3 hours ago
February 27, 2025
काठमाडौं ( हाम्रो खेलकुद)- कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदको आयोजना मिति दोस्रो पटक सरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीवार बसेको १ सय २१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद आयोजनाको नयाँ मिति तय गरेको छ।
नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म दसौं आयोजना गर्ने निर्णय गरिएको राखेपले जनाएको थियो ।
यसअघि राखेपको १ सय १८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । गण्डकी प्रदेशमा नवौंको समापनमा २०८१ को मंसिर २ देखि ९ गतेसम्म आयोजना गर्ने घोषणा गरिएको थियो।
बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
राखेपले अवैध ठहर गरेको नेपाल ओलम्पिक कमिटी ( एनओसी) को निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई राखेपले निलम्बन गर्ने निर्णय गरेको छ ।
निलम्बनमा परेका राष्ट्रिय खेल संघमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्याष्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।
राखेप कार्यकारी समितिको बैठकले उक्त ६ खेल संघलाई कार्वाही स्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको बताइएको छ।