default_image

3 years ago

February 4, 2022

क्रिकेटमा सफल दीपेन्द्रको नयाँ भूमिका

122 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

दीपेन्द्र चौधरी खेलाडी जीवनमा एक सफल अलराउन्डर थिए । झण्डै डेढ दशक नेपालको सिनियर राष्ट्रिय टोलीबाट खेलेका दीपेन्द्र अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) को मुख्य छनोटकर्तामा नियुक्त भएका छन् । पूर्व कप्तान उत्तम कर्माचार्यले राजीनामा दिएपछि क्यानले दीपेन्द्रलाई छनोट समितिको संयोजकको जिम्मेवारी दिएको हो । उनले आफ्नो खेलाडी जीवनपछि पहिलो पटक क्यानसँग जोडिएर काम गर्नेछन् ।

चौधरीसँग खेलाडी जीवनपछि प्रशिक्षक, म्याच रेफ्रि, यू–१६ टोलीको प्रशिक्षक, यू-१९ को सहायक प्रशिक्षक, सन् २०१४ मा महिला टोलीको प्रशिक्षक तथा फ्रेन्चाइज लिगमा निर्देशकको रुपमा काम गरेको अनुभव र सफल छवि छ । शान्त स्वभावका उनी स्वतन्त्र रुपमा र राजनीतिबाट टाढा रहँदै काम गर्न रुचाउँछन् ।

सन् १९९८ अक्टोबर ८ मा घरेलु मैदानमा भएको एसिसी ट्रफीमा युएईविरुद्ध खेल्दै चौधरीले राष्ट्रिय टोलीबाट डेब्यू गरे । पुल्चोक इन्जिनियरिङ क्याम्पस ललितपुरमा भएको उक्त खेलमा तीव्र गतिमा बलिङ गर्दै उनले ८.४ ओभरमा ४६ रन खर्चेर ६ विकेटका साथ कीर्तिमान रचे । नेपालबाट अन्तर्राष्ट्रिय डेब्यू खेलमा कुनै पनि खेलाडीले बलिङतर्फ गरेको उत्कृष्ट प्रदर्शन हो । यो कीर्तिमान तोड्न सहज पनि देखिदैन ।

सोहि मैदानमा अर्को दिन हङकङसँग उनले ६१ बलमा ५ चौकासहित सर्वाधिक ३५ रन बनाए । सन् २००० मा नेपालबाट यू–१९ विश्वकप पनि खेले । सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीमा दीपेन्द्रले कुवेतविरुद्ध ८० रनको अविजित इनिङ खेले । दीपेन्द्रले टोलीमा शीर्षक्रमको ब्याटर र मध्यगतिको बलरको भूमिका निर्वाह गरे ।

एसिसी टि२० कप २००९ मा नेपाल र कुवेतबीचको खेल टाई हुँदा दीपेन्द्रले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । दीपेन्द्रको उत्कृष्ट बलिङको सहयोगमा कुवेत १ सय २३ रनमा अल आउट भएको थियो । अन्तिम बलमा ७ रन चाहिएको अवस्थामा विनोद भण्डारीले छक्का हान्दै खेल टाई गराएका थिए ।

नेपालले पहिलो पटक आइसिसी उपाधिको रुपमा सन् २०१० मा डिभिजन ५ को उपाधि जित्दा चौधरी टोलीको सदस्य थिए । उनी आज पनि त्यसलाई आफ्नो करिअरको सर्वाधिक खुसी भएको क्षण मान्छन् । ‘त्यो सबैभन्दा खुसीको क्षण थियो । नेपालले पहिलो अन्तर्राष्ट्रिय उपाधि घरेलु मैदानमा जितेको थियो । त्यसको वर्णन शब्दमा गर्न सकिदैन । त्यो जीवनभर उत्कृष्ट क्षणमा रहन्छ’, चौधरीले स्मरण गर्दै भने ।

