default_image

2 years ago

February 5, 2022

टि२० विश्वकप छनोटमा नेपालका पाँच प्रमुख कमजोरी

112 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाली क्रिकेटको सबैभन्दा ठूलो लक्ष्य अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने छ । ओमानमा अर्को महिना हुने आइसिसी टि२० विश्वकप ग्लोबल छनोट ए को फाइनलमा पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् ।

नेपाल सन् २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्न चाहन्छ । यसपटक नेपाललाई विश्वकप पुग्ने स्वर्णीम अवसर हो । नेपालको परिपेक्षमा टि२० विश्वकप ग्लोबल छनोट आइसिसीले इतिहासकै सहज शैलीमा गराउँदै छ । तीन खेलमा जित निकाल्न सकेमात्र विश्वकपमा स्थान बनाउन सक्ने छनोट प्रक्रिया छ । यति सहज शैलीमा टि२० ग्लोबल छनोट यसअघि कहिल्यै भएको थिएन । ग्लोबल छनोट ए मा नेपाल, ओमान, आयरल्यान्ड, युएई, जमर्नी, बहराईन, क्यानडा र फिलिपिन्स छन् ।

यस अन्तर्गत नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह बी मा छन् । समूह ए मा आयरल्यान्ड, बहराइन, जमर्नी र युएई छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आयरल्यान्ड, ओमान, नेपाल र युएई प्रमुख दाबेदार हुन् । क्यानडा सबैलाई सरप्राइज दिँदै विश्वकपमा पुग्ने सोचमा हुनेछ । अन्य तीन टोली तुलनात्मक रुपमा धेरै कमजोर छन् ।

सुधार भएको आक्रामक ब्याटिङ र युवा खेलाडीको बाहुल्यताले नेपालको विश्वकप आशा र सम्भावना उच्च बनाएको छ । तर निश्चित योजना अनुसार लगानी र तयारी नगर्दा विश्वकप छनोटमा नेपालका केहि कमजोरी पनि छन् । उक्त कमजोरीले विश्वकप सपनामा निराशा ल्याउन सक्छ । टि२० विश्वकप छनोटमा नेपाली क्रिकेटका प्रमुख पाँच कमजोरी यस प्रकार छन् ।

५. कमजोर तयारी

नेपालले टि२० विश्वकप तयारीमा डेढ महिना मात्र खर्चेको छ । पुष १९ देखि पहिलो चरणमा ३० खेलाडी बोलाएर बन्द प्रशिक्षण थालेको थियो । पुष २६ देखि प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिता सुरु भयो । ६ दिनको अभ्यासपछि १४ खेलाडीलाई राखेर फुकुवा गरेको थियो । प्रधानमन्त्री कपको समयमा पुबुदुले १४ खेलाडीलाई प्रशिक्षण दिएका थिए ।

माघ पहिलो साता नेपालले बन्द प्रशिक्षण अन्तिम टोली बोलाएर पुन: प्रशिक्षण सुरु गरेको थियो । नेपालले माघ २८ मा ओमान, माघ २९ मा युएई र फागुन २ मा आयरल्यान्डसँग खेल्नेछ । यी तीन खेलसँगै नेपालको विश्वकप टि२० तयारी पूरा हुनेछ । नेपालले विश्वकप तयारीको लागि ४२ दिन खर्चेको छ ।

नेपालले अन्तर्राष्ट्रिय टि२० नखेलेको झन्डै १० महिना भइसकेको छ । क्यानले टि२० विश्वकप तयारीलाई खासै प्राथमिकतामा राखेन । सिधै बन्द प्रशिक्षण बोलाएको हुँदा कुनै खेलाडीको प्रदर्शन त्यस समयमा अपेक्षा अनुसार नहुँदा पनि अन्य विकल्प हुने छैन ।

नेपालले लामो समय तयारीमा खर्चिदै निरन्तर आफू भन्दा उच्च स्तरका देशसँग सिरिज खेल्नुपर्ने थियो । कमजोरी पत्ता लगाउन साना नभएर ठूला टोलीसँग खेल्नुपर्छ । जितमा भन्दा हारमा बढी कमजोरी देखिन्छ । अन्य टोलीको तयारी राम्रो छ । ओमानले गत अक्टोबरमा घरेलु मैदानमा टि२० विश्वकपसँगै निरन्तर अन्तर्राष्ट्रिय खेलमा व्यस्त हुँदै आएको छ ।

