default_image

3 years ago

February 6, 2022

आधुनिक अलराउन्डरलाई आक्रमणको अवसर

242 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

विष्फोटक ब्याटिङ अलराउन्डर विवेक यादव नेपाली क्रिकेटले निकै आशा राखेको युवा खेलाडी हुन् । घरेलु क्रिकेटमा लगातार आक्रामक ब्याटिङका साथ अलराउन्ड प्रदर्शन गर्दै आएका विवेक सिनियर टोलीको डेब्यू नजिक छन् । मैदानभित्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा सबल विवेक नेपाली क्रिकेटमा आधुनिक अलराउन्डरको उत्कृष्ट उदाहरण हुन् ।

आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए का लागि नेपालले यसै महिनाको सुरुवातमा विवेकलाई पहिलो पटक समेट्दै अन्तिम टोली घोषणा गरेको थियो । निडर स्वभावका विवेक जिम्मेवारीपूर्वक विष्फोटक ब्याटिङ मात्र गर्दैनन् तीव्र गतिको बलिङसँगै भरपर्दा फिल्डर पनि हुन् । उमेरभन्दा निकै परिपक्व प्रदर्शन गर्दै आएका उनको ब्याटिङले धेरैलाई आर्कषित गरेको छ । खेलको अवस्था अनुसार ठूला सट खेल्ने क्षमता उनमा छ ।

घरेलु प्रदर्शनको आधारमा उनी सिनियर टोलीमा पर्नु नौलो कुरा थिएन । विश्वकप छनोट खेल्ने टोली घोषणा हुनु अघि नै धेरैले विवेक टोलीमा पर्ने अनुमान गरेका थिए । तर विवेक आफैं भने यसको आशा पनि गरिरहेको थिएनन् । ‘सुरुमा बन्द प्रशिक्षणमा राख्छ होला भन्ने आशा राखेको थिएँ । सिनियर टोलीमा पर्न मैले अझ उत्कृष्ट प्रदर्शन गर्नुपर्छ र मसँग समय छ भन्ने सोच थियो । तर टिममा नाम आयो । धेरै खुशी लाग्यो । सिनियर टोलीमा यसपटक नै मौका पाउँछु भनेर सोचेको पनि थिइनँ’, विवेकले भने ।

गतवर्ष माघमा कतारसँग खेल्ने तीन टि२० आई सिरिजको लागि विवेक पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए । तर कोरोना संक्रमणका कारण प्रशिक्षण सुरु भएकै दिन सिरिज स्थगित भयो । विवेक त्यसलगत्तै ओमान भ्रमणको लागि बन्द प्रशिक्षणमा रहेपनि उक्त सिरिज एक साता प्रशिक्षणपछि स्थगित भएको थियो । त्यसपछि एभरेष्ट प्रिमियर लिग (इपिएल), यू–१९ राष्ट्रिय प्रतियोगिता, यू–१९ एसिया कप र प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा उच्च प्रदर्शनका साथ सिनियर टोलीमा परे ।

‘बन्द प्रशिक्षण राम्रो भएको छ । सिनियरहरुसँग धेरै कुरा सिक्न पाएको छुँ । मेरो लक्ष्य नेपाललाई विश्वकपमा पुर्याउने हो । सानो देखि देशको लागि खेल्ने सपना थियो । त्यो सपनामा पुरा गर्ने नजिक छु । तर यतिले मात्र पुग्दैन । त्यहाँ गएर प्रदर्शन गर्नुपर्ने हुन्छ’, उनले भने ।

विवेकले सिनियर टोलीमा फिनिसरको भूमिका निर्वाह गर्ने सम्भावना छ । आफ्नो भूमिका नै पाउँदा अझ बढी आत्माविश्वासी छन् । ‘सानैदेखि टिमलाई जिताउँ भन्ने लाग्थ्यो । विजयी रन आफैं खेल्न मनलाग्छ । दबाबमा खेल्न मलाई अझ राम्रो लाग्छ । फिनिसरमा खेल्दा आत्माविश्वास झनै आउँछ’, उनले भने । मुख्य प्रशिक्षक पुबुदुले पनि विवेकलाई आफ्नो शैलीमा खेल्न सुझाव दिएका छन् ।

