3 hours ago
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद )- दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको मिति तय गरेको छ।
एसएओसीको मंगलवार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४ औं साग गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ।
पाकिस्तान र भारतको चिसो सम्बन्धका कारण साग इतिहासमा पटक पटक परेको असरलाई आधार मान्दा यसपटक पनि तोकिएको समयमा साग हुने नहुनेमा भने शंका छ।
बैठकमा भारतका प्रतिनिधिको अनलाइनमार्फत सहभागिता रहेको बताइएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठसहित अन्य ६ देशका प्रतिनिधि लाहोर बैठकमा समावेश छन्।
२०१९ मा नेपालमा १३ औं सागको समापनका दौरान २०२१ मा पाकिस्तानले १४ औं साग आयोजना गर्ने भन्दै झन्डा हस्तान्तरण भएको थियो। हरेक २ वर्षमा हुनु पर्ने साग यस पटक ६ वर्षसम्म पनि हुन सकेको छैन ।
यतिबेला पाकिस्तानमा क्रिकेटको च्याम्पियन्स ट्रफी आयोजना भइरहेको छ । ८ टोलीमध्ये भारतीय टोलीले मात्र पाकिस्तान भ्रमण गरेको छैन । भारतले खेल्ने सबै खेल युइएमा भइरहेको छ ।
यस्तो पृष्ठभूमिमा भारतको सहभागितामा १४ औं साग पाकिस्तानमा हुनेमा विश्वास गर्न सकिने आधार देखिदैन। पाकिस्तानले पछिल्लो पटक २००४ मा नवौं सागको आयोजना गरेको थियो।
एसएओसीले पाकिस्तानको ३ शहर लाहोर, इस्लामाबाद, र फैसलाबादमा साग हुने निर्णय गरको छ। सागमा कुल २९ खेल समावेश हुने जसमा २७ खेलको निर्णय पनि भएको बताइएको छ। २ खेल भने आयोजक राष्ट्रले थप्न पाउनेछ। चारभन्दा कम राष्ट्रको सहभागिता नभएको अवस्थामा त्यस्तो खेल हटाइनेछ।
समावेश हुने सबै खेलको टुङ्गो लगाउन आगामी मार्चको बस्ने बैठकले टुंगो लगाउने भनिएको छ। मार्च को अन्त्यमा टेक्निकल बुक उपलब्ध गराइने निर्णय पनि गरिएको छ।
एसएओसीको विधान संशोधन समिति गठन भएको छ। समितिको सदस्यमा एनओसी अध्यक्ष श्रेष्ठ र श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष सुरेनदारम सुब्रमन्यम रहेका छन्।
श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै बैंठकमा भाग लिएपनि
राष्ट्रिय खेलकुद परिषदले एनओसीको पुसमा भएको निर्वाचनलाई अवैध ठहर गरेको थियो।