3 years ago
January 27, 2022
भुपेन्द्र जिसी, काठमाडौं
लोकेश बमको नाम पछिल्लो साता नेपाली क्रिकेट वृत्तमा एकदम चर्चामा रहयो । एक महिनाअघि यू-१९ टोलीको बन्द प्रशिक्षणमा नपरेका लोकेश गत साता विश्वकप छनोटका लागि घोषित नेपालको सिनियर टोलीमा परे । यो छनोटमा धेरैले आश्चर्य पनि मानेनन् । कारण थियो, पीएम कपमा क्षमता अनुसारको आक्रामक ब्याटिङ ।
त्यसो त नेपाली खेलाडीको क्षमताकै आधारमा प्रशिक्षक पुबुदु दासानायकेले गत महिना घोषणा गरेको प्रारम्भिक टोलीमा लोकेश थिएनन् । त्यसबेला दासानायकेले उपलब्ध खेलाडीलाई एक साता बन्द प्रशिक्षणमा राखेर खेलाडीको स्तर मापन गरे । त्यसपछि झन्डै डेढ साता चलेको पीएम कपमा उनले टोलीमा आवश्यक पर्ने खेलाडी हेरे । लोकेश मात्र यस्ता नाम थिए जो बन्द प्रशिक्षणमा नभएपनि सिधै आइसिसी टि२० विश्वकप ग्लोबल छनोट एको अन्तिम टोलीमा पर्न सफल रहे ।
नेपाल एपिएफ क्लबबाट खेल्दै आक्रामक ब्याटिङका साथ लोकेशले नेपाली टोलीको जर्सी लगाउने सपना साकार पारेका हुन् । एपिएफलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट प्रभाव छाडेपछि प्रशिक्षक पुबुदु दासानायकेले विश्वकप छनोट टोलीमा लोकेशलाई समेटेका हुन् । लोकेशले प्रधानमन्त्री कपको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरे । जुन नेपाली टि२० इतिहासकै सर्वाधिक छिटो अर्धशतक थियो ।
नेपाली क्रिकेटका चर्चित तीव्र गतिका बलर जितेन्द्र मुखिया र स्पिनर सुशान भारीमाथि आक्रामक ब्याटिङ गर्दै १८ बलमा २ चौका र ९ छक्कासहित ६६ रनको आक्रामक अविजित इनिङ खेलेका थिए । लोकेशले आर्मीका प्रमुख बलर जितेन्द्रलाई आफूले सामना गरेको सुरुवाती तीनबलसहित कुल ६ छक्का प्रहार गरेका थिए ।
लोकेशले बागमती प्रदेशविरुद्ध २१ बलमै अर्धशतक प्रहार गर्नेक्रममा रामनरेश गिरीविरुद्ध एकै ओभरमा पाँच चौका र एक छक्कासहित २६ रन जोडेका थिए । फाइनलमा पुलिसविरुद्ध लोकेशले १५ बलमा १ चौका र ३ छक्कासहित २७ रन जोडेका थिए । लोकेशले प्रहार गरेका लगभग सबै सट सानदार र उत्कृष्ट थिए ।
त्यसो त क्यानले टि२० राष्ट्रिय प्रतियोगिताअघि पहिलो चरणको बन्द प्रशिक्षणमा बोलाएका ३० खेलाडीमा लोकेश थिएनन् । एक महिना अघि नेपालको यू–१९ टोलीकै बन्द प्रशिक्षणमा पनि उनी पर्न सकेका थिएनन् । लोकेशले टि२० राष्ट्रिय प्रतियोगितामा सानदार प्रदर्शनसँगै सिनियर टोलीमा स्थान बनाएका हुन् । लोकेश सिनियर टोलीमा स्थान बनाउन पछिल्लो दुई वर्षदेखि प्रयासरत थिए ।
लोकेश २०२० को फेब्रुअरीमा घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिजमा पहिलो पटक सिनियर टोलीको बन्द प्रशिक्षणमा परेका थिए । लोकेशले त्यसै महिना सुरुवातमा पिपिएलमा विराटनगर टाइनटन्सबाट चितवन राइनोजविरुद्ध ३६ बलमा ५ चौका र ५ छक्काको ६२ रनको इनिङ खेलेपछि एकाएक चर्चा चुलिएको थियो ।
पिपिएलमा उत्कृष्ट प्रदर्शन गरेपछि तत्कालिन प्रशिक्षक उमेश पटवालले लोकेश सिनियर टोलीको बन्द प्रशिक्षणमा बोलाएका थिए । लोकेश एसिसी टि२० एसिया छनोट इस्टर्न रिजन र गत वैशाखमा भएको नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक टि२० आई सिरिजमा नेपालको बन्द प्रशिक्षण टोलीमा थिए । त्यसपछि लोकेशले यू–१९ राष्ट्रिय प्रतियोगिता सुदूरपश्चिमबाट खेलेपनि यू–१९ एसिया कपमा पर्न सकेनन् ।
