3 years ago
December 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले वाईवाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको समापन समारोहमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक रत्ति अन्याय हुन नदिने संयत्र बनाएको बताएका थिए ।
समापन समारोहमा निकै कडा अभिव्यक्ति दिने क्रममा क्यान अध्यक्ष चन्दले निष्पक्ष खेलाडी छनोट गर्ने र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कसैले लुकाउन नसक्ने भन्दै प्रतिवद्धता व्यक्त गरेका थिए । उनले यसक्रममा क्यान निलम्बनमा हुँदा खेलाडी छनोटमा आर्थिक चलखेल समेत हुने गरेको बताएका थिए । सँगै उनले क्यानको बदनाम गर्न केहि व्यक्ति लागेको जनाउँदै खेलाडीलाई अनुशासन नतोड्न र क्यानले यस्तो विषयमा सम्झौता नगर्ने समेत बताए ।
केहि समर्थकले युवा खेलाडीमाझ क्यान अध्यक्षले यस किसिमको भनाइ राख्नु उचित नरहेको भन्ने आशय व्यक्त गरेका छन् । कतिपय विषय खेलाडीलाई हौसला दिनेभन्दा अनावश्यक दबाब दिने थिए भन्नेमा सहमति जनाउन सकिन्छ । तर सँगसँगै क्यान अध्यक्षले कार्यक्रममा दिएको अभिव्यक्तिले नेपाली क्रिकेटको वर्तमान अवस्था कति चिन्ताजनक छ भन्ने निर्क्यौल गर्न पनि सकिन्छ ।
चन्दले उक्त अभिव्यक्ति दिने क्रममा युवा खेलाडीलाई हौस्याउन उनले गरेको एक प्रतिवद्धतामा भने केहि घण्टा नबित्दै शंका गर्नुपर्ने अवस्था आएको भान खेलाडीले गरेका छन् । चन्दले खेलाडीको प्रदर्शनकै आधारमा छनोट हुने परिपाटी बनाएको बताएका थिए । चन्दको उक्त भनाइले युवा खेलाडी निकै उत्साहित र खुशी बनेका थिए । तर चन्दको उक्त प्रतिवद्धता चार घण्टा पनि टिक्न सकेन ।
साँझ ५ बजेतिर उनले दिएको अभिव्यक्तिको चार घण्टापछि यू-१९ को प्रारम्भिक टोली घोषणा हुँदा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी नै परेनन् । क्यानले आइतबार रातको ९ बजे डिसेम्बर चौथो साता युएईमा हुने यू–१९ एसिया कपको लागि २० सदस्य टोली घोषणा गरेको थियो । यू–१९ राष्ट्रिय प्रतियोगिता प्रदर्शन आधार मानेर छनोट गरेको नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्तिमै जनाएको छ ।
क्यानको मुख्य छनोट समितिमा पूर्वकप्तान उत्तम कर्माचार्य र बासुदेव जोशी थिए । छनोट समितिलाई राय सल्लाह सुझाव समितिको रुपमा पूर्व क्रिकेटर दीपेन्द्र चौधरी र चन्द्र सावद सहित तीन जना थिए । तर प्रतियोगिता कै उत्कृष्ट मानिएका मध्य एक तीव्र गतिका बलर दुर्गेश गुप्ता नै टोलीमा परेनन् । लुम्बिनी प्रदेशलाई उपाधि जिताउन दुर्गेशले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे । दुर्गेशले ७ खेलमा १३ विकेट लिए ।