ओमानको टोलीबाट भारत र पाकिस्तानी खेलाडीको बाहुल्यता छ । क्यानडाले गत नोभेम्बरमा अमेरिका क्षेत्र छनोट खेलेको थियो । क्यानडाका खेलाडी टि२० क्यानडा र क्वारेवियन टि२० फ्रेन्चाइज लिगबाट निखारिएका छन् । टेस्ट टोली तथा उपाधिको प्रमुख दाबेदार आयरल्यान्डले ठूला देशसँग निरन्तर खेल्दै आएको छ । युएईको घरेलु संरचना धेरै राम्रो छ ।

४. कप्तानमा अन्तर्राष्ट्रिय नेतृत्व अनुभवको कमी

क्यानले अनुशासन कारण देखाउँदै कारवाही गर्ने क्रममा मंसिर २९ मा ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो । सन्दीपसँग विश्वकप अघि तीन अन्तर्राष्ट्रिय खेलको कप्तानीको अनुभव हुनेछ । क्रिकेटमा अनुभवले निकै महत्वपूर्ण अर्थ राख्छ । कठिन समयमा कप्तानले सहि निर्णय लिन नसकेमा जितेको खेल हारमा परिणत हुनसक्छ ।

सन्दीपले फ्रेन्चाइज लिग, घरेलु क्रिकेट र यू–१९ टोलीको नेतृत्व सम्हालेका छन् । तर देश र घरेलुका नेतृत्व धेरै फरक छ । सन्दीपले अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिग निरन्तर खेल्दै आएका छन् । तर अरुको कप्तानीमा खेल्नु र कप्तानी जिम्मेवारीका साथ खेल्नुमा धेरै अन्तर छ ।

कठिन समयमा फिल्डिङ, बलर परिवर्तन, ब्याटिङमा कसलाई पठाउने अनुभवमा निर्भर रहन्छ । कठिन चुनौतीको समना गरिसकेकालाई अनुभवले धेरै सिकाउछ । कुनै खेलमा कठिन अवस्था आएमा त्यो सामना गर्ने सन्दीपसँग अनुभव हुनेछैन । कप्तान अनुसार रणनीति फरक हुन्छ । कप्तान अनुसार आ–आफ्नो रणनीति हुन्छ । खेलाडीले पनि खेल्ने शैलीमा केहि परिवर्तन गर्नुपर्ने हुनसक्छ । त्यसको लागि खेलाडीलाई केहि समय चाहिन्छ । बिग ब्यास लिग र कोरोनाले गर्दा बन्द प्रशिक्षणमा पनि जोडिन पाएका छैनन् ।

३. कमजोर बलिङ आक्रामण

बलिङ नेपालको इतिहास देखिनै प्रमुख हतियार हो । पछिल्लो समय नेपालको बलिङ विरासतमा ओरालो लागेको छ । सन्दीपबाहेक हेर्दा बलिङ धारिलो देखिदैन । सन्दीप सधैं चल्छन् र जिताउँछन् भन्ने हुँदैन । उनी नचल्दा थप समस्यामा पर्नसक्छ । प्रमुख स्पिनरमा सन्दीप र साहब आलम हुन् ।

साहबले गत वैशाखमा नेदरल्यान्ड्सविरुद्ध डेब्यू गरेका थिए । उक्त त्रिकोणात्मक सिरिजमा ३ खेलमा २ विकेट लिए । कमजोर प्रदर्शनपछि उनलाई बेन्चमा राख्दै कमलसिंह ऐरीलाई डेब्यू दिएको थियो । स्पिनरमा शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल पार्टटाइम स्पिनर हुन् । साहबले खराब प्रदर्शन गर्दा नेपालसँग अर्को विकल्प हुनेछैन । प्रमुख बलर जस्तो पार्टटाइम हुँदैन । ओमान भ्रमणमा तीव्र गतिका बलरमा कमलसिंह ऐरी, जितेन्द्र मुखिया, करण केसी र अभिनाश बोहरा छन् ।

