11 hours ago
February 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वरिष्ठ पत्रकार श्रीविक्रम भण्डारी एनएसजेएफ अग्रज खेलकुद पत्रकारिता अवार्ड र सुमन भोम्जन स्मृति युवा खेल पत्रकारिता पुरस्कारबाट विनयज्योति सापकोटा सम्मानित भएका छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को २९ औं वार्षिकोत्समा प्रदान गरिने कार्यक्रम आज आयोजना गरिएको थियो ।
कार्यक्रममा मेरो खेल डटकमका सम्पादक भण्डारीलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सम्मान गरे। भण्डारीलाई नगद २५ हजार, ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरियो।
सुदूरपश्चिमको डडेलधुरामा जन्मिएका भण्डारीले २०४४ सालदेखि खेलकुद पत्रकारिता गर्दै आएका छन् । २०४४ सालमा हुवाहुरीका कारण दशरथ रगंशालामा ९० जनाभन्दा बढी व्यक्तिको ज्यान गएको समयमा रिपोर्टिङ गर्दै भण्डारीले आफ्नो करियर सुरुवात गरेका थिए।
भण्डारीले तीन दशक अगाडि आफूहरूले स्थापना गरेको संस्थाबाट सम्मानित हुन पाउॅंदा खुसीको सीमा नै नरहेको बताए । पछिल्ला वर्ष मन्चले अन्तर्राष्ट्रिय समन्वयका साथै विभिन्न किसिमका गतिविधिहरूमार्फत नयाँ उचाइमा पुर्याउॅंदा आफूलाई धेरै खुसी लागेको उनले बताए।
युवा खेल पत्रकारिता पुरस्कारबाट सम्मानित सापकोटालाई खेलकुदमन्त्री चौधरीले ल्यापटप र ताम्रपत्र प्रदान गर्दै सम्मान गरे। सापकोटा पछिल्ला ६ वर्षयता खेलकुद पत्रकारितामा सक्रिय छन्। हाल उनी कान्तिपुर टेलिभिजनसँग आबद्ध छन्।
युवा पत्रकारिता पुरस्कार प्राप्त गरेका सापकोटाले एनएसजेएफद्वारा प्रदान गरिॅंदै आएको यो अवार्ड एकदिन आफूले पनि हासिल गर्ने लक्ष्य लिएको र आज यो अवार्ड प्राप्त गर्दा खेलकुद पत्रकारितामा प्रोत्साहन मिलेको धारणाा बताए।
खेलकुद मन्त्री चौधरीले सम्मानित पत्रकारद्वयलाई बधाई दिॅंदै नेपाली खेलकुद क्षेत्रले प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नै आयोजना गर्ने प्रयास भैरहेको बताए।
राखेप सदस्यसचिव घिसिङले नेपाली खेलकुद विकासमा खेलकुद पत्रकारको भूमिका विशेष रहेको उल्लेख गर्दै आज खेलकुद पत्रकार सम्मानित भैरहॅंदा समग्र नेपाली खेल क्षेत्र नै सम्मानित भएको महसुस गरेको धारणा राखे।
एनएसजेएफका कार्यवहाक अध्यक्ष निरन्जन अधिकारीले सम्मानित भएका अग्रज पत्रकार भण्डारी र अनुज पत्रकार सापकोटालाई बधाई दिॅंदै खेलकुद पत्रकारिताको व्यावसायिक स्तरोन्नतीका लागि गरिने विभिन्न किसिमको प्रशिक्षण कार्यक्रम सहयोग गरिदिन आग्रह गरे ।
मन्चका महासचिव ओलीले यस अवार्डका वर्षभर मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रमबारे प्रकाश पार्दै राखेपमा एक समूहले गरेको तोडफोड घटनाबारे निन्दा पनि गरे।
मञ्चले हरेक वर्ष स्थापना दिवसको अवसरमा यो अवार्ड दिँदै आएको छ। पछिल्लो एक दशकदेखि मन्चले यो अवार्ड गर्दै आएको छ। भदौ २७ गते मन्चको स्थापना दिवस हो।