घरेलु क्रिकेटमा विवेकको प्रदर्शन

असोजमा सम्पन्न एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौथो संस्करण सबैले कमजोर मानेको पोखरा राइनोजलाई फाइनल सम्म पुर्याउन विवेकको योगदान महत्वपूर्ण थियो । चितवसँग विवेकले जिम्मेवारी इनिङ खेल्दै ४५ बलमा ३ चौका र ३ छक्का सहित ५३ रनको अविजित थिए । काठमाडौं सँगको निर्णायक खेलमा उनले तीन विकेट र ४१ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए ।

यू–१९ राष्ट्रिय प्रतियोगितामा विवेकले तत्कालिन प्रदेश २ (मधेश प्रदेश) को कप्तानी गर्दै सुरुवाती खेलमा उच्च प्रदर्शन गरे । प्रदेश १ विरुद्ध विवेकले ७१ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको इनिङ खेलेका थिए । बागमती प्रदेशविरुद्ध विवेकले ७३ बलमा ६ चौका र ७ छक्कासहित ८६ रनको अविजित इनिङ खेले ।

डिसेम्बरमा युएईमा भएको यू–१९ एसिया कपमा विवेकले श्रीलंकाविरुद्ध २९ बलमा ३ चौका र ३ छक्कासहित ४६ रनको इनिङ खेलेका थिए । मधेश प्रदेशबाटनै लुम्बिनी प्रदेशविरुद्ध विवेकले १० औं नम्बरमा ब्याटिङ गर्दै २४ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे । बलिङ गर्नेक्रममा घाइते विवेकले हस्पिटलमा उपचारपछि अन्तिममा खेलेका थिए ।

प्रधानमन्त्री कपमा राम्रो छाप

एक वर्षअघि विवेकले काठमाडौंमा सम्पन्न प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा दुई लगातार उत्कृष्ट अर्धशतकका साथ धेरैको ध्यान आफूतर्फ केन्द्रित गर्न सफल भए । पहिलो खेलमा प्रदेश २ लुम्बिनीसँग ७७ रनले पराजित भयो । टियु क्रिकेट मैदानमा भएको उक्त खेलमा विवेक यादवले तल्लोक्रममा आठौं नम्बरमा ब्याटिङ गर्दै ४९ बलमा ३ चौका र ३ छक्का सहित ५१ रन जोड्दै आउट भए।

बागमतीविरुद्ध ६६ रनको उत्कृष्ट इनिङ खेले । नवौं नम्बरमा ब्याटिङ गर्दै विवेकले ७४ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए । छनोट समितिले कतारमा हुने भनिएको तीन खेलको टि२० सिरिजको लागि विवेकलाई नेपाली क्रिकेट टोलीको बन्द प्रशिक्षणमा बोलाउने निर्णय लिएको थियो । विवेक प्रतियोगिता उदीयमान खेलाडी घोषित भए ।

त्यसअघि विवेकलाई धेरैले तीव्र गतिका बलरको रुपमा चिन्थे । प्रधानमन्त्री कपको प्रर्दशन विवेकलाई भने नौलो थिएन । तराईमा हुने प्रतियोगिता विवेकको प्रर्दशन र खेल्ने शैली यहि थियो । स्थानीय स्तरमा अझ बढी प्रभाव जमाउने गर्दछन् । गृहजिल्ला सप्तरी लगायतका तराईका जिल्लामा उनको भिन्दै क्रेज पाइन्छ । म्याटको खेलमा उनलाई आउट गर्न जो कोहिलाई कठिन पर्दथ्यो ।

विवेकको बाल्यकाल र क्रिकेट यात्रा

विवेकको जन्म विं सं २०६० असोज २० मा बुबा विरेन्द्र यादव र आमा बिनाको कोखबाट दोस्रो सन्तानको रुपमा सप्तरीको विष्णुपुर गाउँपालिका भएको हो । उनका एक दिदी र बहिनी छन् । पूर्व भलिबल खेलाडी समेत रहेका बुबाले सानै देखिनै ठूलो साथ र सहयोग गर्दै आएका छन् । राज रंगशाला बालमन्दिर उनी स्कुलबाट खेल हेर्न जान्थे ।