कमलले २ खेलमा ५ विकेट लिएका छन् । अभिनाशले ४ ओभरमा २ विकेट लिएका थिए । जितेन्द्र २०१५ पछि नेपाली टोलीबाट पहिलो पटक खेल्दै छन् । अभिनाश डेथ ओभर स्पेलिष्ट हुन् । डेथ ओभरमा अभिनाशलाई साथ दिने राम्रो बलर देखिदैन । अभिनाश वा जितेन्द्रको प्रदर्शन खराब रहेमा अर्को विकल्प छैन । करण र कमल पावर प्लेका लागि चिनिन्छन् । जितेन्द्र लामो समयपछि फर्किएका छन् । त्यसैले यसै भन्न सकिदैन । सन्दीप बाहेक अन्य म्याच विनर बलरको कमी देखिन्छ ।

नेदरल्यान्ड्सले नेपालले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य १९.३ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको थियो । ओमानले आइसिसी विश्वकप लिग २ अन्तर्गत टियु मैदानमा २०२० फेब्रुअरीमा नेपालले प्रस्तुत गरेको २ सय ५० रनको लक्ष्य ४७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । टियुका यी दुई नतिजा खस्किदो बलिङको उदाहरण हुन् ।

२. दायाँ बायाँ (दाहिने र देब्रे) हाते सन्तुलनको कमी

आधुनिक क्रिकेटमा दायाँ बायाँ हाते ब्याटर र बलरले धेरै फरक पारेको छ । नेपालसँग बायाँ हाते ब्याटरको रुपमा कुशल मल्लमात्र छन् । उनको ब्याटिङ रोल स्पष्ट छैन । उनी तल्लोक्रममा खेल्ने निश्चित छ । शीर्ष पाँचमा कुनैपनि बायाँ हाते ब्याटर छैनन् । आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, शरद भेषावकर, लोकेश बम सबै दायाँ हाते ब्याटर हुन् ।

ओमानसँग बायाँ हाते तीव्र गतिका बलर बिलाल खान र स्पिनर जिशान मकसुद जस्ता स्टार खेलाडी छन् । क्यानडामा पाकिस्तानी मुलका बायाँ हाते तीव्र गतिका बलर कलिम सना र ऋषिभ जोशी छन् । स्निपर साद बिन जफर पनि बायाँ हाते बलर हुन् । यदि सेमिफाइनलमा आयरल्यान्डसँग खेल्नु पर्ने बायाँ हाते तीव्र गतिका बलर जोश लिटिल छन् । दायाँ हाते नेपाली ब्याटरलाई बायाँ हाते बलरको सामना गर्न कठिन पर्नसक्छ ।

नेपालसँग तीव्र गतिका बलर बायाँ हाते बलर छैनन् । कुशल र साहब बायाँ हाते बलर हुन् । रणनीति अनुसार साहबलाई प्लेइङ ११ मा पर्ननै मुश्किल देखिन्छ । कुशलले पार्टटाइमा एक दुई ओभर गर्नेछन् । ओमान र क्यानडा दुवैमा बायाँ हाते ब्याटर छन् । जसले गर्दा नेपालको दायाँ र बायाँ हाते सन्तुलनको कमी छ ।

भारतको टि२० विश्वकपमा पाकिस्तान र न्युजिल्यान्डसँग लज्जास्पद हारको एक कारण यो थियो । भारतले शीर्षक्रममा सुरुवाती दुई खेलमा बायाँ हाते ब्याटर ईशान किशनलाई खेलाएन । पन्त र जडेजा तल्लोक्रममा थिए । त्यसले भरपूर्ण फाइदा शाहिन शाह अफ्रिदी र न्युजिल्यान्डका ट्रेन्ट बोल्टले उठाए ।

