default_image

3 years ago

January 5, 2022

‘राम्रो संवाद नहुँदा नै विवाद भयो’ – क्यान अध्यक्ष चन्द

135 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

नेपाल क्रिकेट संघ (क्यान) र चार क्रिकेटरबीच दुई महिनादेखि चल्दै आएको विवाद अन्तत: आइतबार टुंगिएको छ । तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीसँगै सोमपाल कामी र कमलसिंह ऐरीले २०२१ को अन्तिम ६ महिना ग्रेड बारे एक मिडियामा गएर बोलेपछि सुरु भएको विवादले ठूलो हलचल मच्चाएको थियो ।

दुई महिनाअघि सुरु भएको त्यसै विवादले क्यानको स्पष्टीकरण, खेलाडीको ११ बुँदे माग, प्रधानमन्त्रीको फोन हुँदै कप्तान र उपकप्तान बर्खास्तीसम्म घटना घटे । समस्या निकै सामान्य थियो । तर दुई पक्षबीच राम्रो संवादको कमीले समस्या समाधान भन्दा थप आरोह अवरोह थपिँदै गयो । क्यान र खेलाडीबीच स्पष्टीकरणको जुहारी चल्यो । जसको प्रत्यक्ष फाइदा क्रिकेटलाई अस्थिरता तर्फ धकेल्ने पक्षले उठाए ।

क्यानले खेलाडीसँग दुई पटक स्पष्टीकरण सोध्यो । खेलाडीले उल्टै ११ बुँदे मागसहित पत्र पठाएपछि क्यान रुष्ट भएको थियो । मंसिर २९ मा क्यानले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाटनै हटायो । चार क्रिकेटरलाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने सम्मको निर्णय लियो । लगत्तै चार खेलाडीले आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गरे । विवादले खेलाडी र क्यानमात्र होईन समर्थक पनि दुई धारमा उभिए । घटनाक्रम बढ्दै जाँदा प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुगेको थियो ।

प्रशिक्षक पुबुदु दासानायके पुष १३ मा नेपाल आएपछि भने विवाद बिस्तारै समाधानउन्मुख भयो । पुबुदुले आएलगत्तै सबै पक्षसँग छलफल गरे । क्यानले टि२० विश्वकप ग्लोबल छनोटलाई पहिलो चरणको ३० सदस्य बन्द प्रशिक्षण बोलायो । क्यानले शनिबार बन्द प्रशिक्षणमा खेलाडी बोलाएपनि ज्ञानेन्द्र सहित १२ खेलाडीले नजाने निर्णय लिए । त्यसपछि नयाँ तरङ्ग ल्यायो । प्रमुख खेलाडी विनानै प्रशिक्षण थाने जोखिम क्यानले लिन सक्दैन थियो । खेलाडीले आफ्नो जायज माग पूरा नभई नजाने अडान कायम राखे ।

क्रिकेट म्यानेजर विनोद दास, कार्यवाहक सचिव प्रशान्त व्रिकम मल्ल, पुबुदु दासनायिके लगायतले विवाद समाधानका लागि निरन्तर छलफल गरे । खेलाडी र क्यानको छलफलबाट कुनै डगमग भएन । खेलाडी नै बन्द प्रशिक्षणमा नआउने स्थिति भएपछि क्यान अध्यक्ष चन्दले आइतबार आफैं खेलाडी भेट्ने निर्णय लिए । जुन निर्णय विवाद अन्त्यको टर्निङ प्वाइन्ट बन्यो ।

चन्द र ज्ञानेन्द्रबीच आइतबार छलफल भयो । दुईजनाको छलफलपछि पुन: ज्ञानेन्द्रले क्यान अध्यक्षसँगै पदाधिकारी र प्रशिक्षक पुबुदुसँग भेटवार्ता गरे । सकारात्मक छलफलसँगै क्यान र खेलाडीबीच सहमति भयो । खेलाडी सोमबारदेखि बन्द प्रशिक्षणमा सामेल हुनेमा सहमति जनाए । त्यसै सहमति अनुसार खेलाडी प्रशिक्षणमा फर्किए पनि ।