‘पहिलो पटक सिनियर टोलीमा पर्दा खुसी त लाग्छ नै । अब त्यहाँ कसरी राम्रो गर्ने हो त्यो सोचिरहेको छु’, लोकेशले भने, ‘मेरो लागि यो सबैभन्दा ठूलो अवसर हो । मैले आफूलाई पनि प्रमाणित गर्नुछ । त्यो भन्दा ठूलो कुरा नेपाललाई विश्वकप छनोट गराउनु छ ।’
‘विश्वकप भनेको सबैभन्दा ठूलो अवसर हो । सानैदेखि अरु देश खेलेको हेर्दै आएको छु । सन् २०१४ मा नेपाल खेल्दा पनि खुसी लागेको थियो । फेरि नेपाललाई विश्वकप खेलाउने अवसर पाएका छौं । हामी आफैंले मिहिनेत गरेर राम्रो खेल्दै पुर्याउने हो । त्यहाँ गएर राम्रो कसरी गर्ने भन्ने सोचिरहेको छु । मेरो मन र मस्तिष्कमा नेपाललाई कसरी छनोट गराउने भन्ने छ’, उनले भने ।
‘सामान्य प्रदर्शनले टिममा परिदैन भन्ने मेरो दिमागमा थियो । मौका पाएमा यस्तो राम्रो विकेटमा सकेसम्म कम बलमै अर्धशतक बनाउँछु भन्ने सोच थियो’, उनले भने ।
लोकेशको बाल्यकाल
लोकेशको जन्म बुबा दिल बहादुर र आमा शान्ता देवी बमको कोखबाट २००३ अगष्ट १४ मा डोटीको बोगटान चाल्सामा भएको हो । लोकेश घरको जेठो सन्तान हुन् । लोकेश हाल धनगढीको तारानगरमा बस्छन् । जनयुद्धको समयमा पुर्ख्यौली घर डोटी छाडेर धनगढी आएका लोकेश डोटी जाने आउने गर्दछन् । प्राय दशैं तिहार मनाउन परिवार डोटी जान्छन् ।
मध्यम परिवारमा जन्मेर हुर्केका लोकेशलाई क्रिकेटका सामानहरु किन्न सहज थिएन । क्रिकेट एकेडेमी भर्ना हुन्छु भन्दा खेलेर के हुन्छ भन्ने जवाफ पाउँथे । लोकेश र सुदूरका अर्का युवा स्टार नारायण जोशी बाल्यकालमा सँगसँगै खेलेर हुर्किएका हुन् । घरबाट लोकेशलाई क्रिकेट नखेल्न भन्थे । तर पनि मानेनन् ।
कहिले काहिँ खेल्दा उनकी मम्मीले स्कुलमै पुगेर शिक्षकलाई भन्दिन्थिन् । शिक्षकहरुले लोकेशको कुरा गम्भीर रुपमा लिएनन् । त्यो समयमा क्रिकेट खेलेर के नै हुन्छ भन्ने थियो । बुबा लोकेशलाई ओभरसियर इन्जिनियर बनाउन चाहन्थे । तर लोकेश आफ्नो जिद्दीले क्रिकेटको बाटो रोजे ।
लोकेश धनगढी क्रिकेट एकेडेमी (डिसिए) का उत्पादन हुन् । २०७२ सालमा उनी आफ्नी अन्टीसँग (थमिना चन्द) झन्डै तीन महिना भारतको द्वारिका क्रिकेट एकेडेमीमा सिकेका थिए । त्यसपछि डिसिएमा अभ्यास गर्न थाले । त्यसै समयमा डिसिएको मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्व खेलाडी दीपेन्द्र चौधरी गए । लोकेशले नेटमा अभ्यास गरि राख्दा दीपेन्द्र प्रभावित भए । दीपेन्द्रको प्रशिक्षणमा लोकेश निखारिए ।
नेपालले २०१४ को टि२० विश्वकप खेलिरहेको थियो । त्यो टि२० विश्वकपबाट प्रभावित हुँदै लोकेश क्रिकेटमा प्रेरित भएका थिए । लोकेश त्यो समय फारवेस्ट सकेन्डरी स्कुलको होस्टेलमा थिए । क्रिकेटमा राम्रो सम्भावना देखाएपछि डिसिएका प्रमुख सुवास शाहीले एसपिए कलेजमा लोकेशलाई ११/१२ छात्रवृतिमा पढ्ने व्यवस्था मिलाए । लोकेश पहिलो पटक २०१८ मा लखनऊ भ्रमणको लागि नेपाली टोलीमा परेका थिए । त्यसपछि लोकेश २०१९ मा एसिसी यू१९ एसिया इस्टर्न रिजन छनोट र एसिया कप टोलीमा परे तर खेल्ने अवसर पाएनन् ।