बायाँ हाते तीव्र गतिका बलर दुर्गेशले पावर प्लेमा बलिङ गर्दै विपक्षीको शीर्षक्रमका प्रमुख विकेट हात पारेका थिए । उनले लिएका १३ मध्य शीर्षक्रमका ७, मध्यक्रमका ४ र तल्लोक्रमका मात्र २ विकेट थिए । प्रतियोगितामा ५५ ओभर बलिङ गर्दा १२ ओभर मेडन सहित १ सय ९३ रन खर्चेर १३ विकेट लिएका छन् । इकोनमी ३.५० छ ।
दुर्गेशको तथ्यांक त उत्कृष्ट छ नै, उनको स्विङ र गति पनि बेजोडको छ । गत असोजमा एभरेष्ट प्रिमियर लिग (इपिएल) मा भैरहवा ग्ल्याडियटर्सबाट आफ्नो छाप छाडिसकेका दुर्गेशलाई नेपाली सिनियर टोलीकै भविष्यको रुपमा हेरिएको छ । उक्त प्रतियोगितामा विदेशी खेलाडीलाई समेत समस्या दिएका दुर्गेशलाई क्यानले यू-१९ को प्रारम्भिक छनोटमा नै राखेन । तीव्र गतिका बलरमा सर्वाधिक विकेट लिनेमा दुर्गेशअघि लुम्बिनीमा मोहम्मद हसन २१ र कर्णालीका प्रकाश जैशी १५ विकेट लिएका छन् ।
त्यस्तै सुदूरपश्चिमका स्टार हिटर नारायण जोशी टोलीमा छैनन् । जोशी उक्त भूमिकामा प्रतियोगिताकै उत्कृष्ट मध्यमा पर्छन् । उनको क्षमता हेर्दा टि२० फर्म्याटमा नेपालको सिनियर टोलीका लागि समेत उपयुक्त हुने सम्भावना छ । लुम्बिनीसँग एक समय ११/५ को अवस्थामा पुगेको सुदूरलाई नारायणले नवौं नम्बरमा ब्याटिङ गर्दै ६४ रनको उत्कृष्ट इनिङ खेल्दै २ सय ४० को योगफलमा पुर्याएका थिए । नारायणको विष्फोटक ब्याटिङ मात्र होइन तीव्र गति बलिङ पनि राम्रो फाल्ने गर्दछन् ।
त्यसो त घरेलु क्रिकेटमा टोली छनोट गर्दा सुदूरपश्चिम सबैभन्दा बढी राजनीति हुने टोलीका रुपमा परिचित छ । कागजमा टोलीको नाम हेर्ने हो र क्षमता अनुसार मात्र खेल्ने हो भने सूदुरले सहजै उपाधि जित्न सक्थ्यो । टोलीमा कुशल प्रशिक्षक र व्यवस्थापक नहुँदा उपविजेतामा सिमित बन्यो । नारायाणले तल्लोक्रममा चार इनिङमा ब्याटिङ गर्दै ८४ रन बनाउनुको साथै ४ विकेट लिए । यसपटक छनोटमा घरेलु क्रिकेटका उत्कृष्ट हिटर नारायण नै छैनन् ।
त्यस्तै लुम्बिनीलाई उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका विशाल विक्रम केसी पनि टोलीमा छैनन् । विशालले ५ इनिङमा १ सय ६ रन बनाउनुको साथै १० विकेट लिएका थिए । लुम्बिनीका बशिर अहमद पछि एक सय रन बनाउनुको साथै १० विकेट लिने खेलाडीमा विशाल छन् । नेपाललाई यू१६ इस्टर्न रिजनको उपाधि जिताइसकेका कप्तान विशालनै टोलीमा छैनन् ।
त्यस्तै प्रदेश १ का स्पिनर लव कामत पनि सुरुवाती टोलीमा छैनन् । लवले ६ खेलमा १२ विकेट लिँदै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमै लवले प्रदेश एकलाई पाँच विकेट लिँदै बागमतीसँगको हारबाट जोगाएका थिए । १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको बागमती एक समय ९८–३ को बलियो अवस्थाबाट हराउन लवले जादुमय प्रदर्शन गरेका थिए । तर उनी प्रारम्भिक छनोटमा नै परेनन् । तुलनात्मक रुपमा लवभन्दा कमजोर प्रर्दशन गरेका खेलाडी टोलीमा छन् ।