सन् २०११ अप्रिल ९ मा कुवेतमा भएको एसिसी ट्रफी एलिट फाइनलमा अफगानिस्तानसँग उनले अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । उनले २००६ को केहि समय बाहेक अन्यमा निरन्तर नेपालबाट खेले । दीपेन्द्र घरेलु क्रिकेटका सफल कप्तान पनि हुन् । उनको कप्तानीमा तत्कालिन क्षेत्र नम्बर १ (विराटनगर) ले २०५८ देखि २०६१ सम्म विरेन्द्र स्मृति राष्ट्रिय प्रतियोगिता लगातार चार पटक जितेको थियो । लगातार चार राष्ट्रिय उपाधि जिताउने उनी घरेलु क्रिकेटमा हालसम्म एक्लो कप्तान हुन् । उनी राष्ट्रिय टोलीको उप–कप्तान पनि बने । कप्तानी अवसर भने पाएनन् ।

‘कप्तान बन्छु भन्ने त्यस्तो मनमा आएन । म भन्दा सिनियर थिए । राजु भन्दा अघि पवन दाइ हुनुन्थ्यो । मैले पवन दाइलाई सधैं सम्मान पनि गर्छु । मैले वहाँलाई देखेर ब्याटिङ सिकेको हुँ । राजु कप्तान हुँदा विनोदलाई उपकप्तान बनाइयो । विनोद र म समकालीन नै हौं । एक दुई वर्ष उमेरमा तलमाथि होला । विनोदलाई उपकप्तान नियुक्त गरेपछि पक्कैपनि अर्को कप्तान उ नै थियो । एक दिन कप्तान बन्छु भन्ने मनमा सबैको हुन्थ्यो । विनोदलाई उपकप्तान दिएपछि मेरो सम्भावना त्यतिकैमा सकिएको थियो’, कप्तानीबारे उनले भने ।

दीपेन्द्रले नेपालको सिनियर टोलीबाट १३ वर्ष खेले । त्यसपछि केहि समय घरेलु क्रिकेट खेले । म्याच रेफ्रि, इपिएल र पोखरा राइनोजको निर्देशकको रुपमा काम गरे । २०७५ सालमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) को प्रशिक्षक बने । वर्तमान नेपाली क्रिकेट टोलीका विष्फोटक ब्याटर लोकेश बम दीपेन्द्रका उत्पादन हुन् । केहि युवा स्टारले दीपेन्द्रको प्रशिक्षण शैलीबारे खुलेर प्रशंसा गर्दै आएका छन् । लोकेश, विपिन रावल, ईश्वरी विष्ट लगायतका खेलाडी दीपेन्द्रकै उत्पादन हुन् ।

तर यी सबै भूमिका अहिलेको भन्दा फरक छ । नेपालमात्र होईन विश्वमै छनोटकर्ताले सधैं आलोचना खेप्नुपर्छ । ‘मेरो सम्झौता दुई वर्षको छ । यसमा मैले मेरो अनुभव र घरेलु क्रिकेटलाई हेरेर नेपाली क्रिकेटलाई नयाँ खेलाडी दिन प्रयास गर्नेछु । राष्ट्रिय टोलीमा धेरै परिवर्तन हुँदैन । व्याकअपको लागि के गर्न सकिन्छ । क्यान र क्रिकेट म्यानेजरसँग बसेर छलफल गर्ने छु’, चौधरीले भने ।

‘मलाई यो चुनौती र अवसर दुवै हुनेछ । यसलाई कसरी लिने त्यसमा भरपर्छ । म चुनौतीको रुपमा लिन्छु । म क्यानसँग मिलेर काम गर्छु । तलदेखिनै खेलाडी छनोटको एउटा सिस्टम ( नियम/कानुन) बनाएर माथिसम्म खेलाडी ल्याउन सके राम्रो हुन्छ । एक पटक राम्रो नियम बन्यो भने सधैंभरलाई हुन्छ । त्यसलाई मिचेर कोहि माथि आउन सक्दैन । त्यसपछि आफैं खेलाडी माथि आइहाल्छन् । त्यसको लागि तलदेखिनै खेलाडी फिल्टर गरेर ल्याउनुपर्छ । राष्ट्रिय टोलीको व्याकअप राम्रो गराउन सके धेरै सहज हुन्छ’, उनले भने ।

