2 hours ago
January 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अदालत र राष्ट्रिय खेलकुद परिषद (राखेप) को आदेशको अवज्ञा गर्दै निर्वाचन गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) लगायतका एजेण्डामा छलफल गर्न डाकिएको राखेपको १ सय १९ औं बोर्ड बैठक जारी छ।
राखेपका अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी अध्यक्षतामा बैठक मन्त्रालयमा बसिरहेको छ।
उच्च अदालतको आदेश र राखेपको निर्देशनको अटेर गर्दै एनओसीले मंसिरमा विशेष साधारणसभामार्फत विधान संशोधन गरेको थियो। सोही विधानका आधारमा पुस १३ गते निर्देशन गरेको थियो।
सर्वोच्च अदालतले निर्वाचन रोक्न दिएको आदेश र सोही आदेशका आधारमा राखेपले दिएको निर्देशनलाई अवज्ञा गर्दै एनओसीले अनलाइनमार्फत अध्यक्षको निर्वाचन गरेको थियो।
निर्वाचनमा भाग लिएका २० संघका प्रतिनिधिले जीवनराम श्रेष्ठलाई अध्यक्षमा मत दिएका थिए। एनओसीमा आबद्ध २७ मध्ये ७ संघका प्रतिनिधिले भने मतदान गरेनन् । निर्वाचनमा भाग लिएका वा नलिएका सबै संघसँग राखेपले स्पष्टिकरण सोधेको थियो।
बोर्ड बैठकमा एनओसीको विशेष साधारण सभा, विधान संशोधन एवं निर्वाचन सम्बन्धमा तथा एनओसीमा आबद्ध खेल संघहरुको सम्बन्धमा छलफल गर्न सुरुका दुई एजेण्डा तय गरिएको छ।
त्यस्तै कर्मचारी बढुवा अनुमोदन, खेलकुद विकास नियमावली, भौतिक पूर्वाधार परिचालन, खेलकुद पूर्वाधार नीति, राष्ट्रिय खेल संघ तथा विविधमा दशौं राष्ट्रिय खेलकुद तयारीलाई बैठकको एजेण्डामा समावेश छन्।