लोकेशले दोस्रो प्रधानमन्त्री कप २०१८ र तेस्रो संस्करण (२०१९) प्रधानमन्त्री कप सुदुरपश्चिमबाट खेलेका थिए । चौथो संस्करणको त्रिभुवन आर्मी क्लबबाट खेल्दै च्याम्पियन बने । पिपिएलको प्रदर्शन लोकेशको करिअरको टनिङ प्वाइन्ट हो । त्यो अर्धशतकीय इनिङले लोकेशले सफताको ठूलो छलाङ मारे ।
त्यो खुसीलाई नियन्त्रण गर्न नसकेको लोकेश बताउँछन् । पिपिएलपछि लोकेशबाट उच्च प्रदर्शनको अपेक्षा हुन थाल्यो । तर प्रदर्शन त्यस अनुसार हुन सकेन । बीचमा लोकेश मिहिनेत नपुगेको बताउँछन् । ‘पिपिएलपछि कोरोनाको कारण मेरो लयनै रोकियो । लामो समयसम्म अभ्यास गर्न नपाउँदा त्यो लय आउन सकेको थिएन । एउटा मोमेन्टमलाई निरन्तरता दिन पाइएन । मिहिनेत पनि नपुगेको हो’, लोकेशले स्वीकारे ।
‘म, रोहित, कुशल भुर्तेल सबैले टियुमा अभ्यास गरिरहेका थियौं । नेपाललाई विश्वकपमा पुर्याउनु पर्छ रोहित कुशलको कुरा हुन्थ्यो । कुशलले भनेको सुन्दा मलाई पनि टिममा पर्न मन लाग्थ्यो । म पनि त्यहिँ भनु अनुभव भएको थियो । सँगै अभ्यास गरिरहें । उक्त अभ्यासपछि लयमा आए जस्तो भएको थियो । कुरा पनि त्यस्तै भएको थियो ।’
‘टियुको विकेट यस्तो राम्रो छ । १५–२० बलमै अर्धशतक बनाउनुपर्छ । एउट अर्धशतक १६/१७ बलमा हान्छु । अर्कोमा १७/१८ बलमै हान्छु,’ भन्ने कुशल भुर्तेलको कुरा लोकेशले अभ्यासमा सुन्थे । यसले गर्दा लोकेशलाई सामान्य प्रदर्शनले टोलीमा परिदैन भन्ने थाहा थियो ।
‘सामान्य ५० रनले टोलीमा पर्न कठिन छ भन्ने थाहा थियो । मैले पनि मौका पाएमा कम बलमा हान्छु भन्ने सोच बनाएको थिएँ’, लोकेशले सुनाए ।
‘पहिलो पटक टिममा पर्दा उत्साहित छु । दबाब पनि छ । सुरुमा टिममा पर्न सजिलो छ । नेपाली टोलीमा पर्न त्यति धेरै गाह्रो पनि छैन जस्तो लाग्छ । भित्र बसेर प्रदर्शन गर्न गाह्रो हो । टिममा परेर निरन्तर प्रदर्शन गर्न सहज हुँदैन’, उनले भने ।
लोकेशलाई विदेशी मन पर्ने खेलाडी भारतीय लोकेश राहुल (केएल) हुन् । पछिल्लो समय नेपाली टोलीका कुशल भुर्तेल र आसिफ शेखको प्रदर्शनबाट प्रभावित भएको बताउँछन् ।
लोकेशलाई यो अवस्थामा आउन सम्म मम्मीको ठूलो हात रहेको बताउँछन् । त्यसपछि अंकल (सुरज बम) को हात छ । अंककले कहिल्यै पैसाको अभाव हुन नदिएको उनी बताउँछन् । अर्का अंकल खेम बमले पनि यो यात्रा ठूलो साथ दिएका छन् । धनगढीमा प्रशिक्षक दीपेन्द्र चौधरी र सुवास शाहीले राम्रो साथ दिए । सहकर्मी नारायण जोशीको पनि साथ रहेको उनी बताउँछन् ।
२०७६ फागुनमा लोकेशले भैरहवामा सम्पन्न एसियन च्यालेन्जर ट्रफी प्रतियोगिता राइनो क्रिकेट क्लब नेपालबाट खेल्दै असरक क्रिकेट क्लब बाङ्लादेशविरुद्ध ३७ बलमा १२ छक्का र ३ चौका सहित ९० रनमा अविजित इनिङ खेलेका थिए । त्यो लोकेशलाई आफ्नो करिअरको उत्कृष्ट प्रदर्शन लाग्छ ।
‘अहिले टियुको विकेट राम्रो छ । म जस्तो तरिकाले खेल्छु यो विकेट पनि त्यस्तै किसिमको छ । सधै खेलिरहेको भएर पनि सजिलो भएको हो । म कहिले पनि बलरलाई हाबी हुन दिन्न । एपिएफमा शरद दाइले मलाई स्वतन्त्र छाड्दै भनेको ठाउँमा ब्याटिङ गर्न दिनुभयो । त्यसले गर्दा सहज भयो । पावर प्लेमा ओपनिङ गर्दै आक्रामक रुपमा रन जोड्न मन लाग्छ’, लोकेशले भने ।