अध्यक्ष चन्दले पछिल्लो घटनाक्रमलाई खेलाडीसँग सकारात्मक छलफलका कारण सम्भव भएको प्रतिक्रिया दिए । ‘यो भन्दा पहिला मैले आफैं खेलाडीलाई प्रत्यक्ष भेटेर छलफल गरेको थिइनँ । तीन पटक मेरो प्रतिनिधित्व पठाएको थिए । हामीहरुको बोर्ड बैठकबाट प्रस्ताव गरेर चार जनाको कारबाही फिर्ता गरेर सम्झौतामा ल्याउनेमा आयौं । आगामी ग्रेडमा निश्चित नियम बनाएर पूर्व जानकारी गराउने छलफल भएको थियो । ज्ञानेन्द्रको माग छुटेका खेलाडीलाई ग्रेडमा सहभागी गराउनु भन्ने थियो । मैले उनीहरुलाई सम्मान गर्छु भन्ने जवाफ दिए’, अध्यक्ष चन्दले भने ।

‘को जित्ने र हार्ने भन्नलाई निर्वाचन पनि होईन । ओमान भ्रमणमा राम्रो गरेका खेलाडीलाई हामी यो बजेटबाट हेर्छौं भनेर विश्वास दिलाएँ । पूर्वग्राही कोहि पनि हुँदैन । ग्रेडमा कोहि पनि छुट्दैन । कप्तानको लागि कोहि पनि अयोग्य छैनन् । कप्तान परिवर्तन क्यानको कुनै पूर्वग्राही निर्णय होईन । यो नियमित प्रक्रिया हो’, चन्दले आफ्नो धारणा राखे ।

‘टि२० हामी दुई वर्षपछि खेलेका छौं । ज्ञानेन्द्र लगायत सबै सन्दीपको कप्तानीमा खेल्नेमा सहमत छन् । राम्रो हुने कुरामा हामी सरसल्लाह गरेर अघि बढ्छौं भन्ने सहमती भएको हो’, उनले भने ।

‘ज्ञानेन्द्रसँगको छलफलमा मैले आफ्नो तर्फबाट खुलेर बोलेको छु । नेपाली क्रिकेटलाई राम्रो गर्न अगाडि बढ्नु । मेरो साथ र सहयोग सधैं हुनेछ भनेको छु । कप्तान सन्दीप लामिछाने भएपनि लिडर हौ । किनभने तिमी सिनियर खेलाडी हो भनेर सम्झाएको छु । कुनै समस्या आए मलाई सिधै फोन गर्न भनेको छु, चन्दले भने ।

‘नेपाली क्रिकेटको राम्रो गर्न म पछि पर्दिन । तर संघकै संरचनाभन्दा माथि उठेर कोही राजनीति गर्न खोज्छ भने स्वीकार्य हुँदैन । फोन गराएकै भरमा म प्रधानमन्त्री शेरबहादुर ज्युको कुरा त मान्दिन भने अरु नेताको के कुरा भयो र ?,’ चन्द कड्किए ।

‘जे सहि हो त्यो मान्छु । प्रधानमन्त्रीलाई मैले अनुशानमा म चुक्दिन बरु पद छाड्दिन्छु भनेको थिए । किनभने मेरो नियमले मान्दिन । त्यसपछि तपाई अघि बढ्नुस् तर खेलाडीई जानी जानी अन्याय नगर्नु भनेपछि मलाई अझ खुसी लाग्यो । प्रधानमन्त्री ज्युले भनेपछि मेरो आत्मबल बढी हाल्यो,’ चन्दले सुनाए ।

‘चार खेलाडी माथि कारबाही गरेको केहि दिननै प्रधानमन्त्री ज्युले फोन गरेर सोध्नुभयो । प्रचन्डले खेलाडी विवाद खास कुरा के हो भनेर सोधेको भन्नुभयो, अनि मैले प्रधानमन्त्रीलाई जवाफ दिएँ’, चन्दले सुनाए ।

