केहि गर्छन् भन्ने क्षमता देखेका थियौं । निडर र हिम्मतवाला खेलाडी हुन् । अवस्था गाह्रो भएको बेला अरु खेलाडी पछि हट्छन् भने सागर म गर्छु भनेर अघि बढ्ने खालको खेलाडी हो । एकदमै मेहनती भएकै कारणले उ सफल भएको हो’, जिएचसिएका अध्यक्ष सुदीप शर्माले भने ।

यू१९ मा सागर

२०१८ सेप्टेम्बरमा यू–१९ एसिया कप तयारीको लागि भारतको लखनउमा नेपाल, भारत ए, बी र अफगानिस्तानबीच चार टोलीबीच भएको एक दिवसिय प्रतियोगिता सागर पहिलो प्रयासमै टोलीमा परेका थिए । नेपालले टेस्ट टोली अफगानिस्तानलाई २५ रनले हराउँदा सागरले १० ओभरमा ३ मेडनसहित २९ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । सागरको घातक बलिङमा १ सय ९० रनको विजयी लक्ष्य पछ्याएको अफगानिस्तान १ सय ६४ रनमा अल आउट भयो ।

त्यसपछि मलेसियामा सेप्टेम्बर अन्तिम देखि सुरु भएको यू–१९ एसिया कपमा सागरले भारत, अफगानिस्तान र युएईविरुद्ध १–१ विकेट लिएका थिए । यू–१९ एसिया कपमा प्रदर्शन सोचे अनुसार हुन सकेन । नेपाल पुलिस क्लबले उनलाई २०१९ मा टोलीमा अनुबन्ध गरेको थियो । टियुको स्लो पिचमा दुई जना बायाँ हाते स्पिनरको आवश्यक देख्दै ललित नारायण राजवंशीलाई साथ दिन पुलिसले सागरलाई सम्झौतामा लिएको थियो । त्यससमय उमेर १८ वर्ष नहुँदा जागिरे हुन पाएनन् । उनी अहिले पुलिसको जागिरे नै हुन् ।

मलेसियामा २०१९ मा जुलाई सम्पन्न एसिसी इस्र्टन रिजन प्रतियोगितामा नेपाललाई उपाधि जिताउन सागर प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी चुनिए । फाइनलमा सागरले १० ओभरमा ५ मेडन सहित १८ रन खर्चेर ५ विकेट लिएपछि हङकङ ९५ रनमा अल आउट भएको थियो । नेपालले त्यो लक्ष्य १६.१ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्दै च्याम्पियन बनेको थियो ।

सेमिफाइनलमा मलेसियालाई ८७ रनमा अल आउट गर्न सागरले ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । त्यसअघि सागरले ९.१ ओभरमा ३ मेडन सहित १९ रन खचेर ६ विकेट लिएपछि चीन ५३ रनमा अल आउट भएको थियो । २०१९ को अक्टोबरमा बंगलादेशमा भएको यू१९ एसिया कपमा भने सागरको प्रदर्शन अपेक्षा अनुसार हुन सकेन । उनले ३ विकेट लिएका थिए ।

घरेलु क्रिकेट र फ्रेन्चाइज लिग

सागर २०१९ देखि विभागीय टोली पुलिस क्लबबाट खेल्दै आएका छन् । त्यसै वर्ष मे मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जित्दा सागरले ६ खेलमा ८ विकेट लिएका थिए । सागरको फ्रेन्चाइज यात्रा पोखरा प्रिमियर लिग (पिपिएल) को पहिलो संस्करण २०१८ नोभेम्बरमा धनगढी एक्सपर्ट्सबाट खेल्दै ३ खेलमा ३ विकेट लिँदै गरेका थिए ।

अर्को महिना एभरेष्ट प्रिमियर लिग (इपिएल) मा चितवन टाइगर्सबाट ६ खेलमा ६ विकेट लिए । उमेरले कलिलो सागरले ठूलो प्रतियोगिता, सिनियर तथा विदेशी खेलाडी सामू एकपछि अर्को खेलमा सिक्दै गए । २०१९ मा धनगढी प्रिमियर लिग (डिपिएल) मा महेन्द्रनगर युनाइटेडलाई फाइनल सम्म पुर्याउन ६ खेलमा ११ विकेट लिएका थिए । सागरको उच्च प्रदर्शनमा अप्रत्याशित पूनरागमनका साथ शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर फाइनलमा पुगेको थियो ।