त्यसबेला उक्त रंगशालामा नेपाली क्रिकेटका चर्चित अलराउन्डर महबुब आलम, मुकुन्द यादव, मयानन्द चौधरी, कालिचरण यादव, रोहित सिंह जस्ता चर्चित खेलाडी खेल्थे । ‘म खेल हेर्न दिनहुँ जान्थे। कक्षा ५ मा पढ्ने बेलासम्म भने म क्रिकेट खेल्दिन थिएँ । कक्षा ६ मा गएपछि खेल्न थाले,’ उनले सुनाए ।

‘राजविराजको अनिल यादव दाई हुनुन्थ्यो । वहाँ दाई त्यो समयमा सिनियर टोलीको बन्द प्रशिक्षणमा पुर्न भएको थियो । वहाँसँग भुकम्पको समयमा धेरै खेले । राम्रो खेल्ने देखेर नै मलाई एकेडेमी लानुभयो । दाईसँगै राजदेबी राइजिङ क्रिकेट एकेडेमी जान थाले । त्यो मेरो पहिलो एकेडेमी थियो,’ विवेकले सुनाए ।

सुरुमा एकेडेमीमा नयाँ खेलाडीलाई त्यति धेरै ध्यान दिइदैन थियो । विवेकले बलिङ र ब्याटिङ केहि पाउदैन थिए । फिल्डिङ र नेटमा बल थ्रो डाउन फाल्थे । क्रिकेट खेल्ने रुचिका साथ एकेडेमी पुगेका उनी नजाने निर्णय लिए । तर अनिल आएर लगिहाल्थे । त्यसरीनै तीन चार महिना वितेको थियो ।

झापामा यू१९ प्रतियोगिता भयो । विवेक पुर्वाञ्चलको टोलीमा परे । तर खेल्ने अवसर भने पाएनन् । विवेकले कक्षा आठमा पढ्दा सातौं राष्ट्रिय प्रतियोगिता विराटनगरमा भयो । जिल्ला छनोटमा राम्रो गरेपछि बन्द प्रशिक्षण हुँदै पुर्वाञ्चलको टोलीमा परे । उनको त्यो पहिलो राष्ट्रिय प्रतियोगिता थियो ।

नौ कक्षामा पढ्दा अन्तरविद्यालय राष्ट्रपति कप पुर्वाञ्चलको कप्तानी विवेकले गरेका थिए । पुर्वाञ्चल पश्चिमअञ्चलसँग फाइनलमा पराजित भएको थियो । पश्चिमअञ्चलबाट वर्तमान समयका युवा अलराउन्डर कुशल मल्ल खेलेका थिए । त्यसपछि उनी नेपालको यू१६ को प्रशिक्षणमा परे ।

क्रिकेट छोड्ने निर्णय

विवेकले यू१६ प्रशिक्षणमा राम्रो गरेका थिए । तर उनलाई वैकल्पिक सूचिमा राखियो । उनका लागि सबैभन्दा खराब क्षण त्यहि थियो । ‘म रुँदै घर गएँ । अनि क्रिकेट नखेल्ने निर्णय लिएँ । टोलीमा नपरेपछि मैले बाबालाई पनि क्रिकेट छोडेको बताए । दुई तीन महिना जति खेल्दिन नै भनेर बसेको थिएँ । राम्रोसँग ध्यान दिएर पढ्छु भन्ने सोचें । तर मयानन्द मामाले आएर सम्झाउनु भयो,’ उनले विगत सम्झिए ।

‘यस्तो क्षण खेल जीवनमा आउँछ, खेल नछोड । तिम्रो खेल धेरै राम्रो छ भन्नु भयो । तर मनले मानिरहेको थिएन । नखेल्ने सोच बनिसकेको थियो । त्यसबीच घरमा स्थानीय खेल भयो । त्यहाँ लगातार तीन खेलमा म्यान अफ द म्याच हुँदै सिरिज भए । अनि फेरि क्रिकेट खेल्न थालें’, विवेकले भने ।