लोकेशलाई सिनियर टोलीको प्लेइङ ११ मा स्थान बनाउन सहज छैन । प्रशिक्षक पुबुदु दासानायकेले आयरल्यान्ड, ओमान र युएईसँग हुने टि२० आई सिरिजमा लोकेशलाई मौका दिने देखिन्छ । कुन स्थानमा खेलाउने टिम भित्रको उच्च प्रतिस्पर्धाले भन्न सक्ने अवस्था छैन । नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्ने पक्का छ । तेस्रो नम्बरमा लोकेश र ज्ञानेन्द्र मल्ल त्यसको दौडमा छन् । चौथो नम्बरमा दीपेन्द्र पाँचौंमा कुशल र छैटौंमा विवेक यादव दावेदार देखिन्छन् । लोकेश तेस्रो वा तल्लोक्रममा खेल्ने प्रबल सम्भावना देखिन्छ ।
लोकेशले सुरुवाती तयारी खेलमा टि२० राष्ट्रिय प्रतियोगिता शैलीमा नै खेल्नुपर्ने हुन्छ । आयरल्यान्ड, ओमान र युएई नेपालका प्रमुख चुनौतीका टोली हुन् । यी टोलीविरुद्ध विश्वकप छनोटमा निकाल्ने नतिजाले नै नेपालको विश्वकप यात्रा निर्धारण गर्नेछ । बलिया टोलीविरुद्ध सहज हुनेछैन । त्यहिँ कठिनलाई सहज बनाउन नेपालले लोकेशलाई टोलीमा समेटेको हो । यो कुरा लोकेशले अझ राम्रोसँग बुझेका छन् ।
लोकेशले आफ्नो शैलीको खेल खेल्न सके नेपालको जित सहज हुनेछ । ग्लोबल छनोट ए लोकेशलाई एउटा राम्रो अवसर र चुनाती हुनेछ । लोकेशले यस अवसरलाई कसरी सदुपयोग गर्छन् त्यसले नेपाली टोलीमा उनको यात्रा निर्धारण गर्नेछ । लोकेशले घरेलु क्रिकेटमा खेलेको आक्रामक ब्याटिङबाट भने उनी र नेपाली टोलीबाट धेरै अपेक्षा राखिएको छ ।
विश्वकप खेल्न लोकेश जस्ता युवा खेलाडीले आफ्नो शैलीको क्रिकेट खेल्न आवश्यक पनि देखिन्छ । जसरी उनले आक्रामक ब्याटिङ गर्दै पीएम कपमा प्रभाव छाडे, त्यस्तै प्रदर्शन ओमानमा पनि आवश्यक छ । आक्रामक क्रिकेट खेल्दै दमदार इन्ट्री गरेका लोकेशले आफ्नो राष्ट्रिय टोलीको यात्रालाई निरन्तरता दिन मात्र होइन, नेपालको विश्वकप सपना साकार पार्न पनि आफ्नो शैलीमा रन बटुल्न पर्छ ।
लोकेशको बारे थप जानकारीको लागि :
‘नेपाललाई विश्वकप खेलाउनु छ’ – लोकेश
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा १ खेल अगावै उपाधी जित्ने लक्ष्यमा थाइल्याण्ड नेदरल्याण्ड्ससँग खेल्दैछ । दुईबीचको खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्ससँग खेलेका दुवै खेलमा जित हासिल गरेको थियो । नेदरल्याण्ड्सलाई भने […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा भईरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामा बोष्टन क्रिकेट झापाले घोडाघोडी-११ माथि राेमाञ्चक जित हात पारेको छ । बुधवार भएको दिनको दोस्रो खेलमा बोष्टनले घोडाघोडी- ११ माथि १ रनको रोमाञ्चक जित हासिल गर्यो । यो हारसँगै घोडाघोडी-११ समूह चरणबाटै बाहिरिएको छ । बोष्टनले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको […]
February 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पूजा महतोको अर्धशतकको बाबजुद नेपालले त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा बुधवार नेदरल्याण्ड्ससँग पराजित भएको छ । नेपालले १० विकेटले पराजित भएको छ । सिरिजमा नेपालको यो लगातार पाचौं हार हो ।१ सय ४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । नेदरल्याण्ड्सको जितमा स्ट्रि कालिसले नट आउट रहँदै सर्वाधिक […]