‘अनावश्यक रुपमा क्रिकेटलाई विवाद गर्न खोजेको छ । मैले क्रिकेटलाई अली सुधार गरेर अघि बढ्न खोजेको छु भनें । त्यसो हो भने अनुशासनको विषयमा अघि बढ्नु, पूर्वाग्राही र जानी जानी कुनैपनि खेलाडीलाई अन्याय नगर भनेर प्रधानमन्त्री ज्युले निर्देशन दिनुभयो । अन्य कुनैपनि दवाव थिएन’, चन्दले भने ।

चन्द र ज्ञानेन्द्र दुवैले संवाद ढिलो हुँदा विवाद लम्बिएको बताउँछन् । ‘मिडियाले अलिकति दुरी बढाएको हो । सबै मिडिया र पत्रकार एकै हुँदैनन् । त्यो कुरालाई हामीले मनन् गर्न जरुरी छ भनेर एउटा सहमती पनि भएको छ’, चन्दले भने ।

मंगलबार मैदान फर्किएका ज्ञानेन्द्र पनि संवादको दुरीको कारण यो अवस्थासम्म स्थिति लम्बिएको बताउछन् । ‘हामी बाहिर भन्दापनि यो समस्या भित्र बसेर सल्ट्याउन चाहिरहेका थियौं । यो कुरा सबैजना बसेर पहिला नै गरेको भए यस्तो हुन्थ्यो जस्तो मलाई लाग्दैन । तर जे पनि हुन्छ राम्रोको लागि हुन्छ । खेलाडी देखि बोर्डसम्म सबैमा अझ बुझाइ आएको होला । खेलाडी र बोर्डबीचको दुरी धेरै भएको जस्तो लाग्छ मलाई । अब विवाद समाप्त भएर सबैजना एकठाउँमा छौं’, ज्ञानेन्द्रले भने ।

‘यो घटना एकदमै सानो हो । संवाद नहुँदा ठूलो भयो । मैले र सबैले महसुस गरेका छन् । सबभन्दा ठूलो संवाद रहेछ । खेलाडीलाई कुनै गुनासो छ भने सिधैं फोन गरे हुन्छ । त्यसको लागि म खुल्ला छु’, चन्दले प्रतिवद्धता दोहोर्याए ।

‘यो घटनामा राजनीति धेरै भएको थियो । नेपालको प्रमुख राजनीतिज्ञले यस विषयमा चासो लिनु भनेको दुर्भाग्य हो । बरु मलाई कुनै क्यानको अध्यक्षको लोभ लालच छैन । अनुशासनको कुरामा र नेपाली क्रिकेट राम्रो हुनुपर्छ भन्ने कुरामा म सधैं अघि छु । नेपाली खेलाडीले न्याय पाउनुपर्छ भन्ने कुरामा म कहि अरुसँग सहमती गर्दैन । खेलाडीले सेवा सुविधा पाउने कुरामा म सहमती छु भन्ने प्रतिवद्धता प्रधानमन्त्री ज्युलाई पनि प्रष्ट पारेको छु,’ चन्दले सुनाए ।

चन्दले क्यानलाई अनावश्यक राजनीतिमा फसाउने कार्य गर्दा नेपाली क्रिकेटकै भविष्यमा प्रश्न उठ्ने अभिव्यक्ति दिए । ‘क्यानमा अब कसैले राजनीति गरेर, नेपाली क्रिकेटलाई बदनाम गरेर हालीमुहाली गर्न खोज्छ भनेपनि अब क्यानमात्र प्रतिबन्धमा पर्दैन, समग्र नेपाली क्रिकेट नै धरापमा पर्छ । आइसिसीले भनि सकेको छ, ‘क्यान विल एक्सपाएर’ । अर्थात आइसिसीले स्पष्ट रुपमा भनेको छ अब क्रिकेट खेल्न नपाउने गरि खारेज हुन्छ ।’

