3 years ago
July 3, 2021
प्रकाश तिमल्सिना, काठमाडौं
‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई’ टोकियो ओलम्पिकको सपना चकनाचुर भएको थाहा पाएकै भोलीपल्ट गोपीचन्द्र पार्कीले विहानी प्रशिक्षणमा दिएको जवाफ हो यो । यसबाट सहजै अनुमान लगाउन सकिन्छ उनको मनमा लागेको चोट कति गहिरो छ ।
बिहीबार साँझ सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा एनओसी, राखेप र नेपाल एथलेटिक्स संघका जिम्मेवार पदाधिकारीहरुबाट ओलम्पिकमा खेल्न नपाउने खबर औपचारिक रुपमा सुनेर एपिएफका गोपी युद्ध हारेको सिपाही जसरी घर फर्केका थिए । तर, उनले आफूलाई सम्झाए । एउटा युद्ध हारे तर जीवन हारेको छैन । आफ्नो नियमित प्रशिक्षण छाडेर मनोबल घटाएर बस्ने कुरै छैन ।
ओलम्पिक खेल्न जान पाउने नपाउने अन्योलबाट जान नपाउने पक्का भएको बिहीबारको साँझ उनको नियमित प्रशिक्षण छुटेको थियो । अन्यौलका बीचमा पनि बिहीबार बिहान पनि उनले अभ्यास गरेका थिए । ‘अरुले के गर्ने उहाँहरुले जान्ने कुरा भयो । खेलाडीले त गर्ने अभ्यास नै हो । छाड्ने कुरै आउँदैन,’ उनी भन्छन् ।
शुक्रबार बिहानै अरु दिन जस्तै गोपी प्रशिक्षणका लागि हलचोकस्थित एपिएफको रंगशालामा पुगे । पानी परिनै रहेको थियो । उनी दौडन थाले । एपिएफ क्लबकै व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका टेकराज उपाध्यायले उनी छेउ आएर भने, ‘गोपी पानी परिरहेको छ यस्तोमा दौडदै छौं त । त्यसमै उनको जवाफ थियो, ‘बाहिरको यो पानीको छिट्टाले के हुन्थ्यो र । मनमा बाढी गइरहेको छ दाई।’
त्यसपछि उपाध्याय केहि नबोली त्यहाँबाट गएको गोपीले अर्थ लगाए , ‘मलाई जहिले पनि हौसला बढाउने दाईले मैले ओलम्पिक खेल्न नपाउने खबर पक्कै पाइसक्नु भएको थियो । उहाँ मलाई ढाडस दिनकै लागि आउनु भएको थियो भन्ने लाग्छ । मेरो जवाफ सुनेपछि सायद दाईलाई त्यो भन्दा बढी भन्न मन नलागेर फर्केर जानुभयो ।’
ओलम्पिक जान नपाउने प्रष्ट भएको भोली पल्ट उनले सवा घन्टा पानीमै दौडे । भन्छन्, ‘म नियमित प्रशिक्षण त छाड्दिन ।’
ओलम्पिक जान नपाउने खबर उनका लागि आकाश खसे भन्दा कम थिएन । ‘यो घटना मेरा लागि मात्र होइन । नेपाली खेलकुदका लागि नै दुःखद घटना हो जस्तो लाग्छ । कसले कसरी बुझ्छ त्यो अर्को विषय हो,’ मलिन आवाजमा गोपीले भने, ‘कति दुःख लागेको छ भनी साध्य छैन । ओलम्पिक मेरो सपना हो । सपना टुट्दा मन रुनेरहेछ।’
डेढ वर्ष अघि स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गोपीले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका थिए । मध्यम गतिका धावक गोपीले त्यसपछि ओलम्पिक खेल्ने सपना देखेका थिए । त्यसैमा आफूलाई तयारी गर्ने क्रममा उनले म्याराथनलाई लक्ष्य बनाएर अघि बढेका थिए ।
कोरोना महामारीका कारण एक वर्ष टोकियो ओलम्पिक सर्यो । कोरानाका कारण नेपालमा पछि झन्डै एक वर्ष खेलकुद गतिविधि शून्य भयो । कोराना महामारी पूर्ण रुपमा नियन्त्रण नभएपनि मंसिरमा नेपालगन्ज म्याराथन आयोजना हुने भयो । त्यसैलाई एनओसीले ओलम्पिक छनोटको स्वीकृति दियो ।
२ घन्टा १८ मिनेट ५९ सेकेन्डमा म्याराथन पूरा गर्दै उनी ओलम्पिकका लागि छनोट भयो भनियो । सबैको बधाई र हौसला पाए । ओलम्पिकका लागि छनोट भएपछि उनले आफ्नो लक्ष्य भने, ‘म बैकुण्ठ (मानन्धर) दाईको कीर्तिमान तोड्ने प्रयास गर्नेछु ।’ सागको म्याराथनको २ घन्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान मानन्धरको नाममा थियो ।
नेपालगन्ज म्याराथन जितेपछि काठमाडौंमा फर्केका गोपी त्यसयता नियमित प्रशिक्षणमा थिए । एपिएफकै सन्तोष श्रेष्ठको योजनामा उनी अभ्यास गरिरहेका थिए । एनओसीले चैतदेखि मासिक २० हजार रुपैयाँ खर्च पनि दिएको थियो । कोरोनामा पनि उनको अभ्यास कुनै दिन रोकिएन । गोपीका लागि मात्र एपिएफले अभ्यासको स्वीकृति दिएको थियो ।