‘यो जिम्मेवारीमा मैले खेलेको, प्रशिक्षक गरेका र केहि फ्रेन्चाइज लिगमा काम गरेको अनुभवले सहयोग गर्छ । यो अनुभवलाई प्रयोग गरेर प्रदेशसँग सहकार्य गर्दै अघि बढेर काम गर्छु’, उनले आफ्नो लक्ष्य सुनाए ।

पछिल्लो समय युवा खेलाडीलाई डेब्यू दिन निकै हतार, धैर्यता कमी र खेलाडीमा गैर जिम्मेवारपन सिनियर टोलीको समस्या हुन् । वर्षमा एउटा राष्ट्रिय प्रतियोगिताको चार खेलमा गरेको प्रदर्शनबाट उत्कृष्ट खेलाडी छनोट गर्नुपर्ने बाध्यता छ । क्यान आइसिसीको निलम्बन नहुँदा युवा खेलाडीले अत्याधिक डेब्यू गरे । खेलाडी तयार पार्न भन्दा पनि सिधै उत्कृष्ट प्रदर्शनको अपेक्षा बढी गरियो । घरेलु प्रतियोगितामा एउटा खेलमा राम्रो गरे सिनियर टोली पर्ने र एक खेलमा नराम्रो गरे बाहिरिने वातावरण बन्यो । गैरजिम्मेवारी सट र टिम प्रदर्शन कमी त्यसको कारण हो । यी सबै समस्या उनलाई राम्रोसँग थाहा छ ।

‘कुनैपनि खेलाडीलाई टोलीमा ल्याउने बितिक्कै हटाउन मलाई त्यति जायज लाग्दैन । कसैलाई ल्याइसकेपछि पर्याप्त समय दिनुपर्छ । हुनसक्छ त्यो बीचमा कतिपय खेलाडी आए गए । हामी घरेलु प्रतियोगिता प्रदर्शन, फिटनेस र मानसिक तयारी फेरि हेर्छौं । सन् २०१५ देखि २०१९ सम्म खेलाडीलाई गरेको लगानी खेर जान दिनु भएन । यसअघि त्यस्तो मारमा परेका खेलाडीलाई पनि सिस्टममा ल्याएर पूनरागमनको लागि केहि योजना बनाउँछौं । क्यानसँग छलफल गर्छु । भविष्यमा नेपाली क्रिकेटको लागि राम्रोनै हुन्छ’, उनले भने ।

चौधरीले एसिसीबाट लेभल थ्री प्रशिक्षक पूरा गरेका छन् । त्यसैले उनलाई थप सहज हुनेछ । उनी छनोटमात्र होईन खेलाडीको कमजोरीमा राम्रो सल्लाह र सुझाव दिने गर्दछन् । उनी घरेलु क्रिकेटका प्रेरणादायी र उदाहरणीय प्रशिक्षक हुन् ।

त्यसो त क्यानभित्र ठूलो राजनीति रहेको चर्चा बेला बेलामा चल्ने गर्दछ । जिल्ला र प्रदेशबाट आफ्नो क्षेत्रको खेलाडी राख्न लविङ र दबाब आउने गलत परम्पराले आधुनिक क्रिकेटमा स्थान पाउनु हुँदैन । छनोट समितिमा कुनैपनि खेलाडी टिममा पर्न आफ्नो प्रदर्शन बाहेक अन्य कल्पना नसक्ने नियम बनाउनु आवश्यक छ । कुनै स्वार्थ र आफ्नोपन विना निष्पक्ष छनोट र प्रतिभा चिन्न सक्ने मात्र नेपाली क्रिकेटको स्तर माथि उठ्नसक्छ ।

स्थानियर स्तरदेखिनै सुधार नगरि केन्द्रमा एकै पटक परिवर्तन हुँदैन र सम्भव पनि छैन । घरेलु क्रिकेटमा जिल्ला र प्रदेश छनोट शैली कोटाले निकै बिग्रिएको छ । क्रिकेट विकास गर्ने हो भने र उनले चाहेमा क्यानले त्यो अधिकार दिन हट्नु हुँदैन । किनभने मुख्य उदेश्यनै सबैको क्रिकेट विकास हुनुपर्छ । राजनीतिक कोटा र चुनाव स्वार्थ राख्नु हुँदैन ।