विवेकले यू१६ मा किन नराखेको भन्ने प्रश्नमा उनलाई अगाडि यू१९ लाई राखेको जवाफ पाएका थिए । कक्षा १० पढ्दा नेपालगञ्जमा भएको आठौं राष्ट्रिय प्रतियोगिता विवेकले प्रदेश २ बाट खेलेपनि खासै राम्रो मौका पाउन सकेनन् । त्यसवर्ष यू१९ विश्वकप छनोटको लागि उनी बन्द प्रशिक्षणमा परे । विनोद दास प्रशिक्षक थिए । तर उनी अन्तिम टोलीमा पर्न सकेनन् । एसिया कप छनोटमा पनि बन्द प्रशिक्षणमा राम्रो प्रर्दशन गर्दै बाहिरिए ।

यू१९ क्रिकेटमा डेब्यू

सन् २०१९ नोभेम्बरमा उनी पहिलो पटक नेपाली यू१९ टोलीमा परे । जुन उनको तेस्रो प्रयास थियो । रितको कप्तानीमा नेपालले भारतको हैदराबादमा यू१९ एकदिवसिय च्यालेन्जर ट्रफि खेलेको थियो । उक्त प्रतियोगितामा नेपालसँगै भारत, ए, बी र सी टोली थिए । सुरुवाती सबै खेलमा बेन्चमा बसेका उनले १७ नोभेम्बरमा भारतीय सीविरुद्ध डेब्यू गरेका थिए । उक्त खेलमा २१ बल खेलेर ६ रनमा आउट हुँदा विवेकले ७ ओभरमा ४६ रन खर्चेर एक विकेट लिएका थिए ।

विवेक कक्षा १० पासपछि क्रिकेट र पढाई दुवैमा भविष्य बनाउन ११ पढ्न काठमाडौं छिरेका थिए । काठमाडौं आएसँगै उनले ग्रेट हिमालय क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्दै आएका छन् । नेपालका पारस खड्का र दक्षिण अफ्रिका दक्षिण अफ्रिका एबी डी भिलियर्स उनका सर्वाधिक मनपर्ने खेलाडी हुन् । विवेकले लकडाउनको राम्रो सदुपयोग गरे । लकडाउनमा पूर्व क्रिकेटर दीपेन्द्र चौधरीको राम्रो साथ पाएपछि उनले आफ्नो ब्याटिङमा झनै सुधार गरेको बताउँछन् । उनका बुबा पूर्व भलिबल खेलाडी हुन् । विवेकले आफ्नो सफलता श्रेय पनि बुबा विरेन्द्रलाई दिन्छन् ।

विवेक सिनियर टोलीमा फिनिसरको रुपमा खेल्नेछन् । ओमान, आयरल्यान्ड र युएईसँग तीन टि२० आई खेल विवेकलाई आफ्नो स्तर मापन गर्ने राम्रो अवसर हुनेछ । तीव्र गतिमा बलिङ गर्ने विवेक पार्टटाइमका राम्रा विकल्प हुन् । घरेलु क्रिकेटमा विष्फोटक ब्याटिङमा देखाएको आत्माविश्वासलाई उनले ओमानमा निरन्तरता दिनुपर्छे हुन्छ । टोलीले पनि स्वतन्त्र रुपमा आफ्नो शैलीमा खेल्ने जिम्मेवारी दिएको छ । यो अवस्थामा विवेकले अन्त्यमा विष्फोटक ब्याटिङ गर्नु पर्ने हुन्छ ।

नेपाली क्रिकेटले उनीबाट ठूलो अपेक्षा गरेको छ । विवेकले सिनियर टोलीको यात्रा सुरुवात गर्दैछन् । यो यात्रालाई कहाँ पुर्याउने विश्वकपको प्रदर्शनले निर्धारण गर्नेछ । विश्वकपमा स्थान बनाउन सके विवेक र नेपाली क्रिकेट दुवैको भविष्य राम्रो हुनेछ । विवेकले यसलाई अझ राम्रोसँग बुझेका छन् ।

यो पनि पढ्नुहोस् : भलिबल खेलाडीका क्रिकेटर छोरा

नेपालका ‘३डी’ क्रिकेटर विवेक

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.