‘अहिले आइपुग्दा ती सबै मिहिनेत पानीका फोका भएका छन् । मेरो वर्षौको मेहनत । ममाथि गरिएका लगानी र मैले व्यक्तिगत रुपमा गरेको लगानी यहि ओलम्पिकका लागि थियो,’ उनको गुनासो थियो, ‘सबै लगाएर पनि अन्त्यमा जान नपाईने रहेछ । खेलाडीले मात्र खेलेर हुने रहनेछ ।’
एनओसी, राखेप र संघका पदाधिकारीले उनलाई ओलम्पिकमा भाग लिन नपाउने कारण बताएका थिए । युनिभार्सलिटि प्लेसका लागि म्याराथनमा कोटा भन्दा बढीको आवेदन परेका कारण एथलेटिक्सको अन्तर्राष्ट्रिय महासंघको प्राविधिक कमिटीले म्याराथनमा सहभागी गराउन नसकेको गोपीलाई बेलिबिस्तार लगाइयो ।
एनओसी र एथलेटिक्स संघले गोपीको सहभागिताका लागि अथक प्रयास गर्दा पनि सफल नभएको भन्दै तीनै पक्षका पदाधिकारीले सम्झाउने प्रयास गरे । उनीहरुको दलिललाई मान्नुबाहेक गोपीसँग अर्को विकल्प पनि थिएन । म्याराथनमा सहभागी गराउन नसकिने भएपनि सय मिटर दौडमा सरस्वती चौधरीको नाम अघिल्लो साता नै पठाइसकिएको थियो । त्यो सबै सुचनाबाट गोपी बेखबर थिए ।
राखेपले बुधबारबाट ओलम्पिक जाने प्रशिक्षक र खेलाडीलाई सोल्टी होटलमा राख्यो । त्यहाँ अन्तिम समयमा गोपीलाई नआउन भनिएपछि बल्ल गोपीको सहभागिता अनिश्चितको समाचार सार्वजनिक भएको थियो । त्यसपछि मात्रै एनओसी, राखेप र संघले गोपीलाई भाग लिन नपाउने कारण बुझाउने प्रयास गरेका थिए । बिहीबार साँझ विज्ञप्ती जारी गरियो । त्यति बेला सम्म एनओसी,राखेप र संघले गोपीलगायत सबैलाई गुमराहमा राखे ।
‘यो घटनाले शारीरिक र मानसिक रुपमा एउटा खेलाडीलाई कत्ति असर पर्छ होला? खै कसले अनुमान गरेको छ मलाई थाहा छैन,’ गोपीले भने, ‘मैले त मेरो इज्जत पनि सकियो जस्तो महसुस भयो । तर यसमा मेरो गल्ति नै के छ भनेर आफैलाई सम्झाउने गरेको छु । त्यो रात त सुत्न नि सकिन । खान पनि म लागेन ।’
एनओसी मुख्यालयबाट फर्केपछि उनलाई मनमा लागिराख्यो, ‘केहि न केहि गडबडी पक्कै भएको छ । यो सरासर प्राविधिक कमजोरी हो । कसले गर्यो त्यो मलाई थाहा छैन,’ उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय निकायबाटै भयो, संघ, एनओसी वा को व्यक्तिबाट भयो त्यो म भन्न सक्दिन । कसैलाई आरोपित गर्न पनि चाहन्न । तर प्राविधिक कमजोरी पक्कै भएको छ ।’
त्यो घटनापछि उनले आफ्नो मनलाई आफैले बुझाउने प्रयास गर्दै प्रशिक्षणलाई निरन्तरता दिइरहेका छन् । ‘एक पटक लड्नुको अर्थ फेरि नदौडने हुँदैन । विदेशीकै कारण हो भने त अर्कै कुरा भयो । यदि देश भित्रकै कोहि जिम्मेवार व्यक्तिका कारण मैले खेल्न नपाएको हो भने मेरो कारण खेल्न पाएन भन्ने कुनै दिन त मन पोल्छ नै ,’ गोपी भन्छन् ।
‘आफूले भोगे जस्तो घटना भविष्यमा अरु कुनै खेलाडीले भोग्न नपरोस् भन्नका लागि उनी सम्बिन्धित सबैलाई सचेत गराउन चाहन्छन् । ‘यस्तो नमिठो अनुभव कसैले गर्नु नपरोस् । खेलाडीले तयारी गर्ने हो । बाँकी कामका लागि संघ, राखेप, एनओसी होइन र ? ती निकायले खेलाडीको लागि गम्भिर बनेन भने दुःख त खेलाडीले नै पाउने हो ।’
गोपीका लागि भविष्यमा तीन निकायले कस्तो प्रबन्ध गर्नेछन् भन्ने विषयमा केहि सार्वजनिक गरेको छैन । भविष्यका लागि आफ्नो लागि के कस्तो प्रयास गरिनेछ भन्नेमा गोपी प्रष्ट छैनन् । उनी अर्को ओलम्पिकका लागि पुनः प्रयास गर्न चाहन्छन् । त्यसका लागि तीनै निकायको साथको अपेक्षा गरेका छन् । ‘म आफ्नो तर्फबाट फेरि पनि कोशिस गर्नेछु ,’उनले भने, ‘तर मैले मात्र प्रयास गरेर त मेरो सहभागिता नहुने रहेछ । सम्बन्धित निकायले आश्वस्त पारिदिएको खण्डमा म आफ्नो अभियानमा फेरि जुट्नेछु । हिम्मत हारेको छैन ।’