बलिङमा तीव्र गतिका बलर नहुँदा बुमराह, शामी र भुवनेश्वरको प्रदर्शनमा समेत असर परेको थियो । दायाँ बायाँ हाते बलर र ब्याटरको सन्तुलन टि२० विश्वकपबाट थप प्रष्ट हुन्छ । अष्ट्रेलिया टि२० विश्वकप च्याम्पियन बन्यो । त्यसमा बायाँ हाते ब्याटर डेविड वार्नर प्लेयर अफ द टुनामेन्ट चुनिए ।

१. अन्तर्राष्ट्रिय एक्सपोजरको कमी

नेपालले टि२० विश्वकप खेल्ने आशानै पछिल्लो समय युवा खेलाडीको प्रदर्शन हो । कुशल भुर्तेल, आसिफ शेख, लोकेश बम, विवेक यादव, कमल, अभिनाश , कुशल मल्ल र साहब लगायतका युवा खेलाडीको प्रदर्शनमा नतिज निर्भर रहनेछ । कुशल मल्ल र अभिनाश बाहेक अन्यले ५ भन्दामाथि टि२० आई खेलेका छैनन् ।

भुर्तेलले ५ टि२० आई खेलमा २ सय ७८ र आसिफले समान खेलमा १ सय ४७ बनाएका छन् । साहबले ३ र कमलले २ खेल खेलेका छन् । लोकेश र विवेक टोलीमै पहिलो पटक परेका हुन् । कुशल मल्लले १० टि२० आई खेलेका छन् । कुशल, आसिफ, साहब र कमलले नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेलेका थिए । नेदरल्यान्ड्सले दोस्रो रोजाईको टोली पठाएको थियो भने मलेसिया नेपाल भन्दा कमजोर टोली हो । घरेलु मैदान र विदेशी भूमिको प्रर्दशन त्यसै पनि फरक पर्छ ।

दबाब र खराब समयमा युवा खेलाडी सम्हालिन कठिन पर्छ । किनभने अनुभवको धेरै कमी छ । दबाबको खेलमा क्षमता नभएर अनुभवको आवश्यकता पर्दछ । खेलाडीसँग गल्ती गरेपछि सिक्ने समय छैन । खेलाडीलाई गल्ती सुधार गर्न धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय खेलको अनुभव दिनुपर्छ ।

खेलाडीले सिक्ने नै गल्तीबाट हो । तर गल्ती गर्दा विश्वकप सम्भावनानै सकिनेछ । अनुभवको कमी टि२० विश्वकपमा भारतका स्पिनर वरुण चक्रवर्ती र ब्याटर सूर्यकुमार यादव राम्रा उदाहरण हुन् । असोजमा नेपाली टोलीमा परेका गुलशन झा अर्का उदाहरण हुन् ।

July 7, 2024

भारतले जिम्बाब्वेलाई हरायो

एजेन्सी – पाँच टि-२० खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोलीले दोस्रो खेलमा जित हात पारेको छ । हरारेमा भएको खेलमा भारतले घरेलु टोलीमाथि १०० रनको जित हात पर्दै शृंखलामा बराबरी गरेको हो । भारतले दिएको २३५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.२ ओभरमा १३४ रनमा समेटियो । घरेलु टोलीका लागि वेस्ली मधुभेरेले ३९ बलमा सर्वाधिक […]

July 6, 2024

भारत जिम्बाब्वेसँग पराजित

एजेन्सी – पाँच टि-ट्वान्टी खेलका लागि जिम्बाब्वे पुगेको भारतीय क्रिकेट टोली पहिलो खेलमा पराजित भएको छ । हरारेमा भएको पहिलो खेलमा भारत घरेलु टोलीसँग १३ रनले पराजित भएको हो । जिम्बाब्वेले दिएको १ सय १६ रनको सामान्य लक्ष्य पछ्याएको भारत १९.५ ओभरमा १ सय २ रनमा समेटियो । भारतका लागि कप्तान शुभमन गिलले २९ बलमा […]

July 6, 2024

महिला एशिया कपका लागि नेपाली टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – एसिसि महिला एशिया कप २०२४ का लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाई भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाई गरेको हो । कार्यक्रममा क्यानका सचिव पारस खड्का सहित अतिथिका रूपमा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको सहभागिता रहेको थियो । […]

Success

Thank you for your time.