२०२१ को प्रधानमन्त्री कपमा सागरले ३ खेलमा ६ विकेट लिएका थिए । त्यसको एक महिनापछि पुलिसलाई काठमाडौं मेयर्स कपको च्याम्पियन बनाउन सागरले ४ खेलमा १२ विकेटका साथ सानदार प्रदर्शन गरेका थिए । त्यसक्रममा आर्मीलाई ८७ रनमा अल आउट गर्न सागरले ५ विकेट र फाइनलमा एपिएफविरुद्ध ४ विकेट चट्काए ।

गत असोजमा सम्पन्न इपिएलमा भने सागर प्रतियोगिताकै उत्कृष्ट खेलाडी चुनिए । प्रतियोगिता कमजोर मानिएको चितवनलाई च्याम्पियन बनाउन सागर ७ खेलमा १४ विकेटका साथ शीर्षस्थानमा थिए ।

पहिलो क्वालिफायरमा पोखरालाई ६६ रनमा अल आउट गर्न सागरले ४ ओभरमा १४ रन खर्चेर ४ लिएका थिए । लिगमा काठमाडौं किंग्सलाई ३ विकेटले हराउन उनले सुवास खकुरेल, रयान बर्ल, गुलशन झा र अमरसिंह राउटेलालाई आउट गर्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

सागर पुलिसले गर्दा आफूलाई प्रदर्शन र आर्थिक दुवै रुपमा धेरै राम्रो भएको बताउँछन् । जिएचसिएले पनि राम्रो साथ र सहयोग गरेको बताउँछन् । २०१४ को विश्वकप खेल्ने सबै नेपाली खेलाडीहरु उनलाई मन पर्छन् । उनका भारतीय विराट कोहली र दक्षिण अफ्रिका एवि डि भिलियर्स मन पर्ने खेलाडी हुन् ।

आफू यो स्थान सम्म आउन विशेष गरि दाइ युवराजको ठूलो साथ र हात रहेको बताउँछन् । मुख्य लक्ष्य सिनियर टोलीबाट निरन्तर खेल्दै नेपाललाई जिताउने सोचका छन् । अहिले भने उनले ओमान भ्रमण बाहेक अरु सोचेका छैनन् । सागरका लागि ओमान भ्रमण करिअरकै टर्निङ प्वाइन्ट बन्न सक्छ ।

पछिल्लो समय नेपालले बायाँ हाते स्पिनरमा सुशान भारी, ललित नारायण र साहब आलमलाई प्रयोग गरेको छ । सुशान खराब लय र ललित नारायण चोटका कारण टोलीमा छैनन् । नेपाल पनि सन्दीप लामिछानेको दीर्घकालिन समाधान चाहन्छ । त्यसमा सागर सहि विकल्प हुनसक्छन् । तर अहिले उनले भने जस्तै सबै ध्यान कसरी विश्वकप खेल्ने भन्ने हुन्छ ।

त्यसको लागि सागरले चार देशबीचको टि२० आई सिरिजमा सानदार प्रदर्शनका साथ विश्वकप छनोटको अन्तिम टोलीमा मौका बनाउने लक्ष्य राख्नुपर्छ । सागर र साहब मध्य एक टोली विश्वकप छनोट खेल्नेछन् । सुरुवाती ३ खेलको प्रदर्शनले कसलाई खेलाउने थाहा हुनेछ । घरेलु र अन्तर्राष्ट्रिय खेल फरक हुन् । यो अवसरलाई कसरी सदुपयोग गर्ने छन् त्यसले नेपाली टोलीमा आफ्नो भविष्य तय गर्नेछन् । विश्वकप खेल्न उत्कृष्ट प्रदर्शन बाहेक अन्य विकल्प छैन ।

यो पनि : आधुनिक अलराउन्डरलाई आक्रमणको अवसर

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

नेपालले फाइदा उठाउनु पर्ने ओमानका चार कमजोरी

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.