‘मलाई लाग्दैन क्यानबाट हस्तक्षेप हुन्छ । मैले गर्ने काम नेपाली क्रिकेटको राम्रोको लागि हो । म क्यानसँग समन्वय गरेर नै अगाडि बढ्ने हो । मेरो लक्ष्य व्यक्तिगत भन्दा नेपाली क्रिकेटको विकास हो । क्यान र हामी बसेर नेपाली क्रिकेटको राम्रोको लागि के हुन्छ त्यसको बाटो निकालेर अघि बढ्ने हो’, चौधरीले भने ।

‘खेलाडीको जीवन बिताएपछि पहिलो पटक क्यानसँग मिलेर केहि काम गर्दैछु । मैले पछिल्लो १० वर्षमा जति काम गरेको छु । ती सबै सफल भएका छन् । चाहे त्यो इपिएल होस् वा डिसिएको प्रशिक्षण । त्यहि अनुभवलाई यहाँ ल्याउँछु । आशा गरौं यहाँ पनि सफल हुनेछु,’ उनले थपे ।

चौधरीसँग थुप्रै योजना र काम गर्ने नयाँ तरिका छन् । त्यसै अनुसारनै काम गर्नदिनुपर्छ । धेरै रन बनाउने र विकेट लिनेलाई मात्र टोलीमा समेट्ने शैलीमा अडिएर छनोट गर्ने परम्परा नतोडेसम्म माथि उठ्न कठिन हुने देखिन्छ । उनले चाहेरमात्र परिवर्तन भने हुन सक्दैन । सबैले निस्वार्थ भावनाले साथ र सहयोग दिनुपर्छ । उनले दिएको सल्लाह, सुझाब र योजना क्यानले त्यतिनै सम्मानका साथ लागु गर्नुपर्छ । आर्थिक अभाव देखाएर रोक्नु हुँदैन ।

चौधरीबाट जवाफदेहिता अपेक्षा गरिएको छ । जुन अहिले पाइँदैन । टिममा खेलाडी किन परेन ? उसले कुन पक्ष सुधार गरेमा टिममा पर्नसक्छ ? टिममा कसरी पर्यो ? सार्वजनिक रुपमा नभएपनि खेलाडीसामु जवाफदेहिता हुनुपर्छ । यसले खेलाडीमा थप प्रतिस्पर्धाको लागि उर्जा मिल्नसक्छ । कुनैपनि खेलाडीलाई काखा र पाखा गर्नु हुँदैन । आफ्नो क्षेत्रकोलाई बढी प्राथमिकतामा राख्ने अन्त्य हुनुपर्छ । हाम्रो नभएर सधैं राम्रो मात्र सोच्नुपर्छ । यसले प्रतिस्पर्धामात्र होईन टिम एकता पनि बढाउछ ।

दीपेन्द्रले छनोटमा शून्यबाट सुरुवात गर्नेछन् । परिवर्तन देखिन केहि समय लाग्छ । तर उनले गर्ने कामको सुरुवातले भने भविष्यको संकेत गर्नेछ । सिनियर टोलीमा उपकप्तान चयनबाट उनको सुरुवात हुनेछ । पछिल्लो समय खेलाडी विवादले क्यानले उपकप्तान चयनमा आफ्नो स्वार्थ राख्छ वा राख्दैन चाखको विषय बन्दै आएको छ ।

चौधरीबाट नयाँ भूमिकामा धेरै आशा र अपेक्षा राखिएको छ । यसअघिका उनको सफलता स्वच्छ व्यक्तिगत छविले नै सम्भव भएको हो । उनले आफ्नो स्वभाव अनुसार काम गर्छन् वा क्यानमा टिक्न आफ्नो स्वभावनै परिवर्तन गर्छन् आगमी दिनमा उनले गर्ने कामले बताउने नै छ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.