पछिल्लो समय सिनियर टोलीमा निरन्तर बन्द प्रशिक्षणमा रहँदै आएका लोकेश बमलाई क्यानले प्रारम्भिक छनोटमा नै राखेको छैन । टोलीमा नरहेका यी केहि उदाहरण मात्रै हुन् । यता नेपाली टोलीबाट खेलिसकेका गुलशन झा भने टोलीमा छन् । गुलशनले यस प्रतियोगितामा ६ खेलमा १ सय ६२ रन खर्चेर ४ विकेट मात्र लिएका छन् । गुलशनले लिएका तीन विकेट गण्डकी प्रदेशविरुद्ध तल्लोक्रमका खेलाडीको थियो ।
गुलशनले बागमतीविरुद्ध स्पिनर तिलक भण्डारीको विकेट लिएका थिए । अन्यमा उनी विकेट विहिन बने । गुलशनलाई राख्नु स्वभाविक हो । एउटै प्रदर्शनको आधारमा गलत भन्नु मुर्खता हुनसक्छ । तर प्रतियोगिताकै उत्कृष्ट बलर मानिएका दुर्गेश टोली नहुनु आश्चर्यनै हो ।
कुनैपनि खेलाडी छनोट गर्दा प्रदर्शन मात्र होईन उसको क्षमता हेर्नुपर्छ । सबै खेलाडीले छनोट राम्रो गर्छन् भन्ने पनि हुँदैन । त्यसैले छनोट समिति हुन्छ । कागजमा हेरेर सर्वाधिक विकेट लिने र रन हान्नेलाई छनोट गर्ने हो भने छनोट समिति हुनुको अर्थनै के रह्यो र ? रन कसले कति हान्यो भन्नु भन्दापनि विपक्ष टोली, बलर र टोलीको अवस्था, सट छनोट, टोलीको माग लगायत विभिन्न कुराहरु हेर्नुपर्ने हुन्छ । विकेटपनि बलरले कुन ब्याटर र टोलीविरुद्ध लिएको छ । त्यसले अर्थ राख्छ ।
अवस्था कहिले काहिँ एस्तो हुन्छ तल्लोक्रमका पाँच विकेट भन्दा माथिको दुई विकेटको महत्वनै धेरै हुनसक्छ । शतक त हान्यो तर कुन टिम, बलरविरुद्ध हान्यो, त्यो अवधिमा कति क्याच ड्रप भए, सट छनोट र टोलीको आवश्यकता अनुसार खेल्यो वा खेलेन भन्ने पनि अर्थ राख्छ । छनोटका लागि यो सब अपेक्षा राख्नु धेरै टाढाको कुरा हो । नेपाली क्रिकेटमा यस्तो अभ्यास कमै भएको छ । छनोट दुई तीन वर्षलाई ध्यानमा राखेर गरिएको देखिदैन । नयाँ र युवालाई मौका दिएको पनि देखिदैन । त्यसैले खेलाडी छनोटमा प्रश्न उठ्ने ठाउँ छ ।
छनोट समितिका प्रमुख उत्तम कर्माचार्य प्रदर्शननै हेरेर छनोट गरेको दाबी गर्दछन् । ‘ गुलशन भर्खर सिनियर खेलेको आधारमा रोखेको हो । क्याम्प र जोडिएको हुँदा गरेको । अरु सबै उत्कृष्ट खेलाडी र प्रदर्शनकै आधारमा गरिएको हो’, कर्माचार्यले हाम्रो खेलकुदसँग भने ।
‘मुख्य कुरा कि २५-३० गर्नुपर्यो । त्यसमा सबै अटाउँछन् । २० खेलाडी राखेको हुँदा धेरै अटाएनन् । २० डिसेम्बरमा खेल छ । समय कम छ । बाँकी खेलाडीको बन्द प्रशिक्षण गराएर हेरौं भन्नलाई मौका पनि छैन । हामीले फास्ट ट्रयाकबाट टोली छनोट गर्नु परेको हो ,’ उनले स्पष्ट पारे ।
‘स्कोर बोर्ड हेरेर छनोट गर्ने हो भने छनोट समिति हुनुको अर्थ रह्यो ? त्यसमा पनि जसले राम्रो विकेट लिएको छ र राम्रो रन बनाएको छ । त्यसमा पनि त गुण देखिएको छ नि । त्यो गुणको रुपमा राखेको हो,’ राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका कर्माचार्यले बताए ।