‘राजनीति गरेर नै क्रिकेट सक्यो भने त हामीले पुन: सदस्यताको लागि आवेदन दिनुपर्छ । त्यसको लागि झण्डै चार पाँच वटा स्टेडियम हुनुपर्यो,’ उनले भने, ‘त्यो १०–१५ वर्षमा नेपालको क्षमता छैन । विगतमा जयकुमार नाथ शाह, विनयराज पाण्डे, टिवी शाह हरुको कारणले नेपालको सदस्यता कायम रहेको हो । हालसम्म सदस्यता रहेको न टंक आङबुहाङले गर्दा हो न चतुरबहादुर चन्दले, नत अहिले हुन्छु भन्ने अध्यक्षहरुले नै गरेका हुन् ।’

‘हामी भाग्यमानी छौं, एसिसी र आइसिसी दुवैमा हाम्रो सम्बन्ध पहिलादेखि उत्कृष्ट बनाउनुभयो । वहाँहरुलाई हामीले सम्मान गर्नैपर्छ । अब अहिले आएर चन्दले के गर्यो त केहि गरेन । वहाँहरुले दिएको धरातललाई मैले अघि बढाउन खोजेको हो । टंक आङबुहाङको कुरै नगरौं,’ चन्दले गम्भीर हुँदै बताए ।

सन् २०१४ मा खेलाडीहरुले विद्रोह गर्दा चन्द समाधान समितिको संयोजक थिए । त्यसबेला खेलाडीहरुले विमानस्थलबाट विरोध सुरु गरे । ‘अध्यक्षदेखि सबै भागे । हैन खेलाडीसँग वार्ता गर्छु भनेको थिएँ । त्यसबेला खेलाडीसँग संवाद गरेर विवाद समाधान गरेको पनि हो’, उनले दाबी गरे ।

यसपटक पनि राम्रो संवादले नै नेपाली क्रिकेटको सम्भावित खतरा टरेको छ । यसले नेपाली क्रिकेटलाई अन्धकार बाटोमा पुग्नबाट बचाएको छ । यो मात्र होईन हरेक कुरामा क्यान र खेलाडीबीच सधैं संवाद हुनुपर्छ भन्ने पाठ पनि पढाएको छ ।

घरको समस्या आन्तरिक छलफलमा नै समाधान गर्नु उचित हो । अहिलेको अवस्थामा भने नेपालको पूरै ध्यान ढेड महिनापछि ओमानमा हुने टि२० विश्वकप छनोटमा हुन आवश्यक छ । खेलाडी र क्यान सबै कुरा भुलेर विश्वकप खेल्ने सपनाका साथ एक भएर अघि बढ्नुले सबैको भलाइ गर्छ । पछिल्लो विकसित घटनाक्रमले पनि यसैतर्फ संकेत गरेको छ ।

July 5, 2024

क्यानले उपाध्यक्ष सिंहसहित ४ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना उपाध्यक्षसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। टि ट्वान्टी विश्वकप सहभागिताका दौरान विवादास्पद अभिव्यक्ति दिएको भन्दै क्यान उपाध्यक्ष रोशन कुमार सिंह, केन्द्रीय सदस्यद्वय माधव कुमार कर्माचार्य र दुर्गाराज पाठक तथा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई क्यानको बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकपछि […]

July 5, 2024

क्रिकेटर अप्सरी निलम्बनमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले महिला क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गरेको छ । क्यान कार्यसमितिको बैठकले अप्सरीलाई निलम्बन गर्दै थप छानबिन गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो । ‘एसीसीको कार्यक्रम अनुसार यहि जुलाई १९ देखि २८, २०२४ सम्म श्रीलंकामा संचालन हुने वुमन्स टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितालाई मध्यनजर राखी हाल […]

July 5, 2024

आदिलको निलम्बन फुकुवा प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद) – म्याच फिक्सिङको मुद्दाबाट सफाइ पाएका अलराउन्डर आदिल आलमको निलम्बन फुकुवा सम्बन्धी प्रक्रिया अघि बढेको छ । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय समिति बैठक सफाई पाएका आदिलको निलम्बन फुकुवा सम्बन्धित प्रक्रिया अघि बढाएको छ । बैठकले अल राउन्डर आदिल निलम्बन फुकुवाको प्रकिया क्यानको अनुशासन समितिलाई १ हप्ता भित्र निर्णय गर्न जिम्मेवारी […]

Success

Thank you for your time.