छनोटका क्रममा फाइनलको प्रदर्शन नहेरिएको कर्माचार्यले जनाएका छन् । ‘हामीले फाइनल खेलको प्रदर्शन हेरेका छैनौं । लिगको आधारमा खेलाडी छनोट गरेका हौं । पहिला यू१९ खेलेको ११ खेलाडी छन् । गुलशनलाई समावेश गर्यौं ।’
सिनियर टोलीबाट खेलि सकेका गुलशनको ठाउँमा अर्कोलाई मौका दिएको भए हुन्थ्यो नि हैन र ? भन्ने प्रश्नमा कर्मचारीको जवाफ थियो, ‘सबैलाई पुरानै प्रदर्शन हेरेर समावेश गर्यो भने त अहिलेको यू१९ प्रतियोगिता गर्नुको महत्त्व नै भएन नि ।’ कर्माचार्यले अन्त्यमा कुनै दबाबमा नपरि निष्पक्ष छनोट गरिएको दावी गरे ।
छनोट समिति र क्यानको लागि छनोट प्रक्रिया सामान्य लाग्ला । तर यू१९ भनेको नै नेपालको भविष्य हो । अहिलेको छनोटले भने युवा पुस्तालाई पक्कै राम्रो सन्देश दिंदैन । समय अभावको कारण देखाउँदै तुलानात्मक रुपमा कमजोर प्रदर्शन गरेका खेलाडी पर्दा राम्रो खेलाडीलाई मानसिक दबाब पर्न सक्छ । क्यानले समयमा नै प्रतियोगिता गरेर यस किसिमको समस्या पुन: निम्त्याउन दिनु हुँदैन ।
सात वर्षपछि उमेर समूहको प्रतियोगिता आयोजना गरेर क्यानले राम्रो पथमा अघि बढेको संदेशलाई छनोट प्रक्रियाले केहि ठेस पुर्याएको छ । एकातर्फ अध्यक्षले खेलाडीमाझ नै हौस्याउने प्रतिवद्धता दिनु र उक्त अभिव्यक्तिको केहीबेरमा नै अबलम्बन नहुनुले राम्रो संदेश पक्कै दिँदैन । आउने दिनमा यसलाई सुधार गर्दै लग्नु खेलाडी र क्यान दुवै पक्षका लागि हितकर सावित हुनेछ ।
यो पनि : आक्रामक नारायणको आगमन
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपाल फेरि पनि पराजित भएको छ । पाँचौ खेलमा चौथो हार बेहार्ने क्रममा नेपाल घरेलु राष्ट्र युगाण्डासँग ४० रनले पराजित भएको हो । ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभरमा ५१ रनमा अल आउट भयो । नेपालका लागि कविता जोशी र कप्तान इन्दु बर्मा […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा घरेलु टोलीले नेपाललाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्यो । युगाण्डाका लागि रिता मुसामालीले सर्वाधिक ३८ तथा स्थर लियोक्वले २२ रन जोडिन् । नेपालका […]
March 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रज्वल थापाको अर्धशतकको सहयोगमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हासिल गरेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा बिहीवार लुम्बिनीले गण्डकी प्रदेशलाई १४ रनले हरायो। २ सय १८ रनको मध्यम लक्ष्य पछ्याएको गण्डकीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन मात्र जोड्यो […]